न्याय निसाफमा ‘ग्रहण’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
वर्ष २०७८ मा न्यायालय 

न्याय निसाफमा ‘ग्रहण’

जनतालाई सेवा प्रवाह गर्ने सवालमा सर्वोच्च अदालत नराम्ररी चुक्यो । कोभिडका कारण सेवा संकुचन, न्यायाधीशहरुको इजलास बहिष्कारलगायतका कारण १२ प्रतिशत मुद्दा मात्रै फर्स्योट भए ।
तुफान न्यौपाने

काठमाडौँ — नेपालको न्यायालयका लागि २०७८ साल उथलपुथलको वर्ष रह्यो । पहिलो पटक सर्वोच्चकै न्यायाधीशहरू प्रधानन्यायाधीशको विरोधमा करिब ४० दिन इजलासबाहिर रहे । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध इतिहासमै सबैभन्दा लामो १०९ दिने आन्दोलन गर्‍यो ।

प्रधानन्यायाधीशले आफ्नो विशेषाधिकारका रूपमा उपभोग गर्दै आएको इजलास र पेसी तोक्ने प्रणालीलाई गोला प्रक्रियाबाट बदलियो । प्रतिनिधिसभामा दर्ता भएको तर निर्णायक प्रक्रियामा नलगिएको महाभियोग प्रस्तावका कारण प्रधानन्यायाधीश जबरा दुई महिनादेखि निलम्बनमा छन् ।

यी सबै घटनाक्रम नेपालको न्यायालयले यसअघि कहिल्यै अनुभव गरेको थिएन । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी यी सबै घटना कालो दागका रूपमा रहेको बताउँछन् । ‘नेपालको न्यायालयका लागि २०७८ ग्रहण लागेको वर्ष हो । नेतृत्वको खराबीका कारण निम्तिएको यस्तो दुर्दशा सैनिकले शासन हातमा लिएका देशहरूमा पनि देखिएको छैन,’ उनले भने ।

केपी ओली सरकारका पालामा संवैधानिक निकायमा अध्यादेशका भरमा गरिएका नियुक्तिमा भाग लिएको आरोप खेपिरहेका प्रधानन्यायाधीशले त्यसविरुद्धका मुद्दालाई सुनियोजित रूपमा पन्छाइरहेपछि त्यस्तो आरोपमा बल मिलेको थियो । त्यसमाथि पत्नी हत्याको अभियोग प्रमाणित भएपछि जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई कानुन मिचेर सजाय घटाइदिने जबराकै फैसलाविरुद्धको पुनरावलोकन निवेदन पनि उनले पन्छाइरहेका थिए । यस्तो पृष्ठभूमिमा जबराले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धनसँग भाग लिएर आफ्ना जेठान गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएपछि उनीमाथिको आलोचना चुलिएको थियो ।

न्यायालयका विकृति अन्त्यका लागि भनेर गठन गरिएको न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन पनि कार्यान्वयन नगर्ने अडान राखेपछि स्वयं सर्वोच्चकै न्यायाधीशहरू उनीविरुद्ध उत्रिए । त्यसपछि मुद्दा मामिलामा पहिल्यै सेटिङ गरेर आफूले भनेका मान्ने न्यायाधीशकहाँ पेसी तोक्ने गरेका विवरण सार्वजनिक भए । नेपाल बार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रियो । ४० दिनको इजलास बहिष्कारपछि न्यायाधीशहरू गोला प्रक्रियाबाट पेसी र इजलास तोक्ने व्यवस्था गरेर मात्रै इजलास फर्किए । मंसिर १५ बाट इजलास नियमित भए पनि जबरा त्यसपछि इजलास छिर्न सकेनन् ।

वरिष्ठ अधिवक्ता सविता भण्डारी अदालतको नेतृत्वविरुद्ध स्वयं न्यायाधीशहरू र नेपाल बारले आन्दोलन गर्नुपर्ने अवस्था आउनु नै दुःखद भएको बताउँछिन् । ‘यद्यपि यो आन्दोलनबाट प्रधानन्यायाधीशले पनि मनपरी गर्न पाउँदैनन्, त्यसो गर्ने कोही प्रधानन्यायाधीश आएछन् भने तिनलाई जवाफदेही बनाउन सकिन्छ, सुधार गर्न सकिन्छ भन्ने आत्मविश्वास न्यायिक क्षेत्रले प्राप्त गरेको छ,’ उनले भनिन् ।

गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गराएपछि उनी निलम्बनमा छन् । संसद्ले महाभियोगको प्रक्रिया अगाडि नबढाई जबरालाई निलम्बनमै निरन्तरता दिइरहेको छ । यसले देशको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रक्रियामा लगेर टुंग्याउनुपर्नेमा दलहरूले महाभियोगलाई रणनीतिक अस्त्रका रूपमा भविष्यमा दुरुपयोग गर्न सक्ने जोखिम बढाएको छ ।

प्रतिनिधिसभाका एकचौथाइ सांसदले चाहेमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा न्यायाधीशलाई निलम्बनमा पार्न सक्ने र महाभियोग प्रस्तावलाई तुरुन्तै प्रक्रियामा नलगेर निलम्बनलाई अनन्त कालसम्म निरन्तरता दिने गलत नजिर स्थापित हुने खतरा पनि देखिएको छ । अधिवक्ता टीकाराम भट्टराई दलहरूले जबरामाथि लगाएको महाभियोगले उनी अहिले निलम्बनमा परेको भए पनि त्यसअघि नै उनले बहिर्गमनको बाटो रोजेको भए उपयुक्त हुने बताउँछन् । ‘यो प्रकरणले प्रधानन्यायाधीशलाई खराब काम गरेबापत हटाउनुपर्दा सडक आन्दोलन र त्यसपछि महाभियोगबाहेक अन्य उपायले काम गर्ने रहनेछन् भन्ने गलत सन्देश पनि दिएको छ,’ उनले भने ।

अदालतमा मुद्दा पर्नुअघि नै वा मुद्दा परिसकेपछि गरिने सेटिङलाई निरुत्साहित गर्न इजलास र पेसी ‘अटोमेसन’ प्रक्रियाबाट तोक्नुपर्ने सुझाव न्यायाधीश कार्की नेतृत्वको समितिले दिएको थियो । अटोमेसनको कार्यान्वयन गर्न आवश्यक कानुन र प्राविधिक तयारी गरुन्जेलसम्म त्यसलाई गोला प्रक्रियामा लैजाने सुझावबमोजिम गत मंसिर १५ देखि सर्वोच्चमा यो प्रक्रिया लागू गरिएको छ । त्यसपछि माघ २ देखि उच्च र जिल्ला अदालतहरूमा समेत विस्तार गरिएको गोला प्रक्रियाले मुद्दामा हुने बिचौलियाको चलखेललाई धेरै हदसम्म नियन्त्रण गरेको विश्वास गरिन्छ । यद्यपि मुद्दा हेर्न नमिल्ने न्यायाधीशकहाँ बारम्बार पेसी पर्ने जस्ता यो प्रक्रियाका अवगुणलाई सुधार गर्नुपर्ने देखिन्छ ।

यो वर्ष र गत वर्षसमेत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक गरेको प्रतिनिधिसभाको असंवैधानिक विघटनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरिदियो । २०७२ को संविधानले पहिलो पटक संवैधानिक इजलासको व्यवस्था गरेयताकै सबैभन्दा पेचिलो राजनीतिक–संवैधानिक मुद्दाको फैसला गर्दा सर्वोच्च अदालतले कार्यपालिकाको सम्भवतः सबैभन्दा ठूलो दबाबको सामना गर्नुपर्‍यो । ‘संविधानपछि कार्यपालिका र न्यायपालिकाबीच सबैभन्दा ठूलो द्वन्द्व देखिएको थियो । दुईमध्ये को हाबी हुने भन्ने प्रश्न थियो । सर्वोच्च अदालतले कार्यपालिकाको हस्तक्षेपलाई पराजित गर्‍यो । अब भविष्यमा कार्यपालिकाले यस्तो हस्तक्षेपको दुस्साहस नगर्ला,’ अधिवक्ता भट्टराईले भने ।

