हाब्रे संरक्षणमा पुर्‍याएको योगदानबापत लामाले पाए ६२ लाखको पुरस्कार- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाब्रे संरक्षणमा पुर्‍याएको योगदानबापत लामाले पाए ६२ लाखको पुरस्कार

गोविन्द पोखरेल

काठमाडौँ — रेड पान्डा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत संरक्षणकर्मी सोनाम टासी लामाले प्रतिष्ठित हवीट्ली अवार्ड पाएका छन् । बुधबार राति लन्डनमा आयोजित एक कार्यक्रममा संरक्षणकर्मी लामालाई ४० हजार पाउन्ड(करिब ६२ लाख नेपाली रुपैयाँ) को हवीट्ली फन्ड फर नेचर (डब्लूएफएन)अवार्ड दिइएको हो ।

डब्लूएफएनका संरक्षक सर डेभिड एटनबर्गको उपस्थितीमा उक्त अवार्ड बेलायती राजकुमारी एनले लामालाई प्रदान गरेकी थिइन् । यो संरक्षण परोपकारी संस्थाले अन्य ५ जनालाई पनि अवार्ड प्रदान गरेको छ ।

यो अवार्ड अन्य ५ जनालाई पनि पनि प्रदान गरिएको थियो । यसअघि यो अवार्ड नेपालबाट वरिष्ठ चराविद् हेमसागर बरालले पाएका थिए । लामाले अवार्डसँगै पाएको रकम एक वर्षभित्र खर्च गर्नुपर्ने छ । उनले यो रकम रेड पान्डाको बासस्थान सुधार, अवैध चोरीतस्करी नियन्त्रणमा खर्च गर्नेछन् ।

अवार्ड पाएपछि कान्तिपुरसँगको फोन कुराकानीमा संरक्षणकर्मी लामाले भने, ‘ रेडपान्डालाई सबैभन्दा ठूलो चुनौती भनेको बासस्थानको खण्डिकरण र चोरी शिकारी हो । यी समस्या समाधानका लागि बासस्थान पुनःस्थापनाका लागि खर्च गर्ने योजना छ । ’ उनले यो अवार्ड बासस्थान पुनःस्थापना गर्ने, वन्यजन्तु आवाजावत गर्ने क्षेत्रमा खण्डीकृत भएको क्षेत्रमा करिडोरको स्थापना गर्ने, जनचेतनामूलक कार्यक्रम गर्ने जनाएका छन् ।

रेडपान्डाको बासस्थान नेपालमा ४ सयभन्दा बढी खण्डहरुमा विभाजित छ । पुराना अध्ययनहरुले नेपालमा हरेक १० दिनमा एउटा रेडपान्डाको अवैध शिकार हुने गरेको देखाएको छ । बासस्थान विनाश र खण्डीकारणले गर्दा विश्वमा यसको संख्या १० हजार रहेको अनुमान छ ।

नेटवर्कका नेपाल प्रमुख आङफुरी शेर्पाले लामाले पाएको अवार्डले रेड पान्डाको संरक्षणमा नेपालमा भइरहेको कामको सही मूल्यांकन भएको बताए । उनले भने, ‘यो एकदमै खुसीको कुरा हो । हाम्रा लागि महत्त्वपूर्ण संरक्षणको उपलब्धि हो ।’

हाल पश्चिम नेपालका ७ वटा जिल्लाहरुमा सन् २०१८ देखि नेटवर्कले काम गर्दै आएको छ । हाल नेटवर्कले भोजपुर, सोलुखुम्बु र खोटाङमा संरक्षणको कार्यक्रम लागू हुँदैछ ।

लामा आबद्ध नेटवर्कले नेपालका १० वटा रेड पान्डामा जीपीएस कलर जडान गरेर अध्ययन अनुसन्धान गरिरहेको छ । नेटवर्कले कञ्चनजंघा भूपरिधिमा ४ सय हेक्टर क्षेत्रमा बासस्थान पुनःस्थापना गरिसकेको छ भने सयभन्दा बढी स्थानीयलाई दक्ष बनाएर नागरिक वैज्ञानिक अवधारणमा संरक्षणको काम समेत गर्दै आएको छ । हाल रेडपान्डा नेटवर्कमार्फत पूर्वी नेपालको इलाम जिल्लामा पुनःस्थापनाको काम भइरहेको उनले जानकारी दिए ।

