कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यादीमा विद्यार्थीदेखि गृहिणीसम्म

कान्तिपुर टिम

काठमाडौँ — उनले रहर पुग्ने गरी पढ्न पाइनन् । १६ वर्षमै विवाह भयो । विवाहपछि घरपरिवारमा खासै मिल्ती भएन । काभ्रेपलाञ्चोक भुम्लुकी कविता श्रेष्ठले श्रीमान्लगायत परिवारको यातना खेप्न नसकेपछि ६ महिनाको छोरा च्यापेर घरबाट निस्किइन् र कहिल्यै घर फर्किनन् । अहिले उनका छोरा १४ वर्षका भए । ‘छोरालाई हुर्काउन धेरै संघर्ष गर्नुपर्‍यो,’ उनले भनिन्, ‘ठूला सपना छैनन्, छोरालाई पढाएर सक्षम नागरिक बनाउनु छ ।’

म्यादीमा विद्यार्थीदेखि गृहिणीसम्म

काठमाडौं बूढानीलकण्ठ–१० कपनमा घर सफा गरेर र कपडा धोएर गुजारा चलाउँदै आएकी ३२ वर्षीया कविता टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा म्यादी प्रहरीमा भर्ना हुन फाराम भर्ने लाममा भेटिइन् । ‘उमेर छँदा प्रहरी बन्ने रहर थियो, त्यो रहरमै सीमित भयो,’ उनले भनिन्, ‘म्यादी बनेर प्रहरीको अनुभव गर्ने मन छ । केही दिनकै लागि भए पनि सरकारी जागिरे बन्ने धोको छ ।’

त्यस्तै, दोलखा मेलुङ गाउँपालिका–७ सितलीका २३ वर्षीय मिलन कार्की कोरिया जान भाषा सिक्दै थिए । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै पटक–पटक लकडाउन भयो । कोरियाली भाषाको कक्षा खासै प्रभावकारी भएन ।

‘जागिर छैन, भाषा कक्षा पनि त्यति राम्रो भएको छैन, अस्थायी रूपमै भए पनि सरकारी जागिरे बन्नुपर्‍यो भन्ने सोच आयो,’ उनले भने, ‘म्यादीको अनुभवले विदेशमा सेक्युरिटीमा जान पाइन्छ भन्ने पनि सुनेको छु ।’

उपत्यकाका तीन जिल्लाका प्रहरी कार्यालयमा ५ हजार जनाभन्दा बढीले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । लाममा कतिपय महिला बच्चा च्यापेरै उभिएका थिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सन्तोषसिंह राठौरका अनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं उपत्यकामा ४ हजार ७ सय ३५ जना म्यादी प्रहरी भर्ना लिइँदै छ । महानगरीय प्रहरी परिसर भक्तपुर र ललितपुरमा पनि म्यादी बन्न चाहने युवाको भीड छ ।

पहिलो संविधानसभा र पछिल्लो २०७४ को निर्वाचनमा म्यादी प्रहरी भइसकेका जितेन्द्रसिंह धामी यसपालि पनि म्यादीको लाइनमा उभिएका थिए । कञ्चनपुरको वेदकोट–६ सिसैयाका उनी तेस्रोपटक म्यादी प्रहरी हुन आवेदन दिन लागेका हुन् । निजी विद्यालयमा बसचालक उनलाई ४० दिन भए पनि घर खर्च चलाउन आम्दानी हुने आस छ । ‘म्यादी हुँदा थोरै भए पनि सरकारी सेवाको अनुभवसँगै अलिअलि खर्च पनि आउँछ,’ सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लाम लागेका धामीले भने, ‘सुरुमा जागिर खान सजिलो हुन्छ भन्ने थियो, अब त्यो उत्साह छैन, घर खर्च जुटाउने चिन्ता छ ।’

