२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

काठमाडौंमा विश्वकै सबैभन्दा बढी प्रदूषण

वातावरणमा बढेको हानिकारक धूलोका कण र धूवाँ मिश्रित तुवाँलो फोक्सोका लागि घातक रहेकाले घामले जमिन तात्नुभन्दा अघि ‘मर्निङवाक’मा ननिस्कन चिकित्सकको सुझाव

काठमाडौँ — ‘वर्ल्ड एयर क्वालिटी’ को रिपोर्टअनुसार दुई दिनयता काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा छ । अघिल्लो साता नेपाल विश्वको १० औं प्रदूषित मुलुकमा र राजधानी काठमाडौं छैटौं प्रदूषित सहरमा परेको थियो । सोमबार काठमाडौंको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूएआई) १५४ थियो ।

काठमाडौंमा विश्वकै सबैभन्दा बढी प्रदूषण

मंगलबार साँझ ८ बजे त्यो बढेर १५९ पुग्यो । सामान्यतः शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई अस्वस्थ मानिन्छ । एक्यूआई १५० देखि २०० हुँदा संवेदनशील मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन् ।

२०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढाउँछ । ३०१ देखि ५०० सम्मले आपत्कालीन अवस्था जनाउँछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । जबकि मंगलबार काठमाडौंमा पीएम २.५ को मात्रा ६४.५ थियो । यो डब्लूएचओले तोकेको मापदण्डभन्दा १२.९ गुणाले बढी हो । हावामा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–सना कण नै पीएम २.५ हुन् । यिनमा सल्फेट, नाइट्रेट्स, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन् । सजिलैसँग फोक्सोमा पनि पुग्ने भएकाले यी कण स्वास्थ्यका लागि हानिकारक हुन्छन् । सवारीसाधन, उद्योग, कृषि, निर्माण, घाँस, दाउरा बाल्दा यस्ता कण निस्कन्छन् । यही पीएम २.५ का आधारमा एक्यूआई मान निकालिन्छ ।

जल तथा मौसम विज्ञान विभागले उपत्यकामा प्रदूषणको स्तर जोखिमको तहमा पुगेका कारण आकाश धुम्मिएको जनाएको छ । विभागका प्रवक्ता रामप्रसाद अवस्थीले कचौरा आकारको काठमाडौं उपत्यकामा उच्चचापीय प्रभावका कारण हावा प्राकृतिक हिसाबले नबग्दा जम्मा भएका धूवाँ/धूलो, कणका कारणले वायुमण्डल प्रदूषण भई तुवाँलो देखिएको बताए । उनले प्रदूषण दिन प्रतिदिन बढिरहेको बताउँदै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रदूषणका मात्रा बढ्दै जाँदा जमिनसँग जोडिएको सतहभन्दा माथि केही निश्चित उचाइसम्म तापक्रम बढिरहेको अवस्थीको भनाइ छ । ‘उचाइसँगै तापक्रम घट्नुका साटो बढ्ने अवस्थालाई ‘इन्भर्सन’ भनिन्छ,’ उनले भने, ‘पानी परेपछि यो अवस्था हट्दै जान्छ ।’

त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागकी प्राध्यापक रेजिना मास्केले मनसुनअघिको सुक्खायाममा काठमाडौंमा हरेक वर्ष अहिलेको जस्तै प्रदूषण देखिने बताइन् । उपत्यकाको भूगोलका कारण हावा बग्न नसक्दा प्रदूषणका कणको मात्रा यहाँको वायुमण्डलबाट बाहिर निस्किन नपाउँदा बर्सेनि यस्तो समस्या दोहोरिने गरेको विज्ञहरूको भनाइ छ । ‘दिउँसो तातो धेरै हुन्छ, प्रदूषणका कण छरिन पाउँदैनन्,’ मास्केले भनिन्, ‘साँझमा जमिन चिसो हुन थाल्छ । भोलिपल्ट बिहान सूर्यको किरण यहीं थिग्रिएका प्रदूषित कणका कारण जमिनमा पुग्न पनि पाउँदैनन् ।’ इँटाभट्टा र सवारीसाधनबाट हुने उत्सर्जनले पनि उपत्यकामा प्रदूषण बढाइरहेको उनले बताइन् । फागुन–चैतमा झरेका पात जलाउने, झाडी सफा गर्दा आगो लगाउने गर्दा पनि प्रदूषणको मात्रा बढ्ने उनको भनाइ छ ।