जनतालाई सेवा प्रवाह गर्ने सवालमा भने यो वर्ष सर्वोच्च अदालत नराम्ररी चुक्यो । कोभिड–१९ का कारण गर्नुपरेको सेवा संकुचन, न्यायाधीशहरूको करिब डेढ महिनाको इजलास बहिष्कार तथा करिब चार महिना लामो नेपाल बारको आन्दोलनका कारण सर्वोच्च अदालतले वर्षभरिमा करिब १२ प्रतिशत मुद्दा मात्रै फर्स्योट गर्न सक्यो । मंगलबारसम्मको विवरणअनुसार यो वर्ष सर्वोच्चमा ३४ हजार २५० मुद्दा रहेकामा ४ हजार २ सय ३२ (१२.३६ प्रतिशत) मात्रै मुद्दा छिनिएका छन् । हाल पनि सर्वोच्चमा ३० हजार १८ मुद्दा विचाराधीन छन् । वरिष्ठ अधिवक्ता भण्डारी जनताले न्याय पाउन नसकेको वर्षका रूपमा २०७८ रहने बताउँछिन् । ‘अब अदालतले कार्य समय बढाउने, न्यायाधीशहरूले अधिकतम समय इजलासलाई नै दिने तथा अन्य विभिन्न सुधारका उपायद्वारा छिटो मुद्दा फर्स्योट गर्ने रणनीति बनाएर कार्यान्वयन गर्नुपर्नेछ,’ उनले भनिन् ।

वर्षको अन्त्यमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच देखिएको ‘टसल’ का कारण बल्लबल्ल नियमित गतिमा गएको न्याय प्रशासनको लय बिग्रने जोखिम पनि देखिएको छ । कामु प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्मार्फत उच्च अदालतको न्यायाधीश बनाएर कुँवरलाई मुख्य रजिस्ट्रारबाट पन्छाउन चाहेका छन् भने कुँवर न्यायाधीशका रूपमा नजाने र अहिलेकै पदमा निरन्तर रहने अडानमा छन् ।

प्रकाशित : चैत्र ३०, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्

अस्थिरताको वर्ष

यो वर्ष दोस्रो पटक प्रतिनिधिसभा विघटन र बदर मात्रै भएन, कांग्रेसबाहेकका सबै राजनीतिक दलमा विभाजन आयो, प्रमुख राजनीतिक दलले आफ्नो महाधिवेशन पनि यही वर्ष सम्पन्न गरे
मणि दाहाल

काठमाडौँ — २०७८ मा नेपालको राजनीति अस्थिरता र अन्योलबाट गुज्रियो । २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद् विघटन गर्दै राजनीतिक अस्थिरताको ‘पान्डोराज बक्स’ खोलेका थिए । स्थिरता र आर्थिक समृद्धिको नारा दिएर सरकारमा पुगेको नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद र त्यसपछिको विभाजन राजनीतिक अस्थिरता र अन्योलको प्रमुख कारण रह्यो ।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाको असर अहिले पनि देखिइरहेको छ । उक्त दिन अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण प्रक्रियालाई खारेज गरेको थियो । करिब दुई तिहाइ बहुमत ल्याएको नेकपा विभाजनको परकम्प अहिलेसम्मै जारी छ ।

गत वर्ष नेपाली कांग्रेसबाहेक सबै राजनीतिक दलमा साना, ठूला विभाजन देखियो । सबैभन्दा ठूलो विभाजन संसद्को पहिलो दल नेकपा एमालेमा भयो । एमालेलाई लामो समय नेतृत्व गरेका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनालले नेकपा एकीकृत समाजवादी गठन गरे । जसका लागि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी विभाजन गर्न सक्ने खुकुलो व्यवस्था गर्दै अध्यादेश ल्याइदिएको थियो । यो स्थिर राजनीतिमाथि सिधा प्रहार थियो । यो प्रावधानले पार्टी विभाजनका लागि सहज बाटो खोलिदिएको थियो ।

