प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासहितको भ्रमण टोली नेपाल एयरलाइन्सको विमानमार्फत भारत गएको हो ।

प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत प्रस्थान

देउवाको बिदाइका लागि विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीहरू पुगेका थिए । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन् ।

प्रधानमन्त्री देउवासँग शुक्रबार दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्नेछन् । भ्रमण टोली नयाँदिल्ली चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछ । त्यहीँ विदेशमन्त्री जयशंकरसँगको भेटवार्ता तय भएको हो ।

त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालय पुग्नेछन् । भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन् । दूतावासले दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिलाई पनि उक्त कार्यक्रममा बोलाएको छ ।

दोस्रो दिन शनिबार बिहान १०ः४० मा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नेछन् । त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । खानापछि संयुक्त वक्तव्य जारी गर्दै त्यहाँको कार्यक्रम सकिनेछ ।

देउवाले अपराह्न साढे ४ बजे भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । भारतका राष्ट्रपति रामनाथ कोविन्द पूर्वनिर्धारित कार्यक्रमअनुसार अप्रिल १ देखि ७ तारिखसम्म विदेश यात्रामा रहने भएकाले उपराष्ट्रपतिसँग देउवाको भेट हुने भएको हो । त्यही साँझ होटलमा भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रियामा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् । भ्रमणको तेस्रो दिन प्रधानमन्त्रीसहितको टोली बिहानै बनारसका लागि प्रस्थान गर्नेछ । भारत सरकारले विशेष विमानबाट बनारस लाने–ल्याउने व्यवस्था मिलाएको छ । त्यही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित विमानबाट प्रधानमन्त्री काठमाडौं फर्किनेछन् ।

प्रकाशित : चैत्र १८, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?