चुनावभन्दा गाँसबासको चिन्ता

पहिरोले विस्थापित भएकाहरूलाई सुरक्षित ओत लाग्ने ठाँउ र दुई छाक टार्न हम्मे छ । बस्तीमा आएर आफ्नो पीडा बुझ्ने, आश्वासन दिने मात्र होइन; गाँसबासको बन्दोबस्त मिलाइदिनेलाई भोट दिने बताएका छन् ।
सरिता श्रेष्ठ

धादिङ — च्यातिनै लागेको टेन्टलाई चारैतिर डोरीले कसिलोगरी बाँधिएको छ । टेन्टभित्रको माथिल्लो भागतिर खुट्टेखाट राखिएको छ । खाटनजिकै कपडा र भाडावर्तन यत्रतत्र छरपस्ट देखिन्छ । ६८ वर्षीय धनमाया लामा र उनका २१ वर्षीय कान्छा छोरा बुद्ध लामा एकै छहारीमा दुःखसुख जोहो गरिरहेका छन् ।

चुनावभन्दा गाँसबासको चिन्ता

ओत लाग्न टेन्टको छहारी भए पनि खाना पकाउन र खान खुल्ला ठाउँ उनीहरूका लागि दिनचर्या बनिसक्यो । जब हावाहुरीसहित मेघगर्जनको पानी पर्छ, न सुत्ने ठेगान हुन्छ न खाने, टेन्टलाई छहारी बनाएर भोकभाकै रात काट्छन् ।

२०७६ साउन ५ गतेको त्यो दिन । धनमाया त्यो दिनलाई सम्झदै आँखाबाट आँसु झार्छिन् । गजुरी गाउँपालिका २ बाह्रबिसेस्थित आफ्नै घरमा बसिरहेको बेला एक्कासी हावाहुरीसहितको पानीले घर वरपरको माटो बगाउन थाल्यो । घर, जमिन चिराचिरा पर्न थाल्यो । ओत लाग्ने छहारी भासिन थालेपछि छिमेकीहरूको भागाभाग हुन थाल्यो । छिमेकीसहित धनमाया पनि अलि परको स्कुलमा ओत लाग्न पुगिन् । उनी त्यो दिन सम्झदै भन्छिन्, ‘एक्कासी हावाहुरी; पानीले माटो बगाउन थाल्यो; घर चिराचिरा पर्न थाल्यो; ज्यान बचाउन स्कुलको शरणमा पुग्यौँ ।’

दुई रात स्कुलकै छहारीमा गुजारेका उनीहरूलाई बिहानीपम्प नजिकैको पाखामा जग्गा भाडामा लिएर गजुरी गाउँपालिकाले बासको बन्दोबस्त मिलाइदियो । केही खाद्यान्न पनि उपलब्ध गराइदियो तर त्यो पर्याप्त थिएन । तीन वर्ष पुग्नै लागिसकेको छ । बर्खामा हावाहुरी र घाम, हिउँदमा चिसोले सकस बेहोरिरहनु परेको छ । वर्षैपिच्छे पीडाको घाउ थपिँदै जाँदा उनी बिलौना गर्छिन् । जेठा छोरा रुद्रबहादुर लामा आफ्नी श्रीमतीसहित त्यहि बस्तीमा अलग्गै बस्छन् । कान्छा छोराले कमाएर दिए भने खान पाइयो नत्र भोकभाकै हुन्छिन् ।

धनमायाको भन्दा कम्ती छैन सुनबहादुर तामाङको पीडा पनि । भूकम्पले बाह्रबिसेको घर भत्काइदियो । अनुदानमा बन्दै गरेको घरमा बस्नसमेत पाएनन् । बाढीपहिरोले डाँडै बग्यो, समथर बाह्रबिसे टोल गह्रागह्रा बन्यो । बस्नै नसक्ने अवस्था पुगेपछि बाह्रबिसेको बस्ती नै छाडेर बिहानीपम्प नजिकै पुगे । सुरुसुरुमा त आफन्तको घरमा शरण लिन पुग्थे तर कत्तिन्जेल आफन्तकोमा बस्न जानु ? रेडक्रसले टेन्ट उपलब्ध गराएपछि तत्कालका लागि ओत लाग्ने बास सुनिश्चित भयो । तीन वर्षदेखि एउटै टेन्टभित्र श्रीमती आइतमाया तामाङसहित ६ जनाको परिवार जसोतसो गुजारिरहेका छन् ।

सुनबहादुरको टेन्टभित्र एउटा खाट छ । नजिकै भान्छाका सामानहरू छरपस्ट छन् । कोही त्यहि खाटमा सुत्छन्, कोही भुइँमा । हावाहुरी, पानी आउँदा भागाभाग, रुवाबासी चल्छ । साना बालबच्चा रुने/कराउने गर्छन् । ‘कोही खाँटमुनि लुक्छन्‚ कोही तरकारीको किरेट ओडेर बस्छन्‚’ सुनबहादुर भन्छन्, ‘यसपालि पनि हावाहुरीको मौसम सुरु भएको छ; कहाँ बस्नु, के खानु अत्तोपत्तो छैन ।’ आफ्नो परिवारको विलाप सम्झेर उनी बेलाबेलामा भक्कानिन्छन् ।

