२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मतदाता उत्साहित, गाउँ फर्कनेको लर्को

शुक्रबार भोट हाल्ने दिन, भोलिपल्ट शनिबार र जेठबाट आइतबारसमेत सार्वजनिक बिदा भएकाले पनि मतदाता गाउँतिर
चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न नेपाल–भारत दुवै देशको प्रशासनले सीमा जोडिएका नाका ७२ घण्टा बन्द गर्ने सहमति गरेका छन्
कान्तिपुर टिम

काठमाडौँ — स्थानीय तह निर्वाचनमा भोट हाल्ने दिन नजिकिएसँगै मताधिकार प्रयोग गर्न गाउँ फर्कनेको लर्को लागेको छ । संघीय राजधानी काठमाडौंसहित देशका मुख्य सहरमा बसोबास गरिरहेकाहरू आफ्नो मतदाता अधिकार रहेको स्थल फर्कन थालेका हुन् । शुक्रबार भोट हाल्ने दिन, भोलिपल्ट शनिबार र जेठबाट आइतबारसमेत सार्वजनिक बिदा भएकाले अधिकांश मतदाता केही दिनका लागि गाउँ गइरहेका छन् । अधिकांश सवारीसाधन दलले नै प्रायोजन गरी उनीहरूलाई गाउँ लगिरहेका हुन् ।

मतदाता उत्साहित, गाउँ फर्कनेको लर्को

सिन्धुपाल्चोक चौताराकी सुन्तली श्रेष्ठ ग्वार्कोस्थित निजी कम्पनीमा काम गर्छिन् । बुधबार कार्यालयको काम सकेर गाउँ जाने तयारीमा कोटेश्वर चोकमा भेटिएकी उनी मतदान गर्न उत्साहित देखिन्थिन् । ‘गाउँबाटै गाडी रिजर्भ गरिदिएको छ,’ उनले भनिन्, ‘मतदान गर्न पनि पाइने, आफन्त साथीभाइ पनि भेटिने, यसपल्ट बिदा पनि मिलेको छ ।’ दुई सन्तान र पत्नीसँगै दोलखा शैलुङ ढुंगेका अक्कल तामाङ जडीबुटीमा ‘रिजर्भ’ गाडी पर्खिरहेका थिए । ‘रिजर्भ गाडी यात्रु लिन नयाँबजार पुगेको छ, यात्रु भर्दै फर्किन्छ,’ उनले भने, ‘हामी भोट हाल्छौं, बच्चाहरू बिदा मनाउँछन् । गाडी भाडा पनि आफ्नो परेन ।’ दलहरूकै खर्चमा मतदान गर्न गाउँ जाँदा सही जनप्रतिनिधि चुन्नुहुन्छ भन्ने प्रश्नमा तामाङले मत गोप्य र स्वतन्त्र हुने बताए ।

‘एक मतको पनि धेरै महत्त्व रहन्छ,’ रामेछाप मन्थलीकी राधिका कार्कीले भनिन्, ‘मताधिकारकै लागि भए पनि घर जाँदै छु ।’ मंगलबारबाट उपत्यका बाहिरिनेको चाप बढेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार कोटेश्वर, कलंकी, नागढुंगा, फर्पिङ, मुर्खुलगायत स्थानबाट एक सातामा ६६ हजार ६ सय २५ सवारीसाधनमा ४ लाख ३५ हजार ६ सय १ यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने ५८ हजार २ सय ५० सवारीसाधनमा ३ लाख १८ हजार ३ सय ४६ यात्रु उपत्यका भित्रिएका छन् । निर्वाचनको रौनक सुरु भएपछि उपत्यका बाहिरिने यात्रुको संख्या करिब २० प्रतिशतले बढेको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक प्रहरीका अनुसार बिहान र साँझ काठमाडौंबाट बाहिरिने सवारी संख्या बढेको छ । निजी तथा सार्वजनिक सेवाका बस ‘रिजर्भ’ गरेर जाने क्रम पनि उत्तिकै छ ।

