मधेसमै लोसपाको कठिन परीक्षा

मधेसका १३६ स्थानीय तहमध्ये लोसपाले २६ मा नेतृत्वको दाबेदारी नै दिएन, आठ जिल्लाका १२७१ वडामध्ये ५२२ मा उसका उम्मेदवार छैनन्
पुरानो पार्टी भएर पनि नयाँ स्वरुपमा गएकाले त्यसअनुरुप संगठन निर्माण हुन नसकेको सत्य हो, तर निर्वाचनको परिणाम लोसपाको पक्षमा आउने विश्वास छ : लक्ष्मणलाल कर्ण

जनकपुर — एकीकरण र फुटको चरणबाट गुज्रँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लागि स्थानीय तह निर्वाचन अस्तित्वकै परीक्षा बनेको छ । आधारभूमि मधेसका १३६ स्थानीय तहमध्ये २६ को नेतृत्वमा लोसपाले उम्मेदवारी दिनै सकेको छैन भने कतिपय ठाउँमा आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएर अर्को दललाई समर्थन गर्ने रणनीति लिएको छ ।

मधेसमै लोसपाको कठिन परीक्षा

मधेसका आठ जिल्लामा रहेका एक हजार २ सय ७१ वडामध्ये ५ सय २२ मा पनि लोसपाका उम्मेदवार नै छैनन् । हरेक वडामा दुई जनाका दरले दुई हजार पाँच सय ४२ खुला सदस्यको सिट भए पनि लोसपाले आधा मात्र उम्मेदवार बनाएको छ । त्यस्तै महिला र दलित सिटमा त आधा उम्मेदवार पनि छैनन् ।

२०७४ को चुनावमा साविक राष्ट्रिय जनता पार्टी (राजपा) बाट चुनाव जितेका पालिका प्रमुख र उम्मेदवार अहिले तितरबितर भएका छन् । मधेसको एक मात्र महानगर वीरगन्जमा २०७४ मा तत्कालीन राजपाबाट उम्मेदवार बनेका राजेशमान सिंह जसपा प्रवेश गरेर सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् । लोसपाले भने एमालेका उम्मेदवार विजय सरावगीलाई मेयरमा समर्थन गरेर उपमेयरमा प्रतिस्पर्धा गर्दै छ ।

महोत्तरीको बर्दिबास नगरपालिकामा लोसपाका तर्फबाट प्रमुखमा चेतकुमार थापा र उपप्रमुखमा रामगुणकुमारी महतोले उम्मेदवारी दिएर पनि फिर्ता लिइसकेका छन् । उनीहरूले त्यहाँ कुन पार्टीका उम्मेदवारलाई सहयोग गर्ने भन्ने निर्णय भइसकेको छ । लोसपाका बर्दिबास नगर कमिटी अध्यक्षसमेत रहेका थापा नेता शरतसिंह भण्डारीसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिएको बताउँछन् । तर पार्टी जिल्ला इन्चार्ज अभिराम शर्मा र जिल्ला अध्यक्ष रामबाबु साह भने आफ्ना उम्मेदवार फिर्ता किन र कसरी भयो भन्ने विषयमा अनभिज्ञता प्रकट गर्छन् । महोत्तरी अध्यक्ष महन्थ ठाकुरको निर्वाचन क्षेत्र र नेता भण्डारीको गृहजिल्ला हो ।

२०७४ को स्थानीय तह चुनावमा तत्कालीन राजपाले मधेसका २५ पालिकामा जितेको थियो । त्यसमध्ये सप्तरीमा मात्रै पाँचवटा पालिका (अर्थात् २० प्रतिशत) जितेको लोसपाले अहिले त्यहाँका तीन पालिकामा उम्मेदवार नै पाएन । १८ वटा स्थानीय तह रहेको सप्तरीमा सप्तकोसी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा लोसपाका तर्फबाट उम्मेदवारी परेको छैन । अघिल्लो चुनावमा राजपाबाट जितेका पालिका प्रमुखमध्ये शशिकुमार सिंह (तिलाठी कोइलाडी गाउँपालिका) मात्रै अहिले लोसपामा छन् । बाँकी चार शम्भु यादव (राजविराज), शैलेश साह (हनुमाननगर कंकालिनी), शिवनारायण साह (डाकनेश्वरी) र हरेराम यादव (रूपनी) लोसपामा छैनन् ।

प्रदेश राजधानी जनकपुर उपमहानगरपालिकामा पनि राजपाले प्रमुख जितेको थियो तर प्रमुख लालकिशोर साह अहिले जसपाका तर्फबाट गठबन्धनको साझा उम्मेदवार बनेका छन् । तत्कालीन राजपामा सक्रिय रहेकी बिभा ठाकुरलाई जसपाबाट छुट्टिएको तमलोपाले जनकपुरको प्रमुखमा उम्मेदवार बनाएको छ भने धनुषाकै हंसपुरमा राजपाबाट उपप्रमुखमा निर्वाचित रेणु झा जसपामा छिन् ।

