कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मतपत्र छपाइले पाठ्यपुस्तकमा ढिलाइ

जनक शिक्षाले विद्यार्थी संख्याअनुसार पुस्तक छाप्न सकेन
सुदीप कैनी

काठमाडौँ — स्थानीय तह निर्वाचनको असर विद्यार्थीको पाठ्यपुस्तक बिक्रीवितरणमा परेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन अब १० दिन मात्रै बाँकी छ । तर, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले माग र विद्यार्थी संख्याअनुसार पाठ्यपुस्तक छाप्न सकेको छैन भने छापिएका पुस्तक पनि निर्वाचनको बहानामा वितरण गरिएको छैन । 

मतपत्र छपाइले पाठ्यपुस्तकमा ढिलाइ

देशभरका विद्यालय नयाँ शैक्षिक सत्रको तरखरमा जुट्दा स्थानीय तहको मतपत्र छपाइ गरेको जनक शिक्षाले यो वर्ष सामुदायिक विद्यालयका विद्यार्थीलाई समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने भएको हो । जेठको पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । मासिक २५ लाखसम्म पाठ्यपुस्तक छाप्न सक्ने क्षमता भएको जनक शिक्षालाई ४० लाख

पाठ्यपुस्तक छाप्न कम्तीमा डेढ महिना समय चाहिन्छ । सुगमका जिल्लामा छापिएका पुस्तक ढुवानी गरेर वितरण केन्द्र, विक्रेता, विद्यालय हुँदै विद्यार्थीको हातसम्म पुग्न थप सात दिन समय लाग्छ । जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले ४० लाख थान पुस्तक मात्रै छाप्न बाँकी भएको दाबी गरे पनि स्रोतका अनुसार त्योभन्दा बढी संख्यामा पुस्तक छपाइ हुन सकेको छैन । छापिइसकेका पुस्तक पनि वितरण केन्द्र खुलाएर बिक्री गर्न ढिलाइ गरिएको छ ।

यो वर्ष करिब दुई करोड पाठ्यपुस्तक आवश्यक हुने अनुमान गरिएको छ । शिक्षा मन्त्रालयले वैशाख मसान्तसम्म परीक्षा, नतिजा प्रकाशन, भर्ना, पाठ्यपुस्तक वितरणलगायतका कार्यक्रम सम्पन्न गरेर जेठ पहिलो सातादेखि पठनपाठन थाल्न निर्देशन दिएको छ । तर जनक शिक्षाले बुधबारसम्म वितरण केन्द्रहरू खुला गरेर विक्रेतालाई पुस्तक उपलब्ध गराउन सकेको छैन । ‘किताब खोज्दै पसलमा ग्राहक आउन थालिसके, जनक शिक्षाले वितरण केन्द्र नै खुलाएको छैन,’ काठमाडौंका एक पुस्तक विक्रेताले भने, ‘चुनावको माहोल सुरु भइसक्यो, यो वर्ष विद्यार्थीले कक्षा सुरु हुँदा पुस्तक हात पार्ने सम्भावना छैन ।’

अति दुर्गमका जिल्लामा पाठ्यपुस्तक वितरण गर्ने धनगढी, सुर्खेत, विराटनगरलगायत प्रादेशिक कार्यालयका वितरण केन्द्रले पनि विक्रेतालाई पुस्तक उपलब्ध गराएका छैनन् । हुम्ला, डोल्पालगायत जिल्लाका दुर्गम विद्यालयमा वितरण केन्द्रबाट पुस्तक पुर्‍याउन हप्तौं लाग्छ । बुधबारबाट वितरण केन्द्र खुलाउने भनिए पनि कर्मचारी मतदान केन्द्रमा खटिने सम्भावना रहेकाले खुलाउन नसकिएको जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताए । ‘मतदान केन्द्रमा हाम्रा कर्मचारी नखटिने भए हिजो/आज नै वितरण खुला गर्थ्यौं,’ उनले भने, ‘प्रदेशका वितरण केन्द्रका कर्मचारी चुनावमा खटिने हुँदा जेठ पहिलो साताबाट मात्रै वितरण केन्द्र खुला गर्ने सम्भावना छ ।’ जेठमा मात्र वितरण केन्द्र खुले छापिएका पुस्तक कक्षा सञ्चालन सुरु हुँदा बल्ल पुस्तक व्यवसायीसम्म पुग्नेछ । वितरण केन्द्रमा पुगेका पुस्तक पनि पूरा सेट नभएको कर्णाली प्रदेशमा कार्यरत एक कर्मचारीले बताए । पूरा सेट पुस्तक नहुँदासम्म विक्रेताले ढुवानी नगर्ने उनले बताए । ढुवानीमा दोहोरो खर्च लाग्ने हुँदा विक्रेताले आवश्यक पुस्तक सकभर एक पटकमै वितरण केन्द्रबाट उठाउने गर्छन् ।

