कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शनिबारदेखि जनकपुर–जयनगर रेल चल्ने

काठमाडौँ — जनकपुर–जयनगर खण्डमा आगामी शनिबारदेखि नियमित रूपमा रेल चल्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल उद्घाटन गरेपछि रेल सञ्चालनमा आउने भएको हो ।  

शनिबारदेखि जनकपुर–जयनगर रेल चल्ने

२०७७ असोजमा ल्याइएका दुइटा रेल सेट त्रिपालले छोपेर राखिएको थियो । ती रेललाई पछिल्लो समय ‘ड्राई रन’ मा ल्याइएको छ । उद्घाटनपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा यात्रु बोकेर चल्नेछन् । कुर्थादेखि जयनगरसम्म यात्रामा सामान्य सिटको ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ भाडादर कायम गरिएको छ । दुईवटा रेल सेटको कुल यात्रु क्षमता १ हजार ३ सय ५० जना छ ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले रेल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । रेल सञ्चालनका लागि चैत ८ मा राष्ट्रपति कार्यालयबाट रेलवे अध्यादेश जारी भइसकेको छ । गत वैशाख र मंसिरमा जारी भएका अध्यादेश निष्क्रिय भएपछि सरकारले पुनः अध्यादेश ल्याएको हो । ‘रेल चलाउन अब कुनै समस्या छैन,’ महाप्रबन्धक झाले भने ।

रेल चलाउन भारतबाट एक वर्षका लागि २६ प्राविधिक ल्याइएको छ । यस्तै, ६० नेपाली कर्मचारीले रेल सञ्चालनको तालिम लिएका छन् । प्राविधिकमा बढी खर्च रहेको नेपाल रेलवे कम्पनीले जनाएको छ । भौतिक मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा रेलविज्ञ तयार गर्न छात्रवृत्ति कार्यक्रम, त्यहाँका कलेजमा रेलवे इन्जियरिङको पढाइ र हाम्रा कलेजमा उक्त विषय पढाउन पाठ्यक्रम बनाउनेसम्बन्धी लगायत समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

जयनगर–जनकपुर–कुर्था–बिजलपुरा–बर्दिबास खण्ड भारतको सहयोगमा बन्दै छ । जयनगर–जनकपुर–कुर्था खण्डमा ब्रोडगेज रेल्वे लिक ओछ्याउने काम दुई वर्षअघि सकिएको छ । भारत सरकारसँग २०७६ वैशाख २७ मा भएको खरिद सम्झौतापछि भारतीय कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाखमा तयार गरेको थियो ।

प्रकाशित : चैत्र १६, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?