कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चिया पसलबाट सुरु हुन्छ दैनिकी

बिहान ४ बजेदेखि भेला हुने गाउँले हिजोआज आपसी समस्याका कुरा गर्दैनन्, चुनावको चर्चा गर्छन्

कटहरी, विराटनगर — भालेको डाँकसँगै हरदिन चियाको समय सुरु हुन्छ डिपबोरिङ चोकमा । चिया खाना जम्मा हुने र गफिने गाउँलेहरू हिजोआज गाउँको मुद्दा होइन, चुनावी कथाबाट दिनको सुरुवात गर्छन् । विराटनगरबाट करिब २ किलोमिटर उत्तरपश्चिमको कटहरी गाउँपालिका–१ मा पर्ने यो चोकमा बिहान ४ बजेदेखि नै स्थानीय जम्मा हुन थाल्छन् ।

चिया पसलबाट सुरु हुन्छ दैनिकी

‘आजभोलि त गफिने विषय नै चुनाव छ । भोट माग्न आउने उम्मेदवारलाई कस्ता मुद्दा अघि सार्नेदेखि कुन पार्टीका उम्मेदवार कस्ता ? कसले बाजी मार्ला ? जस्ता विषयमा सबैको तर्क, व्याख्या र घोचपेच यहाँ चल्छ,’ स्थानीय सयदनारायण चौधरी भन्छन्, ‘केपी ओलीदेखि शेरबहादुर देउवा र प्रचण्डसम्मका कुरा चल्छन् । वैशाख ३० पछि मात्रै गाउँघरका कथा–व्यथा सुरु हुन्छन् ।’

हामीलाई भने चुनावी छलफलले भन्दा पनि यो चोकमा एक्लो चिया पसल चलाइरहेकी सन्ध्या राजवंशीको कथाले ध्यान तान्यो । श्रीमान् नन्दकुमार राजधानीमा कपडा उद्योगमा जागिरे, २२ वर्षीय जेठो छोरा हुलास पानी कम्पनीको गाडी चलाउने जागिरे र साथमा कलेज पढ्दै गरेको १८ वर्षको कान्छो छोरा लिएर चिया पसल चलाइरहेकी सन्ध्याले यो चोकमा २० वर्ष बिताइसकेकी छन् । चिया पसल चलाएरै राजनीतिका विषय बुझेकी सन्ध्यालाई यस पटक आफैं वडा सदस्य लड्ने झोंक पनि चलेछ । ‘टिकट’ को दाबी पनि गरिन् । तर, चुनावमा जितेर गएपछि चिया पसल सुक्छ भनेर उनलाई गाउँलेले उम्मेदवार हुनबाट रोके ।

‘मलाई पनि ठिकै गरेछु जस्तो लाग्यो । नत्र मेरो पसल त कसले पो चलाथ्यो र ? छोरा पढ्ने कि पसल चलाउने ?,’ उनले भनिन्, ‘गाउँले दाजुभाइहरूले पनि कतै नजाऊ, मझवानी नजाऊ । चुनाव पनि नलड भन्नुभयो । मलाई ठिकै भनेजस्तो लाग्यो ।’

सन्ध्याको चिया पसल उनको परिवार चलाउने मात्रै होइन, गाउँलेको दैनिकीसँग पनि जोडिएको छ । बिहान ४ बजे नै गाउँलेहरू चियाका लागि चोक आउँछन् । कसैको घरमा चिया पाक्दैन । सबै यही चोकमा आएर दुई/तीन कप चिया खान्छन् । गाउँमा पाउना आउँदा चिया खाने ठाउँ यहीं हो । दूधवाला चियाको मूल्य उनले जम्मा १० रुपैयाँ कप राखेकी छन् । चिनी, चियापत्ती र दूधको भाउ बढ्दा पनि उनले चियाको दाम भने १० वर्षदेखि एउटै राखेकी छन् । ‘सक्नेले टिप्स दिन्छन् तर मूल्य बढाउने विचार गरेको छैन,’ उनले भनिन्, ‘सन्ध्याको पसलमा १० रुपैयाँमै चिया खान पाइन्छ भनेर विराटनगरदेखि मर्निङ वाक गर्दै मानिसहरू आउँछन् ।’ उनका अनुसार अहिले चियाका लागि दैनिक ३० देखि ४० पोकासम्मको दूध खपत हुने गरेको छ ।