उपत्यकाबाट बाहिरिने यात्रुको चापका कारण सडकमा कोटेश्वर, भक्तपुर जगाती, कलंकीलगायत नाकाहरूमा ट्राफिक जाम भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सामान्य अवस्थाको तुलनामा केही दिनयता उपत्यका छाड्ने यात्रुको चाप बढेको बताउँछन् । कोभिड महामारीका कारण झन्डै दुई वर्ष थला परेको यातायात व्यवसायलाई निर्वाचनले केही राहत मिलेको व्यवसायीको भनाइ छ । ‘देशभरका मतदाता काठमाडौं उपत्यकामा छन् । उनीहरूलाई मतदान स्थलसम्म पुर्‍याउनैपर्‍यो,’ सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले भने, ‘वैशाख २७, २८ र २९ गते गाडी बुकिङको चाप बढ्दो छ ।’

सीमा ‘सिल’, मतदाता फर्कंदै

शुक्रबार हुने निर्वाचनलाई लक्षित गरी मंगलबार मध्यरातदेखि भारतसँगको खुला नाका ७२ घण्टाका लागि सिल गरिएको छ । त्यसका बाबजुद पनि प्रवासी नेपाली आफ्ना गाउँमा उम्मेदवार बनेकालाई मत खसाल्न धमाधम फर्किरहेका छन् । प्रहरीका अनुसार भारतबाट आउने अधिकांश नेपाली मतदाता छन् । उनीहरू दार्जिलिङ, सिक्किम, असम, कोलकाता जस्ता सहरका श्रमिक छन् । नेपाल–भारत सीमा सहर काँकडभिट्टा नाकामा बुधबार अपराह्नसम्म भारतबाट आउने यात्रु र भारततिर जाने यात्रुको बाक्लो भीड लाग्यो । साँझसम्म करिब ४ हजार प्रवासी नेपाली यो नाकाबाट प्रवेश गरेका छन् भने झन्डै एक हजार पाँच सय जना भारतीय पारि लागेका छन् ।

खासगरी चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न नेपाल–भारत दुवै देशको प्रशासनले पश्चिम बंगाल एवं विहारसँग सीमा जोडिएका नाका ७२ घण्टा बन्द गर्ने सहमति गरेका थिए । खुला सिमानाको फाइदा उठाएर आपराधिक गतिविधि हुन सक्ने भएकाले देशैभरका सीमा नाका चुनाव सकिने दिन शुक्रबारसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाए । बुधबार जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न जिल्लाका सुरक्षा संयन्त्रको बैठकले निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित बनाउन कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले नेपाली परिचयपत्र वाहक यात्रुलाई मात्रै प्रवेश गर्न दिइएको बताए । ‘नेपाल आउनेलाई नेपाली नागरिकता तथा परिचय खुल्ने कागजातका आधारमा प्रवेश गर्न दिइएको छ,’ उनले भने, ‘भारततिर जानेलाई त्यतैको परिचयपत्रका आधारमा पठाइएको छ ।’ प्रशासनले खासगरी भारतबाट आउने यात्रुलाई विशेष निगरानी गरेको छ । नाका बन्दका कारण मेची भन्सार र भद्रपुर भन्सार कार्यालयको आयातनिर्यात ठप्प छ । नेपाली तथा भारतीय बजारसमेत निर्वाचनका कारण सुनसान छन् ।

दार्जिलिङमा भरिया काम गर्ने दोलखा घर भएका रूपबहादुर थामी पनि बुधबार अपराह्न साथीहरूसँगै फर्किए । ‘पहिला दसैंतिहार मनाउन फर्किन्थें, यसपालि भोट खसाल्न फर्किएको छु,’ उनले भने ।

