पहिलोपटक नेपालका ढुसीको डाटाबेस तयार हुँदै

'नेपाल फंगल डाटाबेसको ७० प्रतिशत काम पूरा'
गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)ले नेपालमा पाइने ढुसीको डेटाबेस यसैवर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । सन् २०२२ भित्रै नेपालमा पाइने ढुसीहरुको तथ्यांक सम्मिलित नेपाल फंगल डेटाबेस सार्वजनिक गर्ने तयारी गरेको हो । अघिल्लो वर्ष नै डाटाबेस सार्वजनिक गर्ने तयारी भएपनि जनशक्ति अभावले केही ढिला भएको थियो ।

पहिलोपटक नेपालका ढुसीको डाटाबेस तयार हुँदै

डाटाबेस सञ्चालनमा आएपछि नेपालमा पाइने फान्जाई (ढुसी)को अवस्थाबारे एकै ठाउँबाट जानकारी पाउन सकिनेछ । कुन प्रकारको ढुसी कहाँ, कस्तो अवस्थामा छन् भन्ने जानकारी डाटाबेसबाट थाहा पाउन सकिनेछ ।

नास्टको फेकल्टी अफ साइन्सको बायोलोजिकल रिसर्च युनिटले नेपालमा पाइने ढुसीलाई एकीकृत गरेर जानकारी दिने तयारी गरेको हो । डाटाबेसको काम अहिलेसम्म ७० प्रतिशत सकिएको नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत एवं च्याऊ विज्ञ डाक्टर जयकान्त राउतले जानकारी दिए । ढुसी एक कोषीयदेखि बहुकोषीयसम्मका हुन्छन् । सबै च्याऊ प्रजाति ढुसी वर्गमा पर्छन् । ढुसी प्रजाति वन्यजन्तु र वनस्पति जगतमा पर्दैनन् । सडेगलेको ठाउँमा उम्रने, प्रकाश संश्लेषण प्रक्रिया नगर्ने, हरितकण(क्लोरफिल) पनि नहुने ढुसीलाई वनस्पतिविद्हरु ‘स्याप्रोफाइट’ भन्छन् ।

विभिन्न कुनामा बसेर कुन प्रजातिको ढुसी कहाँ पाइन्छ भन्ने जानकारी लिनका डाटाबेस उपयोगी हुने उनले बताए । अहिलेसम्म डाटाबेसमा ११ सयवटा फन्जाई राखिएको उनले जानकारी दिए । विभिन्न जर्नल, किताब तथा आधिकारिक ठाउँबाट नेपालका ढुसी सम्बन्धी प्रकाशित भएका तथ्यांकहरु 'नेपाल फंगल डाटाबेस'मा राखिएको छ । ‘अहिले हामी डेटालाई प्रोसेसिङ गरिरहेका छौं, ’ उनले भने,‘ यो वर्षको अन्ततिर हामी सार्वजनिक गर्छौं । ’

डाटाबेसमा नास्टले संकलन गरेर पुष्टि भएका ढुसीका प्रजाति, तीनको अवस्थाबारे विवरण छ । तथ्यांक अनुसन्धानकर्ता, विद्यार्थीहरु, सरोकारवालाहरुलाई महत्वपूर्ण हुन्छ । फन्जाईमा काम गर्ने इच्छा भएका जोकोहीलाई डाटाबेस उपयोगी हुने राउतले बताए ।

नेपालमा २ हजार १ सय ८२ वटा ढुसीका प्रजाति रहेको अनुमान छ । त्यसमा एक हजार २ सय ९१ च्याऊ प्रजाति पर्छन् । तीमध्ये १५९ वटा खाना मिल्ने च्याऊ छन् भने ७४ वटा औषधीय गुण भएका छन् । एक सय प्रजातिका च्याऊहरु विषालु रहेको वनस्पतिविद्हरु बताउँछन् ।

