कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रातभर हाउसफुल

‘हामीकहाँ फिल्मको बजार नभएको होइन रहेछ, लगानी बढाएर राम्रो फिल्म बनाउन सक्यौं भने दर्शक तानिने रहेछन् भन्ने केजीएफ च्याप्टर–२ ले देखाएको छ’
सुशील पौडेल

काठमाडौँ — दर्शकमाझ बहुप्रतीक्षित फिल्म ‘केजीएफ च्याप्टर २’ बिहीबार प्रदर्शनमा आउनुअगावै लगभग सबै हलका सबै शो हाउसफुल थिए । गत शुक्रबार नै उक्त फिल्मका मनग्गे शो निकालिएका थिए । राजधानीको मुख्य मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले अनलाइन शो निकालेको दुई घण्टा बित्न नपाउँदै हल भरिने गतिमा टिकट बिक्री भइसकेको थियो । देशभर क्यूएफएक्सका ११ मल्टिप्लेक्सले दक्षिण भारतीय फिल्मलाई ८७ शो दिएका थिए । तर दर्शकको ओइरो यति देखियो, राजधानीका केही मल्टिप्लेक्सले त बुधबार रातभर अतिरिक्त शो नै चलाए । 

रातभर हाउसफुल

बिहीबार पहिलो दिनका लागि १५ शो दिएको चाबहिल, चुच्चेपाटीस्थित एफक्यूब सिनेमाजले बुधबार राति १ बजेका लागि पहिलो शो निकालेको थियो । मध्यरातको शोका लागि एकाध घण्टामै टिकट बिक्री भइसकेपछि बिहान ४ बजेसम्म अरू तीन शो थपिए । कमलपोखरीको सिटी सेन्टरस्थित बिग सिनेमाले पनि बिहीबार बिहानै ३, ४ र ५ बजेका थप शो चलायो भने गोंगबुस्थित बिजी मलमा रहेको बीएसआर मुभिजले पनि राति साढे ३ बजेको शो थप्यो । फिल्म निर्माता रोहित अधिकारीले टिकट नपाएर रन्थनिइरहेका बेला मध्यरातमा अचानक निकालिएका शोपछि हान्निएर हल पुगेको सुनाए । ‘फिल्म हेर्नु ठूलो कुरा हैन, तर राति १ बजे पहिलो शो हेर्नु ऐतिहासिक नै हो । यस्तो मौका सधैं पाइँदैन भनेर पनि गएँ,’ उनले भने । २०७६ सालमा सर्वाधिक कमाइ गरेको फिल्म ‘छ माया छपक्कै’ का निर्माता उनी मध्यरातमा हल प्रांगणको रौनकता देखेर छक्कै परेको बताउँछन् ।

विदेशी फिल्मले स्वदेशी हलमा ल्याएको ‘ह्वीम’ ले कतिपय नेपाली फिल्मकर्मी भने राष्ट्रियता संकटमा पर्न थालेको वा सांस्कृतिक अतिक्रमण बढेको भन्दै नियमनको प्रस्ताव लिएर चलचित्र विकास बोर्ड पुगेका छन् ।


निर्देशक मनोज पण्डित भने दर्शकको नाडी छामेर निर्माण गरिएका यस्ता फिल्म अरुका लागि सिकाइ पुस्तिका हुन सक्ने जिकिर गर्छन् । उनी भन्छन्, ‘दक्षिण भारतीय फिल्मले कथामा रोमाञ्चकतालाई प्राथमिकता दिनुका साथै साहित्यिक कथ्य र सिनेमाटिक शिल्पको प्रचूर प्रयोग गरेका छन् भने व्याकरणमा इमानदार छन् । त्यसैले पछिल्लो समय तिनीहरूको ठूलो असर र प्रभाव देखिएको छ ।’ उनी कल्पनाशीलतालाई पनि विश्वसनीय बनाई दर्शकमा अपनत्व पैदा गराउन सक्नु यस्ता फिल्मको सफलता रहेको टिप्पणी गर्छन् । ‘मान्छेले आफूमा होस् वा पात्रको जीवनीमा विकास हेर्न चाहन्छ । एउटा भुइँमान्छेले छलाङ मारर उच्चतम स्थान हासिल गर्दा वा विजयी हुँदा दर्शकले त्यसलाई आत्मसात् गर्छ, अपनत्व महसुस गर्छ,’ उनले भने, ‘पछिल्ला दक्षिण भारतीय फिल्मका मुख्य चरित्रको निर्माणले काल्पनीकतासँगै उत्प्रेरणाको उडान पनि दिएको छ ।’

