को हुन् नेपालका लागि प्रस्तावित अमेरिकाका नयाँ राजदूत ?- समाचार - कान्तिपुर समाचार

को हुन् नेपालका लागि प्रस्तावित अमेरिकाका नयाँ राजदूत ?

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले डिन थोम्प्सनलाई नेपालका लागि नयाँ राजदूतका रूपमा प्रस्ताव गरेका छन् । मंगलबार राष्ट्रपति बाइडेनले लामो समयदेखि अमेरिकी कूटनीतिक सेवामा रहेका थोम्प्सनलाई नयाँ राजदूतका रूपमा प्रस्ताव गरेका हुन् ।

अमेरिकी सिनेटले नाम अनुमोदन गरेपछि उनी नेपालका लागि राजदूत नियुक्त हुनेछन् । उनले वर्तमान राजदूत र्‍यान्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त बेरीले २०७५ साल कात्तिक ८ गते नेपालका लागि अमेरिकी राजदूतका रूपमा पदभार सम्हालेका थिए । सामान्यतया अमेरिकी राजदूतको कार्यकाल ३ वर्ष हुने गरे पनि बेरीको कार्यकाल एक वर्ष थप गरिएको थियो । नयाँ राजदूतका रूपमा थोम्प्सनको नियुक्तिसँगै बेरी फर्किनेछन् । बेरीलाई अब कुन जिम्मेवारी दिने भन्नेबारे भने केही जानकारी दिइएको छैन ।

एलिना टेप्लिजपछि नेपालका लागि अमेरिकी राजदूतको जिम्मेवारी सम्हालेका र्‍यान्डी बेरीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सँगको सम्झौतामा अनुमोदनका लागि भूमिका खेलेका थिए ।

थोम्प्सन करिअर मिनिस्टर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य हुन् । कूटनीतिज्ञका रूपमा उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही २५ वर्षभन्दा बढी सेवा गरिसकेका छन् । अहिले उनी विदेश मन्त्रालयको दक्षिण तथा पूर्वी एसिया विभागमा 'प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी' का रूपमा कार्यरत छन् ।

त्यसअघि उनी क्वालालम्पुरस्थित अमेरिकी राजदूतावासमा 'डेपुटी चिफ अफ मिसन' का रूपमा कार्यरत थिए । त्यस्तै उनले रोमानियाका लागि अमेरिकी राजदूतावासमा डेपुटी चिफ अफ मिसनकै रूपमा जिम्मेवारी सम्हालेका थिए ।

त्यसअघि थोम्प्सनले कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतका रूपमा काम गरेका थिए । विटेनबर्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण थोम्पसनले मेरिल्यान्ड विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका हुन् । त्यस्तै नेसनल वार कलेजबाट उनले 'राष्ट्रिय सुरक्षा रणनीति' मा स्नातकोत्तर पनि गरेका छन् । उनी रोमानियाली र बंगाली भाषामा पनि दख्खल राख्छन् ।

प्रकाशित : चैत्र १६, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

विवेकशील साझा विवाद : अध्यक्ष मिश्रलाई नै कारबाही गर्ने तयारीमा असन्तुष्ट पक्ष

जेष्ठ सदस्य भीमप्रसाद अधिकारीको नेतृत्वमा असन्तुष्ट समूहको बैठक
इकान्तिपुर डेस्क

काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले २६ जनामाथि एकैपटक कारबाही गरेपछि पार्टीमा विवाद झन् चुलिएको छ । असन्तुष्ट पक्षले मिश्रलाई नै कारबाही गर्ने गरी तयारी थालेको छ ।

यसका लागि सोमबार पार्टी कार्यालयमा मिलन पाण्डे नेतृत्वको असन्तुष्ट समूहले कारबाहीमा परेका २६ जनासहित ७५ जना नेताहरू भेला भएका छन् । विवेकशील साझाका नेता तथा वाग्मती प्रदेश सभाका सांसद विराजभक्त श्रेष्ठका अनुसार अग्रज नेता तथा जेष्ठ सदस्य भीमप्रसाद अधिकारीको अध्यक्षमातामा अहिले बैठक बसिरहेको छ ।

आइतबारको केन्द्रीय समिति बैठकमा २६ जनामाथिको कारबाही सदर भएपछि मिश्रले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट समूहले मिश्रमाथि नै कारबाहीको माग गर्न थालेका हुन् । सोमबारको भेलामा मिश्र पक्षका कतिपय नेताहरू पनि सहभागी छन् ।

'उहाँले आइतबारको बैठकमा हामीहरू छँदासम्म कारबाहीको कुरा अगाडि ल्याउनु भएन । तर हामी हिँडिसकेपछि उहाँले एकलौटी रुपमा आफूखुसी प्रदेशको जिम्मेवारी तोक्ने र कारबाही गर्ने काम अगाडि बढाउनु भएछ । लोकतन्त्रको न्युनतम मान्यता पनि उहाँले कुल्चिएर गतिविधि गर्नुभएको छ । यसैको विरोधका लागि सोमबार हामी अर्को बैठक बसेका हौं,' नेता विराजभक्त श्रेष्ठले ईकान्तिपुरसित भने ।

आइतबारको बैठकमा मिश्रका पछिल्ला गतिविधिमाथि कडा आलोचना भएको थियो । राप्रपासँग पार्टी एकीकरण गर्ने तथा कारबाहीको विषयमाथि प्रश्न उठेपछि मिश्रले ती विषयबारे बैठकको एजेन्डा नभएको बताएका थिए । साथै केही मिश्र निकट सदस्यहरूले त उनको निर्णयमा चित्त नबुझेर उठेर भद्र रुपमा असहमति समेत जनाएका थिए ।

सोमबार भने मिश्र पक्षकै नेताहरू पनि पर्याप्त कोरम पुर्‍याएर मिश्रमाथि कारबाही गर्ने पहलमा जुटेका छन् । 'अन्त्यमा उहाँले त आफूखुसी जिम्मेवारी तोक्ने र कारबाही गर्न थाल्नुभयो । तर, साथीहरूले असहमति जनाएपछि ९० प्रतिशतले भने पनि म मान्दिनँ भनेर फाइल बोकेर हिँड्नभयो,' श्रेष्ठले भने ।

मिश्र राजतन्त्रसँग नजिकिएको र आफूखुसी निर्णय गर्न थालेको भन्दै उनी निकट नेताहरू भेला भएका हुन् । केही नेताहरूले भने मिश्रलाई कारबाही गर्नमिल्ने कानुनी प्रावधानबारे बुझिरहेको नेता श्रेष्ठले बताए । साथै सोमबार नै उनीहरू पर्याप्त सदस्य संख्याको हस्ताक्षर संकलन गरी निर्वाचन आयोग जाने तयारी गरेका छन् ।

मिश्र निकट भनेर चिनिने संस्थापन समूहका एक नेताले मिश्रको गतिविधि लोकतान्त्रिक नभएको बताए । ती नेताका अनुसार पर्याप्त कोरम पुर्‍याएर मिश्रलाई कारबाही गर्ने प्रक्रिया आफूहरूले गरेको ईकान्तिपुरसित भने ।

ती नेताका अनुसार मिश्रले पछिल्ला बैठकहरूमा राजतन्त्रसँग नजिकिएको बारेमा उठेका प्रश्नको जवाफसमेत दिन सकेका छैनन् । बरु उनी ती प्रश्नहरू बैठकको एजेन्डा नै नभएको भन्दै नउठाउन निर्देशन दिने गर्छन् ।

प्रकाशित : चैत्र १४, २०७८ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×