कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एसको प्रतिष्ठा पोखरामा

जसरी भरतपुरमा छोरी रेनुलाई मेयर बनाउनु पुष्पकमल दाहालका लागि जीवनमरणको सवाल भएको छ, त्यसैगरी पोखरामा आचार्यलाई जिताउनु माधव नेपालका लागि अस्तित्वकै प्रश्न भएको छ

पोखरा — उम्मेदवारहरूका दैनिकी हिजोआज साह्रै व्यस्त र थकानपूर्ण छन् । सखारै उठ, समर्थकहरू जम्मा पार, र्‍याली निकाल, टोलटोल धाऊ, वडा–वडामा पुगेर सभाहरू गर र थाकेर घर फर्क । जतिजति चुनावको दिन नजिक आउँदै छ, उतिउति उनीहरूको दौडधुपपूर्ण चर्या बढ्दो छ । चुनावी तयारीका यी सब काम सकेर आरामको एउटा लामो सास लिँदा रात परिसक्छ । फेरि, बिहान झन् बढी व्यस्त तालिकाको दिन सुरु गर्नु छँदै छ । 

एसको प्रतिष्ठा पोखरामा

‘चुनाव आइसक्यो, जान अझै २१ वडा बाँकी छ,’ बिहीबार अपराह्न पोखरा महानगरपालिकाको वडा नं ११ स्थित फूलबारीको भानु चोकमा चुनावी सभामा सम्बोधन गर्न ठिक्क परेका एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले कान्तिपुरसँग भने, ‘साह्रै व्यस्त भएको छु ।’

आचार्य यसरी ज्यान फालेर खट्नुका दुई कारण छन् । पहिलो, यो स्थानीय चुनावमा एकीकृत समाजवादीका तर्फबाट उनी भूगोलका हिसाबले सबैभन्दा ठूलो महानगरका सबैभन्दा आशालाग्दा उममेदवार हुन् । त्यसैले उनलाई जसरी पनि जितेर देखाउनु छ । जसरी भरतपुरमा छोरी रेनुलाई मेयर बनाउनु पुष्पकमल दाहालका लागि जीवनमरणको सवाल भएको छ, त्यसैगरी पोखरामा आचार्यलाई जिताउनु माधव नेपालका लागि अस्तित्वकै प्रश्न भएको छ । पोखरामा जित हात पार्न नेपाल आफ्ना वरिष्ठ नेता झलनाथ खनालसहित गठबन्धनका सहयात्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र रामचन्द्र पौडेललाई लिएर २५ गते पोखरा आउँदै छन् । उनीहरू सबैले गठबन्धनका सबै मतदातालाई एकजुट हुन संयुक्त सम्बोधन गर्ने तय भएको छ । आचार्य यसरी मरिमेटेर खट्नुको दोस्रो कारणचाहिँ गठबन्धनलाई सक्दो एकजुट पार्ने चुनौती नै हो ।

देशका ६ महानगरपालिकामा सत्ता साझेदार दल कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर लियो । वीरगन्ज जसपा र भरतपुर माओवादीले पाए । ठूलो कसरतपछि पोखरा एकीकृत समाजवादीको भागमा आएको हो । ‘पार्टीले पाएको महानगरको एउटै टिकट पाउनु मेरा लागि सौभाग्य हो,’ उनी भन्छन्, ‘अब यसलाई जितमा बदल्ने चुनौती सामना गर्दै छु ।’

यही जितका लागि उनी दिनरात खटिएका छन् तर उनलाई आफ्नै पुरानो दल एमाले र त्यसका उम्मेदवार कृष्णबहादुर थापाको कडा टक्कर छ, जो उनका पूर्वसहकर्मी पनि हुन् ।

