चिनियाँ वैज्ञानिकहरूको टोली सगरमाथाको अनुसन्धानमा- समाचार - कान्तिपुर समाचार

चिनियाँ वैज्ञानिकहरूको टोली सगरमाथाको अनुसन्धानमा

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ वैज्ञानिकहरूको एउटा टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको अनुसन्धान आरोहण सुरू गरेको छ । बिहीबार दोस्रो छिङहाई-तिब्बत पठारको बृहत् वैज्ञानिक अभियान अनुसन्धान टोलीले ‘पिक मिसन २०२२, सगरमाथा अति उच्च भेगको वैज्ञानिक अनुसन्धान’ परियोजना सुरू गरेको हो ।


चीनले पहिलो पटक सगरमाथाका ६ वटा प्रमुख सर्कलहरूको संयुक्त रूपमा अनुसन्धान र अध्ययन गर्न उन्नत प्रविधि, विधि र माध्यमहरू प्रयोग गरिने जनाएको छ । अनुसन्धानमा पश्चिमी-जलवायु, एसियाली जलस्रोत चुचुराहरूको परिवर्तन, मानवीय गतिविधि, भिरालोपन, चट्टानहरूबीचको सम्पर्क संयन्त्र, जैविक विविधता तथा इकोसिस्टम जस्ता प्रमुख वैज्ञानिक मुद्दाहरूमा यो अनुसन्धान केन्द्रित रहेको जनाइएको छ ।

छिङहाइ-तिब्बत वैज्ञानिक अभियानको नेतृत्व गरिरहेका प्राज्ञ याओ थानतोङले बताएअनुसार यो अध्ययन विशेषतः हिमनदी, हिउँको आवरण, हिमताल तथा हिमनदीका प्रमुख प्रक्रियाहरूमा हुने परिवर्तनबारे केन्द्रित गरिनेछ । यसबाट पृथ्वीको प्रणालीगत सीमा समस्याहरूको अन्वेषण गरिने उनले बताए। ‘समग्र वैज्ञानिक लक्ष्य तापक्रमको पृष्ठभूमिमा सगरमाथाको अति उच्च भेगमा वातावरणीय परिवर्तनको नियम, हरितगृह ग्याँसको कन्सन्ट्रेसन परिवर्तनका विशेषताहरू, इकोसिस्टमको कार्बन प्रक्रियाबारे विश्लेषण गरिनेछ’, उनले भने, ‘यसबाट प्रतिकूल वातावरणमा मानवीय अनुकूलनका विशेषता पहिल्याएर पृथ्वीको व्यवस्थित वैज्ञानिक अनुसन्धानमा ठूलो उपलब्धी हासिल हुनसक्नेछ।’

दोस्रो छिङहाइ-तिब्बत वैज्ञानिक अभियान टोली र तिब्बत पर्वतारोहण टोलीले सगरमाथा वैज्ञानिक आरोहण थालेको हो । पाँचवटा वैज्ञानिक आरोहण दलका १६ समूहसहित कूल २७० भन्दा बढी वैज्ञानिकहरू यस आरोहणमा संलग्न छन् । उनीहरूले सगरमाथाको अत्यन्त उच्च भेगमा मौसम विज्ञानको ढाँचा अध्ययनका लागि स्वचालित अवलोकन र डेटा प्रसारणका लागि स्वचालित मौसम स्टेसनहरू स्थापना गर्ने बताएका छन् । त्यसका लागि ८ हजार मिटरभन्दा माथि यस्ता प्रविधि जडान गरिनेछ। त्यस्तै पाँच हजार ५ सयदेखि ३ सय मिटरसम्मका बरफ र चट्टानका नमूनाहरू संकलन गर्ने योजना छ ।

