५-११ वर्षकालाई खोप चुनावअघि अनिश्चित

काठमाडौँ — सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप चुनावअघि लगाइसक्ने भने पनि अझै ल्याउने निश्चित भएको छैन । स्थानीय चुनाव आउन ११ दिन मात्र बाँकी रहँदा सरकार खोप खरिद प्रक्रिया नै रोकेर बसेको छ । 

५-११ वर्षकालाई खोप चुनावअघि अनिश्चित

स्वास्थ्य मन्त्रालयले चैत मसान्तमै वैशाख दोस्रो साताभित्र कोभ्याक्सले नदिए खरिद गरेर भए पनि चुनावअघि (मार्चभित्रै) फाइजर खोप लगाइसक्ने निर्णय गरेको थियो । खोप खरिद गर्न मन्त्रिपरिषद्बाट स्वीकृति पनि प्राप्त भइसकेको हो तर अहिले कोभ्याक्समार्फत आउने खोप कुरेर सरकारले खरिद प्रक्रिया रोकेको हो ।

वैशाख पहिलो साता भारतका विभिन्न राज्यमा संक्रमण दर उच्च गतिमा फैलिएपछि सरकारले खोप खरिदमा चासो देखाए पनि पछि गम्भीरता देखाएन । विश्व स्वास्थ्य संगठनले कोभिड भाइरसको विकासक्रम जारी नै रहेको भन्दै सबैलाई खोप अनिवार्य लगाउन आग्रह गर्दै आइरहेको छ । तर, निर्वाचनका कारण खोप थप अनिश्चित बनेको छ ।

एकातिर खोप कहिले आउँछ भन्ने निश्चित छैन, अर्कोतर्फ कोभिड परीक्षण पनि न्यून हुन थालेको छ । राजधानीका पाटन, कान्ति बाल, वीर, प्रसूतिलगायत अस्पतालमा उपचारमा आउने बिरामीको कोभिड परीक्षण हुन छाडेको छ । त्यस्तै, स्वास्थ्य मापदण्ड पालनामा पनि चरम लापरबाही हुन थालेको छ । यसले खोप लगाएका समूह संक्रमणबाट केही हदसम्म सुरक्षित भए पनि नलगाएका १२ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम थपिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म १० वर्षमुनिका २२ हजार २ सय ८१ जना बालबालिका संक्रमित भएका छन् । अमेरिकाको एकेडेमी अफ पेडियाट्रिकको वेबसाइटमा उल्लेख भएअनुसार खोप नलगाएका बालबालिकालाई कोभिड भएमा मुटु पोल्ने समस्याको जोखिम बढी हुने, सुत्न समस्या, ध्यानकेन्द्रित गर्न नसक्ने, मांसपेशी र जोर्नी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, थकाइ लाग्ने समस्या हुन सक्छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भने ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि आवश्यक खोप कोभ्याक्समार्फत नै आउने तय भएको दाबी गरे । ‘अहिलेसम्म हामीलाई चाहिने मात्राको खोप कोभ्याक्सले नै उपलब्ध गराउने भनेको छ तर विश्वभर नै बालबालिकाका लागि फाइजर खोपको माग अत्यधिक रहेका कारण हामीले कहिले पाउँछौं भन्ने मिति तय गर्न गाह्रो भएको हो,’ उनले भने, ‘हामीले खरिद नै गर्नुपर्ने भए पनि विश्व बैंकले आवश्यक रकम उपलब्ध गराउने भनेको छ तर कम्पनीले खोप दिन नसकेकाले अलमल भइरहेको हो ।’

उनका अनुसार कोभ्याक्सले यसअघि पनि अन्य उमेर समूहलाई आवश्यक पर्ने खोप उपलब्ध गराइरहेकाले ५ देखि ११ वर्ष उमेर समूहको खोपका लागि पनि नेपाललाई कोभ्याक्सको उच्च प्राथमिकतामा राखेको छ । ‘हामीसँग रकम नभएकाले खोप खरिद गर्न रोकिएको होइन,’ उनले भने ।

मुलुकमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको संख्या करिब ४० लाखको हाराहारीमा छन् । हाल नेपालमा १२ वर्ष वा सोभन्दा माथिको जनसंख्याका लागि मात्र कोभिडविरुद्धको खोप उपलब्ध छ । खोप अभियान सुरु भएदेखि आइतबारसम्म ४ करोड १८ लाख ७२ हजार ६ सय ३१ जनाले खोप लगाइसकेका छन् । एक मात्रामा एक करोड ८९ लाख १७ हजार १ सय ५१ र पूर्ण मात्रामा १ करोड ९५ लाख ९१ हजार ३ सय ५० जनाले लगाइसकेका छन् भने अतिरिक्त मात्रामा ३३ लाख ६४ हजार १ सय ३० जनाले लगाइसकेका छन् । ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज प्राप्त भइसकेको छ । हालसम्म कोभिड संक्रमणका कारण ९ वर्ष उमेरसम्मका ५१ जना, १० देखि १९ वर्ष उमेर समूहका ५७ जनाको मृत्यु भएको तथ्यांक छ ।

बालबालिकालाई दिइने खोपको डोज १२ वर्ष वा सोभन्दा बढी उमेर समूहलाई दिनेभन्दा कम छ । सरकारले खोपमा मिलाउने सोडियम क्लोराइड र खेर जान सक्ने अनुमान गरेर ८४ लाख मात्रा फाइजरको ‘गुलाबी खोप’ ल्याउने भनेको थियो तर अनुदान वा खरिद गर्ने भन्ने टुंगो नलाग्दा ‘गुलाबी खोप’ आउने मिति अनिश्चित बनेको छ । स्वास्थ्य विभाग व्यवस्थापन महाशाखा निर्देशक डा.रुद्रप्रसाद मरासिनीले भने, ‘खोप खरिद गर्दा ६ अर्ब रुपैयाँ आवश्यक पर्छ । कोभ्याक्सले अनुदानमा दिएमा उक्त रकम अन्य काम प्रयोग गर्न सकिने भएकाले पर्खेको हो ।’

प्रकाशित : वैशाख १९, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?