यसपाला पनि आफैंले जित्नुपर्छ भनेर एमालेले मेयरदेखि वडा सदस्यसम्म सातै पदमा एकछापे उम्मेदवारी दिएको छ । त्यसैले, उसलाई मत बदर होला भन्ने कुनै चिन्ता छैन तर कांग्रेस कार्यकर्तालाई दोस्रो लहरको रूख चिह्नमा होइन, पाँचौं लहरको कलममा छाप हाल्न लगाउनु आचार्यका लागि फलामको चिउरा चपाउनुजत्तिकै कठिन छ । किनभने दुई चार सयले होइन, हजारौंले यसो गरिदिएनन् भने मत बदर हुनेछ, जो उनको हारको कारण बन्नेछ । ‘मलाई सबैभन्दा पीर यसैको छ,’ उनी भन्छन्, ‘साथीहरूलाई यसबारे सक्दो जानकारी दिने कोसिसमा छु ।’

निर्वाचन आयोगले उम्मेदवार नभएको दलको चिह्न मतपत्रमा नछाप्ने पूर्वनिर्णयविरुद्ध हुने गरी सबै दलका सबै चिह्न छापिदिएपछि गठबन्धनका उम्मेदवारलाई ठूलै टाउको दुखाइ भएको छ ।

ठूलो संख्यामा मत बदर हुने छाँट देखिएपछि आचार्यले ठीक तरिकाबाट कसरी छाप लगाउने भन्ने जानकारी आमसभा, छलफल र स्वयंसेवक परिचालनबाट मात्रै होइन, डिजिटल सामग्री तयार पारी त्यसको तीव्र प्रचार–प्रसारबाट पनि दिने प्रयास गरेका छन् । ‘पहिलो छाप पहिलो कलम, दोस्रो छाप दोस्रो रुख’ भनेर उनले प्रमुखमा आफ्ना लागि र उपप्रमुखमा कांग्रेसका तर्फबाटकी उम्मेदवार कोपिला रानाभाटलाई मत दिनरातै मागिरहेका छन् ।

गठबन्धनबाट टिकट पाए पनि स्थानीय तहका कांग्रेस कार्यकर्ताबाट ज्यादै विरोध खेपेका आचार्यलाई पहिले त तिनको अन्तरविरोध सामसुम पार्नै निकै मुस्किल भयो । अब तिनलाई ठीक तरिकाले मत खसाल्न लगाउने चुनौती सामना गर्नॅ परिरहेको छ । सुरुमा गठबन्धनबाट आचार्यको दाबी पोखरामा कांग्रेसका लागि पाच्य नै भएन । अघिल्लो निर्वाचनमा ४६ हजार ४ सय १६ मत ल्याएको कांग्रेसले सानो र नयाँ दलको दाबीलाई नमान्नु स्वाभाविक पनि थियो । तर पनि आचार्यले टिकट पाए । आफूसँग ५ हजार पार्टी सदस्य र १७ हजार मतदाता रहेको दाबीसहित उनले गठबन्धन दलका पाँचै नेतालाई त्यसको नामावली नै पेस गरेका थिए टिकट पाउनका लागि ।

उता केन्द्रमा आचार्यलाई टिकट दिने निर्णय भए पनि यता पोखरामा कांग्रेस जिल्ला कार्यालयमा पहिला तालाबन्दी भयो । कांग्रेसको भोट कांग्रेसले नै पाउनुपर्छ भनेर ऋषि सापकोटा, नन्दप्रसाद तिवारी र बिमलबहादुर कार्कीले बागी उम्मेदवारी पनि दिए । तर, शीर्ष नेतृत्वले मनाएपछि सापकोटा र तिवारीले उम्मेदवारी फिर्ता लिए । प्रमुख र उपप्रमुखमा गठबन्धन स्वीकार गरे पनि वडाहरूमा त्यसो नगर्न कांग्रेस कार्यकर्ताले आफ्नो प्रदेश पार्टी कार्यालय तोडफोडै गरे । अन्ततः प्रमुखमा गठबन्धन र वडामा एकल उम्मेदवारी तय भयो, जसले गर्दा आचार्यले कांग्रेसजनको ठूलो मात्रामा समर्थन पाएका छन् तर असन्तुष्ट बागी उम्मेदवारमध्येका कार्कीले भने उम्मेदवारी कायमै राखेका छन् र कांग्रेसीहरूका माझ सक्दो बल लगाएर रातो दिन भुइँकटहर चिह्नमा मत माग्दै हिँडिरहेका छन् । ‘उहाँहरू दुवैले एमालेको भोट बाँड्ने हो, मैले कांग्रेसको सबै भोट पाउँछु,’ उनी भन्छन्, ‘त्यसैले मैले जित्ने निश्चित छ ।’ तर उनको यो निश्चिन्ततामा पनि ठूलो शंका छ किनभने हजारौं कांग्रेसी मतदातालाई भुइँकटर कसको चिह्न हो, थाहै छैन ।

