खोपले जगायो आशा, पूर्वाधार विकास गफमै सीमित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
वर्ष २०७८ मा स्वास्थ्य

खोपले जगायो आशा, पूर्वाधार विकास गफमै सीमित

खोपको सहज पहुँचसँगै कोरोना मत्थर, पहिलोपटक शल्यक्रियाबिना मुटुको भल्ब फेरियो, आधारभूत अस्पताल गफमै सीमित
बुनु थारु

काठमाडौँ — अघिल्ला वर्षहरू झैं २०७८ पनि स्वास्थ्य क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । सुरुवाति महिना कोभिडको दोस्रो र त्यसपछि तेस्रो लहरले जनजीवन आतंकित बनायो । दोस्रो लहरमा बेडको तथा अक्सिजनको अभावले धेरै संक्रमितले ज्यान गुमाएका थिए । अहिले स्थिति मत्थर बनेको छ । हालको संक्रमण दर ०.६३  मात्रै छ ।

जेठमा उच्च विन्दुमा पुगेको कोभिड भदौमा मत्थर भएको थियो । मंसिर २० मा ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि देखिएको तेस्रो लहर पुसको तेस्रो साताबाट तीव्र बन्यो जुन माघको अन्तिम साताबाट साम्य भएको छ ।

स्वास्थ्य क्षेत्रका लागि यो वर्ष मध्ययम रह्यो । वर्षको अधिकांश समय कोभिडकै रोकथाम र नियन्त्रणसम्बन्धी बहसमा सकिए पनि केही उपलब्धिहरु पनि हासिल भए । कोभिडकै लागि धेरै अस्पतालहरुको स्तरोन्नति भएका छन् जसले दूरगामी प्रभाव राख्छ । यस्तै स्वास्थ्यका अन्य क्षेत्रमा भने खासै उल्लेखनीय उपलब्धि हासिल भएनन् ।

टेस्टट्युब बेबी सञ्चालनसम्बन्धी कार्यविधि

फागुन १९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नलिई सञ्चालनमा रहेका टेस्टट्युब बेबी सेवा अर्थात् इन्भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेन्टरहरूलाई दर्ता प्रक्रियामा आउन सूचना जारी गर्‍यो । जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि सो नियमावलीको अनुसूची ९ बमोजिमका निकायबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था छ । पहिले यी सेन्टरहरु अस्पतालको एक भागका रुपमा सञ्चालनमा थिए ।

पहिलोपटक शल्यक्रियाबिना मुटुको भल्ब फेरियो

नेपालमा पहिलोपटक बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रियाबिना नै मुटुको भल्भ फेरिएको छ । फागुन १६ गते ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेसन (टीएभीआई) विधिबाट ८० वर्षीया वृद्ध महिलाको सफलतापूर्वक मुटुको भल्भ फेरिएको थियो । शल्यक्रियाबिना नै मुटुको भल्भ फेरिएको देशमै पहिलो पटक भएको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए ।

मोबाइलबाटै बीमा नवीकरण

स्वास्थ्य बिमा बोर्डले बिमितहरुले मोबाइलबाट बीमाको अनलाइन नवीकरण गर्न मिल्ने सुविधा ल्याएको छ । छैटौं स्वास्थ्य बिमा दिवसको अवसरमा चैत २५ गतेका दिन यो शुभारम्भ गरिएको हो । यसै अवसरमा एचआईभी प्रोफाइल मोबाइल एप सेवा पनि सुरु गरिएको छ ।

बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप

१५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई चैत २४ बाट टाइफाइडविरुद्धको खोप दिइने भएको छ । ७५ लाख बालबालिकालाई लगाइने यो खोप वैशाख २५ गतेसम्म नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ ।

वीर अस्पतालमा वंशाणुगत रोगको निःशुल्क उपचार

वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको निःशुल्क उपचार सुरु भएको छ । चैत १४ गतेबाट मेडिकल जेनेटिक तथा हेमाटोलोजी डे केयर सुरु भएको हो । डे केयर सेन्टरमा १८ शैया रहेका छन् । बिरामीहरूले निःशुल्क रक्त सञ्चार सेवा, ब्लड ट्रान्सफ्युजन (रगत प्रदान गर्ने), रोगलाई चाहिने औषधि, नियमित रगत परीक्षण, हेमोफोलियाको बिरामीलाई प्रोटिन फ्याक्टर आदि निःशुल्क पाउने छन् ।

