मधेसमा स्वागत द्वार बनाउने होड- समाचार - कान्तिपुर समाचार

मधेसमा स्वागत द्वार बनाउने होड

वर्षामा बस्ती जलमग्न पार्ने पानीको निकास छैन, सडक र बजार अव्यवस्थित छन्, खेतमा सिँचाइ, विद्यालयमा कक्षाकोठा र शिक्षकको अभाव छ तर लाखौं खर्चेर स्वागत द्वार बनाउने होडमा छन् मधेसका स्थानीय तह 
जनप्रतिनिधिले जनताको माग भन्ने गरे पनि लिइँदैन स्थानीयको राय
मधेस ब्युरो

जनकपुर — पहाडमा भ्यु टावर जस्तै मधेस प्रदेशका स्थानीय तह र संसदीय क्षेत्रपिच्छे स्वागत द्वार बनाउने होडबाजी चलेको छ । वर्षामा हिलाम्मे र हिउँदमा धूलो उडाउने बाटोलाई त्यत्तिकै छाडेर यहाँका जनप्रतिनिधि राज्यको करोडौं बजेट खर्चेर स्वागत द्वार बनाउने विकासको कुरूप मोडलमा रमाइरहेका छन् ।

सडक फराकिला बन्दै छन् तर पैदल यात्रु आवागमनको चाप रहने कतै पनि आकाशे पुलका योजना छैनन् । स्वागत द्वार भने पालिकैपिच्छे बनाइएका छन् ।

धनुषाको भारतीय नाका जटहीदेखि पूर्वपश्चिम राजमार्ग ढल्केवर ६ लेनको सडकले जोडिएको छ । व्यापारिक मार्गअन्तर्गत निर्माण गरिएको ३८ किलोमिटर ६ लेन सडक खण्डमा कंक्रिटका दुई सहिदद्वार बनाइएको छ । यो सडक दुई लेनको हुँदा जटहीको सीमा प्रहरी चौकीनेर सडक ढाकेर बनाइएको सहिद दुर्गानन्द झा अंकित गेट भने अहिले साँघुरो हुँदा कुरूप मात्र देखिन्न, ६ लेनमा दुर्घटनाको जोखिम पनि बढाएको छ । सडकको बीचको डिभाइडर ओगटेर बसेको त्यो गेट सहिदकै नाममा भएकाले नभत्काई त्यत्तिकै छाडिएको छ ।

जनकपुरधाम उपमहानगरको मुजेलियास्थित कभर्डहल जाने सडक वर्षात्मा ५ महिना जलमग्न हुन्छ । मुख्य सडक जेठदेखि असोज–कात्तिकसम्म जलमग्न हुँदा मोटरसाइकल, साइकल र पैदल आवागमन पनि कठिन हुन्छ । सडकमै ४ फिटसम्म पानीको बहाव हुँदा पनि जनकपुरधाम उपमहानगरपालिकाले सडक मर्मतका लागि पछिल्लो ५ वर्षमा पहलै गरेन ।

जनकपुरको मुजेलियास्थित बनाइएको स्वागत द्वार ।

वर्षात्को समयमा जनकपुरको पुल्चोक, कटैयाचौरी, आँखा अस्पताल क्षेत्र, बलवा टोलको भित्री सडक पनि डुबानमा पर्छ । जनकपुरकै संकटमोचन माविमा कक्षाकोठा अभाव छ । एउटै कोठामा १ सय ६० विद्यार्थी कोचिएर पढ्छन् । भवन अभावमा दुई सिफ्टमा कक्षा चलाउनु परेको छ । ३ हजार २ सय ५० विद्यार्थी छन् । कक्षा कोठा २२ वटा मात्रै हुँदा पढ्न र पढाउन समस्या रहेको प्रधानाध्यापक बलिराम साहले बताउँछन् ।