बाराका १६ मध्ये तीन स्थानीय तहमा लोसपाले प्रमख/उपप्रमुखमा उम्मेदवारी दिएको छैन, निजगढ र महागढीमाई नगरपालिका तथा करैयामाई गाउँपालिकामा उम्मेदवारी नपरेको विषयमा पार्टी जिल्ला अध्यक्ष नवलकिशोर सिंह भन्छन्, ‘पार्टीले सबै ठाउँमा उम्मेदवारी दिन निर्देशन दिएको थियो, तर मैले नै ती स्थानमा उम्मेदवार नउठाउने निर्णय गरें, मत आउँदैन, प्रतिष्ठा गुम्छ । बरु उम्मेदवारी नै नदिनु राम्रो ।’

लोसपाले उम्मेदवार खडा गर्न नसकेको रौतहटको चन्द्रपुर नगरपालिकाबारे जिल्ला अध्यक्षको प्रतिक्रिया पनि उत्साहजनक छैन । रौतहटका जिल्ला अध्यक्ष लीला साह त्यहाँ सक्षम उम्मेदवार नपाएकाले उम्मेदवारी नदिएको बताउँछन् । गत चुनावमा राजपाबाट रौतहटको गजरा नगरपालिकामा प्रमुख जितेका सन्तलाल चौधरी अहिले जसपामा छन् । केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको गृहजिल्ला सर्लाहीमा समेत लोसपाको अवस्था निराशाजक छ । जिल्लाका २० मध्ये राजमार्ग क्षेत्रको वाग्मती नगरपालिकामा लोसपाले प्रमुख र उपप्रमुखको उम्मेदवार नै दिएको छैन ।

सदरमुकाम मलंगवासहित अन्य चार पालिकामा भने अन्तिम समयमा लोसपाले उम्मेदवार पायो । मलंगवामा माओवादीबाट आकांक्षी रहेका राकेश यादव टिकट नपाएपछि वैशाख ११ मा पार्टी छाडेका थिए । स्थानीय तह चुनावमा मनोनयन दर्ताको समय वैशाख ११ र १२ लाई तोकिएको थियो । यादवलाई भित्र्याएर लोसपाले १२ गते मेयरमा उम्मेदवारी दर्ता गरायो । हरिपूर्वा नगरपालिका तथा पर्सा र धनकौल गाउँपालिकामा पनि लोसपाले उम्मेदवारी दिएको छ तर यसमा पनि जसपामा टिकट नपाएका व्यक्ति समेटिएका छन् । तत्कालीन राजपाले गत चुनावमा सर्लाहीमा पाँचवटा स्थानीय तह जितेको थियो । दुई संघीय र दुई प्रदेश सांसदसमेत राजपाबाट चुनिएका थिए ।

पार्टीमा किन टिकेनन् जनप्रतिनिधि ?
२०७४ को चुनावबाट राजपा र संघीय समाजवादी फोरम मधेसका प्रमुख पार्टी बनेका थिए । मधेसका मुद्दा लिएर स्थापित र पटक–पटक भएका आन्दोलनको नेतृत्व गरेका दुई दलबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको हो । तर उक्त एकीकरण लामो समय टिक्न सकेन । फुटपछि तत्कालीन ठाकुर समूहले लोसपा गठन गरे पनि राजपाबाट चुनाव जितेका थुप्रै नेता उनको पछि लागेनन् । एकीकरणपछिको मूल दलका रूपमा उपेन्द्र यादवले नेतृत्व गरेको जसपा रहिरह्यो । पूर्वराजपाका नेताहरू राजकिशोर यादव र महेन्द्र राय यादवसमेत जसपामै बसे । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका थुप्रै जनप्रतिनिधि पनि जसपामै बसे । केन्द्रीय तहका नेता मात्र सम्मिलित भएर लोसपा गठन भएकाले प्रदेश, जिल्ला र स्थानीय तहमा सांगठनिक संरचना बन्न नसकेको विश्लेषकहरूको भनाइ छ ।

विश्लेषक तुलानारायण साह निर्वाचनको परिणाम नआएसम्म कुनै दल बलियो वा कमजोर भयो भनेर ठोकुवा गर्न नमिले पनि सरसर्ती हेर्दा लोसपा कमजोर देखिएको बताउँछन् । ‘एउटा कारण राजपा हुँदाका केही प्रभावशाली नेताहरू जसपा विभाजनपछि लोसपामा सहभागी भएनन्,’ साह भन्छन्, ‘दलहरू एकीकरण भएर फेरि विभाजित हुँदा मूलधारमा रहेको दल बलियो हुने, अर्को दल कमजोर हुने देखिन्छ । जसपाबाट विभाजित भएको लोसपा मात्र होइन, नेकपाबाट विभाजित भएको माओवादी पनि उस्तै अवस्थामा छ ।’