वेदकोटका २० वर्षीय नरेश धामीको भने म्यादी हुन आउनुसँग भविष्य पनि जोडिएको छ । सेना वा प्रहरीमा जागिर खाने उनको धोको छ । त्यही पूरा गर्ने चरणका रूपमा यो भर्नालाई लिएका छन् । बुबाआमाले खेतीपाती गरेर उनलाई १२ कक्षासम्म पढाएका हुन् । ‘अब अगाडि पढ्न सकिने अवस्था छैन,’ उनले भने, ‘अरू जागिर खान पनि सकिँदैन, आर्मी वा प्रहरीमै भर्ती हुने इच्छा छ ।’ घरमै बसेका उनलाई छोटो अवधि भए पनि रोजगारी पाइने भएकाले यसतर्फ रुचि भएको हो ।

‘बिहानै आएको अहिलेसम्म लाइनमै छु, साँझसम्म पालो आउँछ, आउँदैन,’ शुक्लाफाँटा–११ कलुवापुरकी सुनिता रानाले भनिन्, ‘म्यादीमा भर्ना हुने रहर छ ।’ उनी पहिलो पटक भर्ना हुन आएकी हुन् । १२ कक्षा सकेर घरायसी काममै व्यस्त उनी म्यादी भर्ना खुलेको थाहा पाएपछि साथीहरूसँगै जिल्ला प्रहरी पुगेकी हुन् । ‘सुरक्षाकर्मीको शारीरिक अभ्यास निकै मन पर्छ,’ शुक्लाफाँटा–११ कलुवापुरकी २७ वर्षीया सरिता रानाले भनिन्, ‘पढेलेखेर पनि काम पाउन गाह्रो छ, घरमै खेतीपातीको काम गरिरहेका हामीहरूलाई यो अनुभव पनि ठूलो हुन्छ ।’ कञ्चनपुरमा १ हजार ४ सय ६९ म्यादीको कोटा आएको छ ।

उता मधेसका जिल्लाहरू धनुषा र सप्तरीमा पनि म्यादी प्रहरीमा आवेदन दिने युवायुवतीको भीड लागेको छ । धनुषा प्रहरीका डीएसपी जितेन्द्र बस्नेतका अनुसार ३ हजार ४ सय ८६ जना म्यादीका लागि आइतबार मात्रै एक हजार जनाले फाराम लिइसकेका थिए । सप्तरी प्रहरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार राजविराजस्थित राज रंगशालामा म्यादी प्रहरी भर्नाका लागि आवेदन लिने काम भइरहेको छ । ३ हजार १ सय ३९ जना म्यादीका लागि आइतबारै २५ सय जनाले फाराम लिएका थिए ।

कक्षा १२ पास गरेका पश्चिम नवलपरासीको सुनवल–१३ का २३ वर्षीय राजीव मगर विदेश जाने तयारीमा छन् । सेक्युरिटी गार्डमा विदेश जान खोजेकाले उनलाई अनुभवको खाँचो छ । म्यादी प्रहरीमा भर्ना भएमा राम्रो कम्पनीमा सेक्युरिटी गार्डमा काम पाइने आशाले जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको गेटअगाडि फाराम भर्न लाइनमा भेटिएका उनले सुनाए । ‘अध्ययनअनुसार काम पाइएन, विदेश जाने तयारीमा छु,’ उनले भने, ‘म्यादी प्रहरीको तालिमको सर्टिफिकेट पाइयो भने विदेशमा राम्रो कम्पनीमा सेक्युरिटीको जागिर पाइन्छ रे ।’

बर्दघाट–७ की शान्ति चौधरी यसअघिको स्थानीय चुनावमा पनि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । स्नातकसम्म अध्ययन गरेकी उनले यसबीचमा कुनै रोजगारी पाइनन् । श्रीमान्को कमाइको भरमा बस्नुपर्ने भएपछि अहिले पनि भर्ना हुन आएको उनले बताइन् । ‘अरू अवसर पाउन सकिएन, यसअघि पनि भर्ना भएकाले अहिले अनुभवका आधारमा छनोट हुन्छु भन्ने लागेको छ,’ उनले भनिन् । जिल्लामा ७ स्थानीय तह छन् । १ हजार २९ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।

