१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सगरमाथामा ३१७ जनाको लस्कर

२७ हिमालका लागि १ सय १८ आरोहण दलका ९ सय ५३ आरोहीलाई अनुमति
कुम्भराज राई

ओखलढुंगा — निर्वाचनको मौन अवधिसँगै बजार र चोकहरू सुनसान हुँदा सगरमाथा आधार शिविर पनि बुधबार खालीखाली छ । तर, आधार शिविर चुनावका कारण होइन, सगरमाथा र ल्होत्से आरोहणका लागि सयौंको संख्यामा आरोही उकालो लागेपछि सुनसान भएको हो ।

सगरमाथामा ३१७ जनाको लस्कर

बिहीबार सगरमाथा आरोहण गर्ने र ल्होत्सेको शिखरमा रोप फिक्सिङ (डोरी टाँग्ने) गर्ने लक्ष्य आरोहीले राखेका छन् । त्यसैले आधार शिविर खाली भएको हो । गत वर्ष कोरोनाका कारण प्रभावित हिमाल आरोहण यस वर्ष केही सकारात्मक देखिएको छ ।

‘बिहीबार सगरमाथा र ल्होत्से आरोहण गर्ने उद्देश्यले आरोहीहरू उकालो लाग्नुभएको छ,’ आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमले भने, ‘आशा गरौं, पक्कै सफलतापूर्वक आरोहण भएको खबर प्राप्त हुनेछ ।’ सगरमाथा र ल्होत्से जाने रुट करिब चौथो शिविरसम्म एउटै हो । सगरमाथा आरोहणका लागि यस वर्ष ४० वटा आरोहण दलका ३ सय १७ आरोहीले अनुमति लिएका छन् । तीमध्ये एक रुसी आरोहीको केही दिनअघि मृत्यु भएको छ । अनुमति लिने आरोहीमध्ये ७३ जना महिला र २ सय ४४ पुरुष छन् । यसमध्ये नेपाली आरोही २१ जना छन् । ६ महिला र १५ पुरुष नेपाली आरोहीले अनुमति लिएको पर्यटन विभाग पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले बताए । ल्होत्सेका लागि १३ आरोहण दलका १ सय २७ जनाले आरोहण अनुमति लिएका छन् । ९८ पुरुष र २९ महिला छन् ।

यस वर्ष वसन्त ऋतुमा नेपालको २७ हिमालका लागि १ सय १८ आरोहण दलका ९ सय ५३ आरोहीले अनुमति लिएका छन् । सबैभन्दा बढी आरोहण दल सगरमाथाका लागि ४० र ल्होत्सेका १३ छन् । त्यसपछि आमादब्लमका लागि ९, कञ्चनजंघा ८, नुप्त्सेका लागि ८ आरोहण दल छन् । सगरमाथाका लागि गत वर्ष ३ सय ३ जनाले अनुमति लिएका थिए । यस वर्ष सगरमाथामा आरोहण अनुमतिबापत मात्रै पर्यटन विभागले ३९ करोड ६८ लाख ५१ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको छ । २७ वटा हिमालबाट ४७ करोड ४६ लाख ६६ हजार ६ सय ११ रुपैयाँ राजस्व संकलन गरेको हो ।

सबै आरोहीका लागि कम्तीमा एक सहयोगी शेर्पासमेत खटिन्छन् । सहयोगीसहित हिमाल आरोहणमा करिब दुई हजारभन्दा बढी आरोही र सहयोगी रहेको अनुमान छ । मतदाता नामावलीमा सूचीकृत करिब तीन हजार सहयोगी हिमालमा रहेको पर्यटन व्यवसायी आङबाबु शेर्पाले बताए । यस वर्षको आरोहण कोरोनाले प्रभावित नभए पनि रुस र युक्रेनको द्वन्द्वले केही प्रभावित बनाएको पर्यटन व्यवसायीको भनाइ छ । यो द्वन्द्व र कोरोना नहुने हो भने उत्साहजनक हुने उनीहरूको अनुमान थियो ।

गत वर्षहरूमा झैं यस वर्ष पनि नेपाली सेनाको अगुवाइमा चार हिमाल सफाइ भइरहेको छ । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु सफाइ भइरहेको हो । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सेनाको टोली एक महिनादेखि सहयोगी शेर्पाको समूह हिमाल पुगिसकेका छन् । गत वर्ष सेनाले यिनै चार वटा हिमालबाट १३ हजार ७ सय ८१ किलो फोहोर संकलन गरेको थियो । नेपाली सेनाको सफाइ अभियान ह्यान्डलिङ एजेन्सीका रूपमा पिक प्रमोसन प्रालिले काम गरिरहेको छ ।

प्रकाशित : वैशाख २९, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?