गठबन्धनको डर, ज्योतिषीको भर

बबिता शर्मा

काठमाडौँ — किसानका लागि असार १५ विशिष्ट दिन हो, तर एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १७ प्रति कौतूहल बढाइदिएका छन् । ओलीले दाबी गरेजस्तै असार १७ वा आसपासमा नेपालको राजनीतिमा ‘उलटफेर’ हुन्छ कि हुँदैन भन्ने प्रस्ट छैन, तर उनको भविष्यवाणीले राजनीतिक वृत्तमा तरंग भने ल्याएको छ । 

गठबन्धनको डर, ज्योतिषीको भर

शनिबार विराटगरमा आयोजित चुनाव सभालाई सम्बोधन गरेयता ओलीले यो प्रसंग पटक–पटक दोहोर्‍याएका छन् । विराटगरमा उनको भनाइ थियो, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा असाध्यै विश्वास गर्नुहुन्छ । त्यसैले जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ ? मैले दिन नै तोकिदिएको छु– असार १७, कस्ता कस्ता ग्रह, दशा, नक्षत्रहरू कहाँ छन्, एकपल्ट ज्योतिषीलाई बोलाएर हेर्न लगाउनुस् भनेर मैले भनेको छु ।’

आइतबार एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पनि यही विषयमा प्रश्न र प्रतिप्रश्न चलिरहे । पत्रकारहरूको प्रश्न थियो– असार १७ मा के हुन्छ ? उस्तै आशयका प्रश्नहरूमा ओलीको एकमुष्ट जवाफ थियो, ‘मैले ज्योतिषीको कुरा भनेको हुँ । एउटा ग्रहदशा हेर्ने र अर्को राजनीति हेर्ने ज्योतिषी हुन्छन् । अहिलेचाहिँ दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदै छ भन्छन् । यो ज्योतिषीहरूको कुरा हो । होइन भने ठ्याक्कै–ठ्याक्कै मिलाउने प्रधानमन्त्रीज्यूका आफ्नै ज्योतिषी छन्, बोलाएर सोध्नुभए हुन्छ । मैले त्यही भनेको हुँ ।’

विषयलाई अझ प्रस्ट पार्न भन्दै ओलीलाई प्रतिप्रश्न पनि सोधिएको थियो, तर जवाफ थियो, ‘ज्योतिषीलाई सोध्नुस् न स्पष्ट पार्छन्, ज्योतिषीहरूले भनिराखेका छन् ।’ त्यसपछि तेस्रो प्रश्न उठ्यो– ‘पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेताले दिनै तोकेर भनेपछि केही न केही त होला ?’ ओलीले फेरि भने, ‘ज्योतिषीहरूले भनिराखेका छन् ।’

ओलीले गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो वैशाख ३० मा नै रहेको बताएका छन् । चुनावमा तालमेल प्रभावकारी नहुने र हार भएपछि गठबन्धनभित्र अविश्वास पैदा हुने उनको दाबी छ । ‘ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ । कस्तो दिन छानेर राख्नुभएछ ! वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या π ढाडै भाँचिने गरी,’ ओलीले भने ।

स्थानीय तह निर्वाचनको परिणाम आकलन मात्र होइन, ग्रह र ज्योतिषीका आधारमा ओलीको भनाइ अर्थपूर्ण रहेको उनी निकटस्थहरूको दाबी छ ।

‘पहिलो त राजनीतिक विषय हो, गठबन्धन अहिले जसरी बनेको छ, त्यसको हावा चुनावमा फुस्किनेवाला छ, किनकि चुनाव परिणामले उनीहरू पराजित हुनेछन् र एकअर्कालाई दोष लगाएर लाखापाखा लाग्नेछन् । त्यसमा शंका छैन,’ ओलीनिकट एक नेताले कान्तिपुरसँग भने ।

