ठूलो संख्यामा आरोही सगरमाथा शिखरतिर 

कुम्भराज राई

ओखलढुंगा — अनुकूल मौसम कुरेर बसेका सयौं आरोही आरोहणका लागि सर्वोच्च शिखर सगरमाथातर्फ लागेका छन् । सगरमाथा र ल्होत्से आरोहणका लागि सयौंको संख्यामा आरोहीहरु उकालो लागेका हुन् । 

ठूलो संख्यामा आरोही सगरमाथा शिखरतिर 

बिहीबार सगरमाथा आरोहण गर्ने र ल्होत्सेको शिखरमा रोप फिक्सिङ (डोरी टााग्ने) लक्ष्य आरोहीले राखेका छन् । धेरै आरोही उकालो लागेपछि आधारशिविर नै सुनसान भएको छ ।

‘बिहीबार सगरमाथा र ल्होत्से दुवै आरोहण गर्ने उद्देश्यले आरोही उकालो लाग्नुभएको छ,’ आधारशिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमले भने, ‘आशा गरौं पक्कै सफलतापूर्वक आरोहण भएको खबर प्राप्त हुनेछ ।’ सगरमाथा र ल्होत्से जाने रुट करिब चौथो शिविरसम्म एउटै हो ।

सगरमाथा आरोहणका लागि यसवर्ष ४० वटा आरोहण दलका ३ सय १७ आरोहीले अनुमति लिएका छन् । त्यसमध्ये एक रसियन आरोहीको केही दिनअघि मृत्यु भएको छ । अनुमति लिने आरोहीमध्ये ७३ जना महिला र २ सय ४४ जना पुरुष छन् ।

त्यसमध्ये नेपाली आरोही २१ जना छन् । ६ महिला र १५ पुरुष नेपाली आरोहीले अनुमति लिएको पर्यटन विभाग पर्वतारोहण शाखाका शाखा अधिकृत भिष्मराज भट्टराईले बताए । ल्होत्सेका लागि १३ वटा आरोहण दलका १ सय २७ जनाले आरोहण अनुमति लिएका छन् । ९८ पुरुष र २९ महिला छन् ।

यसवर्षको वसन्त ऋतुमा नेपालको २७ हिमालका लागि १ सय १८ आरोहण दलका ९ सय ५३ आरोहीले अनुमति लिएका छन् । २७ वटा हिमालबाट ४७ करोड ४६ लाख ६६ हजार ६ सय ११ रुपैयाा राजस्व संकलन गरेको छ । गतवर्ष कोरोनाको कारण प्रभावित हिमाल आरोहण यसवर्ष केही सकारात्मक देखिएको छ ।

प्रकाशित : वैशाख २८, २०७९ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?