६ करोडको चुनावी खर्चबारे कोइरालासँग निर्वाचन आयोगले माग्यो जवाफ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ करोडको चुनावी खर्चबारे कोइरालासँग निर्वाचन आयोगले माग्यो जवाफ

कान्तिपुर संवाददाता

काठमाडौँ — '२०७४ सालको संघीय संसद्को चुनावमा ६ करोड खर्च भयो' भन्ने अभिव्यक्ति दिएका कांग्रेस नेता शशांक कोइरालासँग निर्वाचन आयोगले जवाफ मागेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि २५ लाख रूपैयाँसम्म खर्च सीमा तोके पनि कोइरालाले निर्वाचन महँगो हुँदै गएको र गत निर्वाचनमा आफ्नो ६ करोड खर्च भएको बताएका थिए । निर्वाचन आयोगसमक्ष भने उनले २१ लाख ७५ हजार खर्च भएको विवरण पेस गरेका थिए । निर्वाचन आयोगले कोइरालासँग गत निर्वाचनमा गरेको खर्चको यथार्थ जानकारीसहित ७ दिनभित्र जवाफ मागेको हो ।

निर्वाचन आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनु भएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकाले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस विषयमा के कसो भएको हो । सात) दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ ।'

नेता शशांक कोइरालाले शनिबार एक कार्यक्रममा विगतमाभन्दा चुनाव निकै खर्चिलो भएको बताएका थिए । उनले अब चुनाव लड्छु भन्नेबित्तिकै ६/७ करोड चाहिने अवस्था रहेको बताएका थिए । नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड खर्च गरेको सुनाएका थिए ।

‘मैले आफ्नो कुरा गर्दा नवलपरासीबाट तीन पटक जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो, दोस्रो चुनावमा त्यो तीन करोड पुग्यो । गएको चुनावमा त छ करोड रुपैयाँ खर्च भयो,’ कोइरालाले भनेका थिए, ‘तपाईंहरूमध्ये कोही चुनाव लड्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु । चुनाव किन यति महँगो भएको हो ? अब कसले चुनाव लड्न सक्छ ? चुनाव लड्छु भन्नेबित्तिकै तपाईंलाई कमसेकम ६/७ करोड चाहिने अवस्था छ ।’

प्रकाशित : चैत्र २८, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्

चिकित्सकको मृत्युबारे छानबिनको माग गर्दै प्रदर्शन

कान्तिपुर संवाददाता

राजविराज — विराटनगरस्थित मृत फेला परेका डा. विजय यादवको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै सोमबार राजविराजमा प्रदर्शन भएको छ ।

नोवेल अस्पताल विराटनगरमा कार्यरत डा. यादवको हत्या भएको र हत्याको घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै प्रदर्शनकारीहरूले विरोध जनाएका हुन् । यस घटनामा दोषीलाई उम्काउन खोजिएको प्रदर्शनकारीहरूको आरोप छ ।

सोमबार राजविराजस्थित शिव मन्दिर अगाडि भेला भएका विद्यार्थी, स्वास्थ्यकर्मी र आफन्तहरुले राजविराजका विभिन्न भागको परिक्रमा गर्दै डा. विजयको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रदर्शनकारीहरूले जिल्ला प्रसासन कार्याल्य अगाडि पनि केही बेर प्रदर्शन गरे । चार दिनअघि पनि राजविराजमा प्रदर्शन गर्दै स्थानीयहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । तीन दिनभित्र दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको माग थियो ।

सोमबार भने घटनाका दोषीहरुलाई उम्काउन खोजिएको भन्दै उनीहरूले आन्दोलन लम्ब्याएका हुन् । सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भएका यदुनन्दन यादवका एक मात्र छोरा डा. विजय गत चैत १८ गते शंकास्पद अवस्थामा विराटनगरस्थित डेरामा मृत अवस्थामा भेटिएका थिए ।

आफन्तले योजनाबद्ध तरिकाले उनको हत्या भएको आरोप लगाउँदै आएका छन् । उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित : चैत्र २८, २०७८ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×