राजनीतिक मात्र होइन, ग्रह, दशा र नक्षत्रका आधारमा पनि ओलीको भनाइमा ‘दम’ रहेको उनीनिकट एक ज्योतिषीको दाबी छ । ‘धेरैजसो नेताहरू ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ, त्यसमध्ये ओली पनि एक हुनुहुन्छ,’ भन्छन्, ‘केपी ओलीका पिताजी नै ज्योतिष हुनुहुन्छ, उहाँ तान्त्रिक पनि हो । त्यस्तै अरू ज्योतिषप्रति पनि ओलीको सम्मान र विश्वास छ ।’ उनका अनुसार ज्योतिषीले गरेको भविष्यवाणीका आधारमा ओली विश्वस्त भएका हुन् ।

असारदेखि त्यसमा पनि १७ गतेदेखि ओलीका दिन सहज र प्रधानमन्त्री शेरबहादुर देउवाका दिन कठिन हुने योग रहेको उनको दाबी छ । ओलीलाई ज्योतिषीहरूले दिएको सल्लाह प्रस्ट पार्दै उनले भने, ‘खड्ग ओलीको मकर राशि हो, असार १७ गते द्वितिया तिथिदेखि मकर राशिको अष्टम नक्षत्रमा शनि र दशम् नक्षत्रमा बृहस्पतिको दृष्टि पर्नेछ । यो अवस्थामा कुटिल राजनीति चामत्कारिक रूपमा सफल हुनेछ । तर कुम्भ राशिका शेरबहादुर देउवाका राहु र बृहस्पति जुट्ने भएकाले गुरुचण्डाल योग सुरु हुनेछ । अहिले उहाँले गुरु थापेकाहरूले नै साथ छाडेर जानेछन् भन्नेमा ओली विश्वस्त हुनुहुन्छ ।’

सत्ता गठबन्धनमा रहेका दलका नेताहरू भने ओलीको अभिव्यक्ति निर्वाचन प्रभावित पार्ने दाउपेचका रूपमा आएको टिप्पणी गर्छन् । ‘उहाँ (ओली) ले मनोवैज्ञानिक प्रभाव दिन खोज्नुभएको होला । त्यसको कुनै आधार र अर्थ छैन,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महत भन्छन्, ‘उहाँ त्यस्ता फन्डा गरिरहनुहुन्छ । गठबन्धन राम्रोसँग गइराखेको छ । कुनै समस्या आउला जस्तो मैले ठानेको छैन ।’ आफ्ना एजेन्डाभन्दा विपक्षीलाई गाली गर्न र ‘राजनीतिक आतंक’ सिर्जना गरेर निर्वाचनमा ओली हावी हुन खोजेको उनको आरोप छ ।

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले त ओलीको अभिव्यक्तिप्रति कडा टिप्पणी गरे । ‘यस्तो कुनै पनि भविष्यवाणी कसैले पनि दिन तोकेर भन्न सक्दैन । ज्योतिषीहरू कहिलेकाहीँ भविष्यवाणी गर्न सक्छन्, ती कुराहरू पनि सबै पुग्दैनन् । तर खड्ग ओली जे कुरा गर्दै छन्, यो किसिमको अराजनीतिक मजाक हो,’ खनालले भने ।

माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले ओलीको चुनावी फन्डा मात्रै भएको टिप्पणी गरे । ‘आफ्नै भविष्य थाहा नपाउने ओलीजस्ता ज्योतिषीले अरूको भविष्य कसरी थाहा पाउँछन् ? राजनीतिक दलले निर्वाचनमा आफ्नो कार्यक्रम जनतामा दिने हो, अरूको खोइरो खनेर उट्पट्याङ कुरा गरेर जनताका निम्ति जोकर मात्रै बन्ने हो,’ पोखरेलले भने, ‘सुन्नेहरू हाँस्छन्, ताली बजाउँछन्, रमाइलो गर्छन् । तर राजनीतिक नेताको काम त्यो होइन ।’

प्रकाशित : वैशाख २६, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?