उपमहानगरपालिकाले भने भर्खरै ६ लेन सडकको मुजेलियामा ४ करोड रुपैयाँको लागतमा भव्य सहिदद्वार निर्माण गरेको छ । ढल्केबर–जनकपुर सडक खण्डमा ३ करोड ८८ लाख बजेट खर्चेर धनुष आकारको गेट बनाएर त्यसमाथि ५० लाख रुपैयाँको रामको प्रतिमा राखिएको छ । यस्तै, धनुषाको औरही गाउँपालिकाले झिटकाहीमा प्रवेशद्वार बनाएको छ । साँघुरो कच्ची सडकमा पक्की प्रवेशद्वार बनाएर त्यसमा महँगो टायलसमेत लगाइएको छ ।

प्रवेशद्वार बनाउने यतिबिघ्न होडबाजी छ कि वीरगन्ज महानगरपालिकाको बहुअरी र रमगढवा टोल प्रवेश गर्न ४ वटा प्रवेशद्वार बनाइएको छ । करिब एक किलोमिटर अन्तरमै प्रवेशद्वार निर्माण गरिएका छन् । ४ मध्ये २ प्रवेशद्वार प्रदेशसभा सदस्य अन्जुकुमारी यादव, एक/एक वटा प्रवेशद्वार प्रदेशसभा सदस्य रमेश पटेल र संघीय सांसद विमल श्रीवास्तवले निर्माण गर्न राज्यकोषको बजेट खर्चिएका हुन् । प्रवेशद्वारको निर्माणको माग सामान्यतया स्थानीय बासिन्दाबाट हुँदैन ।

वीरगन्ज महानगरपालिकाको बहुअरीमा निर्माण भएको प्रवेशद्वार ।

स्थानीयले विशेषगरी पक्की सडक, नाला, बिजुली बत्तीको विकास निर्माणको माग गर्छन् । सांसदहरूमा भने लामो समयसम्म स्थायी रूपले रहने र आआफ्नो नाम ती शिलालेखमा अंकित हुने लोभले प्रवेशद्वार निर्माणलाई नेताले प्राथमिकतामा राख्छन् । जिल्ला समन्वय समिति पर्साका अनुसार संघीय सांसदले चार आर्थिक वर्षमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत निर्वाचन क्षेत्रमा प्रवेशद्वार निर्माणमै ९२ लाख ५० हजार रुपैयाँ बजेट खर्च गरेका छन् । जिल्ला पूर्वाधार कार्यालयअनुसार पर्सामा प्रदेशसभा सांसदहरूले पनि निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत ४४ लाख ५० हजार रुपैयाँ प्रवेशद्वार निर्माणमा खर्चेका छन् ।

आव २०७५/७६ मा क्षेत्र नम्बर १ का सांसद प्रदीपकुमार यादवले आफ्नो क्षेत्रमा प्रवेशद्वार बनाउन १० लाख रुपैयाँ खर्चिए । उक्त आर्थिक वर्षमा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्णले अधुरो गेट निर्माणमा १० लाख रुपैयाँ खर्च गरे । आव २०७६/७७ मा फेरि क्षेत्र १ कै सांसद यादवले विभिन्न स्थानमा प्रवेशद्वार निर्माणमा २२ लाख रुपैयाँ र सांसद श्रीवास्तवले खानेपानी धारा (कल) जडान योजनालाई संशोधन गरी प्रवेशद्वार निर्माणमा ३१ लाख ५० हजार रुपैयाँ खर्च गरे । आव २०७७/७८ मा क्षेत्र नं १ का सांसद यादवले अधुरो प्रवेशद्वार निर्माणमा शीर्षकमा थप ९ लाख रुपैयाँ खर्च गरे ।

