अमेरिकाबाट सत्तारुढ डेमोक्र्याटिक पार्टीका ५ सांसद शुक्रबार नेपाल आउँदै

जगदिश्वर पाण्डे

काठमाडौँ — अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहित अमेरिकी डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह शुक्रबार नेपाल आउने भएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतले अमेरिकी टोली नेपाल आउन लागेको कान्तिपुरलाई पुष्टि गरेको हो ।

अमेरिकाबाट सत्तारुढ डेमोक्र्याटिक पार्टीका ५ सांसद शुक्रबार नेपाल आउँदै

यसबारे अमेरिकी समाचार साइट ‘द हिल’ का अनुसार सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदनका मोन्डेयर जोन्स नेपालको भ्रमणमा आउन लागेका हुन् ।

उक्त समाचार साइटका अनुसार उनीहरु युक्रेनका लागि समर्थन जुटाउन पोल्याण्ड, जर्मनी, भारत, संयुक्त अरब इमिरेट्स र नेपालको तीन दिने भ्रमणमा आएका हुन् । उनीहरुले नेपालमा द्वीपक्षीय कूटनीतिक सम्बन्ध र दुई मुलुकका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ । उक्त टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुवै पक्षबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएकोले यस वर्षको अन्त्यमा नेपाल र अमेरिकाबीच केही उच्चस्तरीय आदानप्रदानका लागि सांसदहरुको भ्रमण भएको हो छ । पब्लिक डिप्लोमेसी ब्यूरो अफ साउथ एन्ड सेन्ट्रल एसियाकी अमेरिकी उपसहायक मन्त्री राजदूत केली केइडरलिङल पनि अहिले नेपाल भ्रमणमै छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भर्खरै भएको भारत भ्रमण, चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण, नेपाली संसदबाट ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्टको अनुमोदन र संयुक्त राष्ट्रसंघका विभिन्न मञ्चमा युक्रेनको पक्षमा नेपालले मतदान गरेपछि यो भ्रमण तय भएको हो । अमेरिकाले आफ्नो विदेश सहयोग नियोग यूएसआईडीमार्फत नेपाललाई करिब ८० अर्ब रुपैयाँ दिने घोषणा भएलगत्तै अमेरिकी सांसदहरु नेपाल आउन लागेका हुन् ।

प्रकाशित : वैशाख ६, २०७९ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?