१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

२६ औं पल्ट सगरमाथा चढ्दै कामीरिता

विदेशी आरोहीका लागि मार्ग खुलाउन दोस्रो शिविरदेखि चुचुरोसम्म १३ हजार मिटर डोरी टाँग्ने जिम्मा पनि कामीरिता शेर्पालाई
सुरज कुँवर

काठमाडौँ — सोलुखुम्बु थामेका ५२ वर्षीय कामीरिता शेर्पाले २५ औं पटकको आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्ने भएका छन् । २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न उनी आइतबार काठमाडौंबाट जहाजमा लुक्ला प्रस्थान गर्दै छन् । 

२६ औं पल्ट सगरमाथा चढ्दै कामीरिता

कोरोना महामारीका कारण तीन वर्षअघि सगरमाथा आरोहण गर्न नपाएका विदेशीको अनुरोधमा कामीरिता यसपटक सगरमाथा उक्लिन लागेका हुन् । ‘मैले २५ पटकपछि सगरमाथा नचढ्ने सोच बनाइसकेको थिएँ,’ पत्नी र दुई छोराछोरीसँगै कपनमा बस्दै आएका कामीरिताले भने, ‘तर विदेशी साथीहरूले मलाई नै लिड (नेतृत्व) गर्न भनेकाले यसपटक छाड्न मिलेन ।’ विगत ३० वर्षदेखि हिमाल आरोहणमा आबद्ध कामीरिता यसपटक पनि विगतझैं आरोहीका लागि बाटो बनाउने जिम्मेवारीमा छन् । दोस्रो शिविरमाथिदेखि चुचुरोसम्म उनले करिब १३ हजार मिटर डोरी कतै दोहोरो त कतै एकसरो टाँगेर बाटो बनाइदिनुपर्नेछ । समुद्री सतहदेखि ५३ सय मिटर उचाइमा रहेको सगरमाथाको आधारशिविरदेखि ६४ सय मिटर उचाइमा रहेको दोस्रो शिविरसम्म डोरी टाग्ने र हिमखाडलमा भर्‍याङ राख्ने काम ‘सगरमाथा प्रदूषण नियन्त्रण समिति’ ले गर्छ । त्यसभन्दा माथि उकालोमा डोरीमात्रै टाँग्ने जिम्मा हरेक सिजनमा आरोहण गराउने कम्पनीको साझा संस्था एक्सपिडिसन अपरेटर्स एसोसिएसनले लिन्छ । एसोसिएसनका तर्फबाट दोस्रो शिविरदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने कामको नेतृत्व सम्हाल्दै आएका छन् ।

‘पोहोर पनि ११ जना शेर्पासहितको टोलीको नेतृत्व गर्दै मैले वैशाख २४ मा बाटो खुलाएको थिएँ,’ कामीरिताले कान्तिपुरसँग भने, ‘यसपटक पनि एसोसिएसनले मलाई जिम्मा दिएको छ ।’

मौसम अनुकूल भए कामीरिताको टोलीलाई डोरी टाँग्न कम्तीमा एक महिना लाग्नेछ । उनीसँग थप ७ जना रहने छन् । उनीहरूले सगरमाथा र त्यससँगै जोडिएको ल्होत्से हिमालमा पनि बाटो बनाइदिनुपर्ने छ । यसबापत् कामीरिताले ल्होत्से र सगरमाथामा ५० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । यो उनको अतिरिक्त काम हो । कामीरिता ‘हाइअल्टिच्युट गाइड’ पनि हुन् । उनको आफ्नो कम्पनी भने छैन । बाटो बनाइसकेपछि कामीरिता आरोहण दलका सदस्यलाई गाइड गर्दै हिमालतर्फ उक्लिनेछन् । काठमाडौंको सेभेन समिट ट्रेक्स प्रालिमा आबद्ध उनले एक याममा कम्तीमा २० हजार डलर पारिश्रमिक लिने गरेको बताए । सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका कामीरिताले गत वर्ष पनि दुईपटक सगरमाथा आरोहण गर्ने योजना बनाएका थिए । तर परिवारको अनुरोधमा दोस्रो पटकको आरोहण रद्द गरेर काठमाडौं फर्किए । कामीरिताले विश्वकै दोस्रो अग्लो शिखर केटू, चौथो अग्लो ल्होत्से, छैटौं अग्लो चोयु र मनास्लु हिमाल पनि आरोहण गरिसकेका छन् ।

कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पादावा शेर्पा छन् । पासाङदावा पनि भनिने उनी २३ पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

प्रकाशित : चैत्र २५, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?