कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

हाब्रे संरक्षणमा पुर्‍याएको योगदानबापत लामाले पाए ६२ लाखको पुरस्कार

गोविन्द पोखरेल

काठमाडौँ — रेड पान्डा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत संरक्षणकर्मी सोनाम टासी लामाले प्रतिष्ठित हवीट्ली अवार्ड पाएका छन् । बुधबार राति लन्डनमा आयोजित एक कार्यक्रममा संरक्षणकर्मी लामालाई ४० हजार पाउन्ड(करिब ६२ लाख नेपाली रुपैयाँ) को हवीट्ली फन्ड फर नेचर (डब्लूएफएन)अवार्ड दिइएको हो ।

हाब्रे संरक्षणमा पुर्‍याएको योगदानबापत लामाले पाए ६२ लाखको पुरस्कार

डब्लूएफएनका संरक्षक सर डेभिड एटनबर्गको उपस्थितीमा उक्त अवार्ड बेलायती राजकुमारी एनले लामालाई प्रदान गरेकी थिइन् । यो संरक्षण परोपकारी संस्थाले अन्य ५ जनालाई पनि अवार्ड प्रदान गरेको छ ।

यो अवार्ड अन्य ५ जनालाई पनि पनि प्रदान गरिएको थियो । यसअघि यो अवार्ड नेपालबाट वरिष्ठ चराविद् हेमसागर बरालले पाएका थिए । लामाले अवार्डसँगै पाएको रकम एक वर्षभित्र खर्च गर्नुपर्ने छ । उनले यो रकम रेड पान्डाको बासस्थान सुधार, अवैध चोरीतस्करी नियन्त्रणमा खर्च गर्नेछन् ।

अवार्ड पाएपछि कान्तिपुरसँगको फोन कुराकानीमा संरक्षणकर्मी लामाले भने, ‘ रेडपान्डालाई सबैभन्दा ठूलो चुनौती भनेको बासस्थानको खण्डिकरण र चोरी शिकारी हो । यी समस्या समाधानका लागि बासस्थान पुनःस्थापनाका लागि खर्च गर्ने योजना छ । ’ उनले यो अवार्ड बासस्थान पुनःस्थापना गर्ने, वन्यजन्तु आवाजावत गर्ने क्षेत्रमा खण्डीकृत भएको क्षेत्रमा करिडोरको स्थापना गर्ने, जनचेतनामूलक कार्यक्रम गर्ने जनाएका छन् ।

रेडपान्डाको बासस्थान नेपालमा ४ सयभन्दा बढी खण्डहरुमा विभाजित छ । पुराना अध्ययनहरुले नेपालमा हरेक १० दिनमा एउटा रेडपान्डाको अवैध शिकार हुने गरेको देखाएको छ । बासस्थान विनाश र खण्डीकारणले गर्दा विश्वमा यसको संख्या १० हजार रहेको अनुमान छ ।

नेटवर्कका नेपाल प्रमुख आङफुरी शेर्पाले लामाले पाएको अवार्डले रेड पान्डाको संरक्षणमा नेपालमा भइरहेको कामको सही मूल्यांकन भएको बताए । उनले भने, ‘यो एकदमै खुसीको कुरा हो । हाम्रा लागि महत्त्वपूर्ण संरक्षणको उपलब्धि हो ।’

हाल पश्चिम नेपालका ७ वटा जिल्लाहरुमा सन् २०१८ देखि नेटवर्कले काम गर्दै आएको छ । हाल नेटवर्कले भोजपुर, सोलुखुम्बु र खोटाङमा संरक्षणको कार्यक्रम लागू हुँदैछ ।

लामा आबद्ध नेटवर्कले नेपालका १० वटा रेड पान्डामा जीपीएस कलर जडान गरेर अध्ययन अनुसन्धान गरिरहेको छ । नेटवर्कले कञ्चनजंघा भूपरिधिमा ४ सय हेक्टर क्षेत्रमा बासस्थान पुनःस्थापना गरिसकेको छ भने सयभन्दा बढी स्थानीयलाई दक्ष बनाएर नागरिक वैज्ञानिक अवधारणमा संरक्षणको काम समेत गर्दै आएको छ । हाल रेडपान्डा नेटवर्कमार्फत पूर्वी नेपालको इलाम जिल्लामा पुनःस्थापनाको काम भइरहेको उनले जानकारी दिए ।

लामाले न्युजिल्यान्डको लिंकन विश्वविद्यालयबाट नेचर कन्जर्भेसनमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित : वैशाख १५, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?