सत्ता गठबन्धनका नेताको विश्लेषण : ‘तालमेल सफलतातिर’

बबिता शर्मा

काठमाडौँ — गठबन्धन दलहरुबीच भनेजस्तो तालमेल नभए पनि परिणाम सफलतातिर जाने विश्लेषण शीर्ष नेताहरुले गरेका छन् । तालमेलका लागि गरिएको सैद्धान्तिक सहमति, केन्द्रदेखि जिल्लासम्म भएको टिकट बाँडफाँटकाबीच पनि करिब तीन दर्जन स्थानीय तहमा बागीको समस्या कायमै रहे पनि परिणाम सोचेजस्तो आउने दाबी गरेका छन् ।

सत्ता गठबन्धनका नेताको विश्लेषण : ‘तालमेल सफलतातिर’

गठबन्धनका मत साझा उम्मेदवारलाई पार्ने वातावरण बनाउनुलाई शीर्ष नेताले आगामी चुनौतिका रुपमा हेरेका छन् । निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेलले धेरै ठाउँमा गठबन्धन भएको भएपनि अझै केही ठाउँमा मिलाउन नसकेको बताए ।

‘सबैको आकांक्षा बढेको छ, त्यसकारण आफै भित्र मिलाउन गार्‍हो छ । पाँच दल मिलाउँदा त धेरै मुस्किल भइराखेको छ । यति हुँदा हुँदै पनि धेरै ठाउँमा मिलेको छ, केहीमा अझै अफ्ट्यारो छ,’ पौडेलले भने, ‘तर पनि समग्रमा गठबन्धन राम्रो बनेको छ । अन्तिमसम्म गठबन्धनका सबै मत साझा उमेद्वारलाई पार्न पहल हुन्छ र गठबन्धनका मान्छेहरुले नै जितेर आउँछन् ।’

चुनौतिको सामना गर्न सबैले इमान्दारीताको नैतिकता प्रर्दशन गर्नुपर्ने पनि शीर्ष नेताहरुको बुझाई छ । ‘हामीले लिएको ठाउँमा सबै सफल भएको छ । किनभने हामीले मेयर र उपमेयरमा मात्रै गठबन्धन गरेका थियौं । वडाहरुमा गठबन्धन गर्दापनि हुन्छ, भएन भने मित्रवत् प्रतिस्पर्धा गरेपनि हुन्छ भनेर तल छोडिदिएका थियौं । त्यसमानेमा अहिलेसम्म गठबन्धन सफल छ,’ जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘अव मूल सफलता चुनावको नतिजाले देखाउने हो । नतिजा निकाल्न जसपाको प्रयास रहन्छ ।’

आइतबार बसेको कांग्रेस नेता पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले विभिन्न ठाउँमा देखिएका चुनौति चिर्न गर्न समझदारी अनुरुप काम गर्न आ–आफ्नो दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने पनि बैठकको निर्णय छ ।

कतिपय चुनौतिबीच गठबन्धनले मतदानपूर्वसम्मै तालमेलको दायरा फराकिलो पार्ने रणनीति तय गरेको छ । यसका लागि गठबन्धनका साझा उम्मेदवारका विरुद्ध मनोनयन दर्ता गराएका उम्मेदवारलाई कारबाही गर्ने र समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानमा तालमेल गराउन दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । भरतपुर महानगरपालिका लगायतका ठाँउमा देखिएका बागीले समस्या पार्न सक्ने नेताहरुको बुझाई छ ।

एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आमरुपमा महानगर र उपमहानगरमा गठबन्धन राम्रै देखिएको तर परिणाम कस्तो हुन्छ स्पष्ट नभएको बताए । ‘केन्द्रले सहमति गरेका महानगर र उपमहानगरमा पनि केही ठाउँमा बागी उम्मेदवार छन् । तथापी ती ठाउँमा तालमेल ठिकै जस्तो देखिन्छ,’ खनालले भने, ‘तर तल्लो तहमा एकआपसमा सम्मानजनक गठबन्धन भएन । कतिपय ठाउँमा गठबन्धन हुनै सकेन । जहाँ गठबन्धन भएको छ, ती ठाउँमा कस्तो हुन्छ परिणाम भन्ने कुरा अहिले स्पष्ट छैन ।’