डब्लूएचओका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुन्छ । वायु प्रदूषणका कारण क्यान्सर, फोक्सो, मुटुसम्बन्धी रोग लाग्ने गरेको छ । सन् २०२१ मा मात्रै पीएम २.५ पार्टिकल्सका कारण ५ वर्षभन्दा कम उमेरका ४० हजार बालबालिकाको मृत्यु वायु प्रदूषणसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।

एक्यूआईको वार्षिक प्रतिवेदनले वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिँदै उत्सर्जन घटाउनुपर्ने सुझाव दिएको छ । ब्याट्रीबाट चल्ने सवारीसाधनमा सहुलियतको व्यवस्था र वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिइएको छ । उत्सर्जन घटाउन वन व्यवस्थापन कार्ययोजना लागू गर्दै डढेलो व्यवस्थापन गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ । विभागका प्रवक्ता अवस्थीका अनुसार देशभर सामान्य बदली भइरहेकाले हावा बहन थालेपछि बिस्तारै प्रदूषण कम हुँदै जानेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले आंशिकदेखि पूर्ण बदली भइरहेको छ । महाशाखाका मौसमविद् हीरा भट्टराईले प्रदेश १ र गण्डकीको पहाडी भागमा पूर्ण बदली भइरहेको बताए ।

महाशाखाले बुधबार दिउँसो आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागको मौसम सफा रहने जनाएको छ । विभागले प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

तुवाँलो फोक्सोका लागि बढी घातक रहेको भन्दै चिकित्सकले घाम लागेर जमिन तात्नुअघि ‘मर्निङवाक’मा ननिस्कन सुझाएका छन् । अहिले बढेको हानिकारक धूलोका कण र धूवाँ मिश्रित तुवाँलोले दम रोगी, बुढापाका, बालबालिका र कोभिडका कारण फोक्सोमा जटिलता खेपेकाहरू थप मारमा पर्न थालेको उनीहरूले बताएका छन् । ‘तुवाँलोमा भएका १० माइक्रोमिटरभन्दा कम व्यासका कण फोक्सोको गहिराइमा मात्र पुग्दैनन्, त्यस्ता केही कण रक्तसञ्चारको माध्यमले शरीरभर फैलिन्छन्,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले भने, ‘२.५ माइक्रोनभन्दा कम व्यास भएका अति सूक्ष्म कण स्वास्थ्यका लागि हानिकारक हुन् ।’

फोक्सोसम्बन्धी जटिल रोग, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) र दम भएकालाई तुवाँलोले सास फेर्न गाह्रो बनाउँछ । प्रदूषणका कारण स्वस्थ व्यक्तिमा सामान्य असर देखिए पनि बालबालिका र बुढापाका एवं दीर्घरोगीमा जटिलता निम्त्याउन सक्ने उनको भनाइ छ ।

वायु अति प्रदूषित भएका बेला कोभिडले फोक्सोमा असर परेकाले विशेष सावधानी अपनाउनुपर्ने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ कन्सल्टेन्ट छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहको सुझाव छ । ‘तुवाँलोमय भएका बेला श्वासप्रश्वाससम्बन्धी समस्या भएकाले घरबाहिर निस्कँदा एन–९५ मास्क लगाउनुपर्छ,’ उनले भने ।

प्रकाशित : चैत्र १६, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?