३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नाम मात्रैको विज्ञान संग्रहालय

गोविन्द पोखरेल

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरको नयाँबजार गेट जाने सडक खण्डमा चार सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको एउटा भवन छ । ६४ करोड खर्च गरेर निर्माण गरिएको यो भवनभित्र नेपालको पहिलो र एक मात्र विज्ञान संग्राहलय छ । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले संग्रहालय सञ्चालन गर्दै आएको छ ।

नाम मात्रैको विज्ञान संग्रहालय

यो संग्रहालय भवन प्रायः सुनसान हुन्छ । शुक्रबार र शनिबार फाट्टफुट्ट विद्यार्थीहरु देखिन्छन् । ‘अवलोकन गर र सिक’ भन्ने अवधारणाका साथ २०७६ साल वैशाख २८ गते सर्वसाधरणहरुका लागि खुला गरिएको विज्ञान संग्रहालय नाम मात्रैको संग्रहालय बनेको विज्ञहरुले बताउन थालेका छन् । संग्रहालयले अवलोकनकर्ताहरुलाई आकर्षित गर्न सक्दा यहाँका कर्मचारीहरु दैनिक हाजिरी गरेर फर्कन गरेका छन् । सूचना अधिकारी सरोजकुमार शाहीका अनुसार संग्रहालयमा सुरक्षाकर्मीसहित ४ जना स्थायी र १३ जना करारका कर्मचारी गरेर १७ जना कार्यरत छन् ।

चैत २० गतेयताको तथ्यांक हेर्ने हो भने यो संग्रहालयमा टिकट काटेर भ्रमण गर्न आउने आगन्तुकको संख्या शून्य छ । सूचना अधिकारी सरोजकुमार शाहीका अनुसार संग्रहालय प्राय: नियमित भ्रमणमा अवलोकनकर्ताहरु आउदैनन् । शैक्षिक भ्रमणमा आउने विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु मात्रै यहाँ आउने गरेका छन् । अन्य समयमा विज्ञान संग्रहालयमा आउनेको संख्या शून्य जस्तै हुन्छ ।


यो संग्रहालय २०७६ साल वैशाख २८ गते औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तर कोरोना महामारीका कारण केही महिना सञ्चालन भएर ठप्प भयो ।

६३ करोडको लागतमा संग्रहालयको भवन निर्माण गरिएको भवनको आधा भाग खाली छ । प्रवक्ता शाहीका अनुसार प्रदर्शनीहरु कम हुँदा भवनको अन्य भागहरु प्रयोगमा आउन सकेको छैनन् । भएका सामग्रीहरु पनि बिग्रिएका छन् । तीनको मर्मत कहिले हुने, टुंगो छैन । यहाँ विज्ञानसँग सम्बन्धित फरक–फरक विधाका सयदेखि डेढसयवटा विज्ञान प्रदर्शनीस्थल छन् ।


संग्रहालय भ्रमणमा आउने अवलोकनकर्ताहरुलाई सामन्य नागरिकलाई ७५ रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । कोरानाले गर्दा अधिकांश प्रदर्शनीस्थल खाली छन् । आगामी भदौ/असोजमा प्रदर्शनीका अन्य उपकरणहरु नेपाल आइसक्ने समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माले बताए । संग्रहालयमा मानव विकासका विभिन्न चरणको प्रर्दशनीस्थल पनि छ । नेपालकै पहिलो र एक मात्र विज्ञान संग्रहालय भनेपनि यहा आउने आगन्तुकहरु कम छन् ।

बिग्रियो कृत्रिम बुद्धिमता प्रयोग गरेर बनाइएको रोबोट

रोबोटिक्स र कृत्रिम बुद्धिमता प्रयोग गरेर बनाइएको नेवारी भेषभूषामा सजाइएकी ‘फूलमाया’ नामको रोबोट पनि छ । फूलमाया नाम गरिएको यो रोबोट अन्तरक्रियात्मक रहेको थियो । व्यक्तिहरुको पहिचान गर्ने, आगन्तुकलाई अभिवादन गर्ने, सेल्फीको लागि पोज दिने, आगन्तुकहरुलाई प्रत्येक प्रदर्शनीतर्फ बाटो देखाउने र व्याख्या गर्ने काम गर्ने यो रोबोटले गर्‍थ्यो । अहिले बिग्रिएको छ । रोबोट कहिलेबाट सञ्चालनमा हुनेबारे समिति मौन छ । विज्ञान संग्रहालयमा बिजुली र चुम्बकत्वतर्फको भ्यान डी ग्राफ जेनेरेटर पनि बिग्रिएको छ ।

