१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तालमेलबिनै कांग्रेस स्थानीय निर्वाचनमा विजयी हुन्छ : कोइराला

विनोद भण्डारी

विराटनगर — नेपाली कांग्रेस नेता शेखर कोइरालाले आपसी तिक्ततालाई बिर्सेर नेता, कार्यकर्ता एक हुने हो भने आसन्न स्थानीय निर्वाचनमा कांग्रेसले कसैसँग तालमेल गरिरहन जरुरी नभएको बताएका छन् । 'महाधिवेशनको आपसी तिक्तता सबैले बिर्सँदै एक भएर चुनावमा होमियौ,' मोरङ कांग्रेसले बिहीबार विराटनगरमा गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा कोइरालाले भने कांग्रेसी एक हुने हो भने कसैले हराउन सक्तैन र गठबन्धनको पनि आवश्यक पर्दैन ।'

तालमेलबिनै कांग्रेस स्थानीय निर्वाचनमा विजयी हुन्छ : कोइराला

केन्द्रीय समितिले निर्णय नगरेसम्म पार्टीका नेता, कार्यकर्ताको सोचाई फरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै कोइरालाले आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने भनिए पनि जिल्ला र क्षेत्रलाई दबाब नदिए तालमेलबिनै कांग्रेस स्थानीय निर्वाचनमा विजयी हुने दाबी गरे । उनले आगामी स्थानीय निर्वाचनमा उम्मेदवारले गर्न सकिने काममा आधारित घोषणापत्र बनाउन निर्देशन दिए । भ्रामक घोषणापत्र बनाएर जनता भुल्याउने काम नगर्न उनको आग्रह थियो ।

केन्द्रीय सदस्य महेश आचार्यले संघीयता कम्युनिस्टको हातमा सुरक्षित नभएको आरोप लगाउदै साढे तीन वर्ष कम्युनिष्टले सरकार चलाउँदा मुलुक अहिलेको अवस्थामा गुज्रिएको दाबी गरे । एमाले सरकारले महिला हिंसा र बलात्कार नियन्त्रण गर्ने कानुन बनाएन र अहिले पनि संसद् चल्न नदिएर कानुन बनाउन नपाउँदा महिला हिंसा र बलात्कारका घटना मुलुकभरी बढेको आचार्यको भनाइ थियो ।

आगामी निर्वाचनमा कांग्रेस कोसँग जोडिएर जनतासामु जाने भन्ने कुरा गौण भएको उल्लेख गर्दै अर्का केन्द्रीय सदस्य मिनेन्द्र रिजालले कांग्रेस आफ्नै सिद्धान्त बोकेर निर्वाचनमा जनतासामु जानुपर्ने धारणा राखे । रिजालले गठबन्धन कांग्रेसलाई नभई सत्ता सहकर्मीहरुलाई चाहिएको बताए ।

केन्द्रीय सदस्यहरु अमृत अर्याल, डिला संग्रौला र भीम पराजुलीले पनि पार्टीको १४ औं महाधिवेशनले सिर्जना गरेको आपसी तुषलाई बिर्सिएर कांग्रेसजन एक भए आगामी तीनै तहका निर्वाचनमा जित निश्चित भएको दाबी गरे ।

यसअघि प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्की, कांग्रेस प्रदेश उपसभापति रमेशजंग रायमाझी र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले चुनावी तालमेलका विषयमा मञ्चमै जुहारी खेलका थिए । कोइराला समूहका कार्की र घिमिरेले चुनावी तालमेलको विरोध गर्दा देउवा समूहका रायमाझीले तालमेलको बचाउ गरेका थिए ।

प्रकाशित : चैत्र २४, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?