चीनले सन् १९५० को दशकदेखि सगरमाथामा ६ वटाभन्दा बढी वैज्ञानिक आरोहण गरेको छ । यो शिखर मिसनले पहिलो पटक ८ हजार मिटरभन्दा माथिको उचाई पार गर्ने र सगरमाथा शिखरको व्यापक वैज्ञानिक अनुसन्धान लक्ष्य पूरा गर्ने चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन् । सन् २०१७ मा पहिलो पटक वैज्ञानिक आरोहण गरेपछिको चीनको यो दोस्रो छिङहाई-तिब्बत वैज्ञानिक आरोहण अभियान हो ।

प्रकाशित : वैशाख १६, २०७९ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्

चीनमा ‘जीवन्त संग्रहालय नेपाल’ प्रदर्शनी

लक्ष्मी लम्साल

बेइजिङ — नेपाल प्राचीनकालदेखि नै कला संस्कृतिको जीवन्त संग्रहालय भएको भन्ने भावार्थमा चीनको व्यापारिक सहर क्वाङचौमा एक प्रदर्शनीमार्फत् नेपाली संस्कृतिको प्रवर्द्धन गरिएको छ।

शनिबार नेपाली महावाणिज्य दूतावासको संयोजनमा विभिन्न देशका कुटनीतिज्ञसहित ८० भन्दा बढी सहभागीहरुमाझ नेपाली थाङ्का, मिथिला पेन्टिङ, सिङ्गिङ बाउल, चिया, कफी लगायत प्रवर्द्धन गरिएको हो। नेपालमा सदियौं पुरानो कला संस्कृतिको अभ्यास अहिलेसम्म पनि चलिरहेको सन्देश दिन यस प्रकारको एक दिवसीय प्रदर्शनी गरिएको कन्सुलर कुञ्जन शाहले कान्तिपुरलाई बताए।

कार्यक्रममा सहभागी भएका चिनियाँ कलाकर्मीहरूले नेपालमा सिकेको सिङ्गिङ बाउलको प्रदर्शनी गरेका थिए। उनीहरूले नेपालमै सिकेर नेपालबाट सम्बन्धित कचौराहरू ल्याएकाले आम चिनियाँमा यो संस्कृति नेपालबाट भित्रिएको भन्ने अवधारणा छ।

वर्षभर संयोजन गर्नुपर्ने भनिएका लगानी, पर्यटन, संस्कृति लगायत प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो कार्यक्रम गरिएको महावाणिज्य दूतावासले जनाएको छ। कोभिड - १९ महामारीका कारण सबैजसो नेपाली विद्यार्थीहरू अझैसम्म नेपालबाट फर्किन पाएका छैनन्। सामान्यतय: चीनमा अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरूले नै नेपाली कला संस्कृतिको प्रवर्द्धन अन्तर्गत नाचगानमा साथ दिँदै आएका थिए।

प्रदर्शनीमा सहभागी भएका विदेशी कुटनीतिज्ञ तथा चिनियाँ सहभागीहरूले थाङ्का तिब्बती संस्कृति मात्रै होला भन्ने सोचेकोमा त्यो भ्रम चिरिएको कन्सुलर शाहले बताए। उनले भने, ‘सामान्यतया थाङ्का तिब्बती मात्रै हुन्छ होला भन्ने अवधारणामा परिवर्तन आएको छ भने धेरैले तिब्बती र नेपाली थाङ्काबारेको भिन्नता थाहा पाएका छन्। मिथिला आर्टबारे पनि थाहा पाएपछि उनीहरूलाई विशेष लागेको पाइयो।’

नेपालमा उत्पादित चियाले भर्खरै चिनियाँ बजारमा स्थान पाउन थालेको छ। हालै क्वाङ्तोङ प्रान्तमा रहेको लिटिल पापा नामक रेस्टुरेन्टले नेपाली चियाको सफलतापूर्वक आयात गरेको छ भने यसले बिस्तारै लोकप्रियता कमाउन थालेको छ। भविष्यमा पर्वतारोहणको सिजन सुरु हुन लागेकाले हिमाली पर्वत सम्बन्धी सम्मेलन गर्ने योजना रहेको पनि क्वाङ्चौस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ।


प्रकाशित : चैत्र ७, २०७८ १६:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×