नेताले रोजे आफन्त, कार्यकर्ता बने बागी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्थानीय तह निर्वाचन २०७९

नेताले रोजे आफन्त, कार्यकर्ता बने बागी

अघिपछि कार्यकर्तालाई झोला बोकाए पनि चुनावमा नेताले आफन्त र आसेपासे रोजेपछि देशैभर बगावत, सबैभन्दा बढी विद्रोही कांग्रेसमा, माओवादी र एमालेबाट पनि स्वतन्त्र उम्मेदवारी
कार्यकर्ता भन्छन्– ‘लामो समय पार्टीमा लाग्यौं तर नेतृत्व नातावादभन्दा बाहिर निस्कन सकेन, सधैं आफन्तलाई नै अवसर दिने भए हाम्रो मूल्यांकन कहिले हुने ?’
कान्तिपुर टिम

काठमाडौँ — राजनीतिमा वर्षौंदेखि काम गरेका योग्य कार्यकर्तालाई पाखा लगाउँदै शक्तिशाली नेताका परिवारकै सदस्य र आफन्तले ठूलो संख्यामा टिकट पाएका छन् । गठबन्धनका पाँच दलमध्ये तीन दलका शीर्ष नेताका परिवारका सदस्यले दुई महानगरपालिकामा प्रमुख र एक महानगरपालिकामा उपप्रमुखको टिकट पाएका छन् । त्यस्तै प्रतिपक्षी एमालेमा पनि पहुँचवालाले टिकट पाएको भन्दै
केही नेता–कार्यकर्ता विद्रोही बनेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहालले भरतपुर महानगर प्रमुखमा टिकट पाएकी छन् भने गठबन्धनभित्रकै कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले काठमाडौं महानगर प्रमुखमा । त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रकुमार यादव विराटनगर महानगरमा उपप्रमुखको उम्मेदवार बनेका छन् ।

मधेसका मुख्यमन्त्री लालबाबु राउतले पत्नी जलेखा खातुनलाई जनता समाजवादी पार्टीबाट पर्साको जगरनाथपुर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनाएका छन् । मुख्यमन्त्रीकी पत्नीले उम्मेदवारी दर्ता गराउने भएपछि २०७४ मा संघीय समाजवादी फोरम नेपालबाट उपाध्यक्ष जितेकी बिस्मिल्लाह खातुन र पति महम्मद सरिफ गदीले पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले रौतहटको गरुडा नगरपालिकामा सालो पर्ने सुनीलकुमार यादवलाई नगरप्रमुखको टिकट दिएका छन् । अघिल्लो स्थानीय निर्वाचनमा यादव पराजित भएका थिए । यसपालि उही प्रवृत्ति दोहोरिएपछि कांग्रेस महासमिति सदस्य रामभरोस यादव पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा गएका छन् । ‘लामो समयदेखि कांग्रेसमा लागें तर पार्टी नातावादभन्दा बाहिर निस्कन सकेन । सधैं आफन्तलाई नै अवसर दिने भए हाम्रो मूल्यांकन कहिले हुने ? त्यही भएर पार्टी छाड्न बाध्य भएँ,’ उनले भने ।

रौतहटकै मौलापुर नगरपालिकामा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमलराय यादवले छोरा रामकल्याण यादवलाई प्रमुख पदमा उम्मेदवार बनाएका छन् । ‘मैले छोरालाई टिकट दिएको हैन, युवा संघको केन्द्रीय सचिवालय सदस्यलाई दिएको हुँ,’ उनले भने, ‘नेताको छोरा उम्मेदवार हुन नपाउने भन्ने कतै लेखेको छ र ?’

मौलापुरमै एमाले नेता प्रभु साहले श्रीमती रेनु साहलाई प्रमुख पदमा उठाएका छन् । रेनु यसअघि पनि मौलापुरको प्रमुखमा निर्वाचित थिइन् । एमालेका नेता बबन सिंहले राजदेवी नगरपालिका प्रमुखमा श्रीमती अंशु सिंहलाई उठाएका छन् । अंशु यसअघि उपप्रमुख थिइन् ।

जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले श्रीमती मधुलिका रानीलाई देवाही–गोनाहीको नगरप्रमुखमा उम्मेदवार बनाएका छन् । साविक नगरप्रमुख रहेका पटेल घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गत चैतमा ५ लाख रुपैयाँसहित रंगे हात पक्राउ गरेपछि यसपालि श्रीमतीलाई उम्मेदवार बनाएका हुन् ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा रामकृष्ण खाँण उम्मेदवार बनेका छन् । जिल्ला सभापतिसमेत रहेका उनी गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणका साइँला भाइ हुन् । दाजुको जोडबलले जिल्ला सभापति बनेको आरोप लागेका उनीमाथि अहिले नगरप्रमुखमा उम्मेदवार बनेपछि कांग्रेसमा असन्तुष्टि छ ।

लुम्बिनी प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पत्नी सीता आचार्यलाई रोल्पामा वडा सदस्यको उम्मेदवार बनाएका छन् । ‘उनको नाम कसरी ल्याइयो, पार्टीमा जानकारी नै छैन,’ माओवादीका एक जिल्ला नेताले भने, ‘एक्कासि उम्मेदवारी दिँदा मात्रै थाहा भयो ।’ उनलाई जिल्ला समन्वय समिति प्रमुख बनाउने गरी वडा सदस्यमा उठाइएको ती नेताले बताए । उनी पार्टीको पूर्वकेन्द्रीय सदस्य एवं जनवादी कलाकार हुन् । यस्ता धेरै कलाकार पार्टीभित्रै उपेक्षित छन् ।

