१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
निर्वाचनमा उपेक्षित मुद्दा

बजेट भए पनि उद्धार नहुँदा ३ वर्षमा ७८९ सुत्केरीको मृत्यु

वार्षिक ५ करोड बजेट विनियोजन तर तीन वर्षमा ३ करोड ६६ लाख मात्र परिचालन, ३६० को उद्धार हुँदा दोब्बरको मृत्यु

वीरेन्द्रनगर, अछाम,काठमाडौं — जोखिममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गर्न सरकारले विनियोजन गर्दै आएको बजेट प्रभावकारी रूपमा परिचालन हुन सकेको छैन । हेलिकोप्टरबाट उद्धार हुँदा तीन वर्षमा ३ सय ६० आमाको ज्यान जोगिएको छ तर जानकारी र पहुँचको अभावमा यही अवधिमा ७ सय ८९ को मृत्यु भएको छ । समयमा उपचार नपाउँदा गर्भवती र सुत्केरीको मृत्यु भएको विषय स्थानीय तहको मुद्दा बन्न सकेको छैन ।

बजेट भए पनि उद्धार नहुँदा ३ वर्षमा ७८९ सुत्केरीको मृत्यु

सरकारले २०७५ पुस ६ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको हवाई उद्धार सुरु गरेको हो । त्यसअघिसम्म स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य महाशाखाले जोखिममा परेका गर्भवतीका लागि ‘एयर लिफ्टिङ’ को व्यवस्था गरेको थियो । तर यो कार्यक्रम विकट भूगोलका विपन्न परिवारको पहुँचमा नपुगेको भन्दै सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत परिचालन हुने गरी वार्षिक बजेट नै विनियोजन गर्न थालेको हो ।

गर्भवती तथा सुत्केरीको हवाई उद्धारका लागि सरकारले तीन वर्षसम्म बर्सेनि पाँच करोडका दरले बजेट विनियोजन गर्दै आएको थियो । मन्त्रालयकी उपसचिव नीता शर्माका अनुसार चालु आर्थिक वर्षमा भने बजेट घटाएर ३ करोड ३२ लाख रुपैयाँ मात्र विनियोजन भएको छ ।कार्यक्रम सुरु भएपछि तीन वर्षमा २ सय १६ र चालु वर्षमा १ सय ४४ जनाको उद्धार गरिएको छ । हवाई उद्धार गरिएका २ सय ४६ जनाको खर्चबापत मन्त्रालयले ३ करोड ६६ लाख २४ हजार रुपैयाँ नेपाली सेनालाई भुक्तान गरिसकेको छ ।

सरकारले विनियोजन गरेको बजेट आवश्यक मात्रामा खर्च नहुँदा उद्धार नपाएर मृत्यु हुनेको संख्या दोब्बरभन्दा बढी छ । स्वास्थ्य विभागले तयार पारेको ‘कोभिड–१९ मा मातृ मृत्युदर रिपोर्ट–२०२१’ अनुसार आर्थिक वर्ष ०७५/०७६ को साउनदेखि ०७७ भदौसम्म मात्र २ सय ७३ स्वास्थ्य संस्थामा ५ सय ४८ आमाको मृत्यु भएको थियो । त्यस्तै ०७७ असोजदेखि ०७८ चैतसम्म थप २ सय ४१ गर्भवती र सुत्केरीको ज्यान गएको जानकारी स्वास्थ्य विभाग परिवार कल्याण महाशाखाको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. पुण्या पौडेलले दिइन् ।

एकातिर विनियोजित बजेट परिचालन हुन सकेको छैन भने अर्कोतिर दूरदराजमा महिलाहरूको अकाल मृत्यु भइरहेको छ । मुगुको सोरु गाउँपालिका–५ नेरगाउँकी विमला शाही भर्खर १८ वर्षकी भएकी थिइन्, नाबालिग हुँदै बिहे भएकी उनलाई गत माघमा सुत्केरी व्यथाले च्याप्यो । तर उपचारको बन्दोबस्त भएन । लामो व्यथापछि उनले घरमै बच्चा जन्माइन् तर साल अड्कियो । नेरगाउँबाट जिल्ला अस्पताल पुग्न नै दुई दिन हिँड्नुपर्छ । उनलाई व्यथाले च्यापेपछि परिवारका सदस्यले घरमै धामीझाँक्री बोलाए, जसको भर पर्दा अल्पायुमै विमलाको निधन भयो ।

