३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मेयर ताक्दै मन्त्री र सांसद

मर्यादाक्रम तल भए पनि पर्याप्त बजेट परिचालन गर्ने अवसरका कारण संघ र प्रदेशका सांसदहरुसमेत स्थानीय तहको प्रमुखमा चुनाव लड्ने तयारीमा, विराटनगर महानगरको प्रमुखमा केन्द्रीय नेता र मन्त्री भइसकेकाहरुकै आकांक्षा

विराटनगर‚ धनुषा — आसन्न स्थानीय निर्वाचनमा विराटनगर महानगरको प्रमुखका लागि विभिन्न दलका केन्द्रीय सदस्य, पूर्व संघीयमन्त्री र प्रदेश मन्त्रीहरूले आकांक्षा देखाएका छन् । एमालेबाट महानगरको मेयरका लागि संघीय सांसद एवं पूर्वमन्त्री लालबाबु पण्डित, प्रदेशका पूर्वमन्त्री जीवन घिमिरे र केन्द्रीय सदस्य गुरु बरालले इच्छा देखाएका हुन् ।

मेयर ताक्दै मन्त्री र सांसद

बराल राष्ट्रिय सभाको पछिल्लो निर्वाचनमा गोलाप्रथामा पराजित भएका थिए । उनीहरूसहित एमालेबाट महानगर अध्यक्ष सागर थापा, एमाले खेलकुद विभाग संयोजक पर्शुराम बस्नेत, बाबुराम कार्की र रामलाल साहको नाम पनि टिकटको दौडमा छ ।

अघिल्लो निर्वाचनमा पराजित विनोद ढकाल भने यसपालि महानगर प्रमुखको दौडबाट बाहिर छन् । ढकाल दोस्रो भएका थिए । उनले आफू मेयरको आकांक्षी नभएको बताएका छन् । पण्डित, घिमिरे र बरालले मौखिक रूपमा मेयरको दाबी नगरे पनि निकटबाट आफ्नो नाम चर्चा गर्न लगाएर परिस्थिति बुझिरहेको एमाले स्रोतले बतायो । पार्टीले चाहेमा मेयरमा उठ्न तयार रहेको पूर्वसामान्य प्रशासनमन्त्री पण्डितले कान्तिपुरसँग बताए । ‘आफैंले उठ्छु भनेर हुँदैन,’ उनले भने, ‘पार्टीले भनेमा पछि हट्दिन, पार्टीको निर्णय सर्वोपरी हुनेछ ।’ प्रदेशका पूर्व सामाजिक विकासमन्त्री घिमिरेले पनि पार्टीले योग्य ठानेमा मेयरमा उठ्न तयार रहेको बताए । ‘प्रदेशका पूर्वमन्त्रीले मेयरमा आकांक्षा राख्न हुन्न भन्ने छैन,’ उनले भने, ‘पार्टीले निर्णय गरेमा उठ्न तयार छु ।’

कांग्रेसबाट हालका मेयर एवं केन्द्रीय सदस्य भीम पराजुली, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला, राप्रपा पूर्वकेन्द्रीय सदस्य एवं नवकांग्रेसी रामकृष्ण भट्टराई (उनी पूर्वप्रधानपञ्च हुन्), जिल्ला उपाध्यक्ष नागेश कोइराला र नगर सभापति दीपक चापागाईं टिकटको दौडमा छन् । पराजुली गएको निर्वाचनमा कोइराला खेमाबाट उम्मेदवार बनेका थिए । उनी अहिले पार्टी सभापति शेरबहादुर देउवाको खेमाबाट केन्द्रीय सदस्य भएका छन् । पराजुलीसहित अर्याल, संग्रौला र भट्टराई देउवा समूहका हुन् । नागेश र चापागाईं कोइराला समूहका हुन् । अर्याल र संग्रौलाबाहेक सबैले चुनावी प्रचारप्रसार अभियान सुरु गरिसकेका छन् ।

सत्ता गठबन्धनबीच चुनावी तालमेल भए संघीय निर्वाचनमा मोरङ क्षेत्र ५ माओवादी केन्द्र वा जसपाको भागमा पर्ने स्थिति रहेकाले अर्याल मेयरमा फर्कने तयारीमा रहेको स्रोतको दाबी छ । उनी एक पटक संविधानसभा सदस्य निर्वाचित भइसकेका छन् । तत्कालीन उपमहानगरपालिकाको मेयरमा र गत संघीय निर्वाचनमा क्षेत्र ५ मा अर्याल पराजित भएका थिए । अघिल्लो निर्वाचनमा पनि अर्याल मेयरका आकांक्षी थिए तर टिकट पाउन सकेनन् ।