नेताका आफन्त र नातागोतालाई स्थानीय तहको टिकट बाँड्ने प्रवृत्ति कर्णाली प्रदेशमा पनि देखिएको छ । दैलेखको नारायण नगरपालिका प्रमुखमा कांग्रेसले १४ जनाको नाम सिफारिस गरेको थियो । एक सातासम्म उम्मेदवारको टुंगो लगाउन नसकेपछि प्रदेश समितिले केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काकी साली निर्मला खड्कालाई टिकट दिएको छ । ‘उनीभन्दा अरू योग्य व्यक्ति पनि थिए,’ कर्णाली प्रदेशका एक पदाधिकारीले भने, ‘माथिको निर्देशन भन्दै

हामीलाई कुरा राख्नै दिइएन ।’ कांग्रेसको कोइराला समूहबाट यसअघि महाधिवेशन प्रतिनिधिमा विजयी भएकी खड्का चुनावको मुखैमा देउवा समूहमा प्रवेश गरेकी हुन् । २०७४ को स्थानीय निर्वाचनमा उनी नारायण नगरपालिका–७ को वडा सदस्य निर्वाचित भएकी थिइन् । उनले टिकट पाएपछि नगर प्रमुखका आकांक्षीहरू प्रकाश न्यौपाने, क्षेत्रीय सभापति गणेश उपाध्याय, महाधिवेशन प्रतिनिधि वासना थापा, भूपेन्द्र शाही, खेमराज केसी, मनोज थापालगायत नेता रुष्ट बनेका छन् । ‘गुट र आफन्तको नाम भजाएरै नेता हुने भए हामीले वर्षौंसम्म टोलटोल पुगेर संगठन बनाएको के काम ?’ एक आकांक्षीले भने, ‘नातावाद र गुटबन्दीका कारण कार्यकर्तामा वितृष्णा जागेको छ ।’

कांग्रेस नेता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाहीले दैलेखको चामुन्डा बिन्द्रासैनी नगरप्रमुखमा उम्मेदवारी पाएका छन् । मन्त्री शाहीकै दबाबमा उनलाई नगर समितिले उम्मेदवार सिफारिस गरेको थियो । गणेशले मन्त्रीको छोरा मात्रै नभएर पार्टीमा ठूलो योगदान भएकाले आफू नगरप्रमुखको उम्मेदवार बनेको दाबी सुनाए । उनी यसअघिको स्थानीय निर्वाचनमा एमाले उम्मेदवारसँग पराजित भएका थिए ।

नातावाद कांग्रेसमा मात्रै होइन एमालेमा पनि झाँगिएको छ । दैलेखकै ठाटीकाँध गाउँपालिकामा एमाले प्रदेश कमिटी अध्यक्ष विनोद शाहले श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्षको उम्मेदवार बनाएपछि युवा नेता मदन रिजालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ‘दबाब र रबाफमा जनमतको कदर नहुने भएपछि मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘लामो समय बाहिरै बस्ने, एकाएक गाउँपालिका अध्यक्ष खोजेर हुन्छ ?’ नेकपा एमाले केन्द्रीय लेखा आयोगको सदस्य रहेकी शाह जिल्ला समन्वय समितिकी उपप्रमुखसमेत हुन् । उनी निर्वाचित भएदेखि ५ वर्षसम्म गाउँमा नआएको रिजालले बताए ।

नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काकी बहिनी तप्ता थापा पनि एमालेबाट नगरपालिकाको उम्मेदवार बनेकी छन् । आफू फेरि प्रमुखको उम्मेदवार नहुने भएपछि बहिनीलाई उपप्रमुखको उम्मेदवार बनाएको एमालेका एक जिल्ला सदस्यले बताए । नाता सम्बन्ध, पैसा र पहुँचका आधारमा स्थानीय तहको उम्मेदवार बन्ने प्रवृत्ति हाबी हुँदै गएको नारायण–१ का जयसिंह थापाले बताए । ‘अब राजनीतिमा योगदानभन्दा पनि नेताको नजिक र आफन्त हुनुपर्ने देखियो,’ उनले भने, ‘इमानदार नेताहरूलाई परिवार पाल्नै मुस्किल छ, विभिन्न दाउपेच गर्नेहरूले धमाधम टिकट पाउन थाले ।’

रुकुम पश्चिमको मुसीकोट नगरप्रमुखमा माओवादी केन्द्रका विभिन्न ९ जना आकांक्षी थिए । अन्तिममा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका पति वसन्तकुमार शर्माले टिकट पाए । स्थानीय गोविन्द केसीले जिल्लामा अर्थमन्त्री जनार्दन शर्माको चाहनाबिना कुनै पनि राजनीतिक काम नहुने बताए । ‘यसअघि पनि उनका काकाले नै टिकट पाएर ५ वर्ष स्थानीय सरकार चलाए,’ उनले भने, ‘अहिले पनि टिकट भाइलाई पर्‍यो ।’ उम्मेदवार सिफारिस भएका शर्मा मुसीकोटका वर्तमान नगरप्रमुख देवीलाल गौतमका दाइका छोरा हुन् । उम्मेदवार शर्माले भने आफ्नो विषयमा सिंगो पार्टी र जनताले बुझेको भन्दै यस विषयमा बोल्न चाहेनन् ।

अर्थमन्त्री शर्माका मामाका छोरा आकाश भनिने लक्ष्मीप्रसाद शर्मा बर्दियाको मधुवन नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवार भएका छन् । माओवादीका लुम्बिनी प्रदेश सदस्य रहेका शर्मालाई प्रमुख पदको टिकट दिएपछि निवर्तमान प्रमुख गणेशबहादुर केसी समर्थकले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