स्नातक तह पढिरहेकी दोलखा तामाकोसी–२ झुलेकी २० वर्षीया संगीता योञ्जन र उनकी बहिनीले जिल्ला प्रहरीमा म्यादीका लागि आवेदन दिए । केही दिनका लागि भए पनि रोजगारी पाइने भएकाले आवेदन दिएका हुन् । दोलखामा ७ सय ९५ जना म्यादी माग गरिएको छ ।

अघिल्ला दुई चुनावमा म्यादी प्रहरी भइसकेका सिन्धुलीको तीनपाटन–१ छरछरेका ५३ वर्षीय धनबहादुर मोक्तानले म्यादीको जागिरले घरखर्चमा मद्दत पुग्ने बताए । सिन्धुलीमा १ हजार १ सय ६८ म्यादी भर्ना लिइँदै छ ।

पाल्पाको पूर्वखोलाका २६ वर्षीय कृष्ण पाण्डे जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा थिए । लामो लाममा पालो कति बेला आउँछ भन्दै गर्मीमा पर्खिरहेका उनले जहाँबाट पनि म्यादीमा आवेदन दिन पाइने भएपछि भैरहवा आएको बताए । ‘बुटवलमा बसेर लुम्बिनी वाणिज्य क्याम्पसमा स्नातक तह पहिलो वर्षको जाँच दिएँ,’ उनले भने, ‘अर्को वर्षको कक्षा नचलुन्जेल जागिर गरम् भनेर आएको हुँ ।’

शुद्धोधन–८ का अमृत खड्का पालो कुरिरहेका थिए । उनले बीएड अध्ययन गरेको बताए । ‘यसपछि अन्य जागिर खोज्ने बाटो खुला होला,’ उनले भने । पहिले एक ठाउँमा काम गरेको अनुभव बटुलिसकेका उनले प्रहरीमा भर्ती हुने रहरले पनि म्यादी हुन आएको बताए ।

मायादेवी–८ की अनिता विकले पैसा कमाउन भर्ती हुन आएको बताइन् । उनले भनिन् ‘जागिर खाने मन छ ।’ रूपन्देहीका लागि २ हजार ३ सय ६० जनाको माग छ ।

पाल्पामा आवेदन दिनेको भीड छ । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै फाराम भर्नेको भीड लागेको प्रहरीका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए । म्यादीमा भर्ना हुन आउनेमा पाल्पामा महिलाको संख्या भने कम छ । पाल्पामा १ हजार २१ जना म्यादी प्रहरीको माग छ ।

पाँचथरमा जिल्ला प्रहरी कार्यालय पुगेका युवायुवतीले घण्टौं लाममा उभिएर म्यादी प्रहरीका लागि आवेदन भरेका छन् । यसरी लाम लाग्नेमा स्नातकोत्तर गरिसकेकासँगै यसअघिका निर्वाचनमा म्यादीको अनुभव लिइसकेकासम्म छन् । भर्ना हुन आउनेमा आमाहरूको संख्या पनि उत्तिकै छ । केही महिला छोराछोरी बोकेरै दरखास्त बुझाउने लाइनमा बसेका देखिए । जिल्लामा ९ सय १६ जना म्यादी भर्ना लिइँदै छ । एकै दिन ३ सय जनाले दरखास्त दिएको जिल्ला प्रहरीका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।

स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीको सहयोगीका रूपमा जवानसरह सुविधासहित ४० दिन कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले आइतबारबाट देशभर एकसाथ म्यादी प्रहरीको भर्नाका लागि आवेदन खुलाएको हो । फाराम भर्ने म्याद चैत ११ सम्म छ ।

प्रकाशित : चैत्र ८, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?