प्रदेशसभा सांसदमध्ये राजेश्वरप्रसाद साहले आव २०७५/७६ र आव २०७७/७८ मा गरी २ आर्थिक वर्षमा प्रवेशद्वार निर्माणमा १२ लाख ५० हजार रुपैयाँ खर्च गरे । अर्का प्रदेशसभा सांसद अबदुर रहिम अन्सारीले आव २०७७/७८ मा १५ लाख रुपैयाँ प्रवेशद्वार निर्माणमा खर्च गरेका छन् । प्रदेशसभा सांसद अन्जुकुमारी यादवले आव २०७६/७७ र आव २०७७/७८ मा गरी प्रवेशद्वार निर्माणमा १० लाख रुपैयाँ बजेट खर्च गरेकी छन् । संघीय सांसद श्रीवास्तवले आफूले स्थानीयस्तरबाटै माग आएपछि प्रवेशद्वार निर्माणमा बजेट विनियोजन गरेको बताए । प्रदेशसभा सांसद मञ्जुकुमारी यादवले स्थानीयको माग नभई प्रवेशद्वार निर्माण गर्ने सवालै नउठ्ने बताइन् । ‘स्थानीय मागअनुसार नै हामीले विकास निर्माणका काम योजनामा हाल्ने हो,’ उनले भनिन्, ‘त्यसैअनुरूप प्रवेशद्वार निर्माण भएका हुन् ।’

बारा सदरमुकाम कलैया र भारतीय सीमावर्ती गाउँपालिका फेटामा पक्की सडक बनाउनमा प्रयोग गरिने कच्चा पदार्थ बालुवा र गिट्टी पर्याप्त छ । उक्त कच्चा पदार्थ तयार गर्ने ४ वटा क्रसर उद्योग त्यहीं पालिकामा भएकाले पक्की सडक बनाउन अन्यत्रबाट सामान जुटाउनु पर्दैन । तर, त्यसलाई सदुपयोग नगरी पालिकाले पक्की सडक बनाउन खासै चासो देखाएनन् । प्राथमिकतामा प्रवेशद्वार निर्माण पर्‍यो । यी पालिकामा प्रवेश गर्ने चारै दिशाका सबै सडक कच्ची छ । तर, त्यही कच्ची सडकको चारै दिशाबाट पालिका प्रवेश गर्ने ठाउँमा चारवटा पक्की प्रवेशद्वार निर्माण गरिएको छ ।

साढे आठ लाखका दरले २५ लाखको लागत खर्चमा चारवटा प्रवेशद्वार बनाइएको हो । पश्चिमबाट प्रवेश गर्ने वडा २ को बिनवलिया गाउँमा गण्डक नहरसँगै र पूर्वबाट प्रवेश गर्ने पालिकाको वडा ७ कुकुरभुका गाउँनजिक प्रवेशद्वार बनाइएको छ । यसैगरी उत्तरबाट प्रवेश गर्ने पालिकाको वडा १ जोतपुर गाउँमा र दक्षिणबाट प्रवेश गर्ने वडा ५ को जोतपुर गाउँमा प्रवेशद्वार बनाइएको छ । पालिकाको पहिचान र सौन्दर्यका लागि चारै दिशामा प्रत्येक द्वार साढे आठ लाख रुपैयाँ खर्चका दरमा बनाइएको गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादको भनाइ छ । ‘पालिका प्रवेश गर्दा आगन्तुकको स्वागत पनि हुने र कसैले पालिका कहाँ छ भनेर सोध्नु पनि नपर्ने भनेर प्रवेशद्वार बनाइएको हो,’ उनले भने, ‘पक्की सडक बनाउन बढी खर्च लाग्छ । प्रवेशद्वारमा कम खर्चमा भव्य देखिने हुनाले बनाएका हौं ।’

यसैगरी बारागढी गाउँपालिका कार्यालय प्रवेश गर्ने ठाउँमा १३ लाखको लागतमा प्रवेशद्वार बनाइएको छ । ‘पालिका कार्यालयसँगै स्वास्थ्य, प्रहरी चौकी, बजारलगायत त्यहाँ बन्ने हुँदा सिंहदरबारको झल्को दिने गरी प्रवेशद्वार बनाइएको छ,’ गाउँपालिका अध्यक्ष देवदत्त बछाडले भने, ‘कार्यालय पस्दा सेवाग्राही, कर्मचारी र आगन्तुकलाई सिंहदरबारमा प्रवेश गरेको महसुस गराउन बनाइएको हो ।’