गण्डकी प्रदेशका गोरखा, तनहुँ, म्याग्दीका केही स्थानीय तहमा स्थानीय र केन्द्रीय नेताले आफन्त र इष्टमित्रलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएका छन् । पालुङटार नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रबाट वन्दना पाण्डेले उपप्रमुखमा उम्मेदवारी दिएकी छन् । उनी माओवादी केन्द्रका प्रदेश इन्चार्ज हितराज पाण्डेकी छोरी हुन् । उपप्रमुखमा ९ जनाले आकांक्षा राखेका थिए । त्यस्तै, गोरखा नगरप्रमुखमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टकी श्रीमती सञ्जु नेपालीले टिकट पाएकी छन् । माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य गोविन्द पौडेलले बुहारी ज्योति लामिछानेलाई बेनी नगर उपप्रमुखमा उम्मेदवार बनाएका छन् । २०७४ को निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा पनि उपप्रमुख बनेकी लामिछाने पराजित भएकी थिइन् । पर्वतको मोदी गाउँपालिका अध्यक्षमा एमालेबाट हीरादेवी शर्माले अध्यक्षको टिकट पाएकी छन् । उनी राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाकी काकाकी छोरी हुन् ।

तनहुँको व्यास नगर प्रमुखमा कांग्रेस नेता गोविन्दराज जोशीले छोरा दीपक जोशीलाई उठाएका छन् । कांग्रेसबाट उम्मेदवारी नपाउने भएपछि जोशीले एमालेसँग तालमेल गरी छोरालाई अघि सारेका हुन् । एमाले र जोशी समूहबीच गठबन्धन भएपछि नगरप्रमुखमा जोशी र उपप्रमुखमा एमालेकी बसुन्धरा घर्तीले उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीले दिदीलाई उपाध्यक्ष र भाइलाई वडाध्यक्षको उम्मेदवार बनाएका छन् । चौधरीकी दिदी शान्ति चौधरीले दाङको गढवा गाउँपालिकाको उपाध्यक्षमा टिकट पाएकी छन् भने भाइ पुरन शर्माले गढवा–७ मा वडाध्यक्षको उम्मेदवारी दिएका छन् । प्रदेशमा टिकट वितरणको जिम्मा समाजवादीले चौधरीलाई दिएको थियो ।

सिन्धुलीको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल उम्मेदवार बनेकी छन् । निर्वतमान गाउँपालिका अध्यक्ष उनी वाग्मती प्रदेससभा सदस्य एवं माओवादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) की पत्नी हुन् । सिन्धुली माओवादीले दोहोर्‍याएर उम्मेदवारी नदिने नीति बनाए पनि दीपाको हकमा यो लागू भएन ।

ज्योति कटुवाल (दैलेख), हरि गौतम (रुकुम पश्चिम), भूषण यादव (वीरगन्ज), शिव पुरी (रौतहट), सम्झना रसाइली (तनहुँ), घनश्याम खड्का (म्याग्दी), हरिराम उप्रेती (गोरखा), अगन्धर तिवारी (पर्वत), घनश्याम गौतम (रूपन्देही), काशीराम डाँगी (रोल्पा), कमल पन्थी (बर्दिया), दुर्गालाल केसी (दाङ) र राजकुमार कार्की (सिन्धुली)

प्रकाशित : वैशाख १४, २०७९ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्

भ्यु टावरबाट देखिने दृश्य

स्थानीय तह, प्रदेश र संघीय सरकारको बजेटमा भ्यु टावर बनाउने प्रतिस्पर्धा, विद्यालय, अस्पताल, खानेपानी र सडक पूर्वाधार उपेक्षामा
कान्तिपुर टिम

काठमाडौँ — विदेश जाने तारतम्य मिलाउन राजधानी हिँडेका दार्चुला, राङथाङका ३५ वर्षीय जयसिंह धामी सात महिनादेखि बेपत्ता छन् । आफ्नै जिल्ला सदरमुकाम पुग्न सडक छैन, भारतको बाटो हिँड्न महाकाली तर्ने पुल छैन । पारि जान खोज्दा भारतीय फौज एसएसबीका सुरक्षाकर्मीले तुइन फुस्काइदिँदा मध्यबर्खाको महाकालीमा खसेर बेपत्ता भएका धामीको खोजबिन गर्न पनि छाडिएको छ । 

जयसिंहभन्दा अघि र पछि पनि नेपाली नागरिक यसैगरी ज्यान जोखिममा राखेर भारत हुँदै आफ्नै जिल्ला सदरमुकाम खलंगा आउन बाध्य छन् । महाकालीको तुइन त एउटा उदाहरण मात्र हो, देशैभर खानेपानी, विद्यालय, स्वास्थ्यचौकी र औषधिबिना सर्वसाधारणको जीवन कष्टसाध्य छ । तर, आधारभूत सुविधाको पर्खाइमा रहेका नागरिकप्रति कुनै जिम्मेवारीबोधबिना देशको नेतृत्व गरेका र गर्न तम्सिएका नेताहरू करोडौंका भ्यु टावर उद्घाटन गर्न जिल्ला दौडाहामा निस्किएका छन् ।

पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले रोल्पामा सोमबार उद्घाटन गरेको ६ करोड लागतको भ्यु टावरबाट नजिकै देखिन्छ, इन्द्रेश्वरी माध्यमिक विद्यालय । ६ दशक पुरानो विद्यालयमा तीन सय विद्यार्थी छन्, तर उनीहरूका लागि शौचालय र खानेपानी छैन । शिक्षकसमेत अपुग भएकाले स्थानीय, प्रदेश र संघीय सरकारलाई अनुरोध गर्दागर्दै प्रधानाध्यापक रामचन्द्र आचार्य थाकिसकेका छन् । भन्छन्, ‘खानेपानी छैन, विद्यालयमा छुट्टै धारा ल्याइदिनोस् भन्दा कसैले पनि सुनेनन् । पानी लिनैका लागि हामीले जर्किन किनेर विद्यार्थीलाई बाँडेका छौं, तर बजेट भ्यु टावरमा लगानी भएको देख्दा सरकारको प्राथमिकता के हो भनेर आश्चर्यमा परेका छौं ।’

