गोलमढीको पार्वती मूर्ति अमेरिकाबाट फर्काइने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोलमढीको पार्वती मूर्ति अमेरिकाबाट फर्काइने

प्राचनीकालदेखि पूजा हुँदै आएको मूर्ति एकाएक हराएपछि ४५ वर्षदेखि प्रतिकृति बनाई नित्यपूजा गरिँदै
देवेन्द्र भट्टराई

काठमाडौँ — भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट ४५ वर्षअघि हराएको कलात्मक पार्वती (तारा) को मूर्ति अमेरिकाको कनेक्टिकटस्थित येल युनिभर्सिटीको आर्ट ग्यालरीबाट नेपाल फर्किने भएको छ । उक्त मूर्ति नेपालको भन्ने पुष्टि भएपछि युनिभर्सिटी फर्काउन तयार भएको हो ।

न्युयोर्कस्थित कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमका अनुसार गत वर्षको असारमै उक्त मूर्तिको अवस्थितिबारेमा सूचना आएको थियो । आवश्यक तथ्य पहिचान र प्रमाणिकरणपछि मूर्ति घर फर्काउन युनिभर्सिटी तयार भएको हो । अंशुवर्माकालीन सम्पदा मानिने पार्वतीको मूर्तिलाई युनिभर्सिटी वेबसाइटमा भने ‘बुद्धिस्ट गडेस तारा’ भनेर उल्लेख गरिएको थियो ।

भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरमा उक्त मूर्ति २०३३ सालसम्म थियो । येल युनिभर्सिटीको आर्ट सेक्सनकी क्युरेटर एन्टोनिया बर्तोलले कार्गोको प्रक्रिया र सुरक्षा प्रबन्धसँगै नेपालको सम्पदालाई छिटै घर फर्काइने प्रतिक्रिया दिइन् । उक्त मूर्ति फर्काएपछि गोलमढीको मन्दिरमा प्रतिस्थापन गर्न भक्तपुर नगरपालिकाले प्रतिबद्धता जनाइसकेको छ । नेपालबाट चोरिएका/हराएका सम्पदाको खोजीनितिबारेको अन्र्तराष्ट्रिय अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ ले नेपाली सम्पदा येलमा रहेकोबारे सूचना पहिलोपटक सार्वजनिक गरेको थियो ।

वीरभद्रेश्वर महादेव मन्दिरका पुजारी कीर्तिनाथ मिश्रले मूर्ति एकाएक हराएपछि प्रतिलिपि बनाएर नित्यपूजा भइरहेको जानकारी दिए । इतिहासको अभिलेखमा, स्विस अध्येता उसर्लच भोन स्क्रोडरले भक्तपुर भ्रमणका क्रममा गोलमढीस्थित पार्वतीको तस्बिर २०३३ सालमा खिचेका थिए । उनले उक्त मूर्तिबारेको विवरण ‘नेप्लिज स्टोन स्क्लर्पर्च्स’ (दोस्रो खण्ड) कृतिमा समेटेका छन् ।

गोलमढीस्थित वीरभद्रेश्वर महादेव परिसरकै शिलालेखमा उल्लेख भएअनुसार पनि यो शिव–पार्वती मूर्ति अंशुवर्माकालीन प्रमाणित भएको छ । इतिहासविद् धनबज्र वज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ (२०३०) कृतिमा यो गोलमढी शिवदेव सम्वत ५१६ मा अंशुबर्मा ‘महासामन्त’ उपाधिबाट विभूषित भएपछि स्थापित गरिएको उल्लेख छ । अमेरिकी विश्वविद्यालय र अरू अध्येताले ‘तारा’ को मूर्ति भनेर प्रचार गरे पनि यो पार्वतीकै मूर्ति भएको स्पष्ट देखिन्छ । ‘धार्मिक र सांस्कृतिक सद्भाव रहेको समाजमा शिव मन्दिरभित्र तारा(बौद्धमार्गी) मूर्ति रहन सम्भव रहेको’ धारणा राख्दै सम्पदाविद्ले यो कृतिमा ‘वसुधरा रूप’ देख्न सकिने जनाएका छन् । एउटै मूर्तिलाई हिन्दुहरूले पार्वतीका रूपमा र बौद्धहरूले ताराका रूपमा मान्दै आएको हुन सक्ने विज्ञको राय छ ।