चना, चिउरा, आलुचप, पकौडा, गोलभेडाको अचारसहितको उनको खाजा सेट स्थानीय ब्रान्ड नै बनेको छ । ‘१० रुपैयाँको चिया र ३० रुपैयाँको खाजा खाएपछि टन्नै अघाइयो भन्छन्,’ सन्ध्या सुनाउँछिन, ‘चिया खाजा गरेर दैनिक ५/६ हजार कमाउँछु ।’

नयाँ पाहुनालाई त चिया मात्रै होइन, कागती–पानीबाट उनी स्वागत गर्छिन् । चिया खाइसकेपछि काजु, किसमिस बाँड्छिन् । त्यसको पैसा उनले लिन्नन् । किन त ? ‘ग्राहकले सधैं सम्झिराखुन् र फेरि–फेरि आइरहुन् भनेर गरेको हो,’ उनले सुनाइन ।

यही चियापसलको आम्दानीबाट उनले छोराछोरी पढाइन् । घर व्यवहार चलाइन् । नजिकै चार धुर जग्गा किनेर ६ कोठाको घर पनि बनाइन् । बजारको मूल्यअनुसार चियाको दाम २० रुपैयाँ मात्रै बनाएको भए उनले धेरै कमाउन सक्थिन् । स्थानीयवासी उनको चिया पसललाई व्यापारभन्दा पनि सेवाको भाव बढी रहेको बताउँछन् ।

‘अहिलेको जमानामा १० रुपैयाँमा चिया खुवाएर के नाफा हुन्छ र ∕ उनले सेवा गरेकी हुन् । गाउँघरमा कसैकोमा चिया पाक्दैन, सबैले खान आउने यही चोक हो,’ स्थानीय हरिनायण माझी भन्छन्, ‘त्यसैले सक्नेले केही टिप्स दिने बानी बसालेका छौं । हामीलाई राजनीतिका, गाउँका समस्याका कुरा गर्न पनि सजिलो भएको छ । अहिले नेताहरूलाई भोट माग्नका लागि अझ सजिलो छ ।’

बिहे गरेर घर भित्रिएदेखि नै चियापसल सुरु गरेकी सन्ध्याले यहींबाट धेरै कुरा सिक्न पाएकी छन् । एमाले, कांग्रेसका नेताहरूदेखि मन्त्रीहरूसम्म आफूले पकाएको चिया खान आउँदा खुसी लाग्ने उनी सुनाउँछिन । नेताहरू आउँदा उनी आफैं गाउँका समस्या राख्ने गर्छिन् । भोट माग्न आउनेहरूलाई उनी गाउँमा खानेपानीको समस्या रहेको, बाढीका बेलामा राहत नदिएको, त्रिपाल नदिएको,

खाना नपाएर मानिसहरू भोकै बसेका समस्या सुनाउने गर्छिन् । ‘जिताएर हेर्नु म गर्छु, घर–घर कल दिन्छु, चिया खानेहरूका लागि बस्न कुर्सी दिन्छु भन्छन् । तर, जितेर गएपछि कसैले हेर्दैनन्,’ उनी भन्छिन्, ‘यस पटक त गाउँकै उम्मेदवार छान्ने हो । उसले जित्यो भने गाउँका समस्या आँगनमै गएर भन्न पाइन्छ ।’

यो चिया पसल कहिलेसम्म चलाउनु हुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘यो त मरेपछि मात्रै छुट्ला, बाँचुन्जेल छाड्दिनँ । घरको काम पनि चल्छ । बाख्रा, कुखुरा पाल्न पनि भ्याउँछ । किन छाड्नु ? मैले छाड्छु भने पनि गाउँले छाड्न दिन्नँ ।’

प्रकाशित : वैशाख २७, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?