टावरबाट खेवासे गाउँ पनि देखिन्छ, जहाँ २ सय २० घरधुरी छन् । गाउँमै खानेपानी संकट छ । टावरबाट देखिने नजिकका गाउँहरू सल्लीबोट, खुमेल र हरिगातिनामा पनि खानेपानीको ठूलै समस्या छ । त्यहाँका विद्यालयहरूको अवस्था पनि इन्द्रेश्वरीभन्दा फरक छैन ।

रोल्पाको भ्यु टावरको चर्को विरोध भइरहेका बेला अर्का पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रूपन्देहीको तिलोत्तमा, शंकरनगरमा साढे ११ करोडको भ्यु टावर उद्घाटन गरेका छन् । वन वाटिकाको जंगल क्षेत्रमा १० तले टावर बनाउँदा एक सय रूख काटिएको छ । हरियाली मासेर कंक्रिटको टावर बनाएकामा स्थानीय असन्तुष्ट छन् । तिलोत्तमा–३ का कल्याण पौडेल भन्छन्, ‘टावरमा गरिएको साढे ११ करोड नहरमा प्रयोग गरेको भए सयौं बिघा खेत सिँचाइ हुन्थ्यो, हजारौं किसानले प्रत्यक्ष फाइदा लिन सक्थे । तर नेताहरूले किसानका बाँझो खेत हेर्न भ्यु टावर बनाएका छन् ।’ उता तिलोत्तमा नगरपालिकाले निर्माण गर्ने भनेको ४७ किलोमिटर चक्रपथ योजना भने बजेट अभावमा अलपत्र छ ।

त्यसो त भ्यु टावरप्रति ओलीको आकर्षण बलियो छ । प्रधानमन्त्री भएकै बेला ओलीले आफ्नै निर्वाचन क्षेत्र दमकमा १८ तले भ्यु टावर बनाउन सुरु गरेका थिए । निर्माणाधीन टावरको पश्चिममा छ टुकुरे सुकुम्बासी बस्ती । राज्य कोषको डेढ अर्बभन्दा बढी लागतमा भ्यु टावर सम्पन्न भएपछि १८ तलामाथिबाट देखिने नजिकको दृश्य नै यही बस्ती हो । वि.सं. २०२२ देखि बसोबास गरिरहेका सय परिवार अहिलेसम्म लालपुर्जाविहीन छन् ।


दमक

हरेक निर्वाचनमा भोटका लागि प्रयोग गरिने सुकुम्बासी बस्तीलाई गिज्याउन भ्यु टावर बनिरहेको भन्दै आलोचना पनि भइरहेको छ । भ्यु टावरको सौन्दर्यका लागि लखेटिनुपर्ने त्रास सुकुम्बासीहरूलाई थपिएको छ । यसअघि दमक बजारमा सपिङ कम्प्लेक्स बनाउन करिब एक दर्जन सुकुम्बासी परिवार लखेटिएका थिए । टुकुरे बस्तीकी वृद्धा भीमकुमारी विश्वकर्मा भन्छिन्, ‘हाम्रै दुःख हेर्न यो टावर बनेको होला है, हेरे मात्र त ठीक थियो, लखेटे भने कहाँ जाने ?’

जता डाँडा उतै भ्यु टावर 

स्थानीय तह, प्रदेश र संघीय सरकारको बजेटमा भ्यु टावर बनाउने प्रतिस्पर्धा, विद्यालय, अस्पताल, खानेपानी र सडक पूर्वाधार उपेक्षामा मुलुकमा कैयौं बस्तीमा अझै पनि खानेपानी, शिक्षा, स्वास्थ्यलगायत आधारभूत सुविधा पुग्न सकेको छैन । तीन तहका सरकारहरू भने पर्यटन विकासका नाममा अग्ला डाँडा खोज्दै भ्यु टावर बनाउने लहडमा छन् । अधिकांश पहाडी जिल्लाबाट मनोरम दृश्य नियाल्न टावर चढिरहनुपर्दैन । तर पर्यटन विकासका नाममा डाँडामै भ्यु टावर बनाउन सरकारले करोडौं खर्चिएको छ ।


सल्यान

रूपन्देहीको तिलोत्तमा–२ शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा साढे ११ करोड ५४ लाख खर्चेर १० तले टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले निर्माण गरेको ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’को एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेका छन् । लुम्बिनी प्रदेशकै रोल्पाको रोल्पा नगरपालिका–३ सातदोबाटोमा ६ करोड १० लाख ६५ हजारको लागतमा भ्यु टावर निर्माण गरेको छ । ‘जनयुद्ध स्मृति टावर’ नामकरण गरिएको टावरको सोमबार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । दाहालले ‘रोल्पाले ध्वंस मात्र गर्दैन, निर्माण पनि गर्छ’ भन्ने सन्देश टावरले दिएको बताए । तर, स्थानीय भने असन्तुष्ट छन् । नगरवासीका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइलगायत आवश्यकतालाई बेवास्ता गर्दै करोडौं रकम टावरमा लगानी गर्नु जनप्रतिनिधिले गर्नुपर्ने काम नै चिन्न नसकेको देखिएको पूर्वसांसद लेखनाथ आचार्यले बताए । ‘बरु त्यही लगानीले लिफ्टिङ खानेपानी दिएको भए हुन्थ्यो,’ उनले भने, ‘स्थानीय तहले जथाभावी गर्नु राज्यको खर्च दुरुपयोग हो ।’ रोल्पा नगरमा खानेपानीकै समस्या छ ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै बनेका र बन्दै गरेका भ्यु टावर उद्घाटन गर्ने प्रतिस्पर्धा छ । स्थानीय तह, प्रदेश र संघीय सरकारको सहयोगमा लुम्बिनी प्रदेशमा मात्र कम्तीमा २१ वटा भ्यु टावर निर्माण भएका छन् । गुल्मी, पाल्पा, अर्घाखाँची, बाँके, दाङलगायत जिल्लामा पनि भ्यु टावर निर्माण गरिएका छन् । दाङमा ६ र रोल्पामा ५ भ्यु टावर बनाइएका छन् । अधिकांश टावर पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ निर्माण गरेको भनिए पनि मनोरन्जनका लागि मात्र उपयोग छन् । तिलोत्तमामा निर्माण भएको टावरमा तिलोत्तमा नगरपालिकाको ७० र शंकरनगर वन विहार अनुसन्धान केन्द्रको ३० प्रतिशत लगानी रहेको इन्जिनियर प्रदीप वनले बताए ।