येल युनिभर्सिटीको वेबसाइटमा उल्लेख भएअनुसार सन् १९७६ मा भक्तपुर गोलमढीबाट प्राप्त भएको उक्त मूर्ति सुरुमा स्पिन्क एन्ड सन लिमिटेड (लन्डन) ले देवीको मूर्ति भनेर कला सम्पदाका संग्रहकर्ता जेम्स एन्ड मार्लिन एल्सडर्फलाई बेचेको थियो । त्यसबेलाको लिलामी मूल्य १८ हजार डलर रहेको सूचना बाहिर आइसकेको छ । सन् १९८४ जेम्स दम्पतीले यो सम्पदा पाएपछिका केही वर्षसम्म ‘बिक्री बाहिर’ देखिएको यो सम्पदा सन् २००२ मा एकैचोटि माइकल एन्ड जर्जिया, न्युयोर्कमा पुगेको देखिन्छ । येल युनिभर्सिटीले भने सन् २०१५ मा यो आफूले पाएको जनाएको थियो । यो सम्पदा कसले युनिभर्सिटीलाई बुझाएको हो भन्ने स्पष्ट खुलाइएको छैन ।

मूर्ति फिर्ता गर्ने निर्णयमा पुग्नुअघि येल युनिभर्सिटी (अमेरिका) र पुरातत्व विभाग (काठमाडौं) समेतले यो सम्पदाको उत्पत्तिको आधार तथा प्रामाणिकताबारे छुट्टाछुट्टै अनुसन्धान गर्दै आएका थिए । यो सम्पदालाई घर फिर्ता पठाउन लाग्ने खर्च युनिभर्सिटीले बेहोर्ने भएको छ । सम्पदा फर्काउनेबारेमा न्युयोर्कस्थित महावाणिज्य दूत कार्यालय र येल युनिभर्सिटीबीच शुक्रबार भचुअल बैठकमा सहमति भएको हो ।

प्रकाशित : वैशाख २५, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्

सुवासको घर बनाउन १५ लाख संकलन

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद २०१९ (साग) मा दुई स्वर्ण पदक जितेका गल्फर सुवास तामाङको घर निर्माणका लागि गोकर्ण गल्फ क्लबमा आयोजित ‘च्यारिटी गल्फ प्रतियोगिता’ बाट १५ लाख रुपैयाँ संकलन गरिएको छ ।

नेपाल गल्फ संघ र गोकर्ण फरेस्ट रिसोर्टद्वारा शनिबार आयोजित प्रतियोगितामा सहभागी ७२ सोसल गल्फर र थप २० गरी ९२ जनाको सहयोगबाट १५ लाख संकलन गरिएको संघका महासचिव दीपक आचार्यले बताए । गोकर्ण गल्फ क्लबका वरिष्ठ निर्देशकसमेत रहेका उनले भने, ‘गल्फ समुदायबाट सहयोग जुटाएर सुवासको घर निर्माण गर्ने प्रयास गरेका छौं । व्यक्तिगत रूपमा निकै राम्रो सहयोग संकलन भएको छ । यसबाट चाँडै उनको घर बनाउने छौं ।’ ठमेल डेन्टल क्लिनिकले आजीवन सुवासको दाँतको उपचार गर्ने घोषणा पनि गरेको छ ।

माधव सिम्खडाले सर्वाधिक ४१ अंक जोड्दै उक्त च्यारिटी गल्फको ट्रफी कब्जा गरे । कवि थापाले ‘काउन्टब्याक’मा अर्जुन कुमारलाई पछाडि पार्दै दोस्रो स्थान हािसल गरे । दुवैले ४० अंक बनाए । पछिल्लो ९ होलमा कविले २१ अंक जोडे भने अर्जुनले १७ अंक हात पारे । टासी छिरिङ र वान्चेन धोन्डुपले सर्वाधिक ३६ ग्रस प्वाइन्ट जोडे । १२ औं होलमा बर्डी गरेको आधारमा टासी पहिलो भए । उक्त होल वान्चेनले पारमा टुंग्याए । दुवैले अन्तिम ६ होलमा समान प्रदर्शन गरे ।

महिलातर्फ गीता गुरुङ (२६ अंक) पहिलो भइन् भने सिनियरमा आरआर पाण्डे र विजयबहादुर श्रेष्ठले समान ३५ अंक जोडे । पाण्डे काउन्टब्याकका आधारमा पहिलो भए । स्टेबलफोर्ड ३/४ ह्यान्डीक्यापको आधारमा भएको प्रतियोगितामा नोर्बु श्रेष्ठले लङ्गेस्ट ड्राइभ, रवीन्द्र तिवारीले क्लोजेट टु द पिन, टासी दोङले सर्वाधिक बर्डीको पुरस्कार हात पारे ।

प्रकाशित : वैशाख २५, २०७९ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×