आइतबार पत्रकार सम्मेलन गरेका कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनका पक्षमा निर्वाचनको माहोल बन्दै गएको र तालमेल सफल भएको बताएका छन् । ‘स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको छ । कतिपय ठाउँमा स्थानीय अवस्थाका अनुसार तालमेलमा असन्तुष्टि देखिए पनि आम रूपमा हेर्दा गठबन्धन सफल भएको छ । बागी उम्मेदवार पार्टी निर्णयको पक्षमा आउछन्’, उनले भने, ‘तालमेल बृहत्तर हितको लागि गरेको हो । धेरैलाई सफल हुन सक्दैन, धेरै ठूलो विद्रोह हुन्छ भन्ने लागेको थियो । त्यस्तो किसिमको अवस्था आएन । पार्टीको बृहत्तर हितमा काम भएको छ । तालमेल सफल भएको छ ।’

गठबन्धनले गत चैत्र १७ मा स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको थियो । देशव्यापी तालमेल गरेर जाने प्रयास भए पनि पूर्ण तालमेल भएका जिल्ला भने सीमित छन् । ‘कति जिल्लामा गठबन्धन भएको छ भन्ने यकिन छैन । सहमति भएका ठाउँमा गठबन्धन सफल भएर गरहेको छ, नभएका ठाउँमा समस्या छ,’ माओवादी केन्द्रका नेता देव गुरुङ्ले भने ।

गठबन्धनका शीर्ष नेताहरुले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा केन्द्रबाट प्रमुख–उपप्रमुख बाँडफाँट गरेका थिए । जिल्ला तहमा भएका सिट बाँटफाँटमा एकअर्काको सम्मान नगरिएको भन्दै जसपाले असन्तुष्टि जनाएको छ ।

‘प्रतिगमनविरोधी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको पाँच दलीय गठबन्धन र संयुक्त सरकार निर्माण निम्ति पार्टी फुटको समेत जोखिम उठाएको, एमसीसी लगायतका राष्ट्रिय मुद्दाहरूमा निरन्तर स्पष्ट अडान राख्ने जसपालाई चुनावी तालमेलमा पूरै न्यूनीकरण गर्ने प्रवृत्ति आपत्तिजनक छ । बेलैमा ध्यान पुगोस्’, जसपा संघीय अध्यक्ष बाबुराम भट्टराईले गत शनिबार असन्तुष्टि पोखे । तर जसपा अध्यक्ष यादवले भने सहमति भएका ठाउँमा गठबन्धन सफल भएको हुँदा असन्तुष्टि नरहेको दाबी गरेका छन् ।

नेताहरुले गठबन्धन सफलातिर गएको दाबी गरे पनि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर केही समस्या कायमै रहेको संकेत दिएका छन् । तर जसपा अध्यक्ष यादवले शीर्ष नेता सभामा अल्झिन नहुने निश्कर्षपछि स्थगित गरिएको दाबी गरे । ‘सबै नेताहरु सभामा व्यस्त भएर हुँदैन, काठमाडौंमा मात्रै गरौं भनेर अन्यत्रको स्थगित गरिएको हो । अरु समस्या भएर होइन ,’ उनले भने ।

स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णयसँगै पाँच दलले सातवटै प्रदेशका मुख्य सहरहरूमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेका थिए । वैशाख १८ गतेदेखि २२ गतेसम्म सात प्रदेशका सात मुख्य सहरहरूमा चुनावी सभा गर्ने गरी निर्णय भएको जानकारी थियो । तर, देशभर गठबन्धन सम्भव नभएपछि गठबन्धनले यस्ता सभा स्थगित गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार स्थगित भएपनि भरतपुरमा गठबन्धनका नेताहरुले सम्बोधन गर्नेगरी साझा चुनावी सभा गर्ने भएका छन् ।

गत चैत्र २९ मा बसेको २९ पाँच दलले आफूले जितेका स्थान सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका पदमा मतभारका आधारमा भागबन्डा गर्ने गरी तालमेलका सात आधारमा सहमति गरेका थिए । गठबन्धनमा रहेका दलहरूल सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गरेका छन् । केन्द्रमा कांग्रेस नेता पौडेले नेतृत्वमा स्थानीय तह तयारी र अनुगमन समिति बनाएका छन् । जिल्लास्थित संयन्त्रले सम्बन्धित जिल्लामा चुनावी तालमेलसम्बन्धी प्रस्तावमा काम गरेका छन् ।

प्रकाशित : वैशाख २०, २०७९ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?