राजनीतिक अस्थिरताको लामो शृंखलाबाट गुज्रिएका नेपालका राजनीतिक दलले विभाजन रोक्न राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत हुनुपर्ने प्रावधान राखेका थिए । देउवाले ल्याएको अध्यादेश प्रयोग गर्दै जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएर महन्थ ठाकुर र राजेन्द्र महतोहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा) गठन गरेका थिए ।

एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेका थिए । ओलीले चालेको कदमलाई अदालतले दोस्रो पटक पनि अवैधानिक रहेको ठहर गर्‍यो । ओलीले दुई पटक चालेको यो कदम राजनीतिक अराजकता त थियो नै, संविधानलाई ‘ट्र्याक आउट’ गर्ने काम पनि थियो । एमालेका केहीसहित बहुमत सांसदको हस्ताक्षर जुटाउन सफल भएका देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश जारी गर्‍यो ।

२०७४ सालको आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री बने । जसलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको साथ थियो । देउवा प्रधानमन्त्री भएपछि सरकारका कामकारबाही निकै सुस्त रहे । यतिसम्म कि मन्त्रिपरिषद्ले पूर्णता पाउनै तीन महिना लाग्यो । देउवाले गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएपछि ठूलो विवाद भयो । मन्त्री भएको छोटो समयमा उनले राजीनामा दिए । नेकपा विभाजन भएपछि एमालेले प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका सरकार गुमायो । सर्वोच्चको परामादेशबाट देउवा प्रधानमन्त्री बनेपछि एमाले प्रतिपक्ष हुन पुग्यो ।

यो वर्ष दोस्रो पटक प्रतिनिधिसभा विघटन र बदर मात्रै भएन, कांग्रेसबाहेकका सबै राजनीतिक दलमा विभाजन आयो । प्रमुख राजनीतिक दलले आफ्नो महाधिवेशन पनि यही वर्ष सम्पन्न गरे । ५–५ वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्थाका कारण वैधानिकता जोगाउन दलहरू चुनावअघि नै महाधिवेशन गर्न बाध्य भएका हुन् ।

यसै वर्ष सत्तारूढ गठबन्धनका नेताहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन् भने महाभियोग प्रस्ताव प्रतिनिधिसभामा अलपत्र अवस्थामा छ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्ने विषयमा सत्तारूढ गठबन्धनभित्र चर्को मतभेद देखियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनको बैठकमा समर्थन गर्ने र सडकमा कार्यकर्तालाई परिचालन गरेर विरोध गर्ने दोहोरो भूमिका निर्वाह गरे । एमसीसी विवाद नेपालभित्र मात्रै सीमित रहेन, विश्वका प्रमुख शक्ति अमेरिका र चीन प्रतिक्रियात्मक बनेर आए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ मा प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभाको बहुमत सांसद सदस्यसहित प्रधानमन्त्रीका लागि गरेको दाबीलाई अस्वीकार गरेकी थिइन् । त्यसलगत्तै प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसपछि हस्ताक्षर गर्ने सांसदले सर्वोच्च अदालतमा चुनौती दिए । जसलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ मा खारेज गरेको थियो । निवेदनकर्ताको मागअनुसार अदालतले संसद् पुनःस्थापित गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । अदालतको फैसलापछि सत्ताच्युत भएका ओलीले त्यसलाई राजनीतिक मुद्दा बनाउँदै आएका छन् ।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले नेकपालाई विभाजित गरिदियो । अदालतबाट छुटिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैमा विभाजन देखियो । अदालतको फैसलालगत्तै रामबहादुर थापालगायत नेताहरू एमालेतर्फ लागे । अर्कोतर्फ माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजन भयो । एमाले र माओवादी मात्रै होइन, कांग्रेसबाहेक अन्य सबै दलमा विभाजन भयो ।