यसरी दुवैतिर कंग्रेसको मत धेरै बदर हुने आंकलन गर्दै एमालेजन उत्साहका साथ प्रचारमा लागेका छन् । पार्टी फुटेर केही फरक पर्दैन भन्ने साबित गर्न एमालेलाई जसरी पनि पोखरामा चुनाव जितेर देखाउनु छ । त्यही चुनौतीले गर्दा एमाले उम्मेदवार थापा पनि उज्यालो नहुँदै जुर्मॅराएर चुनावी रणनीतिमा होमिइरहेका छन् । भूगोलका हिसाबले ४६४.२४ वर्ग किलोमिटरमा फैलिएको देशको सबैभन्दा ठूलो महानगरको ठूलो प्रतिस्पर्धा यी दुई मित्रहरूको दौडधुपले ओगटेको छ । ‘एमालेको क्रेज झन् बढेको छ,’ थापा भन्छन्, ‘त्यसैले मलाई आफू जित्नेमा द्विविधा छैन ।’

उनले यसो भने पनि तीव्र उछलकुद, हाउभाउ र गठबन्धनको उस्तै सक्रियताले थापा दबाबमा छन् भन्ने प्रस्टै देखिन्थ्यो । बिहीबार उनी दिनभरि नै तीन वर्षअघि दुर्घटनामा परेर बितेका पोखरेली नेता रवीन्द्र अधिकारीको जन्मजयन्तीका सन्दर्भमा पार्टीले विभिन्न वडाहरूमा आयोजना गरेका चुनावी सभा र र्‍यालीमा व्यस्त भए ।

थापा जति सक्रिय भए पनि उनी कमजोर अवस्थामा पुगेको आकलन गठबन्धनको छ । सुरुमा प्रमुखको उम्मेदवारी एमालेले प्रदेश सदस्य दीपक पौडेललाई दिने निर्णय गरेको थियो तर विवादास्पद भिडियो चर्चामा आएपछि उनलाई हटाएर अन्तिम समयमा थापालाई टिकट दिइयो । प्रदेश सभा सदस्य थापाले राजीनामा दिएर नगर प्रमुखमा उम्मेदवारी दिए । २०५४ को स्थानीय निर्वाचनमा प्रमुख पदको अनुभव बटुलिसकेका थापालाई त्यतिबेला सेती नहर फेवातालमा मिसाएर तालमा ढल हालेको आरोप छ । त्यस्तै, पोखरा १४ स्थित बाच्छेबुडुवामा ल्यान्डफिल साइट निर्माण गरेर आफ्नो क्षेत्रमा प्रदूषण गरेको झोकमा स्थानीयले उनलाई मोसो दलिदिएका थिए । उनकै वडा बाटुलेचौरमा भएको जातीय विभेदको घटनामा पीडकको पक्षमा विज्ञप्ति निकालेपछि उनी विवादमा पनि परेका थिए ।

गठबन्धनका प्रत्यासी आचार्य यी कारणहरूले प्रतिद्वन्द्वीउपर आफ्नो पल्ला भारी हुने निचोडमा छन् । त्यसमाथि पाइसकेको टिकट गुमाउन पुगेका पौडेल पक्षधरले उनलाई साथ दिँदैनन् भन्ने पनि गठबन्धनको ठम्याइ छ । यसरी दुई मित्रहरूले एक आपसको टकराव माने पनि मतदाताबीच उल्लेख्य उभार ल्याएका युवाको अटेरी समूह र राप्रपा पनि जित आफ्नै हुने आकलनका साथ चुनावमा होमिएका छन् ।

प्रकाशित : वैशाख २३, २०७९ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?