प्रबन्ध निर्देशक झाले भने कक्षा ९, ६ र ५ को मात्रै पुस्तक छपाइ गर्न बाँकी रहेको जनाएका छन् । उनले भने, ‘छापेका पुस्तक मागअनुसार ९ वटै वितरण केन्द्रमा ढुवानी भइसकेको छ, विक्रेताहरूलाई बिक्रीवितरण गर्न मात्र बाँकी हो ।’ जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको छ । कक्षा १–३ को किताब निजी पब्लिकेसनहरूले छापेर बिक्रीवितरण गर्दै छन् । प्रवक्ता चित्रकुमार आचार्यले गत चैत २० गतेसम्म १ करोड ५५ थान पाठ्यपुस्तक छपाइ गरिसकेको र करिब ४० लाख थान पुस्तक छाप्न बाँकी रहेको जानकारी कान्तिपुरलाई दिएका थिए । एक महिनापछि त्यति नै थान पुस्तक छाप्न बाँकी रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।

जनक शिक्षाले छापेका पुस्तक भक्तपुरको सानोठिमी, जनकपुर, विराटनगर, भरतपुर, बुटवल, पोखरा, नेपालगन्ज, धनगढी र सुर्खेत वितरण केन्द्रबाट विक्रेतालाई दिने गरिन्छ ।

विद्यालयलाई पुस्तक बिक्री गर्न करिब १२ सय विक्रेता सूचीकृत भएका छन् । ‘बिहीबारबाट मतपत्र छपाइको काम सकिन्छ, शुक्रबारबाट भटाभट बाँकी ४० लाख पुस्तक छाप्न थाल्छौं,’ प्रवक्ता आचार्यले भने, ‘विद्यार्थीले जेठको १५/२० गतेभित्र पुस्तक पाइसक्छन् ।’ उनका अनुसार बिहीबारसम्म ७ सय ५३ स्थानीय तहका १ करोड ९० लाख मतपत्र छपाइ सकिनेछ । त्यसपछि छाप्न बाँकी पुस्तक दिनरात गरेर छाप्ने उनको भनाइ छ । वितरण केन्द्र कहिलेदेखि सञ्चालन गर्ने भन्नेमा जनक शिक्षा नै दुविधामा छ । ‘धनगढी, नेपालगन्जलगायत ठाउँमा पहिले र त्यसपछि चितवन पोखरा पठाउँछौं,’ उनले थपे ।

२०७५ यता कोभिडले शैक्षिक सत्र ढिलो सुरु हुँदा पनि पाठ्यपुस्तक अभावको समस्या देखिएको थिएन । जनक शिक्षाको लापरबाहीले यो वर्ष पुस्तक अभाव हुने निश्चित भएको मन्त्रालयका कर्मचारीहरूको भनाइ छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले कुनै पनि हालतमा जनक शिक्षाले भर्ना हुन आउने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने जनाए । ‘केन्द्रले पाठ्यपुस्तकको बजेट पालिकाहरूमा पठाइसकेको छ, १/२ दिनमै डिपो खोलेर पुस्तक वितरण थाल्नुपर्छ,’ उनले भने, ‘कर्मचारी चुनावमा खटिएको बहानाबाजी गर्न मिल्दैन, निर्वाचन आयोगलाई आग्रह गरेर भए पनि पुस्तक बिक्रीवितरण रोक्नु हुँदैन ।’ सरकारले कक्षा १० सम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पुस्तक उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : वैशाख २२, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?