राष्ट्रिय परिचयपत्र छपाई सुरु - समाचार - कान्तिपुर समाचार

राष्ट्रिय परिचयपत्र छपाई सुरु 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय परिचयपत्र छपाई सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागले सोमबारदेखि राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको हो । 

सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले राष्ट्रिय परिचयपत्र छपाईको सुरुवात गरेका हुन् ।

विभागले फ्रान्सको आईडीमीया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ प्रक्रिया सुरु गरिएको महानिर्देशक तिर्थप्रसाद भट्टराईले जानकारी दिए । अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी ८ लाख आउनेक्रममा रहेको उनले बताए ।

विभागका महानिर्देशक भट्टराईका अनुसार यो वर्ष भरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य लिइएको छ ।

छपाई मेसिनले एक घण्टामा एक हजार एक सय कार्ड छाप्ने क्षमता राख्ने भएकाले परिचयपत्रको फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ । विभागले अहिलेसम्म परिचय पत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ ।

राष्ट्रिय परिचयपत्र अभियान नै चलाएर विभागले ५६ लाख ५३ हजार २ सय ९ र इकाईमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पुर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्‍चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचय पत्रको अभियान सम्पन्न गरिसकेको छ ।

हाल सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश र संघको चुनावमा पनि गठबन्धन हुन्छ : दाहाल

मोहन बुडाऐर

धनगढी — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनलाई एक दशकसम्म लैजाने प्रतिबद्धतासहित स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिएको बताएका छन् । 

सोमबार कैलालीको धनगढीमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले संघ र प्रदेशको चुनावमा पनि गठबन्धन कायम रहने बताएका हुन् ।

‘गठबन्धन १० वर्षसम्म लैजाने कुरामा प्रधानमन्त्री शेरबहादुरजी सहमत हुनुहुन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै मुलुक मुलुक समाजवादको बाटोमा अघि बढेको नयाँ युग सुरु हुन्छ ।’

उनले गठबन्धनलाई जिताउनु भनेको देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनु नै भएको बताए । ‘यसो भन्दै गर्दा मलाई छोरीलाई नजिताए देश दुर्घटनामा जान्छ भन्यो भनेर फतुर लगाएका छन्,’ उनले भने, ‘नेपाली जनताले बुझेका छन्, गठबन्धनलाई जिताएपछि मात्रै देश राजनीतिक दुर्घटनाबाट मात्रै बच्ने छैन, देशमा राजनीतिक स्थायित्व र विकासतर्फ अघि बढ्ने छ ।’

उनले मुलुकलाई निरंकुशसता तानाशाही अराजकताको भूमरीतर्फ जान नदिनका लागि गठबन्धनको जन्म भएको बताए ।

‘प्रतिगमनको उद्देश्य राखेर असंवैधानिक, अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा भंग गर्ने दुस्साहस गरिएको थियो,’ उनले भने,‘ यो गठबन्धनको सदन र सडक राजनीतिक र न्यायिक लडाइँबाट मुलुकलाई प्रतिगमनतिर जानबाट जोगायौं ।अहिले त्यही तत्व, त्यही विचार समूह यो परिर्वतनविरुद्ध, गठबन्धनविरुद्ध, संविधान र लोकतन्त्रविरुद्ध आइरहेको छ । त्यसैले यो निर्वाचन फगत पार्टी र खास उम्मेदवार रोज्ने मात्रै नभएर प्रतिगमनलाई परास्त गर्नका लागि पनि जित्न नै पर्ने भएको छ ।’

प्रकाशित : वैशाख २६, २०७९ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×