भारतसँग १ सय ७ किलोमिटर लामो पर्साको सीमा पनि मंगलबार राति १२ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि ‘सिल’ गरिएको छ । पर्सास्थित सशस्त्र प्रहरीका एक अधिकृतले जिल्लास्थित मुख्य तथा सहायक नाकामा कडाइ गरिएको बताए । ‘पैदल आवागमनदेखि चार पांग्रे सवारी र मोटरसाइकल आवागमनमा समेत कडाइका साथ रोक लगाएका छौं,’ उनले भने, ‘बिहेबारीको सिजन भएकाले एकअर्का मुलुकमा जानेहरूलाई व्यावहारिक रूपमा सहुलियत दिइएको छ, इन्धन र औषधिको अभाव हुन नदिन भारतबाट इन्धन लिएर आउने ट्यांकर तथा औषधि बोकेका मालवाहक सवारीलाई प्रवेश दिइएको छ ।’ सीमामा सशस्त्र प्रहरीले नियमित गस्ती गरिरहेको छ । कतिपय स्थानमा सीमापारि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पनि सशस्त्र प्रहरीसँग संयुक्त गस्ती गरिरहेको छ ।

सीमा सिल गरिएको भनिए पनि बुधबार वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा भारतबाट मालवाहक सवारीसाधन भित्रिने क्रम रोकिएन । ती सवारीमा भारतीय चालक तथा सहचालक पनि हुने भएकाले तिनको हकमा अन्योल भएको आईसीपीस्थित इन्टर मोडल यातायात विकास समितिका अधिकृत जितेन्द्र रसाइलीले बताए । वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले इन्धन ट्यांकरबाहेक अन्य सवारी भारतबाट भित्रिन नदिइएको बताए । ‘सामान्य अवस्थामा जस्तो चहलपहल भन्सारमा छैन,’ उनले भने, ‘राजस्व असुली पनि प्रभावित हुने भएको छ, मंगलबारसम्म मासिक लक्ष्यको ९१ प्रतिशत राजस्व असुली भइसकेको छ, बुधबारदेखि शुक्रबारसम्म तीन दिन भने राजस्व असुली अत्यन्त घट्ने भएकाले मासिक लक्ष्य भेट्टाउन समस्या हुने भएको छ ।’ यो भन्सारले वैशाखमा १६ अर्ब ९३ करोड १२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको छ । भारतबाट आईसीपीमा प्रवेश गरेका भारतीय कस्टम एजेन्टलाई भने आईसीपीबाटै भारत फर्काइने उनले बताए । सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा पनि चहलपहल घटेको छ । बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले भारतबाट मालवाहक रेलको आवागमन नरोकिए पनि भन्सारमा सेवाग्राही नै कम रहेको उनले बताए ।

पोखरामा घट्यो चहलपहल

मतदाता गाउँ गएपछि मंगलबारदेखि नै पोखरामा भने चहलपहल घटेको छ । छोराछोरी पढाउन बसेका, व्यवसाय गरेका, विभिन्न निजी क्षेत्रमा कार्यरत कर्मचारी गाउँ फर्किरहेका छन् । ‘कुनै एक पार्टीका कार्यकर्ताले गाडीको व्यवस्था छ जाऔं भनेका छन्,’ पर्वतको कुस्मा नगरपालिका स्थायी घर भई पोखरामा बस्दै आएका एक मतदाताले भने, ‘बिहीबार परिवारसहित जान्छौं ।’

स्याङ्जा घर भई पोखरा बस्दै आएका मतदाताका लागि कांग्रेसले बुधबार र बिहीबार गाडीको व्यवस्था गरेको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रकाश ठकुरीका अनुसार पोखराको भीड कम हुँदै गए पनि कति संख्यामा मतदाता बाहिरिए भन्ने तथ्यांक छैन । ‘बुधबारदेखि ट्राफिक प्रहरी निर्वाचनका लागि खटिएका छन्,’ उनले भने, ‘अहिले सडकमा ट्राफिक प्रहरी छैनन्, दुई दिनको अन्तरालमै भीड घटेको छ ।’ निर्वाचनमा भाग लिन सहरका मुस्ताङी गाउँ उक्लन थालेका छन् । मुस्ताङका झन्डै ४० प्रतिशत मतदाता पोखरा, काठमाडौंसमेतका सहरमा बस्ने भएकाले मुख्य निर्वाचन अधिकृत कार्यालयले दलहरूलाई आफ्ना मतदाता वैशाख २८ भित्र ल्याइसक्न भनेको छ ।

