कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बहुऔषधि प्रतिरोधी क्षयरोग रोक्न नसके ‘अवस्था भयावह’

अतुल मिश्र

काठमाडौँ — नेपालमा बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) को संक्रमणलाई समयमै नियन्त्रण नगरे आगामी दशकमा भयावह स्थिति आउने विज्ञहरूले चेतावनी दिएका छन् । नेपालजस्तो सानो मुलुकमा बर्सेनि २ हजार २ सय एमडीआर टीबीका रोगी थपिँदै जानु चिन्ताजनक रहेको उनीहरूको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले २०२१ मा सार्वजनिक गरेको एमडीआर टीबीको उच्च प्रकोप भएका ३० राष्ट्रको सूचीमा नेपाल पनि छ । ‘एमडीआर टीबीलाई समयमै 

बहुऔषधि प्रतिरोधी क्षयरोग रोक्न नसके ‘अवस्था भयावह’

नियन्त्रण गर्न सकेनौं भने अबको दशकमा भयावह स्थिति आउन सक्छ,’ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरले भने, ‘एमडीआर टीबी बढ्नुको प्रमुख कारण रोग पहिचानदेखि औषधि सेवनसम्म तोकिएको मापदण्ड पालना नहुनु पनि हो ।’

नेपालमा बर्सेनि नयाँ सय जना क्षयरोगीमध्ये तीन जनालाई एमडीआर टीबी देखिने गरेको छ । पछिल्ला वर्ष यो संख्या बढ्दो छ । सरकारी तथ्यांकअनुसार यस वर्ष हालसम्म ४ सय १८ नयाँ बिरामीसहित ७ सय एमडीआर टीबीका रोगी पहिचान भइसकेका छन् । डा. ठाकुरका अनुसार राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपचाररत बिरामीमध्ये २.२ प्रतिशत एमडीआर टीबीका रोगी छन् । सन् २०१८ मा गरिएको प्रिभलेन्स सर्वेक्षणमा बर्सेनि २ हजार २ सय नयाँ एमडीआर टीबीका रोगी थपिने अनुमान छ । एमडीआर टीबी सार्वजनिक स्वास्थ्य संकट र स्वास्थ्य सुरक्षामा खतरा रहेको औंल्याउँदै डब्लूएचओले सन् २०२० मा औषधि प्रतिरोधी क्षयरोग भएका तीन जनामध्ये एकले मात्रै उपचार पाएको जनाएको छ । संक्रमण विस्तार रोक्न एमडीआर टीबीका बिरामीलाई तुरुन्त उपचार प्रक्रियामा समेट्नुपर्ने विज्ञहरू बताउँछन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहका अनुसार क्षयरोगको औषधि कहिल्यै नखाएका नयाँ टीबी रोगीमध्ये करिब ३ प्रतिशतलाई एमडीआर टीबी देखिने गरेको छ । त्यस्ता रोगीबाटै नयाँ क्षयरोगीमा बहुऔषधि प्रतिरोधी क्षयरोग सर्ने गरेको डा. शाह बताउँछन् । टीबीका बिरामीको उपचार सुरु भएको २ महिनासम्म पनि अन्य व्यक्तिमा रोग सर्ने जोखिम रहन्छ । क्षयरोगको औषधि सेवन गरिसकेर पुनः संक्रमित भएका बिरामीमध्ये करिब १५–१६ प्रतिशतमा एमडीआर टीबी देखिने गरेको उनको भनाइ छ । औषधि बीचमै खान छाड्दा, उचित मात्रा सेवन नगर्दा र औषधिको गुणस्तर कम हुँदा औषधि प्रतिरोधी क्षयरोग संक्रमणको जोखिम रहने डा. शाहले बताए ।

सामान्य औषधिले निको हुने क्षयरोगीबाट सामान्य क्षयरोग सरेजस्तै बहुऔषधि प्रतिरोधी क्षयरोगीबाट नयाँ व्यक्तिमा संक्रमण हुँदा एमडीआर टीबी सर्ने गरेको छ । एमडीआर टीबी भएकाहरू उपचार प्रक्रियामा आए पनि निको हुने दर करिब ७० प्रतिशत मात्र छ । जबकि सामान्य क्षयरोगीको निको हुने दर करिब ९१ प्रतिशत छ । नेपालमा नयाँ र पुराना गरी १ लाख १७ हजार क्षयरोगी छन् भने हरेक वर्ष ६९ हजार नयाँ बिरामी थपिने गरेका छन् ।

प्रकाशित : चैत्र २७, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?