धनुषाको झिटकहियामा बनाइएको प्रवेशद्वार ।

कलैया उपमहानगरपालिकाले वडा १० मटिअर्वा गाउँको दसगजा छेउमा २ लाख खर्चेर प्रवेशद्वार बनाउन जग तयार गरेको छ । जिल्लामा पालिकाबाहेक सघन सहरी विकास कार्यालय, संघसंस्था र संसदीय विकास कोषबाट समेत प्रवेशद्वार निर्माण गरिएको छ । सुवर्ण गाउँपालिकाको कवहीगोठको सतगन्जमा देसगजा छेउमा संसदीय विकास कोष र अन्य चन्दा सहयोगबाट १४ लाख ६७ हजार लागतमा प्रवेशद्वार बनाइएको छ । पूर्वसभासद रामअयोध्या यादवका अनुसार आफू संविधानसभामा हुँदा ५ लाख आफ्नो कोष र ३ लाख पूर्वसभासद राधेचन्द्र यादवको कोषबाट गरी ६ लाख ६७ हजार अन्य चन्दा सहयोगबाट गढिमाई प्रवेशद्वार बनाइएको हो ।

यही सडकमा सघन सहरी विकास कार्यालय वीरगन्जले मझरिया गाउँ छेउमा महादेव मन्दिर सौन्दर्यीकरणका लागि २५ लाखको लागमा प्रवेशद्वार निर्माण गर्न लागेको महागढीमाई नगरप्रमुख उपेन्द्र यादवले बताए । यो सडकमा हुलाकी राजमार्ग आयोजनाले भर्खरै पिच गरेको छ । यसबाहेक सिम्रौनगढ नगरपालिका–९ को देवताल पोखरी छेउमा दसगजा नजिक सिम्रौनगढ पर्यटन क्षेत्र विकास कार्यालय वीरगन्जले १३ लाखमा प्रवेशद्वार बनाएको छ ।

सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डबाट कविलासी नगरको १ र २ वडा रहेको पिपरिया गाउँ जोड्ने सडकको अवस्था दयनीय छ । यहाँका बासिन्दा हिउँदमा धूलो र वर्षामा हिलोले सास्ती खेप्छन् । वर्षाका बेला त झन् आनै पालिकाको केन्द्र पुग्न पनि अरू स्थानीय तह पसेर घुमाउरो यात्रा गर्नुपर्छ । तर, जनप्रतिनिधि भने स्वागत गेटमा बजेट खन्याइरहेका छन् । सर्लाहीका संघीय सांसद प्रमोद साहले संसदीय क्षेत्र विकास कोषको रकमबाट नवलपुर, ईश्वरपुरलगायत क्षेत्रमा स्वागत गेटमा रकम खर्चिएका छन् । नवलपुरमा २० लाखको लागतमा प्रवेशद्वार बन्दै छ ।

सांसद साहकै कोषबाट ईश्वरपुर–१० मा पनि स्वागत गेट निर्माण थालिएको छ । सर्लाही क्षेत्र २ का संघीय सांसद तथा कृषिमन्त्री महिन्द्र यादवले समेत स्वागत गेटमा नै बजेट खर्चिरहेका छन् । किसानहरू बर्सेनि मल अभावको मार खेपिरहेका बेला उनले मलंगवाका दुई ठाउँ र पर्सा गाउँपालिकामा एउटा स्वागत गेटमा राज्यकोष लगानी गरेका छन् । मलंगवामा २५–२५ लाख लागतमा स्वागत गेट निर्माण गरिएको छ ।