पहिलो पटक क्यान्सररोग विरुद्धको औषधि उत्पादन

नेपालमा पहिलो पटक उत्पादन भएको क्यान्सर रोग विरुद्धको औषधि (एन्टीक्यान्सर ड्रग) बजारमा आएको छ।टिजिग फार्मा प्रालिले उत्पादन गरेको एन्टी क्यान्सरको औषधि बजारमा आएको हो। फागुन ३ गते औषधि सार्वजनिक गरिएको हो ।

लक्षित जनसंख्याको ८३ प्रतिशतलाई खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हालसम्मको तथ्यायंक हेर्दा १८ वर्ष वा सो भन्दा माथि उमेर समूहका ८३ प्रतिशतले पूर्ण मात्रामा कोभिड विरुद्धको खोप लगाइसकेका छन् । त्यसैगरी ९३.८ प्रतिशतले कम्तीमा एक मात्राको खोप लगाएका छन् । कुल जनसंख्याको ६१.१ प्रतिशतले पूर्ण मात्राको खोप लगाएकोमा ६१.१ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । अतिरिक्त मात्राको खोप २३ लाख ३७ हजार २८५ जनाले लगाएका छन् ।

बालबालिकालाई खोप अझै आइपुगेन

सरकारले २०२२ को सुरुवाति तीन महिनाभित्रै ५ देखि ११ वर्षमुनिका बालबालिकाका लागि ८४ लाख मात्रा फाइजरको ‘गुलाबी खोप’ ल्याउने तयारी थालेको बताएको थियो तर अझै यो आउने छाँटकाँट देखिएको छैन । देशभित्र ५–११ वर्ष उमेर समूहका करिब ३५ लाख बालबालिका छन् । सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पुस ४ गतेदेखि विद्यालयमै खोप प्रदान गर्ने निर्णय गरेको थियो ।

६ वर्षपछि प्रसूति गृहमा आईभीएफ सेवा

६ वर्षपछि थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा आईभीएफ (इन्भिट्रो फर्टिलाइजेसन) प्रविधि पुनः सञ्चालनमा आएको छ । सरकारी स्तरमा यो सेवा सञ्चालन भएको यो एकमात्र अस्पताल हो । २०७२ को भूकम्पले भौतिक संरचनामा क्षति पुर्‍याएपछि यो सेवा बन्द गरिएको थियो । अस्पतालका अनुसार यो सेवा निजी अस्पतालभन्दा प्रसूति गृहमा आधा सस्तोमा दिइएको छ ।

५० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण

फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण निःशुल्क रुपमा गर्ने निर्णय गर्‍यो । ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको निःशुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो ।

श्रम तथा ज्येष्ठ नागरिक अस्पताल बन्ने

फागुन २६ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ । त्यसैगरी फागुन ५ को बैठकले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

आधारभूत अस्पताल गफमै सीमित

मुलुकमा कोरोना महामारीकै सेरोफेरोमा रहँदा स्वास्थ्य क्षेत्रमा ‘कायापलट हुने’ भन्दै गत वर्ष मंसिर १५ गते ३ सय ९६ तहमा एकै दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । दुई वर्षभित्र ५, १० र १५ शय्याका अस्पताल सञ्चालनमा ल्याइसक्ने लक्ष्य लिइएको यी अस्पतालहरुको निर्माण अत्यन्तै सुस्त गतिमा भइरहेको देखिन्छ । धेरै स्थानमा जग्गा विवाद, आर्थिक तथा राजनीतिक विवादले काम सुरु हुन नसकेको देखिएको छ ।

