काठमाडौंको सभामा रेनुकै चर्चा

भरतपुर महानगरमा रेनु दाहालको उम्मेदवारीको औचित्य पुष्टि गर्ने प्रयास
कलेन्द्र सेजुवाल

काठमाडौँ — सत्ता गठबन्धनले काठमाडौं महानगरका आफ्ना उम्मेदवारलाई जित दिलाउन राजधानीमा शुक्रबार गरेको चुनावी सभामा चर्चाको केन्द्रमा भने भरतपुर महानगर प्रमुखकी उम्मेदवार रेनु दाहालरहित । स्वयं प्रधानमन्त्री शेरबहादुर देउवादेखि सबैजसो नेताले माओवादी अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेनुको उम्मेदवारीको औचित्य पुष्टि गर्न आफ्नो मन्तव्य खर्चिए ।

काठमाडौंको सभामा रेनुकै चर्चा

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आफूले नै रेनुलाई टिकट दिन माओवादी अध्यक्ष दाहाललाई भनेको बताए । ‘हामी सबैले तपाईंकी छोरीलाई नउठाउनुहोस् भनेको भए उहाँले मान्नुहुन्थ्यो,’ उनले भने, ‘तर मैले नै राम्रो काम गरेको छ, टिकट दिनुस् भनेको हुँ ।’ सभापति देउवाले दाहालकी छोरी भएर जन्मनु रेनुका लागि र प्रकाशमान सिंहकी श्रीमती हुनु सिर्जनाका लागि राजनीतिमा बाधक भएको पनि बताए ।

प्रकाशमानले श्रीमती सिर्जनालाई उठाउन डराए पनि आफ्नै जोडबलमा उम्मेदवार बनाएको देउवाको भनाइ थियो । ‘यहाँ पनि प्रकाशमानले स्वास्नी उठायो भन्लान्, हराइदिने हुन् कि भन्दै थिए,’ उनले भने, ‘तर मैले राजधानी सहरको उम्मेदवार महिला हुनुपर्छ भनेर टिकट दिएको हुँ ।’ देशको राजधानी रहेको काठमाडौं महानगरमा महिला उम्मेदवारलाई हराउँदा देशकै लाज हुने उनको भनाइ थियो । देउवाले बिहीबार भरतपुरमा आयोजित कार्यक्रममा पनि महिला उम्मेदवारलाई हराउँदा राम्रो सन्देश नजाने बताएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले छोरीको नाम नलिएरै काम गर्ने महिलाहरूलाई जिताउनुपर्ने बताए । ‘कसैलाई छोरीका रूपमा त कसैलाई श्रीमतीका रूपमा प्रचार गरेर महिलालाई अपमानित गर्ने काम भएको छ, महिलाको क्षमताको अवमूल्यन गर्ने कोसिस भइरहेको छ,’ उनले भने, ‘म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्दछु ।’ महिलालाई विश्वास गर्ने र सम्मान गर्ने देशकै आवश्यकता रहेको उनले बताए । पुरुषले धेरै राज गर्दा पनि कुनै लछारपाटो नलगाएको भन्दै दाहालले एकचोटि महिलालाई कार्यकारी भूमिका दिनुपर्ने बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले महिलालाई सम्मान गरेको भनाइ राखे । काठमाडौंका साथै भरतपुरमा पनि महिलालाई मेयर उठाएर राम्रो सन्देश दिएको उनको भनाइ थियो । ‘परिवारकै मान्छे भए पनि असल महिलालाई उठाउँदा तटस्थ मान्छेले समेत राम्रो उम्मेदवार चयन गरको बताएका छन्,’ उनले भने । सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगर प्रमुखकी उम्मेदवार सिर्जना सिंहले आफू राजनीतिक संस्कारयुक्त परिवारको बुहारी भएको उल्लेख गर्दै विजयी भएपछि सबैलाई समान व्यवहार, सम्मान र अपनत्व प्रदान गर्ने महान् घरजस्तो गरेर महानगर चलाउने बताइन् ।

शुक्रबार आयोजित चुनावी सभामा नेताहरूले गठबन्धनलाई लामो समयसम्म लैजाने प्रतिबद्धता जनाए । यसका लागि इमानदारीपूर्वक भोट साटफेर गर्नुपर्ने उनीहरूको भनाइ छ । ‘प्रचण्डजी धेरै लचिलो हुनुहुन्छ, झगडा भयो भने भइहाल्यो भन्नुहुन्छ,’ देउवाले भने, ‘त्यसैले कांग्रेसले महाधिवेशन र केन्द्रीय समितिबाटै गठबन्धन गर्ने निर्णय गरेको हो ।’ दाहालले वाम गठबन्धनको प्रयोग असफल भएकाले कांग्रेससँग गठबन्धन गर्नुपरेको प्रस्ट्याए । ‘(एमालेसँग) वाम गठबन्धन गरेर ज्ञान प्राप्त भयो, अब फेरि त्यस्तो गल्ती हुँदैन,’ उनले भने, ‘अब यही गठबन्धनलाई सफल रूपमा अघि बढाउने हो ।’

प्रकाशित : वैशाख २४, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?