सर्लाही चन्द्रनगर–१ किसनपुरदेखि नवलपुर–मलंगवा सडकको गैर बजार जोड्ने सडक कन्तबिजोग छ । तर, चन्द्रनगर गाउँपालिकाले पनि स्वागत द्वारमा रकम खर्चेको छ । चन्द्रनगरले तीन ठाउँमा स्वागत गेट निर्माणका लागि ६६ लाख छुट्याएको छ । यस्तै, सर्लाहीकै ईश्वरपुर र हरिवन नगरपालिकाले पनि स्वागत द्वारमा रकम खर्चेका छन् । ईश्वरपुरले ठाउँ स्वागत द्वार बनाएको छ । तीनवटा स्वागत द्वारका लागि झन्डै ३५ लाख खर्च भएको नगर प्रमुख मनोज देवकोटाले बताए ।

महोत्तरीको जलेश्वर नगर क्षेत्र वर्षामा जलमग्न हुन्छ । ढल निकास छैन । तर, नगरपालिकाले ५ वटा स्वागत द्वार बनाएको छ । चार वर्ष लगाएर द्वार निर्माणमा १ करोडभन्दा बढी खर्च भइसकेको छ । ‘पर्यटन विकास र आफ्नो ठाउँको पहिचानका लागि स्वागत द्वार निर्माण गरेको हो,’ नगरप्रमुख रामशंकर मिश्रले भने ।

मटिहानी बजार प्रवेशस्थलबाट निर्माणाधीन गेट ।

महोत्तरीकै मटिहानी नगरपालिकाले ३ वटा स्वागत द्वार बनाएको छ । दुई वटा तयार भएका छन् भने मटिहानी बजार प्रवेशद्वारको निर्माण जारी छ । २८ लाख १३ हजार नगरपालिकाको बजेट र २ लाख ९० हजार स्थानीयको श्रमदानबाट स्वागत द्वार पूरा हुने नगरपालिकाले जनाएको छ । यसअघि बनेका २ वटा स्वागत द्वारका लागि नगरपालिकाले ९६ लाख खर्च गरेको छ ।

महोत्तरीको मटिहानी नगरपालिकाले बनाएको स्वागत द्वार ।

सडकमा यस्ता संरचना बनाउन सडक विभागको अनुमति लिनुपर्छ । तर स्थानीय तहले विभागको प्राविधिक सुझाव आवश्यक नै ठानेका छैनन् । पिपरा गाउँपालिकाको बनौलीमा संसदीय विकास कार्यक्रमबाट गेट बनाउन २४ लाख खर्च भयो तर काम अधुरै छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पाँच वर्षअघि जलेश्वरको सीमावर्ती क्षेत्र भिठामोडमा एक करोडको लागतमा मिथिला प्रवेशद्वारको निर्माण सुरु गरेको थियो । सडकको मापदण्डअनुरूप नरहेको भन्दै २९ लाख रुपैयाँ खर्च गरिसकेपछि काम बीचमै रोकियो ।

जलेश्वरका स्थानीय नवीन झाले खानेपानी, शौचालय, बाटोघाटोका समस्यालाई प्राथमिकतामा नराखेर प्रदेशद्वारका नाममा बजेट सिध्याउनुलाई जनप्रतिनिधि दुर्बुद्धि हुनुको परिणाम भएको बताए । ‘स्थानीय तहले आफ्नो गाउँठाउँका जनताको दैनिकी सहज बनाउने योजनामा लगानी गर्नुपर्छ तर हाम्रा जनप्रतिनिधिको त्यति बुद्धि देखिएको छैन,’ उनले भने ।