खोप हराएको आशंका

२४ लाख खोप हराएको विषयमा चर्को आलोचना भएपछि सरकारले माघ १६ मा डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो जसमा कोभिड खोप छानबिन समितिले निःशुल्क कोभिड खोपमा पैसा लिएको पाइएको जनाएको छ । केही जिल्ला तथा स्थानीय तहमा खोप लगाएको विवरणको अभिलेख नियमित र पूर्ण रुपमा अध्यावधिक हुन नसकेको, मौज्दात र बुस्टर मात्रा लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिले खोप लगाइसकेका केही व्यक्तिले पहिलो खोप भनि बुस्टर लगाएको खोपको प्रतिवेदनमा उल्लेख छ ।

कपिलवस्तुमा झाडापखाला

फाइल तस्बिर : कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित शिवराज अस्पतालको प्रांगणमा समेत राखेर झाडापखालाका बिरामीको उपचार गरिँदै ।

असोज १८ देखि कृष्णनगर नगरपालिका वडा नं ३, ४,७, ८,९ र १२ मा झाडापखाला तथा बान्ताका ८ सयभन्दा बढी बिरामी संक्रमित हुन पुगेका थिए । जसमा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको थियो । अस्पतालमा बिरामीको चाप बढेपछि बेड भाडामा ल्याएर भवनबाहिर टेन्ट हालेर उपचारसमेत गरेको थियो ।

स्वास्थ्यक्षेत्रमा अहिलेसम्मकै बढी बजेट

कोभिड महामारीले स्वास्थ्य क्षेत्रमा बजेट बढ्यो । बजेट कोभिड उपचार, खोपमा बढी केन्द्रित रहेको थियो । जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रले १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ पायो, जसमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरिएको छ । यो बजेट स्वास्थ्य क्षेत्रको हालसम्मकै धेरै हो ।

सिटामोलको एमजी बढाउने निर्णय र विवाद

चैत १० गते सरकारले ५०० एमजीबाट बढाएर ६५० एमजीको सिटामोल उत्पादन गर्न सहमति दिएको थियो । औषधि सल्लाहकार समितिको ५३ औं बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेकोमा चर्को बहस देखिएको छ । केही विज्ञले यसले स्वास्थ्यमा घातक असर पर्ने बताएका छन् भने कसैले व्यापारिक स्वार्थमा केन्द्रित रहेको बताएका छन् । नेपाल फर्मास्युटिकल एसोसिएसन, उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले सिटामोलको मूल्यवृद्धि गर्ने बहानामा क्लिनिकल परीक्षणबिना दिइएको उत्पादन अनुमति अविलम्ब फिर्ता लिन माग गरेका छन् ।

मेरुदण्ड, पक्षघात र मिर्गौला रोगीले मासिक ५ हजार पाउने

सरकारले क्यान्सर, मेरुदण्ड, पक्षघात र मिर्गौलाको बिरामीलाई मासिक ५ हजा औषधि खर्च उपचार खर्च पाउने भएका छन् । चैत १३ गतेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो । सरकारले गत भदौमा ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा उल्लेख भएको कार्यक्रमको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि– २०७८’ कार्यविधि बनाएको थियो । यो निर्णय कार्यान्वयनमा भएपछि यी तीन रोगका बिरामीहरुले उपचार खर्च पाउने भएका हुन् ।

मातृमृत्यु दरबारे अध्ययन सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालनी गरेको छ । राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृ मृत्यु दरबारे अध्ययन गर्न थालेको हो । मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्धेश्यका साथ जनगणनासँगै मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो ।

कोभिड लहरपिच्छे नयाँ स्वास्थ्यमन्त्री

कोभिडका ३ लहर पार गरुन्जेलसम्म पटक पटक स्वास्थ्यमन्त्री फेरिएका छन् । चीनको वुहानमा संक्रमण उच्च रहँदा सो समयमा उपेन्द्र यादव स्वाथ्यमन्त्री थिए । त्यसपछि २०७६ मा भानभुक्त ढकालले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले । सो समयमा नेपालमा कोभिडको पहिलो लहर देखिएको थियो । ढकालपछि ०७७ पुस १० गते स्वास्थ्यमन्त्रीमा हृदयेश त्रिपाठी नियुक्त भए । उनीपछि शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाइयो । तामाङ स्वास्थ्यमन्त्री हुँदा दोस्रो लहरले देश पूरै आतंकित थियो । बेड र अक्सिजनले छट्पटाइरहेका नागरिरकको सेवामा लाग्नुभन्दा सरकारको ध्यान नियुक्तिमै देखिन्थ्यो ।

