कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विवेकशील साझा विवाद : अध्यक्ष मिश्रलाई नै कारबाही गर्ने तयारीमा असन्तुष्ट पक्ष

जेष्ठ सदस्य भीमप्रसाद अधिकारीको नेतृत्वमा असन्तुष्ट समूहको बैठक
इकान्तिपुर डेस्क

काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले २६ जनामाथि एकैपटक कारबाही गरेपछि पार्टीमा विवाद झन् चुलिएको छ । असन्तुष्ट पक्षले मिश्रलाई नै कारबाही गर्ने गरी तयारी थालेको छ ।

विवेकशील साझा विवाद : अध्यक्ष मिश्रलाई नै कारबाही गर्ने तयारीमा असन्तुष्ट पक्ष

यसका लागि सोमबार पार्टी कार्यालयमा मिलन पाण्डे नेतृत्वको असन्तुष्ट समूहले कारबाहीमा परेका २६ जनासहित ७५ जना नेताहरू भेला भएका छन् । विवेकशील साझाका नेता तथा वाग्मती प्रदेश सभाका सांसद विराजभक्त श्रेष्ठका अनुसार अग्रज नेता तथा जेष्ठ सदस्य भीमप्रसाद अधिकारीको अध्यक्षमातामा अहिले बैठक बसिरहेको छ ।

आइतबारको केन्द्रीय समिति बैठकमा २६ जनामाथिको कारबाही सदर भएपछि मिश्रले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट समूहले मिश्रमाथि नै कारबाहीको माग गर्न थालेका हुन् । सोमबारको भेलामा मिश्र पक्षका कतिपय नेताहरू पनि सहभागी छन् ।

'उहाँले आइतबारको बैठकमा हामीहरू छँदासम्म कारबाहीको कुरा अगाडि ल्याउनु भएन । तर हामी हिँडिसकेपछि उहाँले एकलौटी रुपमा आफूखुसी प्रदेशको जिम्मेवारी तोक्ने र कारबाही गर्ने काम अगाडि बढाउनु भएछ । लोकतन्त्रको न्युनतम मान्यता पनि उहाँले कुल्चिएर गतिविधि गर्नुभएको छ । यसैको विरोधका लागि सोमबार हामी अर्को बैठक बसेका हौं,' नेता विराजभक्त श्रेष्ठले ईकान्तिपुरसित भने ।

आइतबारको बैठकमा मिश्रका पछिल्ला गतिविधिमाथि कडा आलोचना भएको थियो । राप्रपासँग पार्टी एकीकरण गर्ने तथा कारबाहीको विषयमाथि प्रश्न उठेपछि मिश्रले ती विषयबारे बैठकको एजेन्डा नभएको बताएका थिए । साथै केही मिश्र निकट सदस्यहरूले त उनको निर्णयमा चित्त नबुझेर उठेर भद्र रुपमा असहमति समेत जनाएका थिए ।

सोमबार भने मिश्र पक्षकै नेताहरू पनि पर्याप्त कोरम पुर्‍याएर मिश्रमाथि कारबाही गर्ने पहलमा जुटेका छन् । 'अन्त्यमा उहाँले त आफूखुसी जिम्मेवारी तोक्ने र कारबाही गर्न थाल्नुभयो । तर, साथीहरूले असहमति जनाएपछि ९० प्रतिशतले भने पनि म मान्दिनँ भनेर फाइल बोकेर हिँड्नभयो,' श्रेष्ठले भने ।

मिश्र राजतन्त्रसँग नजिकिएको र आफूखुसी निर्णय गर्न थालेको भन्दै उनी निकट नेताहरू भेला भएका हुन् । केही नेताहरूले भने मिश्रलाई कारबाही गर्नमिल्ने कानुनी प्रावधानबारे बुझिरहेको नेता श्रेष्ठले बताए । साथै सोमबार नै उनीहरू पर्याप्त सदस्य संख्याको हस्ताक्षर संकलन गरी निर्वाचन आयोग जाने तयारी गरेका छन् ।

मिश्र निकट भनेर चिनिने संस्थापन समूहका एक नेताले मिश्रको गतिविधि लोकतान्त्रिक नभएको बताए । ती नेताका अनुसार पर्याप्त कोरम पुर्‍याएर मिश्रलाई कारबाही गर्ने प्रक्रिया आफूहरूले गरेको ईकान्तिपुरसित भने ।

ती नेताका अनुसार मिश्रले पछिल्ला बैठकहरूमा राजतन्त्रसँग नजिकिएको बारेमा उठेका प्रश्नको जवाफसमेत दिन सकेका छैनन् । बरु उनी ती प्रश्नहरू बैठकको एजेन्डा नै नभएको भन्दै नउठाउन निर्देशन दिने गर्छन् ।

प्रकाशित : चैत्र १४, २०७८ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?