यहाँ मानव कन्डक्टर, भोल्टेज सूचकको साथ साइकल चलाएर बिजुली उत्पादन जस्ता प्रदर्शनीहरु छन् । संग्रहालयमा ध्वनि र एप्लाइड मेकानिक्स विधामा साउन्ड ट्युबहरु, शक्तिको प्रसारणका प्रदर्शनीहरु छन् । सरल रुपमा बुझ्ने किसिमले विज्ञानका नियमहरुलाई यहाँ प्रयोगात्मक अभ्यासमार्फत देखाइएको दाबी गरिएको छ ।


संग्रहालयमा प्रकाश, दृष्टि र अप्टिकल भ्रमबारे पनि प्रदर्शनीस्थल छ । यसमा अनन्त प्रतिबिम्ब ऐना, रंगिन छाँया, ब्रोकन इमेजजस्ता विषयहरु छन् । भौगोलिक प्रतिरुपमा यहाँ भूगर्भ प्लेट, ज्वालामुखी विष्फोटन, वायुमण्डलका विभिन्न तहहरु, पृथ्वीको भूचुम्बकीय रेखा, अक्षीय, चन्द्रमाको त्रिआयामी मोडलहरु पनि प्रदर्शनीमा राखिएको छ । संग्रहालयमा प्रदर्शनीका लागि राखिएका अधिकांश सामग्रीहरु विश्वविद्यालय तहमा विद्यार्थीहरुले गर्ने ‘विज्ञान प्रदर्शनी’का वस्तुहरु नै यहाँ राखिँदा आगन्तुकहरुको रुची नबढेको हुन सक्ने विज्ञान क्षेत्रमा लागेका व्यक्तिहरु बताउँछन् ।

नाम मात्रैको विज्ञान संग्रहालय

त्रिभुवन विश्वविद्यालयका प्रोफेसर इमिरेट्स डाक्टर रामचन्द्र चौधरी विज्ञान संग्रहालयले समाजलाई पनि जोड्न सक्नुपर्ने बताए । उनले भने,‘ साइन्स म्युजियमले समाजलाई पनि समेट्न सकेन । यो नाम मात्रैको विज्ञान संग्रहालय भयो । ’

त्रिभुवन विश्वविद्यालय भौतिक शास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर नारायणप्रसाद अधिकारी विज्ञान संग्रहालयले कुन क्षेत्रलाई समेट्न खोजेको त्यो स्पष्ट नभएको बताए । ‘हाम्रो यो विज्ञान संग्रहालय कुन उद्देश्य र कुन उमेर समूहका लाई लक्षित गरेर खोलिएको हो त्यो स्पष्ट छैन’, प्राध्यापक खनालले भने, ‘यो म्युजियममा साइन्स म्युजियम जस्तो नै छैन । कम्तिमा केही कुरा सिक्ने र जानिने कुरा छ भने मानिस जान्छ । यहाँ ज्ञान प्रवर्द्धन हुने खालका कुनै प्रदर्शनीहरु नै छैनन् । ’


प्राध्यापक अधिकारीले विज्ञान संग्रहालय स्थापना गर्दा सम्बन्धित विषयविज्ञहरुसँगको छलफल गरेर प्रदर्शनीहरु राख्दा त्यो राम्रो हुने बताए ।

उनले विज्ञान संग्रहालय जाँदा केही नयाँ कुरा सिक्न पाउने हुँदा मात्रै जाने बताए । ‘यो म्युजियममा जाँदा केही नयाँ कुरा सिकेँ थाहा पाए भन्ने नै छैन,’ प्राडा अधिकारीले भने,‘जब साइन्स म्युजियमबाट नयाँ कुरा सिक्ने अवस्था नै छैन भने मानिस किन त्यहाँ जान्छ ?’

विज्ञान अध्येता उत्तमबाबु श्रेष्ठले विज्ञान संग्रहालयले समाज र विज्ञानलाई जोड्ने किसिमका प्रदर्शनीहरु हुनुपर्ने बताए । संग्रहालयमा राखिने वस्तुहरुले मुलुकको विज्ञानलाई पनि प्रतिबिम्ब गर्ने उनले बताए ।


‘समाज र विज्ञानलाई जोड्ने किसिमका प्रदर्शनीहरुस्थल भएन भने संग्रहालयप्रति आकर्षण नबढ्न पनि सक्छ,’ उनले भने । विज्ञान संग्रहालयले हरेक व्यक्तिलाई उत्सकुता जगाउने किसिमका प्रदर्शनी र जानकारीहरु दिन सक्नुपर्ने उनको भनाइ छ ।

तस्बिरहरू : कविन अधिकारी

प्रकाशित : चैत्र २४, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?