नौडाँडा कास्की

लिफ्ट सुविधासहितको तिलोत्तमा टावरमा रेस्टुरेन्ट, पर्यटक विश्रामस्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय, बास बस्न र दृश्यावलोकन गर्न मिल्ने वातानुकूलित एट्याच बाथरुमसहितका कोठा, पुस्तकालयलगायतको सुविधा छ । नगर प्रमुख वासुदेव घिमिरेले टावरले नगरपालिकालाई कम्तीमा मासिक तीन लाख रुपैयाँ आम्दानी र एक सय जनालाई रोजगारी दिने बताए । ‘टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू पनि बनिरहेका छन्,’ उनले भने, ‘सबै पूरा हुँदा एक सय जनाले प्रत्यक्ष रोगजारी पाउनेछन् ।’ बाल उद्यान र खेल मैदान पनि बनाइने नगरपालिकाले जनाएको छ । टावरको दसौं तला मात्र दृश्यावलोकमा प्रयोग हुने प्रमुख घिमिरेले बताए ।

टावरको उद्घाटन गर्दै ओलीले भने, ‘प्रविधिको अधिकतम प्रयोग भएको टावरबाट नगरवासीले अत्यधिक लाभ लिन सक्नुपर्छ ।’ रूपन्देहीका युवा विश्लेषक देवराज पोखरेलले भने स्थानीय सरकारले टावरमा लगानी गर्नु अनुत्पादक हुने बताए । ‘हरेक स्थानीय तहमा चिस्यान केन्द्र जरुरी छ,’ उनले भने, ‘त्यसले गाउँमा उत्पादन बढाउँथ्यो, सहरमा बजारीकरणमा सहयोग पुग्थ्यो । तर, स्थानीय तहले धमाधम टावर बनाइरहेका छन् ।’ स्थानीय सरकारले योजना पहिचानमा प्राथमिकता दिनुको साटो प्रचारमुखी बन्दा अनुत्पादक संरचनामा लगानी बढेको उनले बताए ।

बाँकेको कोहलपुरमा घण्टाघरसहितको १० तले भ्यु टावर तयार हुँदै छ । काठमाडौंको धरहराकै झल्को दिने गरी कोहलपुर–११ गोलपार्कमा तीन बिघा क्षेत्रफलमा ५ करोड ८८ लाख लगानीमा लिफ्टसहितको निर्माण भइरहेको हो । ‘यसको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन गर्ने नै हो,’ नगर प्रमुख लुटबहादुर रावतले भने ।

दाङका विभिन्न स्थानीय तहले ६ वटा भ्यु टावर निर्माण गरेका छन् । पाँचवटा प्रयोगमा आइसकेका छन् भने एउटा निर्माणाधीन छ । बंगलाचुली गाउँपालिकाले तीनवटा भ्यु टावर बनाएको छ । नियमित रूपमा पर्यटक आए पनि आम्दानी हुन नसकेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले बताए ।

गढवा–८ कोइलाबासमा वडाको २१ लाखको लागतमा टावर बनाइएको वडाध्यक्ष सद्दाम सिद्धिकीले बताए । ‘कोइलाबास ऐतिहासिक स्थल हो । नेपाल–भारत सीमा क्षेत्रको महत्त्वपूर्ण बजार हो,’ उनले भने, ‘यो क्षेत्रको विकासका लागि टावरले सहयोग गरेको छ ।’ तुलसीपुर उपमहानगरपालिकाले छिल्लीकोटमा २५ लाखको लागतमा भ्यु टावर बनाएको छ । लमही नगरपालिकाले पनि लमहीमा भ्यु टावर निर्माण गरिरहेको छ ।

पाल्पाको तानसेन र रामपुर नगरपालिकाले पनि भ्यु टावर बनाएका छन् । तानसेनको श्रीनगरडाँडामा १ करोड १२ लाखको लागतमा करुवा आकारको भ्यु टावर निर्माण भएको हो । तानसेन नगरपालिकाको २५ र पर्यटन मन्त्रालयको ३५ लाख खर्च भएको छ । यसबाहेक विश्व बैंकले ५६ लाख दिएको थियो । रामपुर नगरपालिका बेझाड नजिकै समुदायको सक्रियतामा भ्यु टावर निर्माण गरिएको छ । पाँच तलाको टावर राम्चे सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा बनाइएको समूहका अध्यक्ष दयाराम गैरेले बताए ।


अर्घाखाँचीमा सन्धिखर्क नगरपालिकाले गत वर्ष नै ४० लाख रुपैयाँ खर्चेर चार तलाको शंखेटारीमा भ्यु टावर बनाएको छ । तर टावर सञ्चालनमा छैन । टावर आवश्यक नभएको भन्दै सरोकारवालाले विरोध गर्दागर्दै नगरपालिकाले बनाएको हो । नगर उपप्रमुख ठाकुर विकले भने, ‘बनाइयो तर टावर चढ्न पर्यटक आएको देखिँदैन ।’