लामाले न्युजिल्यान्डको लिंकन विश्वविद्यालयबाट नेचर कन्जर्भेसनमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित : वैशाख १५, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

चीनले दिएको भूकम्प सूचना प्रणाली सञ्चालन हुन नपाउँदै अर्को जोड्ने तयारी

गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)ले भइरहेको भूकम्प सूचना प्रणालीलाई प्रयोगमै नल्याई अर्को प्रणाली जडान गर्ने तयारी गरेको छ । चीनले जडान गरिदिएको प्रणाली सञ्चालनमा नै नआई नास्टले प्रदेश १ मा दुईवटा सूचना प्रणाली (मापन केन्द्र) जडान गर्ने तयारी गरेको हो । भूकम्पीय जोखिमको आधारमा नेपाल विश्वको ११ औं स्थानमा पर्छ ।

२०७२ सालको भूकम्पपछि नास्टलाई चीनको केयर लाइफ चाइनाको प्राविधिक सहयोगमा भूकम्प पूर्वसूचना प्रणाली जडान गरिदिएको थियो । वाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानहरुमा जडान गरिएको त्यो सूचना प्रणाली अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । भइरहेको पूर्वसूचना प्रणाली पूर्ण रुपमा सञ्चालनमै नआई नास्ट अर्को प्रणाली जडान गर्ने गरी टेन्डर आह्वान गरेको हो ।

यी सेन्सरहरू जडान भएको ६ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । नास्टका तत्कालीन उपकुलपति जीवराज पोखरेलले चीनको केयरलाइफसँग नेपालका विभिन्न ठाउँहरुमा उपकरण जडान गर्ने सम्झौता गरेका थिए । केयर लाइफले चाइनाले पूर्वसूचना प्रणाली जडान गर्न भनेर नास्टलाई ८० वटा उपकरण उपलब्ध गराएको थियो । तीमध्ये ६० वटा उपकरणहरु जडान भएका छन् । वाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानमा यी सेन्सरहरु जडान गरिएको थियो ।

पूर्वसूचना दिने यी उपकरणहरुले भूकम्पका तरंगहरुलाई सर्भरसम्म पुर्‍याउने र त्यसपछि सर्वसाधरणलाई जानकारी दिन्छ । चीनले यो प्रणाली आफ्ना सबै प्रान्तहरुमा जडान गरेको र त्यसै अनुरुप नेपालले पनि फाइदा लिन सक्ने भनेर प्रविधि हस्तान्तरण गरेको थियो । तर अहिले यो प्रयोगमा आउन सकेको छैन । चीनले जडान गरिदिएको यो प्रणालीले भूकम्पका बेला उत्पन्न हुने ‘एस’ र ‘पी’ तरङ छुट्याइदिने र विश्लेषण गरेर सर्भरसम्म पुर्‍याउने र जानकारी दिने हो ।

भूकम्पबाट दुई प्रकारको तरंगहरू निस्कन्छन् । एउटा ‘पी’ र अर्को ’एस’ तरंग । ‘पी’ तरंगको गति छिटो हुने भएकाले यो पहिले आउँछ । ‘एस’ तरंगको गति ढिलो हुने भएकाले त्यो ढिला आउँछ र क्षति पनि बढी गर्छ । ‘पी’ तरंग आएको थाहा हुनासाथ सेन्सर(उपकरण)ले त्यसबारे सर्भरलाई पठाइदिन्छ । त्यहाँ भूकम्पबारे तथ्यांक र डाटाहरू थाहा हुनेबित्तिकै सर्वसाधरणहरुलाई एप्स, एसएमएसलगायत माध्यमबाट जानकारी दिइन्छ । यसमा कति समयमा भूकम्प आउने र त्यसको म्याग्निच्युड पनि थाहा हुन्छ । पूर्वसूचना हुँदा मानिसहरूले आफूलाई सुरक्षित राख्न सक्छन् ।