जेठ २१ गते शेरबहादुर तामाङले स्वास्थ्यमन्त्रीको शपथ लिए । उनले १ दिन मात्र पदमा बस्न पाए । १० माघमा पहिलो पटक नेपालमा कोरोना पुष्टि भएयता पटकपटक मन्त्री फेरिए । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी विरोध खतिवडाले सम्हालेका छन् । उनी असोज २२ मा नियुक्त भएका थिए ।

प्रकाशित : चैत्र ३०, २०७८ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्

महामारीले गाल्यो, विदेशी फिल्मले च्याप्यो

आयातित दृश्यभाषालाई बदलेर आफ्नै समाजको कथा घटना, यहींका पात्र चरित्रलाई टिपेर हाम्रै परिवेशमा भन्न जरूरी 
सुशील पौडेल

काठमाडौँ — कोभिड महामारीले विश्वलाई नै झन्डै साढे दुई वर्षदेखि सताइरहेको छ । सुरुवातमा त विश्व नै ठप्प पारेको कोभिडले विश्व अर्थतन्त्र डामाडोल बनायो । यसबाट नेपाल पनि अछुतो रहेन । वर्ष २०७८ पनि लगभग कोभिड महामारीकै त्रासमा बित्यो । गत असोजपछि महामारी केही मत्थर भएसँगै विभिन्न क्षेत्र चलायमान हुन थाले पनि मुलुकको फिल्म क्षेत्रले भने राज्यबाट त्यो सुविधा पाएन ।

राजनीतिक दलका ठेलमठेल कार्यक्रमदेखि सार्वजनिक यातायातका साधनले कोचाकोच यात्रु बोकिरहँदा फिल्म हलदेखि रंगमञ्चले भने खुल्ने अनुमति नै पाएन । जब अनुमति पाए, पालो पर्खेर बसेका आशातित फिल्मले पनि आँट देखाउन हच्किए । बरु हलिउडदेखि बलिउडका फिल्मले हाम्रा फिल्म हलमा दर्शक उतारे ।

रिलिजको मुखमा आएर कोभिडको मार खेपेको ‘चपली हाइट–३’ ले प्रदर्शन मिति तोकेको चौथो पटकमा मात्र हल पायो । तर, चलेन । यसका निर्माता अर्जुनकुमार स्वयं एक रुपैयाँ हात नलागेको सुनाउँछन् । एक करोड ६५ लाख रुपैयाँ लगानीको उक्त फिल्मबारे उनी भन्छन् ‘खत्तम नै भयो । जति लगानी गरें, सबै डुब्यो । पोस्टर टाँसेको गमको पैसा पनि आएन ।’ चपली हाइट–३ ले समीक्षात्मक हिसाबले नराम्रो प्रतिक्रिया पाएको भने होइन । तर दक्षिण भारतीय फिल्म ‘पुष्पा’ सँगै लगाइएको उक्त फिल्मले बक्सअफिसमा टाउको उठाउन पनि पाएन । अर्जुनकुमार थप्छन्, ‘यो वर्ष समग्र नेपाली फिल्मको हविगत चपली हाइट–३ कै जस्तै भयो ।’

चलचित्र विकास बोर्ड सदस्यसमेत रहेका अर्जुनकुमारले सोही बेला हिन्दी डब दक्षिण भारतीय फिल्मको नेपाल प्रदर्शनलाई नियमन गर्नुपर्छ भन्ने आवाज नउठाएका पनि होइनन् । तर आफूलाई कसैको साथ नहुँदा आज अवस्था झनै भयावह बनिरहेको सुनाउँछन् । ‘अब त झन् हरेक हप्ता कुनै न कुनै हिन्दी डब फिल्म रिलिज हुन्छ हुन्छ नै, कसरी रोक्ने ? सक्छौं ?,’ उनले आफैंलाई प्रश्न गरे ।

