‘३२५ एमजी सिटामोल आवश्यक’

‘सिटामोलको अत्यधिक सेवनले कलेजोमा हुने क्षतिको अनुसन्धान नै भएको छैन’
अतुल मिश्र

काठमाडौँ — कोभिडकालपछि ज्वरो र दुखाइमा प्रयोग हुने पारासिटामोलका कारण देखिने असरमा वृद्घि भएकाले क्लिनिकल ट्रायलबिना ६५० मिलिग्राम (एमजी) उत्पादन गर्न नहुने क्लिनिकल फर्मासिस्टहरूले बताएका छन् । उनीहरूले बरु वृद्धवृद्धाका लागि ३२५ एमजीको चक्की उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । 

‘३२५ एमजी सिटामोल आवश्यक’

६० वर्षभन्दा माथिकालाई ५०० एमजीबाट घटाएर ३२५ एमजी प्रयोगमा ल्याउनुपर्नेमा ६५० एमजीको उत्पादनमा जानु घातक हुने उनीहरू बताउँछन् । नेपलिज् एसोसिएसन अफ क्लिनिकल फर्मासिस्टले सोमबार विज्ञप्ति जारी गर्दै पाका उमेरका नागरिकलाई लक्षित गर्दै ३२५ एमजी चक्की उत्पादन गर्नु आवश्यक रहेको जनाएको छ । अध्ययन/अनुसन्धानबिनै औषधि व्यवस्था विभागले ६५० एमजी सिटामोल भित्र्याउन लागेको एसोसिएसनको भनाइ छ ।

विभागको औषधि सल्लाहकार समितिको बिहीबारको बैठकले क्लिनिकल ट्रायलबिनै ६५० एमजीको सिटामोल उत्पादन र बिक्री वितरणको बाटो खोल्ने निर्णय गरेको थियो । बढी डोजको सिटामोलले कलेजो र मिर्गौलामा पर्ने घातक असरमा अत्यधिक वृद्धि हुन सक्ने विज्ञहरूको चिन्ता छ । यसअघि विभागले ५०० एमजीसम्मको सिटामोल उत्पादनको अनुमति दिएको थियो ।

औषधि सल्लाहकार समितिमा क्लिनिकल फर्मासिस्टहरूको प्रतिनिधि नरहेकोतर्फ पनि एसोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ । ‘क्लिनिकल फर्मासिस्ट बिरामीलाई दिइने औषधि कति उचित छ भन्ने कुराको लेखाजोखा गर्ने विज्ञ भएकाले यस्ता प्रतिनिधिको उपस्थितिसमेत सुनिश्चित हुनुपर्छ,’ एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘६५० एमजीको सिटामोल सामान्यतः बाथ, हाडजोर्नीको दुखाइमा उपयोग गर्न मिल्छ । यसलाई एक्सटेन्डेट/सस्टेन्ड रिलिजको श्रेणीमा राखिएको छ । यो श्रेणीका औषधि रगतमा लामो समयसम्म रहन्छ,’ नेपलिज् एसोसिएसन अफ क्लिनिकल फर्मासिस्टका अध्यक्ष डा. अनुपराज उप्रेतीले भने, ‘हामीकहाँ पाइने ५०० एमजी ‘इमिडिएट रिलिज’ अन्तर्गत पर्छ र यो रगतमा छोटो समयका लागि मात्र रहन्छ ।’ नेपाललगायत विश्वका विभिन्न मुलुकमा पाइने ५०० एमजी, ३२५ एमजी वा योभन्दा कम डोजका सिटामोल चक्की सेवन गर्नासाथ रगतमा घोलिन सक्ने खालको हुने तर सस्टेन्ड रिलिजको ५०० एमजीभन्दा बढी क्षमताका चक्की भने रगतमा बिस्तारै घोलिने उनी बताउँछन् । ‘इमिडिएट रिलिज’ श्रेणीको ६५० एमजी भारत र बंगलादेशमा मात्र पाइने क्लिनिकल फर्मासिस्टहरूको दाबी छ । ‘सिटामोलको अत्यधिक सेवनले कलेजोमा हुने क्षतिको अनुसन्धान नै भएको छैन,’ डा. उप्रेतीले भने ।

फर्मासिस्टहरूका अनुसार वयस्कका लागि २४ घण्टामा ३.२५ ग्राम सिटामोलको मात्रा सेवन गर्न सकिन्छ । चिकित्साकर्मीको प्रत्यक्ष निगरानीमा ४ ग्रामसम्म लिन सकिन्छ । कलेजोका बिरामीले भने अवस्था हेरी चिकित्सकको सल्लाहबमोजिम वा आफैंले २ ग्रामभन्दा बढी सेवन गर्न नहुने फर्मासिस्टहरूको सुझाव छ । ‘३२५ एमजीमा उपलब्ध हुँदा वृद्धहरूलाई पनि उपयोगी हुन्छ । यदि कसैलाई ६५० एमजी दिनु आवश्यक देखिए चिकित्साकर्मीले यसकै दुई चक्की सिफारिस गर्न सक्छन्,’ डा. उप्रेतीले भने, ‘अनुसन्धानबिना ५०० एमजीले काम गरेन भनेर ६५० एमजी चाहियो भन्नु भ्रमको खेती मात्र हो ।’

यसैबीच, नेपाल औषधि उत्पादक संघले सरकारको ६५० एमजी सिटामोल उत्पादन गर्न दिने निर्णयको स्वागत गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै ५०० एमजीको उत्पादन पनि जारी रहने जनाएको छ । ‘पारासिटामोल ५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नका लागि अनुमति प्रदान गरिएको हुँदा ५०० एमजीको अभाव नहुने र आवश्यकताअनुसार ६०० एमजी पनि उपलब्ध हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : चैत्र १५, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?