१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ — कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्ति नहुने बताएका छन् । न्यायाधीश नियुक्तिमा योग्यता र क्षमता हेरिने उनको भनाइ थियो । 

खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसोसिएनले सोमबार आयोजना गरेको 'विधिको शासन र यसका चुनौती' विषयक गोष्ठीलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिमा पारदर्शिता अपनाइने बताएका हुन् । 'न्यायाधीश नियुक्तिको विषयमा अब हामीले योग्यता, क्षमता खोजिरहेका छौँ । कानुन व्यवसाय नै गरेर आउनु भएको छ, त्यसमा पनि हामी क्षमता हेर्छौं,' उनले भने, 'यहाँहरूलाई विश्वास दिलाउन चाहान्छु खल्तीबाट नाम निकालेर ट्वाकट्वाक चाहीँ हुनेवाला छैन । हामीले प्रतिवद्धता गरिसक्यौं न्यायाधीश नियुक्ती गर्दाखेरी योग्यता, क्षमता भएकोलाई नियुक्ति गर्ने ।'

कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको पेसी प्रणालीमा शंका नगरिदिन पनि आग्रह गरेका छन् । उनले गोला प्रणालीमार्फत पेसी तोकिइरहेकोले आशंका नगर्न भनेका हुन् । 'गोलाप्रथा चलिरहेको छ । गोलामा शंका नगरीदिनु होला । शंका गर्नुपर्ने कुनैपनि स्थिति छैन । यति पारदर्शी छ । त्यसका शंका गर्ने कुरा केही पनि छैन,’ उनले भने ।

सर्वोच्च अदालतमा सुधारका काम भइरहेको पनि कायममुकायम प्रधानन्यायाधीश कार्कीको भनाइ थियो । उनले सर्वोच्च अदालतमा धेरै समस्या रहेको र तिनमा सुधार गर्ने कार्य भइरहेको बताएका हुन् ।

प्रकाशित : वैशाख २६, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?