१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मुक्तिकोटमा अध्ययन टोली : गरिबीले कुपोषण भयावह

१ सय ९६ जना किशोरी/महिलासमेत कुपोषित, ४३ को अवस्था गम्भीर
वसन्तप्रताप सिंह

बझाङ — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ को मुक्तिकोटका आमाहरूमा पनि कुपोषणको अवस्था भयावह रहेको एक अध्ययनले देखाएको छ । १ सय ९६ जना १० वर्षभन्दा माथिका किशोरी/महिलासमेत कुपोषित रहेको र तीमध्ये ४३ को अवस्था गम्भीर रहेको अध्ययनले निष्कर्ष निकालेको हो ।

मुक्तिकोटमा अध्ययन टोली : गरिबीले कुपोषण भयावह

‘जहाँ हरेक आमाले गुमाएका छन् सन्तान’ शीर्षकमा चैत ८ गते कान्तिपुर दैनिकमा यही गाउँमाथि समाचार प्रकाशित भएपछि स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य र पोषण अवस्थाबारे पाँच दिनसम्म अध्ययन गरेको थियो ।

गाउँपालिकामा प्रस्तुत प्रतिवेदनमा यहाँका एउटै महिलाले १३ वटासम्म बच्चा जन्माएको, हरेक तीन आमामध्ये दुई जनाले कम्तीमा १ सन्तान गुमाएको उल्लेख छ । सन्तान गुमाएका आमासँग अहिले पनि अधिकतम ५ वटासम्म बच्चा जीवितै रहेको अध्ययनका क्रममा पाइएको छ । ६१ जना पाँच वर्षमुनिका बालबालिका कुपोषित रहेको र तीमध्ये १६ को अवस्था गम्भीर स्वास्थ्यकर्मीको टोलीले पत्ता लगाएको छ । मुक्तिकोटमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा कुपोषण लक्षित बहिरंग उपचार केन्द्रसमेत स्थापना गरेर गम्भीर प्रकृतिका बिरामीको टोलीले उपचार गरेको स्वास्थ्य केन्द्र प्रमुख उमेश शाहीले बताए । त्यस क्रममा ५१ जनाले उपचार सेवा पाएका थिए ।

समाचार प्रकाशनपछि अवस्था अध्ययन गर्न स्वामीकार्तिकका सामुदायिक स्वास्थ्य अधिकृत डिल्लीबहादुर वलीको नेतृत्वमा १७ सदस्यीय टोली मुक्तिकोट पुगेको थियो । टोलीमा पोषण पुनःस्थापना गृह बाजुरा, सुआहारा कार्यक्रमका पोषण अधिकृत र सहजकर्ता, सुदूरपश्चिम प्रदेशको प्रदेश नीति तथा योजना आयोग, बहुक्षेत्रीय पोषण योजना र युनिसेफका प्रतिनिधि सहभागी थिए । चारवटा छुट्टाछुट्टै टोली बनाएर प्रत्येक घरका महिला र बालबालिकाको स्वास्थ्य र पोषणको अवस्था अध्ययन गरिएको थियो । सो क्रममा सरकारले अभियान नै सञ्चालन गरेर खुवाउने भिटामिन ‘ए’ र अनिर्वाय रूपमा लगाउनुपर्ने खोपबाट बालबालिका वञ्चित भएको पाइएको छ । ६ महिनादेखि ५ वर्षसम्मका २ सय ८२ बालबालिकामध्ये १९ प्रतिशतले पूर्ण खोप नपाएको र २०७८ कात्तिकमा सञ्चालन गरिएको भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रमबाट मुक्तिकोटका २८ प्रतिशत बालबालिका वञ्चित भएको अध्ययनका क्रममा देखिएको गाउँपालिकाले जनाएको छ ।