प्रदेश १ को धनकुटामा मात्र हालसम्म दर्जनभन्दा बढी भ्यु टावर बनाइएका छन् । साँगुरीगढी गाउँपालिकाको भेडेटार, ध्वजेडाँडा र ओख्रे, चौबिसे गाउँपालिका, धनकुटा नगरपालिकाको चुलिवन र हिले, सहिदभूमि गाउँपालिकाको पातले डाँडामा र सीमावर्ती धनकुटा एवं मोरङको केराबारीमा जेफाले भ्यु टावर निर्माण गरिएको छ । सहिदभूमिको घुमाउने डाँडा, महालक्ष्मी नगरको पटेक डाँडा र धनकुटा नगरको कागतेमा समेत टावर निर्माणको तयारी छ । पाख्रिबासको राम्चे डाँडामा टावर बनाइएको छ ।


चुलीवन‚ धनकुटा

भोजपुरको टेम्केमैयुङमा टेम्के भ्यु टावर १३ करोड ६२ लाख ८ हजारको लागतमा निर्माण भइरहेको छ । भोजपुरकै हतुवागढीको घोरेटारमा पनि शंखामचुली भ्यु टावर २ करोड ८२ लाखको लागतमा निर्माण गरिएको छ । भ्यु टावरमा लगानी व्यर्थ हुने भएकाले आफू त्यसको विपक्षमा रहेको महालक्ष्मी नगर प्रमुख पर्शुराम नेपाल बताउँछन् । पूर्वको पर्यटकीय गन्तव्य भेडेटारस्थित भ्यु टावर एक दशकअघि नै बनाएको हो । यहाँ आन्तरिक पर्यटकको आकर्षण छ । इलाम बजार र श्रीअन्तुमा पनि टावरमा बनाइएका छन् ।

भोजपुरको टेम्केबाट मधेसको फराकिला फाँटसँगै सगरमाथा, कञ्चनजंघा, लोत्सेसहितका हिमशृंखला हेर्न सकिने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुव राई बताउँछन् । इलाम नगरपालिकाले ५१ फिटको पाँचतले टावर बनाउन ९० लाख खर्च गरेको छ । सन्दकपुर–५ मावुथाममा भ्यु टावर निर्माणाधीन छ । हालसम्म करिब २० लाख खर्च भएको छ ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई वटा भ्यु टावर निर्माण गरिएको छ । नेर्पाको बगरेभन्ज्याङ र रूपाकोटमा निर्माण गरिएको हो । बगरेभन्ज्याङमा करिब ६५ लाखको लागतमा बनेको संरचनालाई ‘पेन टावर’ नाम दिइएको छ । उक्त टावरभन्दा वरिपरिका डाँडाहरू छन् । रूपाकोटमा पनि करिब २७ लाख लागतमा त्यस्तै टावर बनाइएको छ । उक्त ठाउँमा फलामको ट्रसबाट टावर निर्माण गरिएको हो । अग्लो डाँडा हुँदाहुँदै टावर बनाउनु अनुत्पादक रहेको नेपाल चेम्बर्स अफ कमर्स खोटाङका अध्यक्ष खुसनारायण सै‌जूले बताए । ‘यस्तो खाले भ्यु टावर पैसा सक्नु मात्र हो,’ उनले भने ।


पाँचथरको फिदिम–२ रमितेडाँडामा नयाँ सहर आयोजनाले ४ करोड खर्चेर ४० फिट अग्लो भ्यु टावर बनाएको छ । फिदिम नगरपालिकासँगको साझेदारीमा निर्माण भएको हो । मध्यपहाडी लोकमार्गले छोएका फिदिम र तेह्रथुमको वसन्तपुरसहितलाई ‘नयाँ सहर’ का रूपमा विकसित गर्ने अवधारणा सफल पार्न निर्माण गरिएको जनप्रतिनिधि बताउँछन् । तीन वर्षअघि नै निर्माण सकिएको यो टावर सञ्चालन व्यवस्थापनमा स्थानीय सरकारले योजना नै बनाउन सकेको छैन । फिदिम–२ पल्लोटारमा स्थानीयले उपलब्ध गराएको जग्गामा नयाँ सहर आयोजनाले बनाएको बसपार्क पनि सञ्चालनमा आएको छैन ।


ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका प्रमुख निर्वाचित भएको भोलिपल्टै मोहनकुमार श्रेष्ठले लगलगे डाँडामा भ्यु टावरको शिलान्यास गरेका थिए । २३ लाख खर्चेर निर्माण गरिएको भ्यु टावरले स्थानीय तहलाई आम्दानी भने दिएको छैन । त्यसैगरी खिजिदेम्बा–५ र ८ को सिमानामा पर्ने देम्बाडाँडामा पनि यस्तै टावर निर्माण गरिएको छ । यो जिल्लाकै सबैभन्दा अग्लो स्थानमा त्रबवरका लागि गाउँपालिकाले ३० लाखभन्दा बढी खर्च गरेको छ । चम्पादेवी–५ को मालिंगेडाँडामा पनि टावर बनाउन जगका लागि ५ लाखभन्दा बढी खर्च भइसकेको छ ।