नेकपाबाट सुरु भएको विभाजनको शृंखला अन्य पार्टीहरूमा पनि देखिन थाल्यो । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) बाट महन्थ ठाकुर र राजेन्द्र महतोहरू बाहिरिए । भदौमा सरकारले विभाजनको व्यवस्था खुकुलो पार्ने गरी ल्याएको अध्यादेशमा टेकेर ठाकुर, महतोसहितका नेताहरूले लोसपा गठन गरेका थिए । जसपाबाट टुक्रिएर बनेको लोसपा पनि चोइटिइसकेको छ । लोसपा नेता बृशेषचन्द्र लालले निष्क्रिय अवस्थामा रहेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) लाई ब्युँताएका छन् । विभाजित हुनेमा शास्त्रीय कम्युनिस्ट राजनीतिमा रहेको अर्धभूमिगत दल नेकपा (मसाल) देखि वैकल्पिक राजनीतिको दाबी गर्ने साझा विवेकशील पार्टीसम्म छ ।

यसै वर्षको मंसिर र पुसमा प्रमुख राजनीतिक दलका महाधिवेशन सम्पन्न भए । एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिर दोस्रो साता चितवनमा भयो । महाधिवेशनले दोस्रो कार्यकालका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दोहोर्‍यायो । माधवकुमार नेपाल र झलनाथ खनालको बहिर्गमनपछि शक्तिशाली बनेका ओलीले चाहेजस्तो नेतृत्व महाधिवेशनको हलबाट अनुमोदन गराउन सफल भए । महाधिवेशनबाट पदाधिकारी तथा सदस्यहरूको घोषणा र चुनावमा जे जस्तो हत्कण्डा अपनाइयो, त्यसले आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि चिनिने एमालेले प्राप्त गरेको साखमा ठूलो धक्का लगाउने काम थियो ।

मंसिरमा तेस्रो साता पुरातनपन्थी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गर्‍यो । राप्रपामा डेढ दशकदेखि अकन्टक नेतृत्व गरिरहेका कमल थापालाई लिङ्देनले चुनौती दिएका थिए । महाधिवेशनको हलले थापा प्यानलको अधिकांश पदाधिकारी तथा सदस्यलाई जिताए पनि थापा भने पराजित भए । लिङ्देनको जितलाई राजनीतिमा पुस्तान्तरणका रूपमा लिइए पनि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको भूमिका रहेको आरोप लगाए । फागुन ७ मा थापा राप्रपा नेपालको अध्यक्ष बनेका छन् । चुनावमा पराजित भएपछि निरन्तर निर्मल निवासको भूमिकाका विषयमा छानबिनको माग गरेका थापाले फागुन १ मा राप्रपा छाडेका थिए । थापा अहिले राप्रपा नेपालका अध्यक्ष छन् ।

मंसिर तेस्रो साता नेपालको सबैभन्दा पुरानो दल कांग्रेसको महाधिवेशनमा शेरबहादुर देउवालाई दोस्रो कार्यकालका लागि निर्वाचित गर्‍यो । महाधिवेशनले देउवालाई मात्रै नभएर उनको प्यानलका ८० प्रतिशत सदस्यलाई निर्वाचित गरेको छ । तर, महामन्त्रीमा भने युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निर्वाचित गर्‍यो । दुवै नेताले देउवाभन्दा फरक प्यानलबाट प्रतिस्पर्धा गरेका थिए । माओवादी केन्द्रको महाधिवेशन पनि पुस दोस्रो साता काठमाडौंमा सम्पन्न भयो । महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाललाई चयन गरेको छ । उनले साढे तीन दशकदेखि नेतृत्व गर्दै आएका छन् । माओवादी महाधिवेशनले अध्यक्ष निर्वाचित गरे पनि केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । पदाधिकारी अहिलेसम्म टुंगो लगाउन सकेको छैन ।

राजनीतिक अस्थिरता र अन्योलबाट २०७८ समाप्त भएर चुनावी वर्ष २०७९ मा प्रवेश गर्दै छ । सत्तारूढ दलभित्रका केहीले स्थानीय तहको चुनाव प्रतिनिधिसभापछि सार्न खोजे पनि सफल भएनन् । वैशाख ३० मा निर्वाचन हुँदै छ । यो वर्ष स्थानीय तहको मात्रै नभएर ढिलोमा फागुनभित्रै प्रदेश र प्रतिनिधिसभाको चुनाव गराइसक्नुपर्नेछ । आगामी वर्ष पूरै चुनावमय हुनेछ ।

प्रकाशित : चैत्र ३०, २०७८ १२:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×