२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एआईजीपी पोखरेलको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौँ — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटको सुनुवाइ सुष्मलता माथेमाको इजलासमा हुने भएको छ ।

एआईजीपी पोखरेलको रिट न्यायाधीश माथेमाको इजलासमा

एआईजीपी पोखरेलले सिंहलाई आईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्नुपर्ने मागसहित सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

एआईजीपी पोखरेलले रिटमा बढुवाको निर्णय यथास्थितिमा राख्न र अदालतबाट न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रुपमा काम गर्न दिनुपर्ने मागदाबी गरेका छन् ।

रिटमा पोखरेलले जेष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार, कमाण्डलगायत सबै आधारमा आफू अगाडि रहेको भन्दै सिंहलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरेका छन् ।

पोखरेलले प्रहरी नियमावली २०७१ को नियम ४१ र ३० अनुसार आफूलाई महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गरेका छन् । पोखरेलले एआईजीसम्म आइपुग्दा आफूले कुनै विभागीय कारबाही नभोगेको तर महानिरीक्षकमा बढुवा भएका सिंहले पटक–पटक कारबाही भोगेको तथा एआईजीमा बढुवाविरुद्धको मुद्दा अदालतमै विचाराधीन रहेको अवस्थामा बढुवा भएकोमा पनि प्रश्न उठाएका छन् ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठतामा अगाडि रहेका एआईजीद्वय पोखरेल र सहकुलबहादुर थापालाई पन्छाएर डेढ महिना अघि डीआईजीबाट एआईजी बनेका सिंहलाई आईजीपीमा बढुवा गरेको थियो । २०७७ मंसिरमा पोखरेल एआईजी भएका थिए । त्यसको ७ महिना पछि थापा २०७८ असार र महानिरीक्षकमा बढुवा भएका सिंह गत चैत ७ मा एआईजी भएका थिए ।

प्रकाशित : वैशाख २१, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?