कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सम्बन्ध सुदृढ बनाउन जोड

राजेश मिश्र

नयाँदिल्ली — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय एकल र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले आपसी सम्बन्ध थप बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेका हुन् । उनीहरूबीच करिब एक घण्टा द्विपक्षीय संवाद भएको थियो । 

सम्बन्ध सुदृढ बनाउन जोड

संवादमा दुवै नेताले दुई मुलुकबीचको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने बताएको बैठकमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । बैठकपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी संयुक्त वक्तव्यमा दुवै नेताले दुई देशबीचको भूगोल, इतिहास, संस्कृति, वाणिज्य र जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ । बैठकपछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले नेपाल–भारतको पुरानो सम्बन्धबारे चर्चा गरे । उनले मोदीलाई कोभिड महामारीका बेला भारतले गरेको सहयोगका लागि धन्यवाद दिए । उनले सन् २०१४ मा मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदानका लागि आफूहरू सहमत भएको बताए । देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । ‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं, प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्न म प्रतीक्षारत छु,’ उनले भने ।

प्रधानमन्त्री देउवाले सीमा संयुक्त चेकपोस्ट निर्माणलाई गति दिन र चाँदनी–दोधारामा समेत त्यस्तो चेकपोस्ट निर्माणका लागि सहयोग गर्न आफूले आग्रह गरेको बताए । यस्तै, थप हवाई रुट उपलब्ध गराउन पनि आफूले भारतलाई आग्रह गरेको देउवाको भनाइ थियो ।

देउवाले सीमा विवादलगायत अन्य धेरै विषयमा छलफल भएको बताए । देउवाभन्दा अघि सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कतै पनि नभेटिने बताए । मोदीले नेपाल–भारतको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीनकालदेखि जोडिएको बताए । ‘परापूर्वकालदेखि नै भारत र नेपाल सुख, दुःखका साथी हौं, साझेदारीको आधार पनि त्यही हो,’ उनले भने, ‘दुई देशबीचको मित्रता र नागरिकबीचको यस्तो विशाल सम्बन्ध विश्वमा कतै देख्न पाइँदैन ।’ उनले नेपालको सम्बन्धमा भारतको नीति त्यही आत्मीयताले प्रेरित रहेको बताए । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारत दृढ साथीका रूपमा रहेको र रहने उनको भनाइ थियो ।

संयुक्त पत्रकार सम्मेलन गर्नुअघि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट जयनगर–जनकपुर–कुर्था रेल्वे लाइन उद्घाटन गरे । दुवै प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि जनकपुरमा रेल कुदेको थियो । त्यस्तै, दुवैले ९० किलोमिटर लामो सोलु करिडोर विद्युत् प्रसारण लाइनको पनि भर्चुअल उद्घाटन गरेका थिए । भारतको एक्जिम बैंकको ऋणमा निर्माण गरिएको प्रसारण लाइनको दिल्लीस्थित हैदराबाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सिरहाको मिर्चैयादेखि सोलुको तिङ्लासम्मको ९० किलोमिटर लामो प्रसारण १३२ केभी डबल सर्किट लाइनको निर्माण गत पुसमा सम्पन्न भएको थियो, जसमा ३ सय २ वटा टावर छन् ।

भारतले विकास गरेको ‘रुपे’ कार्डको नेपालमा प्रयोगको शुभारम्भ पनि दुवै प्रधानमन्त्रीले गरेका छन् । भारतीय बैंकहरूले भिसा र मास्टर कार्डजस्तै ‘रुपे’ कार्ड जारी गरेका छन् । भारतीय नागरिकले नेपालमा उक्त कार्ड प्रयोग गर्ने बाटो खुलेसँगै नेपालको पर्यटन क्षेत्रलाई टेवा पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा भूकम्पपछि भारतको सहयोगमा भइरहेको १ सय ३२ वटा हेल्थपोस्ट पुनर्निर्माणको पनि दुवै प्रधानमन्त्रीले भर्चुअल अवलोकन गरेका थिए ।

देउवा र मोदीकै उपस्थितिमा चारवटा विषयमा समझदारी र सम्झौता सम्पन्न भएको छ । ती समझदारी र सम्झौतामा दुई मुलुकका सम्बन्धित मन्त्रालयका उच्च अधिकारीले हस्ताक्षर गरेका थिए । इन्टरनेसनल सोलार एलाइन्समा नेपालको प्रवेशसम्बन्धी समझदारी, इन्डियन आयल कर्पोरेसन र नेपालको आयल निगमबीच पेट्रोलियम पदार्थ आपूर्ति सम्झौता, इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच प्राविधिक सहयोग सम्झौता तथा सीमापार रेलसम्बन्धी प्राविधिक सहयोग समझदारीपत्रमा हस्ताक्षर भएको हो । अन्तर्राष्ट्रिय सोलार एलाइन्समा नेपालको सहभागिता, रेल्वेको प्राविधिक क्षमता विकासमा सहयोग, पेट्रोलियम पदार्थको आगामी ५ वर्षसम्मको आपूर्ति तथा पेट्रोलियम क्षेत्रमा प्राविधिक सहयोगसम्बन्धी सम्झौताको आदानप्रदान गरेपछि दुवै मुलुकका प्रधानमन्त्रीले ऊर्जासँग सम्बन्धित वार्तालाई विशेष महत्त्व दिएका थिए ।