पुसको मध्यबाट मात्र फिल्म ‘कठपुतली’ ले स्वदेशी दर्शकलाई एक हदसम्म हलमा तान्यो । भलै समीक्षात्मक हिसाबले मिश्रित प्रतिक्रिया बटुलेको उक्त फिल्मले पनि लगानी सुरक्षित गर्न सकेन । यसअघि आँट गरेर प्रदर्शनमा आएका फिल्महरू ‘डाँडाको वरपीपल,’ ‘धुम ४,’ ‘ओभर डोज,’ ‘सकिन भुल्न तिमीलाई,’ ‘चुरीफुरी’ ले पनि हलमा खासै चुरीफुरी देखाउन सकेनन् ।

वर्ष २०७८ को अन्तिम फिल्म ‘मैले आई लभ यू भन्नै सकिन’ सम्म आइपुग्दा मुस्किलले दर्जन नेपाली फिल्म मात्रै हलमा रिलिज गरिए । ‘चपली हाइट–३,’ ‘म यस्तो गीत गाउँछु–२,’ ‘लप्पन छप्पन–२,’ र ‘चिसो एस्ट्रे’ ले केही चर्चा भने बटुले । फिल्मका नायक पल शाह नाबालिगलाई बलात्कारको अभियोगमा थुनामा परेपछि दर्शक, फ्यान भावुक बनेर उनका लागि भए पनि हलसम्म ‘म यस्तो गीत गाउँछु–२’ हेर्न पुगे । हुन त सुदर्शन थापा निर्देशित उक्त फिल्मको गीत, संगीत यसअघि नै हिट भएकाले पनि फिल्मप्रति केही दर्शकमा पर्खाइ भने थियो । जे जसरी भए पनि अन्ततः वर्षभरमा सबैभन्दा बढी व्यापार गर्ने नेपाली फिल्म पनि यही दरियो । एकाध हलमा त यस फिल्मले नयाँ वर्षसँगै प्रदर्शनको ५१ दिने छेको पार गर्ने अवस्थामा समेत पुगेको छ ।

‘घरेलु बक्स अफिसबाट नै अझै पनि हाम्रो फिल्मले लगानी सुरक्षित गरिसकेको अवस्था छैन,’ फिल्म निर्देशक थापाले भने, ‘ठूलो लगानी, कोरोनाका कारण पटक–पटक प्रदर्शन मिति सर्नुले पनि असर गर्‍यो । तैपनि स्वदेशी फिल्म क्षेत्र चलायमान हुनुपर्छ भनेर जानीबुझीकनै जोखिम मोलेरै रिलिज गरेका हौं । अब विदेशमा चलाउँदासम्म हामी सुरक्षित छौं ।’ २०७६ फागुन ३० मा रिलिज डेट निश्चित गरेको ‘म यस्तो गीत गाउँछु–२’ कोभिड महामारीपछि भएको लकडाउनका कारण दुई वर्षसम्म पछि सर्दा बजेट बढ्न पुगेको थियो । ‘२ वर्षपछि पनि डरैडरमा रिलिज गरेका हौं । कुनै पनि फिल्म चलिरहेको अवस्था थिएन । हामीले अब अगाडि बढ्नुपर्छ भनेर पनि हिम्मत जुटायौं,’ निर्देशक थापाले भने । समग्रमा हेर्दा २०७८ मा ९८ प्रतिशत फिल्म असफल रहे पनि आफ्नै फिल्मले भोलिको दिनका लागि आशाको किरण भने छरेको उनी जिकिर गर्छन् ।

त्यसैगरी, फरक कथा प्रस्तुतिको तरिकाका कारण स्यावासी पाए पनि ‘चिसो एस्ट्रेले भने बक्सअफिस खासै तताउन सकेन । स्टार भ्यालु बोकेका भनिएका प्रदीप खड्का, अनमोल केसीका कुनै पनि फिल्म वर्ष २०७८ मा आएनन् ।