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले १७ र राजपाले १८ स्थान जितेका थिए । तर राजपाबाट जितेका १२ जना मात्रै अहिले लोसपामा छन् । महेन्द्र राय यादव, राजकिशोर यादव, रानी मण्डल, नरमाया ढकाल, प्रमोद साह र अमृतादेवी अग्रहरी गरी ६ जना जसपामै छन् । फोरमबाट जितेका २ जना (विमल श्रीवास्तव र उमाशंकर अरगरिया) ले लोसपा रोजेपछि प्रतिनिधिसभामा लोसपा १४ सिटमा छ । जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार भने निलम्बित छन् । चौधरीकी श्रीमतीको नेतृत्वमा राष्ट्रिय उन्मुक्ति पार्टी दर्ता भएको छ ।

लोसपाका अर्का प्रभावशाली नेता वृषेशचन्द्र लालले तराई मधेस लोकतान्त्रिक पार्टी पुनर्गठन गरेका छन् । उनीसँगै कार्यकारिणी सदस्य विजय सिंहले पनि लोसपा छाडे । लाल लोसपा राजनीतिक दल नै बन्न नसकेको बताउँछन् । ‘राजपा हुँदादेखि नै पार्टीको चरित्र बोक्न सकेको थिएन । अहिले त झन् सीमित व्यक्तिको प्रालि बन्न पुगेको छ । उनीहरूलाई न मधेसका मुद्दाको सरोकार छ न संगठनको । अघिल्लो चुनावमा प्राप्त गरेको सामर्थ्यमा उल्लेखनीय कटौती हुने देख्छु,’ भन्छन्, ‘सत्ताका लागि एमालेसँग गठबन्धन गर्न पुगेका छन् । जसपाले पनि सत्ताकै लागि गठबन्धनको राजनीति गरिरहेको छ ।’

मधेस प्रदेशसभामा तत्कालीन राजपाबाट २५ जना निर्वाचित भएका थिए, अहिले लोसपामा १५ जना मात्रै छन् । रौतहटबाट समानुपातिक निर्वाचित डिम्पलकुमारी झाको गत वैशाख ११ मा मृत्यु भएर एक सिट खुम्चिएको छ । राजपाबाट चुनाव जितेका पर्साकी अञ्जु कुमारी, सप्तरी १ (ख) का नवलकिशोर साह सुडी, सर्लाहीकी निराकुमारी साह, सप्तरी ३ (ख) का विदेश्वरप्रसाद यादव, सप्तरी २ (ख) का मनीषकुमार सुमन, सर्लाहीका रामनरेश राय, महोत्तरीकी रिना यादव, बारा १ (ख) बाट निर्वाचित सरोजकुमार यादव (सभामुख) र सिरहा ४ (ख) का सुरेशकुमार मण्डल जसपामा छन् । जसपा प्रवेश गरेका रौतहट ४ (ख) बाट स्वतन्त्र निर्वाचित शेख अबुल कलाम आजाद गत वैशाख ९ मा राजीनामा दिएर स्थानीय तहको चुनाव लड्दै छन् । तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएकामध्ये पर्साको निर्वाचन क्षेत्र ३ (ख) का प्रह्लाद गिरी गोस्वामी भने हाल लोसपामा छन् ।

विश्लेषक साह आगामी संसदीय निर्वाचनसम्म लोसपा यही रूपमा नरहने आकलन गर्छन् । ‘अहिलेको सरकारमा सहभागी हुने, जसपालाई गठबन्धनबाट बाहिर राख्ने गरी यही गठबन्धनमा जाने वा कांग्रेससँग मात्र गठबन्धन गर्ने वा मधेसी दलहरूबीच गठबन्धन गर्ने तीनवटा रणनीति उसलाई उपलब्ध छन्,’ साह भन्छन्, ‘यीमध्ये कुन रणनीति लिन्छ भन्ने स्थानीय तहको परिणामले निर्धारण गर्नेछ ।’

पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण भने लोसपा अझै पनि राजनीतिक हिसाबले मधेसको पहिलो शक्ति रहेको दाबी गर्छन् । ‘पुरानो पार्टी भएर पनि नयाँ स्वरूपमा गएकाले त्यसअनुरूप संगठन निर्माण हुन नसकेको सत्य हो । राजनीतिक हिसाबले भने पहिलो शक्ति हो,’ उनको भनाइ छ, ‘लोसपाले अधिकांश ठाउँमा उम्मेदवारी दिएको छ र निर्वाचनमा राम्रो परिणाम निकाल्नेमा ढुक्क छौं ।’ कर्ण कांग्रेस र एमालेलगायत पार्टी प्रचारप्रसारमा मात्र अगाडि देखिएको तर चुनावी परिणाम आफ्नो पार्टीको पक्षमा आउने दाबी गर्छन् । अन्य दलबाट आचारसंहिताको ठाडो उल्लंघन भए पनि निर्वाचन आयोगले निगरानी नगरेको कर्णको आरोप छ । ‘हामी संयमताका साथ चुनावमा लागेका छौं र नतिजा पनि सकारात्मक रहने विश्वास छ,’ उनले भने ।

लक्ष्मी साह (बारा), शिव पुरी (रौतहट), ओमप्रकाश ठाकुर (सर्लाही), सुनीता बराल (महोत्तरी), भरत जर्घामगर (सिरहा) र अवधेशकुमार झा (सप्तरी)

प्रकाशित : वैशाख २२, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?