७५ दिन पढेर एसईई

कोरोना, दसैंतिहार बिदा र आयोगको परीक्षा दिन अधिकांश शिक्षक तराई झर्दा पढाइ अधुरै

सुर्खेत,मुगु — मुगुको सोरु गाउँपालिका–५ की उमा मल्ल सदरमुकाम गमगढीस्थित महाकाली माविकी छात्रा हुन् । उनी पढ्नकै लागि २ वर्षदेखि डेरा लिएर गमगढी बस्दै आएकी छन् । ‘गाउँमा पढाइ हुँदैन भनेर यहाँ आएँ,’ उनले भनिन्, ‘यहाँ झन् कुनै पनि विषयका ६/७ वटाभन्दा बढी पाठ नै सकिएनन् ।’ उनका अनुसार विद्यालयमा यो वर्ष ७५ दिन मात्र पढाइ भएको छ ।

७५ दिन पढेर एसईई

शुक्रबारदेखि सरकारले एसईईको परीक्षा तोकेको छ । कोरोना महामारी, दसैंतिहार बिदा र सेवा आयोगको परीक्षा दिन अधिकांश शिक्षक तराई झरेकाले विद्यालयमा पढाइ हुन नसकेको हो । ‘आधा कोर्स पनि पूरा नहुँदै परीक्षा आयो,’ एसईई तयारी गरिरहेकी अर्की छात्रा जुना मल्लले भनिन्, ‘नपढेको पाठबाट सोधिएको प्रश्नको उत्तर कसरी दिने ?’ जिल्लामा ट्युसन सेन्टर नहुँदा तयारी गर्न नसकिएको उनको भनाइ छ । उनका अनुसार विद्यालयका ७० जना विद्यार्थी यो वर्ष एसईईमा सहभागी हुँदै छन् । इन्टरनेट सेवा भरपर्दो नहुँदा विद्यालयले कोरोना महामारीको समयमा वैकल्पिक विधिबाट समेत पठनपाठन गराएको थिएन ।

विजय माविका विद्यार्थीले पनि ७५ दिन मात्र पढ्न पाए । ‘पोहोर पनि राम्ररी पढाइ भएन, सबै विषयका बढीमा १० वटा पाठ मात्र सकिएका छन्,’ छात्र विष्णु साउदले भने, ‘अरू विषय त जेनतेन पढियो, अंग्रेजी, गणित र विज्ञानमा त पास हुनै समस्या छ ।’

उनले यो वर्ष नयाँ पाठ्यपुस्तक नआउँदा पुरानै पुस्तक पढेर परीक्षाको तयारी गरिरहेको बताए । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यो वर्ष मुगुका ९ सय ७६ विद्यार्थीले एसईई दिँदै छन् । केही विद्यालयमा भने ८५ दिन पढाइ भएको कार्यालयको तथ्यांक छ ।

तीन महिना पनि पढाइ नहुँदा नतिजा बिग्रिने देखिएको इकाइका प्रमुख सूर्यबहादुर खत्रीले बताए । उनका अनुसार २५ वटा माविमा गणित र विज्ञानका शिक्षक नै नहुँदा तल्लो तहका शिक्षकले ती विषय पढाएका थिए । जिल्लाभरि विज्ञान र गणितका १५ जना मात्र शिक्षक छन् ।

मुगुमकार्मारोङ गाउँपालिकाको एक मात्र बुद्ध माविका विद्यार्थी भने पालिकामै केन्द्र नहुँदा एसईई दिन गमगढी आएका छन् । सिंगो गाउँपालिकालाई एसईईको केन्द्रबाट वञ्चित गरिएको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘केही ठाउँका विद्यार्थी परीक्षा दिन ३ दिन हिँडेर सदरमुकाम गएका छन्,’ उनले भने, ‘एक त पुरै कोर्स सकिएन, त्यसमा पनि परीक्षाकै लागि सदरमुकाम जाँदा उनीहरूले कुन मानसिकताले परीक्षा लेख्लान् ?’ यो वर्ष जिल्लाभर ६ वटा परीक्षा केन्द्र राखिएको इकाइ प्रमुख खत्रीले बताए ।

कालीकोटको जनजीवन मावि ताडीकी छात्रा शर्मिला पाण्डेले ६१ दिन पढेर परीक्षा दिएको बताइन् । उनको विद्यालयमा चैत २७ गतेदेखि सुरु भएको परीक्षा सकिसकेको छ । ‘अंग्रेजी र गणितका ६/६ वटा पाठ मात्र सकिएका थिए,’ कक्षा ९ की उनले भनिन्, ‘त्यही पाठबाट मात्र प्रश्न आएकाले परीक्षा त दिइयो तर अरू पाठका ज्ञानबाट वञ्चित भइयो ।’ उनका अनुसार यो वर्ष कालीकोटका विद्यालयमा भदौ १३ गतेदेखि विद्यालय खुलेका थिए । त्यसपछि झन्डै एक महिना दसैंतिहार बिदा भयो भने कोरोना महामारीका कारण बन्द भएका विद्यालयमा माघ १ देखि फेरि पढाइ थालिएको थियो । चैत पहिलो सातादेखि अधिकांश सामुदायिक विद्यालयका शिक्षकहरू शिक्षक सेवा आयोगको परीक्षा दिन सुर्खेत गएपछि झन्डै १५ दिन पढाइ रोकिएको थियो ।

कर्णालीका हिमाली जिल्लामा बर्सेनि फागुनबाट शैक्षिक सत्र सुरु भएर कात्तिक मसान्तमा सकिन्थ्यो । तर कोरोना महामारीका कारण २ वर्षयता शैक्षिक क्यालेन्डर बिग्रिएको छ । डोल्पाको डोल्पोबुद्धका पेमाछिरिङ लामाले कहिले हिमपात त कहिले कोरोनाका कारण दुर्गमको शैक्षिक क्षेत्र डामाडोल भएको बताए । ‘एक त यहाँका विद्यालयमा पुरै कोर्स कहिल्यै सिद्धिन्न,’ उनले भने, ‘त्यसमा पनि २ वर्षयता कोरोनाको निहुँ भयो ।’

यो वर्ष कोर्स सकिन मुस्किल भएपछि कालीकोटको माथिल्लो भेगका झन्डै २ दर्जन विद्यालयका विद्यार्थीहरू ट्युसन पढ्न सदरमुकाम मान्म र सुर्खेत आएका थिए । ‘भदौमा विद्यालय खुले पनि बीचमा दसैंतिहार परेकाले बिदा भयो,’ कालीकोटको तिलागुफा–१ स्थित मालिका माविका शिक्षक वीरबहादुर बुढाले भने, ‘कोर्स नसकिने भएपछि १० कक्षाका २३ जना विद्यार्थीलाई ट्युसन पढ्न सुर्खेत पठाएका थियौं ।’ उनका अनुसार ऋण सापटी गरेर भए पनि अभिभावकले बालबालिकालाई ट्युसन पढ्न सुर्खेत र मान्म पठाएका थिए ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निर्देशक दीपा हमालले हिमाली जिल्लाका अधिकांश विद्यालयमा झन्डै २ महिना मात्र पढाइ भएको बताइन् । ‘भौगोलिक विकटता, सञ्चारको असुविधालगायत समस्याले त्यहाँ वैकल्पिक रूपमा शिक्षण गर्न सम्भव भएन,’ उनले भनिन्, ‘भौतिक रूपमा विद्यालयमा आएका विद्यार्थीले जति पढे त्यसैका आधारमा एसईई दिँदै छन् ।’

प्रकाशित : वैशाख ६, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?