जसपाबाट प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादवले पनि मेयरमा आकांक्षा देखाएका छन् । परिस्थिति अनुसार मेयरमा आउन तयार रहेको उनले बताए । पार्टी अध्यक्ष उपेन्द्र्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी घोषणा गरेर चुनावी अभियान थालिसकेका छन् । अघिल्लो निर्वाचनमा पराजित उमेश यादव पनि चुनावी अभियानमा जुटेका छन् । तत्कालीन उपमहानगर हुँदा एमालेबाट उपमेयर भएका र पछिल्लो समय जसपामा सक्रिय भूराज राई पनि मेयरमा उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा छन् । जसपाकै केन्द्रीय सदस्य तेजलाल कर्णले मेयरमा उठ्ने इच्छा देखाएका छन् । मधेस प्रदेशका सांसदहरूले पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन कसरत थालेका छन् । प्रदेशको तुलनामा स्थानीय तहमा पर्याप्त बजेट परिचालन गर्ने अवसर मिल्ने भएकाले सांसदहरूले स्थानीय तहमा उम्मेदवार बन्ने तयारी गरेका हुन् ।

मर्यादाक्रम तल भए पनि आर्थिक परिचालनको आकर्षणले प्रदेश सांसदहरू स्थानीय तहको मेयरमा चुनाव लड्ने तयारीमा जुटेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशसभाका प्रमुख सचेतक परमेश्वर साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका छन् । लोसपाका धनुषा अध्यक्षसमेत रहेका उनले उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिन लागेको बताए । उम्मेदवारी दिनुअघि प्रदेश सांसदबाट राजीनामा दिने उनको तयारी छ । उनी यसअघि २०४९ सालको स्थानीय चुनावमा साविकको मानसिंहपट्टी गाविस–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए भने २०५४ को स्थानीय चुनावमा कांग्रेसबाट मानसिंहपट्टी गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

जनता समाजवादी पार्टी (जसपा) का सांसद एवं मधेस प्रदेशका संसदीय विकास समिति सभापति शेषअब्दुल कलाम आजादले पनि मेयरमा उम्मेदवारी दिने भएका छन् । रौतहट क्षेत्र ४ (ख) बाट प्रदेशसभा सांसदमा निर्वाचित आजादले गढिमाई नगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका छन् । मेयरमा उम्मेदवारी दिने करिब पक्का रहेको उनले दाबी गरे । उम्मेदवारीका लागि वैशाख १० मा प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने उनले बताए । २०७४ असोज २ को स्थानीय चुनावमा गढिमाई नगरपालिकाको मेयरमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका उनी पराजित भएपछि स्वतन्त्र रूपमा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर निर्वाचित भएका थिए । स्थानीयको मागअनुसार आफूले पालिका प्रमुखमा उम्मेदवारी दिन लागेको उनले बताए ।

आसन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने र चुनावको तयारीमा लाग्नेहरू धेरैजसो पुरानै अनुहार छन् । गत निर्वाचनमा पराजित भएकाहरू नै उम्मेदवार बन्न तँछाडमछाड गरिरहेका छन् । राजनीतिक दलले पनि ५ वर्षमा पार्टीमा नयाँ, कुशल र स्थानीय तह हाँक्ने नेतृत्व तयार गर्न नसक्दा पुरानै उम्मेदवार आसन्न निर्वाचनमा दोहोरिने सम्भावना छ । सहरकेन्द्रित भएर राजनीति गर्ने नेताहरू गाउँ–गाउँ गएर शुभचिन्तकसँग भेटघाटमा व्यस्त छन् । गाउँमा आक्कलझुक्कल देखा पर्ने नेताहरू वडाध्यक्ष र स्थानीय तहका प्रमुख बन्नका लागि सहर छोडेर गाउँमा दिन बिताउन थालेका छन् ।

अघिल्लो निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस प्रवेश गरेका राकेशविक्रम साह राजनीतिमा सक्रिय समाजसेवीको अभाव भएको बताउँछन् । पढेलेखेका युवा र इमन्दार सक्रिय समाजसेवीले दाबी नगर्दा व्यापारी र ठेकेदार उम्मेदवार बन्ने गरेको उनले बताए । ‘व्यापारी र ठेकेदार पैसा खर्चेर निर्वाचित भएपछि विकासभन्दा पनि चुनावमा लागेको खर्च उठाउनतिर लाग्छन्,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नु युवाको अधिकार हो । पार्टीको निर्णय कार्यकर्ताले मान्नैपर्छ तर नयाँ कार्यकर्ता उम्मेदवार नबन्दा पार्टी कमजोर हुन्छ ।’

अघिल्लो निर्वाचनमा उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका साहले आसन्न निर्वाचनमा मेयरको उम्मेदवारी घोषणा गरेका छन् । आसन्न निर्वाचनमा धनुषाको विदेह नगरपालिकामा मेयर लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा गरेर गोविन्द साह पनि निर्वाचनको तयारीमा लागेका छन् ।

प्रकाशित : चैत्र १८, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?