अभिनेता दीपकराज गिरी वर्ष २०७८ नेपाली फिल्मका लागि गैरफिल्मी वर्ष रहेको टिप्पणी गर्छन् । ‘कोभिड महामारीले गर्दा न फिल्म बनाउन सकियो, न सिर्जना गर्ने वातावरण नै रह्यो, न त चल्ने नै,’ उनले भने । भारतीय फिल्मले हलमा व्यावसायिक उर्वरता देखाउन थालेपछि नेपाली फिल्मको प्रारम्भिक अवस्था सुनौलो नदेखिएको गिरी तर्क गर्छन् । ‘एक त हामी फिल्मकर्मीमै पनि प्रविधिदेखि सिर्जनशीलतामा कमजोरी छ । अनुभवको कमी छ, बजार सानो छ । मनग्गे लगानी गर्न सक्दैनौं । विदेशी फिल्मसँग खुला प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं । त्यसमाथि सरकारी नीति पनि स्वदेशी फिल्मलाई संरक्षण गर्ने खालको छैन,’ उनले भने ।

आधा शताब्दीको लामो इतिहास कोरिसकेको स्वदेशी फिल्म क्षेत्र अझै पनि बामे सर्दाकै अवस्थामै छ । विदेशी फिल्मको दबदबा र कमजोर स्वदेशी फिल्मको अवस्थाले गर्दा फिल्म क्षेत्रले आशातित प्रगति गर्न सकिरहेको छैन । केही नयाँ प्रयोग र राम्रा काम नभएका भने होइनन् । तर, ती अझै पनि नगण्य अवस्थामा नै छन् । बरु विदेशी फिल्मले बर्सेनि नेपालमा प्रदर्शनबाट मोटो रकम लगिरहेको तीतो यथार्थ फिल्मकर्मीसँग छ ।

भदौ ११ लाई रिलिज मिति निश्चित गरिसकेका निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘चिसो मान्छे’ लाई कोभिडकै कारण हलसम्म ल्याउन सकिरहेका छैनन् । उनले दसैंमा पनि ताकेता नगरेका होइनन्, फेरि माहोल मिलेन । तैपनि उनी २०७८ लाई कोभिडका कारण सामान्य मान्दै निराश भइहाल्नुपर्ने अवस्था नरहेको जिकिर गर्छन् । ‘बरु यो बीचमा विदेशी फिल्मको दबदबा यसरी बढ्यो कि हामीले राम्रो फिल्म बनाउने चुनौती अझ थपियो । आफ्नोपन दिने फिल्मका लागि आफ्नो कथा खोज्न ध्यान दिनुपर्ने बेला आएको छ,’ उनले भने, ‘दक्षिण भारतीय फिल्म हाम्रा लागि मात्रै नभई बलिउडका लागि समेत टाउको दुखाइ भइसकेको छ । उनीहरूसँग हामी बजेटका हिसाबले खरो उत्रन नसके पनि हाम्रो माटो सुहाउँदो कसरी उत्कृष्ट सिर्जना दिन सक्छौं भन्ने चुनौतीसँगै अवसर पनि छ ।’

स्वदेशी फिल्म नै सोचेअनुरूप चल्न नसक्नु हरेक वर्षको एउटा विडम्बना त छ नै, यसपटक भने दक्षिण भारतीय (डब) फिल्म पनि सियो बनेर छिर्‍यो । लकडाउनकै अवधिमा कतिपय नेपाली दर्शकले ती फिल्म युट्युबमा हेरेरै एकखाले लतको विकास गरिसकेका थिए, अब स्वदेशी हलमै लाग्न थालेपछि नेपाली दर्शक हान्निएर पुग्न थालेका छन् ।

अल्लु अर्जुनको ‘पुष्पा’ ले त्यसको छनक दियो भने रामचरण र जुनियर एनटीआर अभिनीत ‘आरआरआर’ सम्म आइपुग्दा त दक्षिण भारतीय फिल्मले नेपालका सिनेमाघरहरूमा ठूलै दबदबा देखाइसके । यो अझ बढ्ने अवस्था देखिएको छ । वर्ष २०७८ केवल नेपाली फिल्मको असफलतासँग मात्रै जोडिने छैन, फिल्म क्षेत्रकै अधोगतिको कारक बनेर इतिहासमा रहने देखिएको छ ।