सप्तरीको राजविराज–९ मलेठस्थित स्वास्थ्य चौकीको आफ्नो भवन छैन् । वडा कार्यालयको ३ वटा कोठामा चलाइएको छ । सबैजसो सडक कच्ची छन् । तर, जनप्रतिनिधि निर्वाचित भएलगत्तै नगरपालिकाले निर्णय गरेको थियो– मलेठमा सहिद स्तम्भ र गेट निर्माण गर्ने । मधेस आन्दोलनका क्रममा मलेठमा प्रहरीको गोली लागी ५ जना सहिद भएका थिए । उनीहरूको स्मृतिमा अघि सारिएको स्तम्भ र गेट निर्माणको योजनामा लाखौं भयो । ४८ लाखको लागत रहने भनिएको गेट अझै अधुरो छ । नगरपालिकाका इन्जिनियर अशोककुमार दासले ३३ लाख रुपैयाँ ठेकेदार कम्पनीले भुक्तानी लगिसकेको बताए । जनताको चाहनाअनुसार नै सहिद गेट निर्माणको निर्णय लिइएको राजविराज नगरप्रमुख शम्भु यादवले बताए ।

सप्तरीको राजविराज–९ मलेठमा बनाइएको सहिद गेट ।

सप्तरीको बोदेवरसाइन नगरपालिकामा गतिलो बाटो छैन । तर, नगरपालिकाले बिसनपुर–बरसाइन सडक खण्डमा ३० लाखको लगानीमा गेट बनाएको छ । स्वास्थ्य चौकी, विद्यालयको दुरवस्था छ । स्वास्थ्य, शिक्षाका तुलनामा सप्तरीमा निकै बढी बजेट प्रवेशद्वार निर्माणमा लगाइएको छ ।

रौतहटको चन्द्रपुर–८ सन्तपुर गाउँमा प्रवेशद्वारमा गत वर्ष नगरपालिकाले १५ लाख बजेटमा स्वागत गेट निर्माण थाल्यो । चन्द्रपुर–२ स्थित जुडिबेला गाउँ जाने मुख्य बाटोमा सहिद स्मृति जुडिबेला प्रवेशद्वार बनाइएको छ । ‘वडाहरूले योजनाको कुरा उठाउँदा स्वागत गेटको प्रस्ताव ल्याएको हुनाले बनाइएको हो,’ प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलले भने, ‘यसको कति महत्त्व छ भन्ने त्यो जनताले मूल्यांकन गर्छन् ।’

रौतहटको चन्द्रपुर–२ स्थित जुडिबेला गाउँ जाने मुख्य बाटोमा बनाइएको प्रवेशद्वार ।

एमाले नेता प्रभु साहले सांसद विकास कोषको रकमबाट पूर्वपश्चिम राजमार्गको धन्सार–जंगलसैया खण्डमा स्वागत गेट बनाउन लगाएका छन् । राज्यकोषको झन्डै ५० लाख खर्चेर गेट बनाइएको एमालेका प्रदेश सांसद कुन्दन कुशवारले बताए । पूर्वमन्त्री स्व. शेख इद्रिसका नाममा राजपुर नगरपालिकामा ठूलो प्रवेशद्वार बनाइएको छ । माधवनारायण नगरपालिकाले राजमार्गमै द्वार बनाएको छ । रौतहटका १८ स्थानीय तहमा राज्यकोष खर्चेर २३ वटा प्रवेशद्वार बनाइएको छ ।

-सन्तोष सिंह (धनुषा), अवधेश झा (सप्तरी), सुनीता बराल (महोत्तरी), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट), लक्ष्मी साह (बारा) र शंकर आचार्य (पर्सा)

प्रकाशित : चैत्र १७, २०७८ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

मालिकाका ३७ सय घरमा खानेपानी

कान्तिपुर संवाददाता

गुल्मी — गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेकी गोमा गिरी बिहानै ४ बजे खानेपानी लिन पँधेरोमा पालो कुर्थिन् । करिब दुई घण्टापछि मात्रै पालो आउने गर्थ्यो । पानी भरेर गाग्री डोकोमा बोक्दा उस्तै सास्ती । तर, अहिले घरको आँगनमा नै स्थानीय सरकारले बनाइदिएको धारोमा चौबीसै घण्टा पानी खस्छ । ‘पहिला म बिहानै ४ बजे उठेर पानी लिन पँधेरामा जानुपर्थ्यो,’ उनले भनिन्, ‘एक गार्गी पानी डोकोमा बोकेर घर आउँदा आङ खस्लाझैं हुन्थ्यो । अहिले त्यो समस्या हटेको छ ।’

