१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
असानी चक्रवातको आंशिक प्रभाव

'चुनावको दिन वर्षाको सम्भावना'

अघिल्लो दिन मधेस प्रदेशमा हावाहुरी, अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षा हुने
गोविन्द पोखरेल

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको निर्वाचन हुने दिन (वैशाख ३०) गते वर्षाको सम्भावना रहेको जनाएको छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको 'असानी' चक्रवातको आंशिक प्रभाव नेपालमा पनि पर्ने भएकाले महाशाखाले मतदातालाई सचेत हुन आग्रह गर्दै छाता लिएर मतदान केन्द्र जान आग्रह गरेको हो ।

'चुनावको दिन वर्षाको सम्भावना'

महाशाखाका मौसमविद् हिरा भट्टराईले बंगालको खाडीमा बनिरहेको असामी चक्रवात र स्थानीय वायुको संयुक्त प्रभावले त्यसदिन हल्का र मध्यम वर्षा हुने प्रक्षेपण गरिएको बताए । उनले भने, 'मतदान केन्द्रमा सुविधा नहुन पनि सक्छ । मतदान केन्द्रमा जाँदा मतदाताले छाता लिएर जानु भयो भने राम्रो हुन्छ । '

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भातरको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको 'असानी' चक्रवात उक्त प्रणाली उत्तर-पश्चिम (भारत) तर्फ सर्ने क्रममा छ । वैशाख ३० गतेसम्म उक्त चक्रवात कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने विभागले जनाएको छ । उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने र त्यसदिन हल्कादेखि मध्यम वर्षा हुने सक्ने विभागले जनाएको हो ।

विभागका अनुसार शुक्रबार प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिए । यस्तै, मधेस, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

विभागकी प्रवक्ता विभूति पोखरेलले पनि मतदाताहरुलाई मतदान केन्द्रमा जाँदा त्यही अनुसारको तयारी गरेर जान आग्रह गरिन् । उनले पानी पर्ने भएकाले मतपेटिका कसरी सुरक्षित राख्‍ने मुख्य कुरा हुने बताइन् । उनले भनिन्,'पानी पर्न सक्ने सम्भावना रहेकाले मतपेटिकाको संरक्षण गर्न जरुरी देखिन्छ । मतपेटिका संरक्षण गरिएन भने मिहिनेत खेर जान्छ । त्यसका लागि सोही अनुरुपको तयारी गर्नुपर्छ । ' उनले पनि छाता बोकेर जान सुझाव दिइन् ।

मतपेटिकामा मत खसाल्दा पानीले भिज्‍न सक्‍ने सम्भावना पनि हुने भएकाले विशेष तयारी आवश्यक रहेको उनले बताइन् ।

चुनावको अघिल्लो दिन तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना रहेकोविभागले जनाएको छ । बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसदिन प्रदेश १, मधेश प्रदेश, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन पनि निकालेको छ । विभागले बुधबारदेखि शनिबारसम्मको मौसम पूर्वानुमन निकालेको हो । बुधबार र बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने प्रक्षेपण गरेको छ ।

महाशाखाले मौसमी प्रणालीका कारण निर्वाचनमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध समेत गरेको छ ।महाशाखाले मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्ने जनाएको छ ।

प्रकाशित : वैशाख २५, २०७९ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?