चोरेर अमेरिका पुर्‍याइएको अंशुवर्माकालीन पार्वती मूर्ति घर फर्काइँदै

काठमाडौँ — भक्तपुरको एक प्राचीन मन्दिरबाट झन्डै ४५वर्षअघि चोरिएको र अमेरिकाको कनेक्टिकट राज्यस्थित येल विश्वविद्यालयको आर्ट ग्यालरीमा फेला परेको कलात्मक पार्वती(तारा)को मूर्ति नेपाल फर्काउनेबारे सहमति भएको छ ।

चोरेर अमेरिका पुर्‍याइएको अंशुवर्माकालीन पार्वती मूर्ति घर फर्काइँदै

न्युयोर्कस्थित कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले दिएको जानकारीअनुसार, गत वर्ष असारमा उक्त मूर्तिको अवस्थितिका बारेमा जानकारी आए पनि आवश्यक तथ्य पहिचान र प्रमाणीकरणपछि घर फर्काउन विश्वविद्यालय तयार भएको हो । अंशुवर्माकालीन सम्पदा मानिने पार्वतीको मूर्तिलाई विश्वविद्यालयको वेबसाइटमा ‘बुद्धिस्ट गडेस तारा’ भनेर उल्लेख गरिएको थियो ।

भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरमा उक्त मूर्ति २०३३ सालसम्म रहेको थियो । त्यही वर्ष यो मूर्ति लन्डनको एक निजी कला संग्रहकर्ताकहाँ फेला परेको र त्यहाँबाट लिलामी/बिक्रीको अनेक चरणमा सन् २०१५ मा येल विश्वविद्यालयमा पुगेको देखिन्छ ।

विश्वविद्यालयकी आर्ट क्युरेटर एन्टोनिय बर्तोलले कार्गोको पक्रिया र सुरक्षा प्रबन्धसँगै नेपालको सम्पदालाई छिट्टै घर फर्काइने प्रतिक्रिया दिइन् । उक्त मूर्ति फर्काएपछि गोलमढीको यथास्थान मन्दिरमा प्रतिस्थापन गरिने प्रतिबद्धता भक्तपुर नगरपालिकाले जनाइसकेको छ ।

उक्त मूर्ति हराएको र अमेरिकामा फेला परेकोबारे लस्ट आर्ट्स अफ नेपालले पहिलो पटक सूचना बाहिर ल्याएको थियो ।

प्रकाशित : वैशाख २४, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?