जाग्यो आत्मसम्मान तर सुध्रिएन आर्थिकस्तर- समाचार - कान्तिपुर समाचार
 चमार आन्दोलनको २२ वर्ष 

जाग्यो आत्मसम्मान तर सुध्रिएन आर्थिकस्तर

भरत जर्घा मगर

सिरहा — छाता ओढेर पुराना जुत्ताचप्पल सिलाइरहेका भेटिन्छन् लहान–१ का ४७ वर्षीय शिवनारायण महरा चमार । पूर्व–पश्चिम राजमार्गको लहानस्थित मुख्य चोकमा सधैं बसेका हुन्छन् । २५ वर्षको उमेरदेखि जुत्ताचप्पल सिलाउने काम गर्दै आएका उनको दैनिकी अहिले पनि उस्तै छ ।

२२ वर्षअघि उनले सुनेका थिए दलितहरूको जीवनस्तर उकासिने छ । पेसा व्यवसाय सम्मानको हुनेछ । उनलाई लाग्छ, पेसा जे भए पनि उनी अब पहिलेभन्दा आत्मसम्मानका कुरा निर्धक्क बोल्न सक्छन् ।

राजमार्गमै जोडिएको लहान–१ स्थित चमार बस्ती २०५६ चैत ९ मा घेराबन्दीमा परेका थियो । दुई सय घर दलित समुदायको बसोबास रहेको बस्ती नाकाबन्दीमा पर्‍यो । सोही वडाको मटियर्वामा अघिल्लो दिन पाडो मरेको थियो । त्यो फाल्न गाउँलेले नजिकका चमारहरूलाई अह्राए । तर चमारहरूले सिनो फाल्दैनौं भनेर इन्कार गरे । कथित उच्च जातका भनिनेहरूले दलित बस्तीलाई घेरामा पारे ।

अह्राएको नमानेको भन्दै कथित उपल्लो ११ जातिले चमारलाई ज्याला मजदुरीमा कसैले नखटाउने, पैंचो सापट वा ऋण नदिने, लहानमा कुल्ली तथा रिक्सा ठेला चलाउने काम गर्न नदिने, बसमा टिकट काट्ने बुकिङको काम, जुत्ता चप्पल सिलाउने काम, हली, गोठाले वा कुनै फर्ममा काम गर्न नदिने, कुनै पनि पसलमा कुनै सामान किन्न नदिने, कसैको जग्गामा टेक्न नदिने प्रतिबन्ध घोषणा गरे । चमार जातिलाई दास बन्न बाध्य पार्ने निर्णय गर्दै नाकाबन्दी लगाइयो ।

नाकाबन्दीबिरुद्ध चमार समुदाय आन्दोलनमा उत्रियो । अन्य दलित समुदायले समेत आन्दोलनमा साथ दिएपछि दुई साता लामो संघर्षपछि नाकाबन्दी स्वतः हटेको थियो । ‘२२ वर्षअघि चमार आन्दोलन हुँदा नाकाबन्दीमा परेको थिएँ, त्यतिखेर पनि यही चोकमा जुता–चप्पल सिलाएर गुजारा चलाउँथे,’ शिवनारायण भन्छन्, ‘अहिले पनि यही कामले गुजारा चलाइरहेको छु ।’ जुत्ता सिलाउने उनको पुर्ख्यौली पेसा हो ।

‘चमार समुदायको त्यो आन्दोलनले गुजारा र पेसामा परिवर्तन त गर्न नसके पनि आत्मसम्मान भने बढाएको महसुस हुन्छ,’ उनी भन्छन् । फाटेका जुता–चप्पल सिलाउने र पालिस लगाएर दैनिक एक हजार रुपैयाँसम्म कमाउने उनले पछिल्लो समय जातीय रूपमा हेपेर नबोल्ने गरेको बताए । शिवनारायण जस्तै लहान–६ का ४९ वर्षीय गुदरराम पनि जुत्ता चलाएर गुजारा चलाउँछन् । ३५ वर्षदेखि जुत्ता सिलाउँदै आएका उनले चमार आन्दोलनले आफूहरूको दिनचर्या फरक नपरेको सुनाउँछन् ।

‘पहिला पनि जुत्ता सिलाएरै गुजारा चलाउनुपरेको थियो, अहिले पनि उस्तै छ,’ उनले भने, ‘आन्दोलनले २–४ टाठाबाठालाई मात्रै फाइदा फाइदा पुगेको बताए । लहान–१ का ५४ वर्षीय सनहु राम चमार आन्दोलनले चमार समुदायको आर्थिक अवस्थामा कुनै सुधार नआएको बताउँछन् । ‘आन्दोलन अघि र पछि केही फरक छैन,’ उनी भन्छन्, ‘तर हाम्रो समुदायमा आन्दोलनले आत्मसम्मान र जागरुक बनायो ।’

लहान–१ मटियर्वाबाट २०५६ चैतमा सुरु भएको सिनो बहिष्कार आन्दोलन झन्डै २२ वर्ष बित्न लागेको छ । जातीय छुवाछूत तथा विभेदविरुद्ध सामाजिक परिवर्तनको त्यतिखेरको आन्दोलनले सिनो बहिष्कार मात्र गरेन दलित एकतालाई जोड दिन सफल भएको थियो । दलित अधिकारकर्मी उमेश बिसुन्के आन्दोलनपछि सिनो चमारले मात्रै फाल्नुपर्ने जातीय बाध्यता हटेको बताउँछन् ।