कोरोना महामारीपछि सहज भएको फिल्म बजारमा पछिल्लो समय ‘पुष्पा’, ‘आरआरआर’ जस्ता दक्षिण भारतीय डब फिल्मले दर्शक तानेका छन् । ‘आरआरआर’ ले प्रदर्शनको दुई साताभित्रै नेपालमा झन्डै १८ करोड रुपैयाँको कारोबार गर्‍यो । ‘आरआरआर’ को नेपाल वितरक कम्पनी बैंकटेस् फिल्मका प्रमुख निरज पौडेलले ‘केजीएफ २’ को पहिलो दिनको व्यापार ‘आरआरआर’ को भन्दा पनि २५ प्रतिशतले बढी रहेको बताए । उनले भने, ‘राम्रो व्यापार गर्छ भन्नेमा त विश्वस्त थिएँ तर यो तहको गर्ला भन्ने आंकलन गरेको थिइनँ ।’ झन्डै दुई दशकदेखि फिल्म वितरणमा रहेका पौडेलले मध्यरातमा लगातारका शो हाउसफुल चल्नुमा दक्षिण भारतीय फिल्मले निर्माण गरेका स्टोरी लाइन, निर्माण, बजेट र यथार्थपरक विषयवस्तु छनोट मुख्य कारण रहेको बताए । उनले भने, ‘फिल्मको बजार हामीकहाँ नभएको होइन रहेछ । हामीले पनि लगानी बढाएर राम्रो फिल्म बनाउन सक्यौं भने दर्शक तानिने रहेछन् ।’

दर्शकको उच्च दबाबपछि बिहीबार बिहानै ६ बजेको अतिरिक्त शो थपेको न्युरोडस्थित रञ्जना सिनेप्लेक्सका अपरेसन हेड विनोद पौडेल पछिल्ला दक्षिण भारतीय फिल्ममा बच्चादेखि बूढाबूढीसम्मका दर्शक आएर रमाएको बताउँछन् । ‘दर्शकले के खोजिरहेका थिए भन्ने कुरा सायद यी फिल्मका ट्रेलर, गीतजस्ता प्रचार सामग्रीले पनि दिए होलान् र बहुप्रतीक्षित बने । दर्शकले हलमा मनोरञ्जनको पूर्ण प्याकेज खोज्दा रहेछन् । यसै कारण पनि मध्यरातमा शो खोल्दा पनि क्विक फिलअप भयो ।’ निर्देशक पण्डित कुनै विदेशी फिल्म चल्नु स्वदेशी फिल्मका लागि ‘थ्रेट’ नहुने तर्क गर्छन् । ‘हिजोको बलिउडसँग र आज साउथ इन्डियन फिल्मको दोहोरो मारमा पर्ने भयौं भनेर हामी आत्तिएका हौं । तर हाम्रा लागि हाम्रै कमजोर फिल्म व्याकरणको ज्ञान ठूलो थ्रेट हो ।’

प्रशान्त नीलको निर्देशनमा यश, सञ्जय दत्त, श्रीनिधि सेट्टी, रविना टन्डनलगायतको अभिनय रहेको ‘केजीएफ २’ का लागि नेपालमा सप्ताहन्तका प्रायः सबै शोका टिकट बिक्री भइसकेका छन् । उक्त फिल्मको टिकट खोज्दै बक्सअफिस धाउनेको संख्या भने अझै नघटेको हलवाला बताउँछन् । फिल्म देशभरका झन्डै दुई दुर्जन मल्टिप्लेक्ससहित डेढ सयभन्दा बढी सिंगल स्क्रिन हलमा प्रदर्शन भइरहेको छ । दर्शक चाप थेग्न नसकेर बुधबार राति नै शो चलाएका हललाई भने चलचित्र विकास बोर्डले कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने बताएको छ । चलचित्र नियमावली २०५७ मा प्रदर्शकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकिदिएको समयमा मात्र चलचित्र प्रदर्शन गर्नुपर्ने उल्लेख छ । बोर्डले कुनै पनि फिल्मका लागि रात्रिकालीन शो सञ्चालनको अनुमति नदिएको जनाएको छ ।

प्रकाशित : वैशाख २, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?