नेपाल भारत र फ्रान्सले अघि सारेको इन्टरनेसनल सोलार एलायन्स (आईएसए) को सदस्य बनेको छ । आईएसएको नेपाल १ सय ५ औं राष्ट्र हो । ‘नेपाल इन्टरनेसनल सोलार एलायन्सको सदस्य बनेकामा खुसी छ,’ देउवासँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘यसले हाम्रो क्षेत्रमा दिगो, मितव्ययी र स्वच्छ ऊर्जा उपलब्ध गराउनेछ ।’ भारतको गुरुग्राममा मुख्यालय रहेको एलायन्सको उद्देश्य सौर्य ऊर्जाको उपभोग बढाउने र जीवाष्मा ऊर्जाको प्रयोग घटाउने हो ।

पत्रकार सम्मेलनमा मोदीले विभिन्न महत्त्वपूर्ण विषयमा आफूहरूबीच सघन र सार्थक छलफल भएको बताउँदै ऊर्जा क्षेत्रमा सहयोग र दुवै पक्षले लाभ लिने विषयमा आफूहरू सहमत भएको उल्लेख गरेका छन् । भेटवार्तापछि जारी ‘ज्वाइन्टभिजन स्टेटमेन्ट अन पावर सेक्टर कोअपरेसन’ मा भविष्यमा दुई देशको साझेदारीका लागि ‘ब्लु प्रिन्ट’ सावित हुने प्रधानमन्त्री मोदीको भनाइ थियो । उनले नेपालले उत्पादन भएर बढी भएको बिजुली भारतलाई निर्यात गर्नु सुखद रहेको र त्यसले नेपालको प्रगतिमा सघाउने विश्वास व्यक्त गरे । भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा नेपालले ऊर्जा क्षेत्रमा गरेको प्रगतिका लागि भारतले नेपाललाई बधाई दिएको उल्लेख छ । त्यस्तै देउवाले नेपालको बिजुलीलाई भारतको बजारमा पहुँच र विद्युत् व्यापारको आग्रह गरेका थिए । उनले विद्युत् क्षेत्रमा भारतले गरेको योगदानको प्रशंसासमेत गरे ।

यसैगरी नेपाल र भारतबीच लामो समयदेखि थाती रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई चाँडै अघि बढाउने सहमति पनि भएको छ । द्विपक्षीय र एकल भेटवार्तापछिको पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजना यस क्षेत्रको विकासका लागि गेमचेन्जर बन्ने बताए । नेपाल र भारतबीच २५ वर्षअघि पञ्चेश्वर बहुउद्देश्यीय परियोजना सम्झौता भएको थियो । २०५३ सालमा देउवा पहिलो पटक प्रधानमन्त्री भएकै बेला एकीकृत महाकाली सन्धिअन्तर्गतको यो परियोजनाका लागि नेपाल र भारतबीच सम्झौता भएको थियो । आयोजनाबाट ६ हजार ४ सय ८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । तर, पानी बाँडफाँटका सम्बन्धमा सहमति नहुँदा यतिका वर्ष बितिसक्दा पनि परियोजनाको विस्तृत परियोजना (डीपीआर) प्रतिवेदन टुंगो लागेको छैन । प्रधानमन्त्री देउवा आइतबार बिहान उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाने कार्यक्रम छ । उक्त भ्रमणमा देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ । बनारसको काशी विश्वनाथको मन्दिरमा दर्शन गरेर प्रधानमन्त्री देउवा आइतबार बेलुकी काठमाडौं आउनेछन् ।

ईपीजीको कुरा उठेन
देउवा र मोदीबीचको भेटमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित अन्य सन्धि–सम्झौता पुनरावलोकन, संशोधन वा खारेजीसम्मको प्रक्रियालाई अघि बढाउन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनबारे भने छलफल भएन । पत्रकार सम्मेलनमा दुवै मुलुकका थाँती रहेका विषयवस्तुमाथि कुराकानी भएको भनिए पनि ईपीजीकै विषयमा कुरा भएको वा नभएको प्रस्ट पारिएको छैन ।

ईपीजीले प्रतिवेदन तयार पारेको चार वर्ष भइसक्दासमेत अहिलेसम्म भारतीय पक्षले प्रतिवेदन नबुझ्दा उक्त दस्ताबेज अलपत्र परेको छ । २०७२ सालमा गठित ईपीजीले २०७५ असारमै आफ्नो काम पूरा गरेको थियो । २०७३ असार २०–२१ मा ईपीजीको पहिलो बैठक नेपालमा बसेको थियो । उक्त बैठकले सुरुमा भारतीय प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो । २०७५ असार १५–१६ मा काठमाडौंमा सम्पन्न ईपीजीको अन्तिम (नवौं) बैठकले साझा प्रतिवेदन ल्याएको थियो ।

दुवै मुलुकका ८ जना (नेपालका चार र भारतका चार) को सहमतिअनुसार एक महिनाभित्र दुई देशकै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो । भारतीय पक्षबाट प्रधानमन्त्री मोदीको समय नमिलेको भन्दै ‘उपयुक्त समय’ को पर्खाइमा नेपाल रहेको छ । भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यले आफूसँगको भेटमा मोदीले ईपीजीको रिपोर्ट बुझ्ने भनेको तर भारतीय पक्षबाट त्यसको पहल नभएको उल्लेख गरेका छन् । ‘त्यो किन भयो, मलाई पनि थाहा छैन,’ उनले भने ।

प्रकाशित : चैत्र २०, २०७८ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?