मालिका–५ जमलपोखराकी बालकुमारी अर्याल बिहान जुरुक्क उठेर पानी लिन घरबाट निस्कनुपर्ने त्यतिबेलाको बाध्यता बिर्सन खोजे पनि सक्दिनन् । ४३ वर्षीया अर्यालले घरमा आवश्यक पर्ने सबै पानी बोकेरै पुर्‍याउनु पर्थ्यो । तर, अहिले पिँढीअगाडि बनेको धारामा छङछङ पानी खसिरहेको देख्दा सपनाजस्तै लागिरहेको उनी बताउँछिन् । एक घण्टाको बाटोमा पैदल पानी बोकेर पिउनुपर्ने बाध्यता हटेकामा उनले स्थानीय सरकारलाई धन्यवादसमेत दिइन् ।

‘पहिला–पहिला त साबुनपानी समेत खायौं, राती पनि उठेर पानी बोक्न जान्थें, डिंगाबाच्छा धेरै हुन्थे, खाना पकाउने, नुहाउने, कपडा धुने सबै पानी बोकेरै ल्याउँथें,’ उनले भनिन्, ‘मलाई त अहिले धेरै आराम भएको छ । पटक–पटक हिंड्न धौ भएर डोकोमा गार्गीमाथि गार्गी खप्टेर पानी बोक्थें ।’ अर्याललाई पानी बोकेरै जिन्दगी बित्ने पिरले सताउँथ्यो । अझ उनलाई आफ्ना दुई छोरीको झन् धेरै चिन्ता लाग्थ्यो । उनीहरूको जिन्दगी पनि यसैगरी बित्ने भो भनेर । तर, आफ्नै हातले घरअगाडिको धारो खोलेर पानी थाप्न पाउँदा उनी अहिले दंग छिन् ।

खानेपानी लिनका लागि बिहानै झिसमिसे अँध्यारोमा खोलामा पानी लिन पुगेको मालिका–२ दर्लिङ चिलमिलकी गोमा पौडेलले बताइन् । ३९ वर्षीया पौडलले पहिले पटुका फाट्ने गरी पानी बोक्ने गरेको बताइन् । ‘पहिलाका दुःख बयान गरिसाध्य छैनन् । खोलाबाट पानी बोकेर ल्याउँदा पटुका त कति फाटे फाटे ।’ पौडेलले विगतमा खोलाको दूषित पानी खान बाध्य भएको बताइन् । अहिले घरमा धारा बनेपछि शुद्ध पिउने पानी आइरहेको उनले बताइन् । ‘धमिलो र फोहर पानी खान बाध्य थियौं,’ उनले भनिन्, ‘अहिले त धारामा सफा पानी आउँछ । क्या आनन्द छ ।’

‘गुल्मीको मालिका गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानअन्तर्गत प्रत्येक व्यक्तिको घरमा धारासहित खानेपानी पुर्‍याएपछि पालिकाबासीलाई खानेपानी लिन घण्टौं हिंड्नुपर्ने बाध्यता हटेको छ । मालिका गाउँपालिकाले ८ करोड ११ लाख ७३ हजार रुपैयाँको लागतमा गाउँपालिकाभित्रका ३७ सय ८१ घरमा खानेपानी पुर्‍याएको प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । नागरिकलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न सफल भएको पालिकाका अध्यक्ष रितबहादुर थापाले बताए । ‘तिर्खाएको बेला पानी पिउन नपाउँदाको छटपटी मैले महुसस गरेको छु,’ उनले भने, ‘उहाँहरूको पीडा नै मेरो पीडा हो । त्यही सोचेर काम गरें । आज सफल पनि भएँ भन्ने लागेको छ ।’

प्रकाशित : चैत्र १७, २०७८ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×