फेदाप गाउँपालिकाले गुल्डुङ डाँडामा ६५ लाखको लागतमा भ्यु टावर बनाएको छ । गुल्डुङ डाँडा त्यसै पनि उच्च स्थानमा छ । गाउँपालिकाका बस्तीमा खानेपानी, सिँचाइ, स्वास्थ्य, कृषि, बिजुली, सडकलगायत धेरै आवश्यकता छन् । तमोर नदीको तटीय क्षेत्रमा खानेपानीको चरम समस्या छ । पानी अभावमा गाउँले बर्सेनि बसाइँ सर्दैछन् । यस्तै तेह्रथुमको म्याङलुङ–१ मा टावर निर्माण थालिएको २ वर्ष भयो । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष ३० लाख र चालु आव २६ लाख छुट्याएको छ । वडा र नगरपालिकाबीच कसले उपभोक्ता समिति गठन गर्ने भन्ने विवादले काम रोकिएको कार्यवाहक वडाध्यक्ष बुद्धिराज लिम्बूले बताए ।


गुराँसे‚ दैलेख

झापाको दमक–३ दापगाछीमा २५ तलाको भ्यु टावर निर्माणको काम धमाधम छ । एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा गृहनगरमा भ्यु टावर निर्माण सुरु भएको हो । १२ औं तला निर्माणको काम भइरहेको सहरी विकास तथा भवन निर्माणका इन्जिनियर भूपेन्द्र यादवले बताए । १८ तलासम्म पक्की संरचनाको तथा थप ७ तलाको ट्रससहितको टावर निर्माण हुनेछ । १ अर्ब ५६ करोड १४ लाखमा चिनियाँ कम्पनी जेटसीजीआईईसी, आशिष र ओम साइराम जेभीले ठेक्का पाएको छ । ८ कट्ठामा निर्माणाधीन टावरको म्याद १५ महिना थप गरिएको छ । टावर व्यापारिक प्रयोजनसहितको हुने दमक नगरपालिकाले जनाएको छ ।

बाह्रदशी–६ मा ११ तलाको भ्यु टावर निर्माण भइरहेको छ । यसमा १७ करोड १८ लाख लागत रहनेछ । गत वर्ष एक करोड ७० लाख खर्चेर ३ तलासम्मको निर्माण कार्य सकेको छ । इन्जिनियर नारायण खरेलका अनुसार चालु वर्षका लागि २ करोड ४३ लाखको ठेक्काका लागि टेन्डर आह्वान गरिएको छ । त्यस्तै बुद्धशान्ति गाउँपालिकाले चारतले भ्यु टावर निर्माण गरिरहेको छ । निर्माण सकिँदासम्म एक करोडभन्दा खर्च लाग्ने अनुमान छ ।

मेचीनगर–६ को शिवालय मन्दिर परिसरमा बन्ने ३३ मिटर अग्लो भ्यु टावरको काम अहिले भने ठप्प छ । प्रदेश सरकारको उद्योग, वन तथा वातावरण मन्त्रालयको ७० र मेचीनगर नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता उक्त टावर निर्माण हुन लागेको थियो । ४ करोड ५३ लाख लागतमा निर्माण सुरु भएको टावरको काम केही महिनादेखि ठप्प छ । मेचीनगरका प्रमुख विमल आचार्यले टावरको नक्सांकन नै गलत भएकाले निर्माण रोकिएको जनाए ।


भालुखोप, रामेछाप

धरान–२० चिन्डेडाँडा टोड्केमा ६५ लाखमा भ्यु टावर बनाइएको छ । पर्यटन बोर्ड काँकडभिट्टाबाट १० लाख, प्रदेश सरकारबाट ८० लाख र संघीय सरकारबाट १ करोड रुपैयाँ उक्त टावर निर्माणका लागि प्राप्त भएको थियो । धरान–४ हर्दियामा भ्यु टावर बनाउन डीपीआर गरिएको छ । संघीय संरचनापछि धरान उपमहानगरको क्षेत्र विस्तार भएको छ । धेरै ठाउँ सडकको अवस्था बिजोग छ । खानेपानीको असुविधा छ । पहिरोको जोखिम उस्तै छ । जनतालाई आवश्यक पूर्वाधारको अध्ययन नगरी भ्यु टावर बनाउन जोड दिनु अनुत्पादक काम भएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बुद्रोस लिम्बू बताउँछन् । ‘जनताको जीवन सहज बनाउन विकास निर्माणका योजनामा लगानी गरिनुपर्छ, डाँडा आफैंमा भ्यु टावरै हुन्, बजेट खर्चिएर किन बनाउने कृत्रिम भ्यु टावर ?’ उनले भने ।

सुनसरीको बराहक्षेत्र–९ मा पनि भ्युटावर निर्माणको योजना छ । कोसी टप्पुको उत्तरी भेगमा बन्न लागेको टावर ८ करोडमा सम्पन्न गर्ने डीपीआर बनाइएको छ । निर्माणका लगि आर्थिक वर्ष २०७६/७७ र चालु वर्षमा गरी प्रदेश सरकारले एक करोड विनियोजन गरिसकेको छ ।

मोरङको केराबारी, मिक्लाजुङ र बेलबारीमा भ्यु टावर निर्माणको योजना छ । जसमध्ये केराबारीमा दुई वटाको निर्माण सकिएको छ भने अन्य तीन निर्माणाधीन छन् । केराबारी–२ जेफालेमा एक करोड लगानीमा तयार भएको छ । पाटीगाउँको थानडाँडामा ५० लाखको लागतमा भ्यु टावर निर्माण भएको गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले बताए । तोपथुंकी भ्यु टावर ७० करोडको लागतमा निर्माण सुरु गरिएको छ । यस्तै, बेलबारी–२ रमिते डाँडामा बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षदेखि रमिते भ्यु टावर निर्माण भइरहेको छ । हालसम्ममा गाउँपालिकाले ८० लाख र संघीय सांसद भानुभक्त ढकालको निर्वाचन क्षेत्र पूर्वाधारको बजेट लगानी गरेर १ करोड २० लाख खर्च भइसकेको छ ।