विमलाले जस्तै अकालमै ज्यान गुमाइन्, अछामको तुर्माखाँद गाउँपालिका—१ रहफकी पूर्णकला नेपालीले पनि । कारण उही थियो, अत्यधिक रक्तस्राव । उमेर ३१ मात्र भए पनि उनी पाँचौं सन्तानलाई जन्म दिँदै थिइन् । तर रहफ स्वास्थ्यचौकीमा मृत्यु भयो । अनमी गीता लम्सालका अनुसार अत्यधिक रक्तस्रावका कारण स्वास्थ्यचौकीमा ल्याएको २० मिनेटमै पूर्णकलाको मृत्यु भयो ।

पूर्णकलाकी सासू ललितालाई आर्थिक अवस्था बलियो भएको भए गर्भवती बुहारीलाई बचाउन सकिन्थ्यो भन्ने लाग्छ । भन्छिन्, ‘जिल्लाको अस्पताल पुर्‍याउन कम्तीमा १० हजार लाग्छ । हामीलाई कसैले ऋण पनि पत्याउँदैनन् । पैसा नहुँदा ठूला अस्पताल लैजाने आँट आएन, बुहारीको ज्यान गयो ।’

सोलुखुम्बुको पूर्वी महाकुलुङ–१ सोताङकी गर्भवती नवीना राईलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि ०७६ चैतमा हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै। साथमा उनकी आमा । फाइल तस्बिर

कर्णालीका दुर्गम भेगमा सुत्केरी मृत्युका यस्ता अनेकौं घटना छन् । तुर्माखाँद–४ ल्वारागोदेकी ३८ वर्षीया नामसरा विकका ३ छोरा र २ छोरी छन् । छैटौं सन्तान जन्माउने तयारीमा रहेकी नामसरालाई ५ दिनसम्म पेट दुख्ने र रगत बग्ने भइरह्यो तर उपचारमा पहुँच भएन । आठ महिनाकी गर्भवती मनसरालाई अन्तिम घडीमा मात्र स्वास्थ्यचौकी पुर्‍याइएको थियो जहाँ उनको निधन भयो ।

‘भाउजू निकै बिरामी हुनुभयो तर अस्पताल लग्नतर्फ ध्यान भएन, देवीदेवताको काममै लाग्यौं,’ देवर गोप विक भन्छन्, ‘दाजु आफैं पनि पितर धामी हुन् । पहिले देवता मान्ने, त्यसपछि स्वास्थ्यचौकी लैजाने कुरा भएको हो । झारफुक गर्‍यौं, जडीबुटी पनि खुवायौं तर निको भएन ।’ गाउँमा अरू गर्भवतीलाई अप्ठ्यारो पर्दा पनि झारफुक गर्नेबाहेक अन्य उपाय नभएको उनको भनाइ छ । ‘अस्पताल जान पैसा छैन, हिम्मत पनि आउँदैन,’ उनी भन्छन् ।

विमला, पूर्णकला र नामसराको मृत्युले कर्णाली प्रदेशको मातृ स्वास्थ्य सेवाको कहालीलाग्दो अवस्था मात्रै बुझाउँदैन, सानो उमेरमा विवाह गर्नुपर्ने, सानै उमेरमा आमा बन्नुपर्ने र एकपछि अर्को गर्दै सन्तान जन्माउनुपर्ने महिलाहरूको विवशतालाई पनि प्रस्ट पार्छ । गर्भवतीको अवस्था जटिल भए अस्पतालसम्म पुग्ने चेतना र आत्मबल पनि धेरै परिवारमा छैन । उपचारको सुलभ पहुँचको अभावमा उनीहरू धामीझाँक्री जस्ता अन्धविश्वासको भर पर्छन् ।

मुगु र अछामकै जस्तो कथा कालीकोटको पनि छ । रास्कोट–२ की सीरा सार्कीले दुई दिनको व्यथापछि ०७७ भदौ ९ मा चौथो सन्तानका रूपमा छोरा जन्माइन् । दुई छोरी र एक छोरापछि जन्मिएको सन्तान त स्वस्थ नै थियो तर बच्चा जन्माएपछि सुत्केरी आमालाई अत्यधिक रक्तस्राव भयो । जिल्ला अस्पताल पुग्न झन्डै आधा दिन पैदल हिँड्नुपर्छ । श्रीमान्ले स्थानीयको सहयोगमा आधा घण्टाको दूरीमा रहेको स्वास्थ्यचौकीसम्म पुर्‍याए ।