सेन्सरले तथ्यांक संकलन गरे पनि त्यहाँबाट केन्द्रीय सर्भरमा पुग्न नसक्दा समस्या देखिएको थियो । नास्टका प्रविधि संकायका प्रमुख डा रविन्द्र ढकालले भने, ‘सेन्सरले तथ्यांक त संकलन गर्‍यो तर त्यहाँबाट सर्भरसम्म तथ्यांक गएन । यही समस्या देखिएको हो ।’ कम्युनिकेसनमा समस्या आएपछि उक्त प्रणाली सञ्चालनमा आउन नसकेको हो । यो समस्या समाधान गर्ने दक्ष जनशक्ति नास्टसँग नहुँदा विगत ६ वर्षदेखि जस्ताको तस्तै छ ।

जडान गरिएका ती उपकरण(सेन्सर)हरूलाई राख्ने पर्याप्त ठाउँ पनि नास्टसँग छैन । कुनै ठाउँमा विद्यालयको भवन, टेलिकमका टावरहरू राखिएको स्थान, अस्पताल तथा व्यक्तिका घरहरूमा राखिएका छन् । उपकरणहरूलाई नियमित बिजुलीको आवश्यकता पर्छ । विद्युत् नभएको बेला काम गर्दैनन् । चीनले दिएको उपकरणमा देखिएको समस्या समाधानका लागि नास्टले परराष्ट्रमार्फत चिनियाँ अधिकारीहरूसँग संवाद गरिरहेको जनाएको छ ।

अहिले जडान गर्न खोजिएको सूचना प्रणाली र मापन केन्द्र पूर्वीनेपालका दुई स्थानमा हुने नास्टले जनाएको छ । कोसी पारी विभिन्न दुई स्थानमा सूचना प्रणाली जडान गर्न लागिको हो ।

नास्टले यसलाई ‘नयाँ प्रविधिको प्रयोग गर्नका परीक्षण’ गर्न खोजिएको जनाएको छ । प्रदेश १ का विभिन्न १० स्थानमा ५ वर्षभित्रमा १० वटा सूचना प्रणाली जडान गर्ने तयारी छ । यसका लागि करिब १० करोड खर्च लाग्ने अनुमान छ । सूचना प्रणालीमा सिस्मोमिटर, एसलेरेटो मिटरलगायतका उपकरणहरु जडान हुनेछन् ।

यी प्रणाली र मापन केन्द्र स्थापनाका लागि सरकारले २ करोड बजेट छुट्ट्याएको थियो । अहिले त्यो बजेट सिलिङ गरेर १ करोड ६६ लाखमा झारिएको छ । यो बजेट चालू आर्थिक वर्षभत्रिमा यी मापन केन्द्र निर्माणमा खर्च हुने नास्टको तयारी छ ।

नास्टले उपकरण आएपछि मात्रै जडान हुने क्षेत्रको टुंगो लाग्ने जनाएको छ । उपकरण जडान गर्दा सडक र मानवबस्तीदेखि टाढा हुनुपर्छ । सडक नजिकै उपकरण राख्दा गाडीबाट हुने भाइब्रेसनले गलत तथ्यांक दिने सम्भावना हुने ढकालले बताए ।

यी सूचना प्रणालीहरुलाई मिलाएर एकीकृत नेटवर्क प्रणाली बनाउने नास्टको तयारी छ । अब जडान गर्न खोजिएको प्रविधिमा सञ्चारको समस्या नहुने उनले विश्वास गरे । चीनले दिएको सेन्सरको समस्या सल्टाउँदै नयाँ जडान गर्न लागिएको प्रणालीको प्रयोग गरिने उनले बताए । हाल नास्टले भूकम्प पूर्वसूचना प्रणालीसँग सम्बन्धित राय विदेश बस्ने नेपाली विशेषज्ञहरू लिइरहेको छ ।

नास्टले नयाँ प्रणाली जडान गर्ने तयारी गरिरहँदा आवश्यक जनशक्ति र विषयविज्ञ छैनन् । विज्ञहरू नहुँदा प्रणाली कसरी पूर्ण रुपमा सञ्चालन हुन्छ भन्नेमा पनि प्रश्न छ । नास्टले अर्को वर्षदेखि नियुक्तिको प्रक्रिया सुरु गरिने जनाएको छ ।

प्रकाशित : वैशाख ७, २०७९ २१:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×