सूर्योदय नगरपालिका‚ इलाम

यस्तै, मिक्लाजुङ–२ मा नोसेलुङ भ्यु टावर प्रदेश सांसद कुलप्रसाद साँवाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भइरहेको छ । गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले हालसम्म ५० लाख खर्च भएको भ्यु टावर निर्माणको अन्तिम चरणमा रहेको बताए । पाँच वटै भ्यु टावरको निर्माण उपभोक्ता समितिबाट नै भइरहेका छन् ।

वाग्मती प्रदेशका अधिकांश जिल्लामा करोडौंको लगानीमा भ्यु टावर निर्माण गरिएका छन् । केही निर्माणाधीन छन् । रामेछापका गाउँहरू खानेपानी, विद्युत् स्वास्थ्यलगायत आधारभूत सुविधाबाट वञ्चित छन् । संघीय, प्रदेश र स्थानीय सरकारको ध्यान भ्यु टावर निर्माणमा छ । रामेछापको माझकटेरामा ४ करोडको लागतमा भ्यु टावर र सभाहल बन्दै छ । वाग्मती प्रदेश सरकारको लगानीमा निर्माणाधीन भ्यु टावरमा पुग्न गर्जाङबाट झन्डै २२ किलोमिटर उक्लिनुपर्छ । जंगलको बीचमा निर्माणाधीन भ्यु टावर आसपास बस्ती र पर्यटकीय मार्ग छैन । ‘त्यो लगानी बरु शिवालयदेखि बाम्तीको देउराली जाने बाटोमा गरेको भए हुन्थ्यो,’ स्थानीय पदमबहादुर कार्की भन्छन्, ‘थोरै बाटो बने पनि राम्रो त बन्थ्यो होला ।’ रामेछापकै खाँडादेवीमा प्रदेश सरकारको झन्डै ३ करोडको लगानीमा पकरवासको सोलिथुम्कामा भ्यु टावर निर्माण भएको छ । भालुखोप डाँडामा रामेछाप नगरपालिकाले झन्डै १ करोड ४१ लाखमा भ्यु टावर निर्माण गरेको छ ।

सोलिथुम्का
सोलिथुम्का‚ रामेछाप

दोलखा–रामेछाप सीमाको शैलुङडाँडामा संघीय सरकारको २ करोड लगानीमा भ्यु टावर निर्माण भएको छ । डाँडाको टुप्पोमा किन चाहियो टावर भन्दै दोलखातर्फका बासिन्दाले विरोध गरेका थिए । त्यही टावर नजिक एक महिनाअघि महोत्सवमा पुगेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘डाँडाको टुप्पोमा भ्यु टावरलगायत संरचना आवश्यक छैनन्, अब कुनै संरचना नथप्नुस्, शैलुङको सौन्दर्य आफैं राम्रो छ ।’ उमाकुण्ड र गोकुलगंगाको बीचमा पर्ने सबैभन्दा अग्लो डाँडा तामे भ्यु टावर र सुनापति गाउँपालिकाको सुनापति डाँडामा पार्कसहितको भ्यु टावरका लागि भर्खर खरिद सम्झौता भएको छ । उक्त दुई भ्यु टावर निर्माणका लागि करिब ८ करोड खर्च लाग्ने अनुमान छ । सुनापतिका लागि संघीय सरकार ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी छ । तामेडाँडाको भ्यु टावरका लागि संघीय सरकारको संस्कृति, पर्यटन मन्त्रालयले मात्रै ४ करोड लगानी गर्दै छ । त्यहाँको गाउँमा भने खानेपानीको चरम अभाव छ ।

काभ्रेमा समुद्र सतहबाट करिब २५ सय मिटर उचाइका डाँडामा भ्यु टावर निर्माण गरिएका छन् । रोसी–९ भुमेचुलीडाँडामा ५ तलाको भ्यु टावर निर्माण गर्न प्रदेश सरकारको २ करोड ६१ लाख २३ हजार खर्च भएको हो । रोसी गाउँपालिका अध्यक्ष दलबहादुर लामा स्थानीय तहले गरेभन्दा फरक योजनामा प्रदेशले बजेट दिने गरेको तर्क गर्छन् ।


रोशी‚ काभ्रे

पनौती नगरपालिकाले करिब ३ करोड लगानीमा नागीडाँडामा भ्यु टावर बनाएको छ । टावरले पर्यटन प्रवर्द्धन हुने नगरप्रमुख भीम न्यौपाने दाबी गर्छन् । मण्डनदेउपुर–१० थामीडाँडा, बेथानचोक–४ पार्थली, चौरीदेउरालीको ढाडखर्कमा भ्यु टावर निर्माण भएका छन् । धुलिखेल–११ मा पर्यटन बोर्डको लगानीमा बनाइएको भ्यु टावर भने प्रयोग नभएर अलपत्र छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले एक करोड ५० लाख बजेटमा थामडाँडामा भ्यु टावर बनाएको छ । नुवाकोटमा दुई भ्यु टावर निर्माण भइरहेका छन् । ककनी–५ मा ५ तलाको भ्यु टावर निर्माण अन्तिम चरणमा छ । आव २०७४/७५ बाट वाग्मती प्रदेश सरकारले भ्यु टावर निर्माण थालेको हो । उक्त भ्यु टावर साढे ३ करोडमा ठेक्का लागेको छ । बेलकोटगढी–२ चिम्टेश्वरमा प्रदेश सरकारको १ करोड ३२ लाख बजेटमा भ्यु टावर निर्माण थालिएको थियो । रकम अपुग भएपछि थपेर २ करोडभन्दा बढी खर्चिएको छ । सिन्धुलीमा दुई भ्यु टावर बनाइएका छन्, अर्को एक निर्माणाधीन छ ।

प्रकाशित : चैत्र १६, २०७८ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×