नेपालमा ढुसीको अवस्था अहिले पनि अध्ययनकै क्रममा छ । हरित वनस्पतिको तुलनामा यसको अनुपात ६ गुणा बढी हुने मान्यता छ । नेपालमा १३ हजारवटा भास्कुलर(शिरा) भएका वनस्पति छन् तर ढुसी ३ हजार पनि भेटिएको छैन । त्यसैले यो नेपालमा अध्ययनकै क्रममा रहेको ढुसी अनुसन्धानकर्ताहरु बताउँछन् ।

विश्वका अन्य मुलुकहरुमा पनि फन्जाई डाटाबेस हुन्छ । यो डाटाबेस ढुसी प्रजातिका लागि नेपालको पहिलो हुनेछ ।

यो डाटाबेसमा कुनै नयाँ ढुसी प्रजाति वा त्यसको तस्बिरहरु राख्न पनि सकिन्छ । कुनै ढुसीमा नयाँ खालको विशेषता पाए भने यो डेटाबसमा पनि राख्न सक्नेछन् । सबै विवरणहरु डाटाबेसमा हालेर क्युरेटरले भेरिफाई गरेपछि तथ्यांकको रुपमा समावेश हुन्छ ।

वैज्ञानिक राउतका अनुसार ढुसीले नेपालको अर्थतन्त्रमा पनि सघाउ पुर्‍याएको छ । उनी भन्छन्,‘च्याऊ पनि एक प्रकारको ढुसी प्रजाति हो । यार्सागुम्बा पनि ढुसीमा पर्छ । गुच्ची च्याऊ, रातो च्याऊ पनि यसमा पर्छ । यसको निर्यात पनि भइरहेको छ ।’ वनस्पतिहरु जति यसको अध्ययन/अनुसन्धान नेपालमा कम छ ।

ढुसीले प्राकृतिको फोहार सफा गर्न मुख्य भूमिका खेल्छ । त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक डा‍. हरिप्रसाद अर्याल ढुसीले पोषण चक्र सन्तुलन गर्न मुख्य भूमिका खेल्छ । उनी भन्छन्,‘ फान्जाईको महत्व धेरै छ । यसलाई गुड रिसाइक्लरको रुपमा लिन सकिन्छ । फन्जाई भएन भने नेचरको कल्पना नै गर्न सकिदैँन । ’ विभिन्न खाद्य उद्योगहरुमा पनि ढुसीको प्रयोग हुने गरेको छ ।

ढुसी अनुसन्धानकर्ताहरु यसलाई ‘फ्रेन्डस एन्ड फो’ दुवैको रुपमा लिन्छन् । ‘यसले रोग पनि लगाउँछ, खानाको रुपमा पनि खाना सकिन्छ,’ राउत भन्छन् ।

सहप्राध्यापक अर्याल ढुसीले मुख्य गरी सन्तुलित पारिस्थितकीय प्रणाली बनाउने मद्दत गर्ने बताउँछन् । प्रकृतिमा कुनै पनि मरेको बिरुवा र वन्यजन्तुलाई सडाउने र माटोमा मिलाउने काम ढुसीले गर्छ । ढुसीमा पाइने रसायनहरु औषधि बनाउन प्रयोग गरिन्छ । टेरामाइसिन, पेनिसिलिनजस्ता औषधीहरु ढुसीबाट बनिएको सहप्राध्यापक अर्यालले जानकारी दिए ।

ढुसीले रोगव्याधि पनि लगाउँछन् । एक्सपरजिलिसले फोक्सोमा असर गर्ने अर्यालले बताए । ‘कपालमा चाँया पर्नु भनेको पनि ढुसी हो । कानमा पनि ढुसी पर्छ,’ उनले भने । पृथ्वीमा पाइने कूल फन्जाईको ३० प्रतिशतले रोगव्याधि लगाउन भूमिका खेल्ने अनुमान गरिन्छ ।

प्रकाशित : वैशाख ५, २०७९ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?