१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रफ्तार यही रहे व्यापार घाटा १७ खर्ब

९ महिनामै ४६ अर्बका सवारी, ३५ अर्बका मोबाइल, साढे २ अर्बको मदिरा र साढे २ अर्बकै चुरोट आयात
आयात : १४ खर्ब ६६ अर्ब ६६ करोड । निर्यात : १ खर्ब ६० अर्ब ५७ करोड । व्यापार घाटा : १३ खर्ब ६ अर्ब ८ करोड
राजु चौधरी

काठमाडौँ — आयात नियन्त्रणमा कडाइ गर्न बैंकहरूले अत्यावश्यकबाहेक सामग्रीमा प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरे पनि ९ महिनामा अर्बौं रुपैयाँको विलासिताका सामान आयात भएका छन् ।

रफ्तार यही रहे व्यापार घाटा १७ खर्ब

विलासिताका वस्तुसँगै मुलुकमै उत्पादन हुन सक्ने फलफूल तथा खाद्यान्नको आयातसमेत ह्वात्तै बढेको छ । ९ महिनाको मात्रै व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । यो घाटा गत वर्षको ९ महिनाको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो ९ महिनामा व्यापार घाटा १० खर्ब १६ अर्ब रुपैयाँ मात्रै थियो । अहिले भने घाटा बढेको बढ्यै छ । ‘१४ खर्ब ६६ अर्ब ६६ करोडको सामान आयात हुँदा १ खर्ब ६० अर्ब ५७ करोडको मात्रै निर्यात गर्न सकियो,’ विभागका एक अधिकारीले भने, ‘आयात यही रफ्तारमा रहे व्यापार घाटा १७ खर्ब नाघ्छ ।’ निर्यात भएका वस्तुमा भटमास, पाम तेल, सनफ्लावर तेल अगाडि छ । ती वस्तु स्वदेशमै उत्पादन हुने भए पनि व्यवसायीले कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर पुनः निर्यात गरिरहेका छन् । जसले गर्दा समग्र निर्यात व्यापार बढाइदिएको छ ।

‘खाने तेल स्वदेशमै उत्पादन गर्न सकिन्छ । तर अर्बौं रुपैयाँको आयात भएको छ । बंगलादेशबाट पिनासमेत आयात भएको छ,’ वाणिज्य विज्ञ रवि सैंजुले भने, ‘आयातित कच्चा पदार्थ रिफाइन गरेर निर्यात गरेका छौं । विडम्बना खाने तेल निर्यात गर्‍यौं भनेर मक्ख परेका छौं ।’ सबैभन्दा बढी डिजेल १ खर्ब ५ अर्ब ९७ करोड, पेट्रोल ४७ अर्ब २३ करोड, ग्यास ४५ अर्ब ३४ करोडको आयात भएको छ । इन्धनको विकल्पमा विद्युतीय सवारी, विद्युतीय चुलोको चर्चा चले पनि इन्धनको आयात र खपत बर्सेनि बढ्दो छ ।

विलासिताकै वस्तु सवारी, सुनचाँदी, रक्सी, चुरोट, मोबाइल, पर्फ्युम, कपालमा लगाउने रंग, बडी लोसनसमेत अर्बौं रुपैयाँको आयात भएको छ । यस्ता वस्तु आयातले विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा छ । ‘बडी लोसन, कपालमा लगाउने तेल, क्रिमलगायत वस्तु अत्यावश्यक होइनन्, अहिलेको खराब अर्थतन्त्रमा ती वस्तु आवश्यक छैनन्,’ अर्थविद् केशव आचार्यले भने, ‘प्राथमिकताको हिसाबले स्वदेशमै उत्पादन गर्न सके पनि उद्योग स्थापनाभन्दा ट्रेडिङमा जोड भयो । जसले गर्दा थप समस्या देखिएको हो ।’

भन्सार विभागका अनुसार ९ महिनामा ४६ अर्ब ३४ करोड रुपैयाँको सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएको छ । जबकि २०७७/७८ मा ७० अर्ब ७२ करोडको आयात भएको थियो । त्यस्तै, यही अवधिमा ३ अर्ब १० करोडको ड्राई फ्रुट्स, २८ करोड ८४ लाखको पर्फ्युम, ३५ अर्ब ६ करोडको मोबाइल तथा टेलिफोन आयात भएको छ । २ अर्ब ४२ करोडको चुरोट तथा सुर्तीजन्य पदार्थ, २ अर्ब ३९ करोडको रक्सी भित्रिएको छ । हाल यी वस्तुको एलसी बन्द छ । २८ अर्ब ५४ करोडको सुन, १२ अर्ब ८३ करोडको चाँदी भित्रिएको छ । त्यस्तै, ४ अर्ब ३८ करोडको चिनी, ९९ करोडको लसुन, १६ करोडको मेवा, १ अर्ब ३१ करोडको केरा आयात भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार मुलुकभर ७५ हजार ३ सय ६८ हेक्टरमा फलफूल खेती हुन्छ । ती क्षेत्रफलमा वार्षिक ८ लाख ५८ हजार ८ सय २२ टन उत्पादन हुन्छ । ‘मागअनुसार उत्पादन हुन सकेको छैन, त्यही भएर आयातमै भर परिरहेका छौं,’ उनले भने । ९ महिनामा ६४ करोडको कागती, ५ अर्ब ५६ करोडको स्याउ, १ अर्ब १ करोडको अनार आयात भएको छ । फलफूल जस्तै अन्नको आयात पनि अस्वाभाविक रूपले बढेको छ । ५ अर्ब ३० करोडको गहुँ र १५ अर्ब ५ करोडको मकै आयात भएको छ । मन्त्रालयका अनुसार मुलुकभर ७ लाख ७ हजार ५ सय ५ हेक्टरमा गहुँ खेती गरिन्छ । वार्षिक उत्पादन २१ लाख ८५ हजार २ सय ८९ टन हो । मकै ९ लाख ५७ हजार ६ सय ५० हेक्टरमा खेती हुन्छ, जहाँ वार्षिक २८ लाख ३५ हजार ६ सय ७४ टन उत्पादन हुन्छ । ९ महिनाको अवधिमा १५ अर्ब २२ करोडको धान र २४ अर्ब ९० करोडको चामल आयात भएको छ । मुलुकभर १४ लाख ५८ हजार हेक्टरमा धान खेती हुन्छ । ती क्षेत्रफलबाट ५५ लाख ५० हजार ८ सय ७८ टन उत्पादन हुन्छ ।

वाणिज्य विज्ञ सैंजुले बजार व्यवस्थापन नहुँदा किसानको उत्पादन बजारसम्म पुग्न नसकेको बताए । ‘कोभिडकालमा भारतबाट ७ अर्बको तरकारी आयात हुँदा धादिङलगायत जिल्लामा करिब ४ अर्बको नष्ट भयो । आन्तरिक व्यवस्थापन गर्न नसकेर समस्या भइरहेको छ,’ उनले भने, ‘किसानले उत्पादन बजारसम्म लैजान सकेका छैनन् । सरकारले यहीं भएको सामान परिचालन गर्नुपर्छ ।’ स्वदेशी उत्पादन उपभोग गर्न सके आयात स्वतः घट्ने उनले बताए ।

प्रकाशित : वैशाख १०, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?