कोरोना संक्रमणपछि भएको लकडाउन र निषेधाज्ञाका कारण वर्षभर नै नयाँ फिल्म प्रोजेक्ट फ्लोरमा जान पाएनन् । यसले गर्दा आगामी वर्षका लागि पनि स्वदेशी फिल्मको उत्पादनमा कमी आउने निश्चितप्रायः छ । यस्तोमा स्थानीय बजारमा आगामी वर्ष पनि विदेशी फिल्मको दबदबा कायम नै रहने त्रास यही वर्षले छोडेर जाँदै छ । वर्षभर प्राविधिक बेरोजगार रहे भने कलाकारहरू फुर्सदिला बने । केही चल्तीकै नायक, नायिकाले म्युजिक भिडियोमा भए पनि आफूलाई व्यस्त राखे ।

महानायकको पगरी गुथाइएका राजेश हमालसमेत म्युजिक भिडियोमा रमाएको वर्ष २०७८ मा सर्वाधिक व्यस्त रहे, पल शाह । उनले महिनामै २० माथि म्युजिक भिडियोमा समेत काम गरे । यतिबेला उनी मुद्दामामिलामा परेपछि भने उक्त रिक्ततालाई आकाश श्रेष्ठ, पुष्प खड्का, नाजिर हुसेनलगायतले परिपूर्ति गरिरहेका छन् । त्यसबाहेकका अधिकांश कलाकार भने सामाजिक सञ्जाल अझ खासगरी टिकटकमै रमाएर वर्ष बिताए । कतिपयले कन्ट्रोभर्सी गरेर दिमाग तताए । समग्रमा उत्पादनमूलक काममा व्यस्त रहेको देखिएन ।

नेपाल खुला बजारमा विश्वास गर्छ भने यहाँका दर्शकले घरमै बसीबसी विश्व सिनेमालाई हेर्न सक्छन् । झन् यो दुई वर्षको कोरोना अवधिले धेरै दर्शकको फिल्म चेतको स्तरलाई बढाइदिएको छ । विश्वभरका छानिएका राम्रा राम्रा फिल्म, सिरिज वा डकुमेन्ट्री हेर्ने बानी धेरैमा बसिसकेको छ । यो अवस्था नेपाली फिल्मकर्मीका लागि चुनौती र अवसर दुवै हुन सक्छ । खसीको टाउको झुन्ड्याएर बाख्राको मासु बेच्ने परिपाटीको अन्त्य हुँदैन भने नेपाली फिल्मका लागि अबका वर्ष झनै चुनौतीले भरिएका छन् । अब कसैका स्टारडम भजाएर मात्रै सिंगो फिल्म नबिक्न सक्छ ।

बलिउडबाट आयातित दृश्यभाषालाई बदलेर आफ्नै समाजको कथा घटना, यहीका पात्र चरित्रलाई टिपेर हाम्रै परिवेशमा भन्न जरुरी छ । फिल्म चेतको स्तर बढिरहेको अवस्थामा साँच्चै सिर्जनशील काम गर्न चाहने मेकरका लागि अबका वर्ष अवसर पनि हो । देशभर सिंगल स्क्रिनका हलहरू भत्किँदै गर्दा सुविधासम्पन्न मल्टिप्लेक्स बढिरहेका छन् । नेपाली फिल्मले प्रविधिलाई पनि ख्याल गर्दै फिल्मको भाष्य परिवर्तन गरेर स्तरोन्नति गर्न जरुरी छ । नत्र फिल्म निर्माणको सधैं यही घिसिपिटी रहीरहे फिल्म हलमा लाग्ने विदेशी फिल्म मात्रै स्वदेशी फिल्मका लागि चुनौती नभई ओटीटी प्लेटफर्ममा हेर्न पाइने विदेशी फिल्म नै तगारो हुनेछन् ।

प्रकाशित : चैत्र ३०, २०७८ १४:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×