प्याडको सट्टा ‘पिरियड प्यान्ट’

अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाउँदै नेपाली युवती
नवीन पोखरेल

लन्डन — विद्यार्थीका रूपमा एक दशकअघि लन्डन छिर्दा रुबिना राउतसँग संघर्ष र पीडाको बोध थियो । नयाँ परिवेशमा जागिर नपाउँदाको पिरलो र आर्थिक अभावका बाबजुद अध्ययन अघि बढाउनु ठूलो चुनौती पनि थियो । पाँचथरमा जन्मिएकी उनी सन् २०१० मा लन्डन आएकी हुन् ।

प्याडको सट्टा ‘पिरियड प्यान्ट’

पढाइपछि पनि जागिर नपाएर उनी च्यारिटी संस्थामा स्वयंसेवक बन्न बाध्य भइन् । रुबिना अहिले तिनै कहालीलाग्दा दिनलाई सपना जस्तै ठानिरहेकी छन् ।

हाल बेलायती बजारमा महिला उद्यमीका रूपमा उनको सफलता लोभलाग्दो छ । उनी सन् २०१७ मा स्थापित स्टार्ट अप ‘उका’ नामक कम्पनीको सीईओ हुन्, जसले पिरियड प्यान्ट (महिनावारीमा लगाउने कट्टु) बिक्री गर्छ । सुरुमा रुबिनाले क्राउड फन्डिङबाट ८ हजार पाउन्ड जुटाइन्, जसबाट २ हजार पिरियड प्यान्ट बनाउन सकिन्थ्यो ।

अपरिचित १ सय २० जनाले रुबिनाको ‘आइडिया’ मन पराएर आर्थिक सहयोग गरेका थिए । वेबसाइट, ब्रान्डिङ र प्रविधिमा उनका श्रीमान् डेभ स्लोकोम्बले सहयोग गरे । सानो स्केलबाट व्यवसाय सुरु गरेकी उनले अहिले मासिक तीन लाख पिरियड प्यान्ट बिक्री गर्छिन् । बेलायतको तेस्रो ठूलो सुपरमार्केट चेन सेन्सबरीका २ सय १० वटा स्टोरबाहेक निजी पसल, युरोप र साल्भाडोरसम्म उनको उत्पादन पुगेको छ ।

‘पिरियड प्यान्ट प्रयोगले महिनावारी हुँदा सेनेटरी प्याड लगाउने झन्झट नहुने, शारीरिक सहजता हुने, दुई वर्षसम्म पुनः प्रयोग गर्न मिल्ने, रगत सोस्ने र नचुहिने हुँदा युरोपमा धेरै प्रभावकारी मानिएको छ,’ रुबिनाले भनिन्, ‘यो पिरियड वेयरले २ सयवटा प्याड जोगाउने भएकाले नेपालजस्तो अल्पविकसित देशमा सस्तो र बढी उपयोगी हुने मेरो विश्वास छ ।’ बेलायतमा १२ पाउन्ड प्रतिमूल्य परे पनि नेपालमा न्यून आयस्रोत भएका महिलालाई च्यारिटी संस्थामार्फत सुपथ मूल्यमा वितरण गर्न सकिने रुबिना बताउँछिन् । चीनमा यसको कारखाना भएकाले नेपाल आपूर्तिमा सहज हुने उनको भनाइ छ । अहिले उकाले नेपालमा ‘डे फर गर्ल्स’ च्यारिटीलाई निःशुल्क पिरियड प्यान्ट बाँडिरहेको उनले बताइन् ।

आफ्नो उत्पादन वातावरणीय प्रदूषण न्यूनीकरणमा पनि सहयोगी हुने रुबिनाको भनाइ छ । किशोरी अवस्थामा अलग्गै वा छाउगोठमा बस्नुपर्ने नेपाली परिवेशबारे उनी जानकार छिन् । जसले गर्दा पिरियड प्यान्टको परिकल्पनाले मूर्तरूप लियो ।

‘नेपालमा महिनावारी हुँदा गरिने दुर्व्यवहार र सोच परिवर्तन गर्ने अभियानमा छु । वातावरणीय प्रतिकूलता न्यूनीकरण मेरो अर्को उद्देश्य छ,’ उनले सुनाइन् । फिजिसियन तथा जनस्वास्थ्य विज्ञ डा. सागर पौडेल नेपालमा महिनावारी विभेद बढिरहँदा यसलाई ‘बायोलोजिकल फेनोमेना’ का रूपमा लिन आवश्यक रहेको बताउँछन् । ‘नेपालमा लैंगिक हिंसा अन्त्यका लागि पनि मर्यादित महिनावारी जरुरी छ,’ उनले भने, ‘महिलालाई झन् बढी रेखदेख चाहिने बेला घृणा गर्ने परिपाटी अन्त्य हुनुपर्छ ।’

प्रकाशित : चैत्र ९, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?