यहाँका ६३ प्रतिशत महिला घरमै असुरक्षित सुत्केरी हुने र त्यसकै कारण नवजात शिशुको मृत्यु हुने गरेको अध्ययन टोलीका सदस्य सुआहारा कार्यक्रमका वरिष्ठ कार्यक्रम संयोजक लोकबहादुर नेपालीले बताए । ‘बच्चा जन्मेको एक घण्टादेखि २८ दिनसम्म मर्ने गरेको पाइयो,’ उनले भने, ‘वैशाखयता मात्रै २८ दिनभन्दा कम उमेरका ८ जना नवजात शिशुको मृत्यु भएको छ । कुपोषित आमाले जन्माएको बच्चाले तुरुन्तै उपचार नपाउँदा बाल मृत्युदर बढेको देखियो ।’ अध्ययन गरिएका २ सय ४३ घरमध्ये ९४ घरमा अझै पनि शौचालय नभएको र सरसफाइको अवस्था पनि दयनीय देखिएको उनले बताए ।

कुपोषणको मारमा परेका स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटका बालबालिका र आमाहरू । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

गरिबीका कारण खान नपाएर बालबालिका, महिला र किशोरकिशोरी कुपोषित हुने गरेको पनि अध्ययनले देखाएको छ । १८ परिवारलाई आफ्नै उत्पादनले १ दिन पनि खान नपुग्ने, १ सय ८६ परिवारलाई १ महिना पुग्ने, २७ परिवारलाई ३ महिनाभन्दा कम र ७ परिवारलाई मात्रै आफ्नै उत्पादनले ६ महिनाभन्दा बढी खान पुग्ने प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने, ‘त्यहाँको अवस्था सम्बोधन गर्न तत्कालै सबै क्षेत्रबाट पहल गरिहाल्नुपर्छ ।’

आफ्नो अवस्थाबारे बुझ्न यसअघि कोही नआएको र अहिले आएको टोलीले प्रत्येक घरमा जाँचबुझ गरेको स्थानीय नवीन विकले बताए । ‘डेटा लिन त पहिला पनि मान्छे आउँथे । एउटा डाँडामा बसेर टिपेर जान्थे,’ उनले भने, ‘अहिले आएको टोलीले सबैका समस्या सोधेर गएको छ । केही हुन्छ कि भन्ने आशा छ ।’

अध्ययन टोलीले यहाँको समस्या समाधानका लागि अति गरिब घरपरिवारलाई तत्काल खाद्यान्न वितरण गर्नुपर्ने, विद्यालयमा किशोरीका लागि पनि दिवा खाजाको व्यवस्था गर्नुपर्ने, रकम अभावका कारण पोषण पुनःस्थापना केन्द्रमा जान नसक्ने विपन्न परिवारका बालबालिकालाई यातायात खर्चको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । यस्तै, पहिचान गरिएका कुपोषित बालबालिकाको निगरानी गरी सुधार नहुँदासम्म निरन्तर उपचारमा राख्न संवेदनशील भई सेवा प्रवाह गर्नुपर्ने, औषधिको निरन्तर आपूर्ति गर्नुपर्ने, खानेपानीको निरन्तर आपूर्ति र एकीकृत स्वास्थ्य क्याम्प सञ्चालन गर्नुपर्ने टोलीको सुझाव छ । घरैमा सुत्केरी हुने आमाको संख्या अधिक रहेकाले स्थानीय स्वास्थ्य संस्थामा प्रसूति गृह स्थापना गर्नुपर्ने, तत्काल शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने पनि सुझाव दिइएको छ ।

अध्ययन टोलीले देखेका र प्रतिवेदनले सुझाएका कुरा सम्बोधनका लागि पालिकाले पहल गरिरहेको स्वामीकार्तिक खापरका सामुदायिक स्वास्थ्य अधिकृत डिल्लीबहादुर वलीले बताए । ‘हामीले तत्काल एकीकृत स्वास्थ शिविर सञ्चालन गर्ने र त्यही गाउँमा बर्थिङ सेन्टर स्थापनाको तयारी गरेका छौं,’ उनले भने, ‘अरू समस्या कसरी समाधान गर्न सकिन्छ भनेर पनि विभिन्न निकायसँग छलफल गरिरहेका छौं ।’

स्थानीयले पिउने पानी पिउँदा अध्ययन टोलीमा गएका सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृत निरज भट्टराई सिकिस्त बिरामी परेका थिए । झाडाबान्ता भएका उनलाई बोकेर कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । उनको अवस्था गम्भीर भएकाले त्यहाँ उपचार हुन नसकेपछि नेपालगन्ज रेफर गरिएको थियो ।

प्रकाशित : चैत्र २३, २०७८ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?