बेनी–जोमसोम सडकमा दैनिक १०–१५ बस र उत्ति नै जिप तथा मोटरसाइकलमा मतदाता मुस्ताङ प्रवेश गरिरहेका छन् । ‘संसदीयमा भन्दा स्थानीय चुनावमा उम्मेदवारको बढी प्रेसर आउने रहेछ । आफन्त, छिमेकी उम्मेदवार हुने भएकाले पनि रिसाउलान् भनेर पनि भोट हाल्न आउनुपर्ने रहेछ,’ घरपझोङ गाउँपालिका–३ ठिनीका निसान थकालीले भने, ‘मुस्ताङको चुनाव पहिलाजस्तो छैन, सहरका मतदाता उतैको स्वभाव लिएर आएका छन् ।’

म्याग्दीमा पनि सहरका मतदाता धमाधम गाउँ फर्किएका छन् । काठमाडौं, पोखरा, बुटवल, भैरहवा, चितवनसमेतका सहरबाट मतदाताले भरिभराउ साना तथा ठूला सवारीसाधन जिल्ला भित्रिइरहेका छन् । जिल्लाको ३० प्रतिशत मतदाता सहरबाट गाउँ फर्कन्छन् । ‘भोट हाल्नकै लागि घर फर्केकी हुँ,’ पोखराबाट पुर्ख्यौली थलो बेनी नगरपालिका–५ डढुवा फर्कंदै गरेकी सविना कार्कीले भनिन्, ‘पोखरामा रहेका आफन्त मात्र दुई जिप आएका छौं । अरू पनि त्यसरी नै गाउँ फर्केका छन् ।’

मनाङमा पनि मतदाता गाउँ फर्किरहेको नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाले बताए । ‘धेरै मान्छे काठमाडौं बस्छन् । कोही हिउँ छल्न काठमाडौं गएका थिए । अहिले चुनावमा आएका छन्,’ उनले भने । सीमा प्रहरी चौकी तालका असई तेजबहादुर चौधरीका अनुसार दैनिक ४० वटासम्म यात्रुवाहक जिप र डेढ सयदेखि २ सय यात्रु मनाङ भित्रिएका छन् ।

मतदानका लागि दुई दिनको यात्रापछि डिलबहादुर गुरुङ गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवासको न्याक गाउँ पुगे । विकट चुमनुव्री पुग्न ३ देखि ५ दिनसम्म खर्चनुपर्छ । चुमनुव्री सडक सञ्जालले जोडिएको छैन । यसो हुँदा काठमाडौं, पोखरालगायत सहरमा रहेका स्थानीय कम्तीमा तीन दिन लगाएर मतदान गर्न आफ्नो गाउँ पुगेका छन् । जिल्लाबाहिर रहेका मतदाता फर्कने क्रमसँगै ग्रामीण क्षेत्रमा चल्ने सवारीसाधनमा पनि यात्रुको चाप बढेको छ । कतिपय वडामा उम्मेदवारले गाडी पठाएका छन् । ‘दसैंमा मात्र सहर पसेकाहरू गाउँ आउँथे, अहिले चुनावमा आएका छन्,’ भीमसेन थापा गाउँपालिका–५ की बिजुली श्रेष्ठले भनिन् । मंगलबारबाटै सवारी चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रेमप्रकाश पोखरेलले बताए ।

बागलुङ नगरपालिका–११ को रायडाँडाका इन्द्र थापा भारतबाट भोट हाल्नका लागि गाउँ आएका छन् । दसैंतिहारमा आउन नपाए पनि चुनावलाई चाडपर्व सम्झेर आएको उनले बताए ।

लिला श्रेष्ठ (काठमाडौं), पर्वत पोर्तेल (काँकडभिट्टा), शंकर आचार्य (पर्सा), प्रतीक्षा काफ्ले (कास्की), घनश्याम खड्का (म्याग्दी), आश गुरुङ (लमजुङ), हरिराम उप्रेती (गोरखा) र प्रकाश बराल (बागलुङ)

प्रकाशित : वैशाख २९, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?