‘त्यही आन्दोलनले आफ्नो घरगोठको सिनो घरधनीले नै फाल्ने चलन आयो,’ उनले भने, ‘आफूहरूमाथि गरिने छोइछिटोविरुद्ध गाउँ–सहर सबैतिर दलित जाग्न थाले ।’ नागरिक समाजका अगुवा राजकुमार राउत कुर्मी भन्छन्, ‘चमार आन्दोलनकै परिणाम हो, गाउँमा परम्पराको नाउँमा इनार कुवा, धारा छोयो भने आर्थिक जरिवाना तिर्न विवस दलितहरू अहिले त्यसका विरुद्ध निर्धक्क बोल्न थालेका छन् । त्यतिले पनि नटेरे छिमेकी प्रहरीसम्म जाने हिम्मत गर्न थालेका छन् ।’

प्रकाशित : चैत्र १०, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

समाज सुधारमा जुट्दै आमा समूह

भरत जर्घा मगर

सिरहा — सिरहा धनगढीमाई नगरपालिका–११ नयनपुरका ३० देखि ५५ उमेर समूहका ‘आमा’ हरू केही वर्षअघिसम्म घरपरिवारमै सीमित थिए । समूह बनाएर अघि बढ्नुपर्छ भन्ने चेतले तीन वर्षअघि ‘आमा सामाजिक परिवार’ गठन गरे ।

सामाजिक परिवारबाट उनीहरूले बचत र त्यसको सदुपयोग मात्र हैन, अहिले समाज सुधारकै नेतृत्व लिन थालेका छन् ।

सुरुमा ‘आमा सामाजिक परिवार’मा २७ महिला संगठित भए । पहिलो बैठकबाट जनही मासिक ५० रुपैयाँका दरले कोषमा संकलन थालेको कोषाध्यक्ष कल्पना बस्नेत सम्झिन्छिन् ।

‘मासिक बचतसँगै महिला अधिकार सम्बन्धी तालिमहरूमा पनि भाग लिन थाल्यौं’ उनले भनिन् ‘महिला अधिकारसँगै सशक्तीकरणका बारेमा बुझ्न थाल्यौं ।’ बिस्तारै बिस्तारै समाजमा आमाहरूको सक्रियता बढ्न थाल्यो । ‘आमाहरूले समाजमा आफ्नो भूमिका खोज्न थालेपछि पुरुषहरू चिढिन थाले,’ अध्यक्ष रामरती रामले भनिन्, ‘तर हामी आफ्नो उद्देश्यमा अडिग रह्यौं र आमाहरूको बैठकमा पुरुषको थिचोमिचोमाथि छलफल चलाउन थाल्यौं ।’

उनका अनुसार कोषमा भएको रकम सापटी लिएर सबै सदस्यहरूले सानातिना आर्यआर्जनका काम गर्न थाले । कसैले किराना पसल, कसैले बाख्रापालन र व्यावसायिक खेती सुरु गरे । आयआर्जनसँगै टोल सुधारमा सक्रिय भएको बस्नेतले बताइन् । ‘महिला हिंसाविरुद्ध पहिला आफ्नै घरबाट हरेक आमा जुर्मुराए’ उनले भनिन्, ‘पुरुषहरू पनि मान्न बाध्य भए । त्यसपछि टोलमा हिंसाका घटनाहरू कमी आयो ।’ अहिले गाउँमा मदिरा बन्देज गरिएको छ । साँझ परेपछि सधैंजसो जाड रक्सीसेवन गरी घरपरिवार र टोलमा झैझगडा हुने गरेकोमा अहिले बन्द भएको छ ।

‘सुरुमा धेरै कठिन भयो,’ अध्यक्ष रामले भनिन्, ‘मदिराले शरीर, परिवार, समाज र आर्थिक क्षतिका बारेमा हामीले जनचेतना बढाउन थालेपछि पुरुषहरूले बुझे । अहिले हाम्रो अभियानमा पुरुषहरूले पनि साथ दिएका छन् ।’ सामाजिक परिवारले बालबालिकाको जन्मदर्ता बनाएर हरेकलाई विद्यालय पठाएको छ भने टोल विकासमा महिला अग्रसरता बढाएको छ । महिलाका लागि अस्पतालबाट पाइने निःशुल्क स्वास्थ्य परीक्षण सेवामा पनि उनीहरूले गतिविधि बढाएका छन् । ‘सुरुमा समुदायमा परिवर्तन ल्याउन समस्या हुँदो रहेछ,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘तर समूहको एकता र सहकार्यले सम्भव भयो ।’

नयनपुरका आमाहरूले जस्तै छिमेकी १३ नम्बर वडाका जाते चौरी, भालुटार, दुरविनडाँडा र सकुवा चौरी गाउँका स्थानीयले विकृति बढाउने जुवातास खेल्न रोक लगाएका छन् । मदिरा बिक्री वितरणमा समेत कडाइ गरेका छन् । गाउँलेहरूको भेला बसी त्यस्तो निर्णय गरेका हुन् । उनीहरूले तास–जुवा खेल्ने र खेलाउनेलाई १० हजार ५१ रुपैयाँ र मदिरा बेचबिखन गर्नेलाई ५० हजार ५१ रुपैयाँ जरिवाना गरिने निर्णय गरेका छन् ।

प्रकाशित : चैत्र २, २०७८ १२:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×