२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७
लेटाङ घटना

महिला प्रहरीको मृत्यु गोली प्रहारबाट

तीन साताअघि घटना हुँदा उनको मृत्यु धारिलो हतियार प्रहारबाट भएको प्रहरीले बताएको थियो तर पोस्टमार्टममा गोली लागेको देखियो, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका अनुसार उनलाई लागेको गोली प्रहरीले प्रयोग गर्ने हतियारबाट चल्नेभन्दा छुट्टै हो
विनोद भण्डारी

विराटनगर — मोरङको लेटाङको हिंसात्मक आक्रमणमा परेर ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली प्रहारबाट भएको खुलेको छ । चैत ६ को उक्त घटनामा उत्तेजित भीडले घाँटीमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा जनाएको थियो ।

महिला प्रहरीको मृत्यु गोली प्रहारबाट

अदालतमा बुझाइएको पोस्टमार्टम रिपोर्टमा उनको गोली लागेर मृत्यु भएको उल्लेख छ । प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको दस्ताबेजमा उनको शरीरबाट गोली निकालिएको भनिएको छ । झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले केही राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको परीक्षण रिपोर्टमा जवान श्रेष्ठलाई लागेको गोली प्रहरीले प्रयोग गर्नेभन्दा छुट्टै भएको उल्लेख छ ।

मोरङको सरकारी वकिल कार्यालयका अनुसार हिंसात्मक भीडले महिला प्रहरीलाई गोली प्रहारसहित लाठी, ढुंगा र सिसाको बोतल प्रहार गरेर हत्या गरेको प्रहरीको प्रतिवेदनमा छ । प्रदर्शनकारीद्वारा गोली प्रहार भएको पुष्टि भए पनि घटनाको एक महिना बित्न लाग्दा प्रहरीले उक्त हतियार भने फेला पार्न सकेको छैन । मोरङका प्रहरी प्रमुख एसपी शान्तिराम कोइरालाले अनुसन्धानका क्रममा गोली प्रहार गर्नेको पहिचान नभएपछि तत्काललाई केवल कर्तव्य ज्यान मुद्दामा आरोपीहरूलाई अदालतको जिम्मा लगाइएको बताए । ‘पछि गोली प्रहार गर्नेको पुष्टि भएको अवस्थामा अर्को जाहेरी पठाउँछौं,’ उनले भने ।

लेटाङ–५ खेरुवाका शिक्षक मनोज पौडेलले कक्षा ६ मा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि विद्यालयमा बैठक भएको थियो । शिक्षकहरूले पौडेललाई प्रहरी बोलाएर बुझाउन लागेका थिए । भीड विद्यालय परिसरमा पस्यो र तोडफोडसँगै हिसात्मक प्रदर्शनमा उत्रियो । स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि भीडले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो ।

यो प्रकरणमा ज्यान मुद्दा अभियोगमा पक्राउ गरिएका एक १४ वर्षीय किशोरलाई जिल्ला अदालत मोरङले मंगलबार अभिभावकको जिम्मा लगाउने फैसला गरेको छ । घटनामा संलग्न आरोपमा पक्राउ गरिएका ६ जना नाबालिगमध्ये पाँचलाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो भने एक जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले नाबालिगलाई अभिभावकको जिम्मा लगाउने आदेश दिएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । उनका अनुसार कारागारमा राख्नलाई बाल सुधार केन्द्र नभएको र १४ वर्षमुनिका नाबालिग कर्तव्यज्यान मुद्दामा संलग्न भए शतप्रतिशत सजाय नहुने भएकाले अभिभावकलाई बुझाएर पुर्पक्ष गर्ने प्रावधानअनुसार गरिएको हो ।

घटनामा संलग्न भएको दाबीसहित प्रहरीले थप २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको छ । बुधबारदेखि उनीहरूको थुनछेक बहस सुरु हुनेछ ।

प्रकाशित : चैत्र ३०, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?