कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२१ औं शताब्दी हो, कसैले तर्साएर कोही तर्सिंदैनन् : ओली

घनश्याम गौतम

रूपन्देही — नेकपा एमालेका अध्यक्ष केपी ओलीले २१ औं शताब्दीका जनता कसैले तर्साएर नतर्सने बताएका छन् । बुटवलमा एमालेको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै ओलीले गठबन्धन दलका नेताहरुले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको बताए ।

२१ औं शताब्दी हो, कसैले तर्साएर कोही तर्सिंदैनन् : ओली

‘गठबन्धन टिकोस् कि, गठबन्धन भीरबाट लडोस्, खोलामा बगोस्, जनतालाई के मतलब,’ उनले भने, ‘मेरो छोरीलाई भोट दिइएन भने दुर्घटना हुन्छ भनेर जनता तर्साइरहेका छन् । २१ औं शताब्दीका जनता तर्साएर तर्सिदैनन् ।’

बुटवल उपमहानगरपालिकासहित रूपन्देहीका एमाले उम्मेदवारलाई मत माग्न बुटवल आएका उनले यस क्षेत्रमा भइरहेका सडक, अन्तर्राष्ट्रिय सभागृह, लुम्बिनीको सभाहल, बुटवल नारायणगढ सडक चौडा पार्ने काम, मेडिकल कलेजलगायत भइरहेका कामहरुको फेहरिस्त लगाएका थिए । नेकपा माओवादी केन्द्र र कांग्रेसको आलोचनामा अधिकांश समय खर्चिएका अध्यक्ष ओलीले कांग्रेसले २७ वर्ष सरकारमा बस्दा ४२ वटा उद्योग बेचेर खानेबाहेक केही जनताले जान्ने, बुझ्ने र महसुस हुने गरी काम नगरेको बताए । देशभरका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने गरी सबै तयारी पूरा गरेका बेला विकास र गरिबविरोधी तत्वले सरकार भत्काएर र आयोग नै खारेज गरिदिएको आरोप पनि उनले लगाए ।

सरकार बनेको १० महिना खेर गएको भन्दै अझै केही समय खेर जाने ओलीको जिकिर थियो । अध्यक्ष ओलीले वैशाख ३० गते एमालेलाई विजयी होइन दिग्बिजयी बनाउने दिन भन्दै मत मागेका थिए । उनले भोलिका दिनमा एमालेले संघीय र प्रदेश सरकार बनाउँदा विनियोजित हुने बजेट अलपत्र हुनबाट जोगाउन स्थानीय तहबाटै एमालेलाई जिताउन आवश्यक रहेको दाबी गर्दै एमालेको विजयी यात्रा स्थानीय तहबाटै सुरु हुनु पर्ने बताए ।

बुटवलको विकासको जिम्मा पनि एमालेलाई दिन ओलीले आग्रह गरे । ‘बुटवलको विकासको जिम्मा एमालेको । सूर्यमा मत दिएर मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई जिताउने काम तपाईंहरुको,’ उनले भने, ‘त्यो गर्दा तपाईंहरु कोही पनि पछुताउन पर्ने छैन ।’ अध्यक्ष ओलीले आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने ठोकुवा गर्दै भोट नदिए बजेट पठाइँदैन भन्दै हिँड्नुको पनि अर्थ नभएको बताए ।

प्रकाशित : वैशाख २५, २०७९ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?