स्वास्थ्यचौकीले रक्तस्राव धेरै भइसकेको भन्दै एक घण्टा परको सामुदायिक अस्पताल लैजान भन्यो । सामुदायिक अस्पतालले पनि स्वास्थ्यचौकीकै भाषा बोल्दै अवस्था गम्भीर भएकाले सदरमुकाम मान्मस्थित जिल्ला अस्पताल लैजान भन्यो । स्थानीयले स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सीराको मृत्यु भयो, उनी २८ वर्षकी मात्र थिइन् । उनको मृत्यु भएको स्थानबाट अस्पताल पुग्न अझै तीन घण्टा बाँकी थियो । कर्णालीमा समयमै स्वास्थ्यचौकी अथवा अस्पताल पुग्न नपाएर अकालमै ज्यान गुमाउनेको संख्या यतिमै सीमित छैन । कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो ९ वर्षमा कर्णालीका १ सय ६६ सुत्केरीको मृत्यु भएको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष ०७०/७१ मा मात्रै ३३ जना सुत्केरीको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षमा ११ जनाको मृत्यु भएको छ ।

कुन उमेरका सुत्केरीको मृत्यु भएको छ भनेर यकिन तथ्यांक निर्देशनालयले राखेको छैन । तर सूचना अधिकारी केसी मृत्यु हुने आमाहरूमा धेरैजसो १५ वर्षमाथि र २५ वर्षमुनिका रहेको बताउँछन् । ‘हामीले कति सुत्केरीको मृत्यु भयो भन्ने मात्रै तथ्यांक राख्छौं, यसभित्र ठ्याक्कै यही उमेर समूहका भन्ने छैन । तर पनि बालविवाह धेरै हुनाले किशोरी आमाहरूको मृत्यु बढी हुन्छ, अगाडिका सन्तान खेर गएर अथवा छोराको पर्खाइमा बच्चा जन्माउँदा ३० वर्षमाथि उमेर समूहका महिलाको पनि मृत्यु भएको छ,’ उनी भन्छन् । कर्णालीका १० जिल्लामध्ये हुम्ला र डोल्पा अझै पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएका छैनन् । हुम्लाको अदानचुली गाउँपालिकाका भीम नेपाली स्वास्थ्यचौकी टाढा हुँदा सुत्केरी र गर्भवतीको ज्यान जोखिममा पर्ने गरेको बताउँछन् । ‘समयमा उपचार नपाउँदा यताका मान्छे त धेरैको मृत्यु हुने गरेको छ । स्वास्थ्यचौकी पुग्न घण्टौं हिँड्नुपर्छ, अस्पताल त कहाँ हो कहाँ ∕’ उनी भन्छन् ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ की चौमती सुनार दुई वर्षअघि छोरीको मृत्यु भएको सम्झँदा भक्कानिन्छिन् । तेस्रो सन्तानलाई जन्म दिँदै गर्दा ०७६ वैशाखमा छोरी गौमायाको मृत्यु भयो । उनी २३ वर्षकी थिइन् । छोरीको उपचार गराउन नसकेकामा आमालाई पछुतो छ । अहिले चौमतीको काखमा नातिनी खेलिरहँदा उनी छोरीलाई सम्झिरहन्छिन् । ‘छोरीलाई धामीझाँक्रीमा लैजानुको साटो अस्पताल लग्न पाएको भए बचाउन सकिन्थ्यो,’ उनी भन्छिन्, ‘यस्तो अवस्था कसैको पनि नहोस् भनेर म गाउँमा कसैलाई सुत्केरी व्यथा लाग्यो कि अस्पताल नै लैजाउ भन्छु तर अस्पताल नै टाढा भएकाले जोकोहीले लग्दैनन् । सरकारको बजेट परिचालन नहुने र सुत्केरीको उद्धार नहुने अवस्था किन छ ? महिलामन्त्री उमा रेग्मीको जवाफ छ, ‘धेरै विकट ठाउँबाट उद्धार गर्नुपर्ने हुन्छ, भन्नेबित्तिकै उद्धार गर्न नसकिएको हुन सक्छ, कतिले उद्धारका लागि खबर गर्न नसकिरहेको हुन सक्छ, हरेक प्रदेशमा सुविधायुक्त, दक्ष जनशक्तिसहितको प्रसूति सेवा उपलब्ध हुने स्वास्थ्य संस्था बनाउनैपर्छ, मैले पहल गरिरहेको छु ।’

साथमा विप्लव महर्जन (सल्यान)

प्रकाशित : वैशाख २९, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?