बिहान-बेलुकाको छाक टार्न सुनबहादुर डोको बुन्छन्, छोराछोरीहरू त्रिशुली किनारैमा बालुवा चाल्न जान्छन्, मेलापात गर्छन् । दिनभरि कमाएर बेलुका खान्छन्, काम नगरेको दिन भोकै सुत्छन् । सुरक्षित गाँसबासको बन्दोबस्त मिलाइदिन उनीहरू पटक पटक स्थानीय सरकारलाई गुहारिरहेका छन् । ‘बस्तीमा आउँछन्, हाम्रो बिजोग हेर्छन्, अनि आश्वासन दिएर जान्छन्‚’ उनी भन्छन्, ‘चुनाव आउँदैछ, जसले हाम्रो गाँसबासको उचित व्यवस्थापन गरिदिन्छन्, उसैलाई भोट दिन्छौं । आफैंले जग्गा किनेर अन्यन्त्र बस्न सक्ने अवस्था छैन । चुनावअघि अन्यन्त्र सारिदिन्छन् कि भन्ने आश थियो तर पीडा कसैले पनि देख्दैनन् ।’

धनमाया र सुनबहादुरको जस्तै सोही ठाउँका वीरबहादुर लामाको पनि उस्तै समस्या छ । ५ रोपनी जग्गाजमिनसहित घर नै पहिरोले भासिएपछि विस्थापित भएर अन्यत्र बस्नुपरेको छ । अहिले पूराना जस्ताको जोहो गरेर चार जनाको परिवार जसोतसो गुजारिरहेका छन् । उनी भन्छन्, ‘हामी त घरको न घाटको भएका छौँ । तत्कालका लागि हामीलाई बसोबासका लागि स्थानान्तरण गरिदिनुपर्‍यो ।’ सुत्ने पर्याप्त ठेगान छैन, खाना पकाउने ठाउँ छैन, तैपनि उनीहरू दिनरात गुजारिरहेका छन् ।

बाह्रबिसेका २१ घरधुरी नै विस्थापित भएका छन् । सबैको व्यथा एउटै छ । कोही टेन्टमा त कोही पूराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् । पहिले दिएको टेन्ट हावाहुरीले च्यातिँदै गएको छ । पानी परेको बेला टेन्टमा पानी छिरेर बस्ने ठाउँसमेत हुँदैन । सर्प, गड्यौँलालगायत जनावर बस्तीमै पस्छन् । बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने ठेगान छैन, खाने ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् ।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै राजनीतिक दलका नेताहरू चुनावमा होमिएका छन् । मतदाता फकाउन लागिपरिरहेका छन् । यो बस्तीमा पनि भोट हाल्न आग्रह गर्दै विभिन्न आश्वासन देखाएर नेताहरू पुग्ने गरेका छन् । चाँडै नै सुरक्षित बास र गाँसको बन्दोबस्त मिलाइदिने भन्दै फर्कन्छन् तर तीन वर्ष पुग्नै लाग्यो; ती आश्वासन अहिले हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । चुनावअघि गाँसबासको व्यवस्था मिलाइदिन्छन् कि भन्ने आशामा बसेका विस्थापितहरू निराश भएका छन् ।

बाह्रबिसेका २१ घरधुरी नै विस्थापित भएका छन् । बस्ती नै पहिरोले भासिएपछि यहाँका मानिसहरू अन्यन्त्र बसिरहेका छन् । उनीहरू विस्थापित भएसँगै खाद्यान्न अभाव पनि भोगिरहेका छन् । खाद्यान्न अभाव हुनुमा जग्गाजमिन निकै कम हुनु हो । भएका जग्गाजमिन पनि पहिरोले पुरिएको अवस्थामा छ । अहिले यहाँको मुख्य समस्या भनेको सुरक्षित आवासको अभाव र खाद्य अभाव हो । बसोबास रहेको गाउँमा जमिन चिरिएर भासिएको छ । खाद्य अभाव टार्न ज्याला मजदुरी बाहेक अर्को विकल्प कसैले देखेका छैनन् । त्यसैले उनीहरू त्रिशुलीमा बालुवा चाल्न जाने, मजदुरी गर्ने, मेलापातमा गएर गुजारा टारिरहेका छन् ।

बाह्रबिसे पहिरो विस्थापित बस्दै आइरहेको बस्तीको गजुरी गाउँपालिकाले जग्गाभाडा उपलब्ध गराइदिएको छ । तर त्यो दीर्घकालीन नहुने विस्थापितहरू बताउँछन् । अर्कोतर्फ बसिरहेको जग्गा विवादित पनि छ । जग्गावालाले बस्ती छाड्न आग्रह गरेपछि कहाँ जाने, के गर्ने अन्योलमा छन् ।

प्रकाशित : वैशाख ७, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?